सगरमाथामा ‘दुर्लभ उद्धार’ गरेका निमा टासी अन्नपूर्णमा हराए
गत वर्ष सगरमाथाको ‘डेथ जोन’ बाट मलेशियाली आरोहीको उद्धार गरेका निमा टासी शेर्पा यस पटक भने अन्नपूर्ण आरोहणका क्रममा हिमपहिरोमा हराएका छन्।
सगरमाथाको वसन्तकालीन आरोहणका क्रममा २०८० जेठ ४ मा आठ हजार ४०० मिटरको उचाइ अर्थात् ‘डेथ जोन’ मा जीवन-मरणको दोसाँधमा रहेका मलेशियाली आरोहीलाई दुई जना शेर्पाले उद्धार गरेका थिए। ती उद्धारकर्ता थिए, निमा टासी शेर्पा र गेल्जी शेर्पा।
हिमाल आरोहणको ‘रेकर्ड’ र बाहिरी सञ्चारमाध्यमसँगको सम्पर्कका कारण ‘दुर्लभ उद्धार’ गरेको भनेर गेल्जीको चर्चा र प्रशंसा भयो। तर उनीसँगै उद्धारमा उत्तिकै खटिएका निमा टासी खासै चर्चामा आएनन्। ‘डेथ जोन’ मा अक्सिजन कम भएर सिकिस्त अवस्थामा रहेका आरोहीको गेल्जी र निमा टासीको प्रयासले ‘दुर्लभ उद्धार’ भयो। अनि ती आरोहीको ज्यान जोगियो।
जेठ ४ गते राति साढे १२ बजेको प्रसंग हो। एक चिनियाँ आरोहीलाई लिएर सगरमाथाको शिखरतर्फ उक्लिंदै गरेका गेल्जी शेर्पाले मलेशियाली आरोहीलाई देखे। उनी भुइँमा कुप्रिएर बसिरहेका थिए। जाडोले काँपिरहेका ती आरोही बोल्न समेत सकिराखेका थिएनन्। अक्सिजन पनि सकिएको थियो।
चुचुरो चुम्ने तयारीमा रहेका गेल्जीले आफूसँग भएको अक्सिजन बोतल लडिरहेका आरोहीलाई लगाइदिए। उद्धारमा लाग्दा आरोहण असम्भव देखेपछि साथमा रहेका चिनियाँ आरोहीलाई चौथो शिविर हुँदै आधारशिविरतर्फ नै फिर्ता पठाए।
गत वर्ष मलेशियाली आरोहीलाई उद्धार गरी ल्याउँदै निमा टासी शेर्पा र गेल्जी शेर्पा।
सगरमाथाको शिखर पुगेर फर्किंदै गरेका मलेशियाली आरोहीको अवस्था गम्भीर भइसकेको थियो। शिखरबाट ओरालो लाग्ने वेला उनी हिंड्न नसक्ने अवस्थामा थिए। शिखरबाट ४०० मिटर तल झरेपछि उनी बाटोमै ढले।
सिकिस्त अवस्थामा रहेका उनलाई बचाउन गेल्जीको एक्लो प्रयास पर्याप्त थिएन। त्यसका लागि कम्तीमा एक अर्को बलियो शेर्पाको जरूरी थियो।
त्यसैले आरोहण कम्पनी ‘१४ पिक्स’ का टासी लाक्पाले समन्वय गरेर निमा टासीलाई खटाए। मेक्सिकन आरोही लिएर शिखरतिर उक्लँदै गरेका निमा टासी पनि उद्धारमा खटिए। लाखौं रुपैयाँ खर्च गरेर शिखर नजीक पुगेका आरोहीलाई फर्काएर उद्धारमा खटिनु सजिलो थिएन। एक जनाको आरोहण सफल बनाउनुभन्दा जीवन-मरणको दोसाँधमा रहेका आरोहीको ज्यान जोगाउनु महत्त्वपूर्ण भएको निष्कर्षका साथ निमा टासी उद्धारमा खटिएका थिए।
