सामूहिक बलात्कारमा परेकी दुर्गाकाे फाेन छोराले गरे ‘ब्लक’
आफैंले जन्माएको छोराले समेत दुर्गालाई चटक्कै छाडिदिए । समाजमा मुख देखाउन लाज भएको भन्दै घरमा बसेनन्। विदेशमा रहेका पतिले पनि छोराबुहारीलाई आमासँग नबस्न अह्राए।
बाहिर झलमल्ल घाम लागिरहे पनि भित्र उज्यालो पसेको थिएन। झ्यालढोका डामडुम बन्द थिए। अँध्यारो कोठाको खाटमा बिना चालचुल पल्टिरहेकी थिइन्, ४० वर्षीया दुर्गा यादव (परिवर्तित नाम)। कोठा जस्तै अँध्यारो देखिन्थ्यो अनुहार।
हामी भित्र पसेपछि उनले बत्ती बालिन्। अनुहार केही हँसिलो बनाउन खोज्दै भनिन्, “तपाईंहरू बल्ल आज पो आउनुभयो, खाना बनाउँछु है, मैले पनि खाएको छैन।”
दिउँसो १ बजेसम्म भोकै थिइन् उनी। हुन त ६ महीना भयो, यस्तो बेहाल भएको। खाने, सुत्ने, उठ्ने कुनै कुराको टुंगो छैन। बाहिर निस्कने रहर छैन। खाटमा पल्टिएर टोलाउनु, घरीघरी दाह्रा किट्नु अनि लाचार बनेर आँसु झार्नु नियति बनेको छ। वेलावेला झस्किन्छिन्, पति र छोराले फोन गरे कि भनेर। तर टिकटिके मोबाइलको स्क्रीनमा कुनै संकेत देखिंदैन। उनी फेरि आफ्नै मनोदशामा डुब्न थाल्छिन्।
अहिले चाहिं हामी भित्र पसेर उनलाई झस्कायौं। हामी अर्थात् उनकी आमा, म र स्थानीय एक अभियन्ता। खाना आमाले पकाउने भइन्। दुर्गा शौचालयतिर लागिन्। शौचालयबाट फर्किंदा उनको हिंडाइ निकै असजिलो देखियो। सोधें, “के भयो तपाईंलाई?” उनी लामो सुस्केरा हाल्दै थाममा अडेस लागिन्। अनि केही बेरपछि भनिन्, “मलाई पिसाब गर्दा अझै गाह्रो हुन्छ। चोट निको भएकै छैन।”
दशैंको कालरात्रि
गाउँभरि दशैंको रौनक थियो। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका- ५ की दुर्गाले पनि खसी तम्तयार राखेकी थिइन्, नवमीका दिन काट्न। आफन्तहरूलाई बिहानै आउन निम्ता गरेकी थिइन्। नवमीकै दिन बिहान ७ बजे छोरा वैदेशिक रोजगारका लागि उड्दै थिए। दुर्गाका आमा र बुहारी उनलाई पुर्याउन अघिल्लै दिन काठमाडौं पुगेका थिए। पति चाहिं डेढ वर्षदेखि रोजगारका सिलसिलामा मलेशियामा छन्।
अष्टमीको रात घरमा दुर्गा एक्लै थिइन्। बिहान चाँडै उठ्नुपर्ने भएकाले चाँडै सुतिन्। भुसुक्क निदाई पनि हालिन्।
एक्कासि खस्याकखुसुक आवाजले उनको निद्रा बिथोल्यो। खुल्न गाह्रो मानिरहेका आँखाले शुरूमा धमिलोसँग छिमेकी हरिराम यादवलाई देखे। उनी आत्तिएर आँखा मिच्न थालिन्। बिस्तारै श्यामकुमार यादव, करिया भन्ने रामउदेश यादव र लहानका सन्तोष प्रधान पनि त्यहीं देखिए। रातको ९ बजेको थियो।
दुर्गालाई राम्ररी थाहा थियो, उनले मुख्य गेट र पछाडिपट्टिको ढोकामा सधैं झैं चाबी लगाएकै थिइन्। मुख्य गेट नै बन्दिलो खालको भएकाले अगाडिपट्टिको ढोका र कोठाहरू अरू वेला पनि बन्द गरिंदैनथे। तर उनीहरू मूल गेटको पर्खाल नाघेर भित्र पसेछन्। दुर्गा ब्युँझिएपछि हरेरामले झपारे जसरी भने, “भाउजू, बाहिरबाट त्यत्तिको बोलाउँदा पनि किन नसुनेको?” उनको मुखबाट ह्वास्स रक्सीको गन्ध आयो।
दुर्गाले अरू व्यक्ति पनि नशामा रहेको चाल पाइन्। “बैवा कथी काम से येली बिहान बात करब (बाबु, यति वेला के कामले आको, बिहान कुरा गरौंला,” यति भन्दै उनी बाहिर निस्कन खोजिन्। तर हरेरामले उनलाई तानेर खाटमा लडाए। अरूले हातखुट्टा समाते। दुर्गाले गुहार लगाइन्। उनको घरबाट छिमेकी अलि टाढै छन्। त्यसमाथि उनीहरूले छिमेकीसम्म आवाज पुग्नुअघि नै उनको मुख थुनिदिए।
दुर्गाले आफूलाई छोडिदिन निकै याचना गरिन