निमा टासी र गेल्जीले मलेशियाली आरोहीलाई हिमालमा सुत्न प्रयोग गरिने ‘म्याट्रेस’ मा बेरेर पोको पारे। दुई जनाले बोराको भारी बोके जसरी पालैपालो चौथो शिविरसम्म ल्याइपुर्याए।
‘लो प्रोफाइल’ मा रहेर काम गर्ने सोलुखुम्बुको थामेका बलिया आरोही निमा टासी शेर्पा चर्चामा आउन रुचाएनन्। सगरमाथामा दुर्लभ उद्धारमा संलग्न भएर मलेशियाली आरोहीको ज्यान जोगाएका तिनै निमा टासी यस पटक भने अन्नपूर्ण हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर हराइरहेका छन्। उनको जीवित उद्धारको सम्भावना कमै रहेको आरोहण कम्पनीले जनाएको छ।
आरोहण कम्पनी सेभेन समिट ट्रेकका अनुसार निमा टासी यसपालिको अन्नपूर्ण हिमाल आरोहणमा गाइडका रूपमा गएका हुन्। उनी दोस्रो शिविरदेखि माथि पाँच हजार ६०० मिटरको उचाइमा पुगेका थिए। अन्नपूर्ण हिमाल आठ हजार ९१ मिटर अग्लो छ।
अन्नपूर्ण आरोहणका क्रममा चैत २५ गते राति १२ बजेतिर आरोहीका लागि चाहिने अक्सिजन, खानेकुरा र बन्दोबस्तीका सामान बोकेर निमा टासी र रिमा रिन्जी गएका थिए। दुवै जना एक्कासि हिमपहिरोमा परे। हिमपहिरोले दोस्रो शिविरदेखि तेस्रो शिविरसम्मको बाटो भत्किएको छ।
निमा टासीसँगै गएका पेम्बा थेन्डुप पनि हिमपहिरोमा परेका थिए। पेम्बा भने जसोतसो जोगिए।
पेम्बाले त्यही रूटमा रहेका नवाङ थिन्डु र निमा बाङदुकसँग मिलेर हराइरहेका सहकर्मीहरूकोे खोजी गरेका थिए। दुवै जना अहिलेसम्म भेटिएका छैनन्।
उद्धारमा संलग्न शेर्पा र आरोहण कम्पनी सेभेन समिट ट्रेकले सकुशल उद्धारको सम्भावना कम भएकाले चैत २८ मा खोजी कार्य स्थगन गरेका छन्। “चार दिनसम्म लगातार खोज्यौं। आफन्तहरू पनि नजीक गएर हेरे। नसक्ने भएपछि खोजी कार्य स्थगन गरेका छौं,” सेभेन समिट ट्रेकका मिङ्मा शेर्पाले हिमालखबरसँग भने।
वसन्तकालीन आरोहणका लागि ६६ जना आरोहीले अनुमति लिएका छन्। उनीहरूमध्ये केही आरोही सफलतापूर्वक शिखरमा पुगिसकेका छन्। बाँकी आरोही भत्किएको बाटो मर्मत गरेर आरोहणको अन्तिम तयारीमा छन्।
हिमाल आरोहणका लागि चाहिने बन्दोबस्तीका सामान र बाटो बनाउने जस्ता कठिन काम शेर्पाहरूले गर्छन्। त्यसपछि मात्रै अन्य आरोही पछ्याउँदै शिखरको यात्रा तय गर्छन्।
जोखिमपूर्ण कामका लागि ओहोरदोहोर गरिरहने भएकाले हिमपहिरो, हिमआँधी र अन्य पर्वतीय दुर्घटनामा ज्यान गुमाउने धेरैजसो शेर्पा नै हुन्छन्। हिमालमा ज्यान गुमाउने संसारभरका आरोहीमध्ये शेर्पाको संख्या करीब एकतिहाइ रहेको आरोहण सम्बन्धी विवरण अद्यावधिक गर्ने हिमालयन डेटाबेसको तथ्यांक छ।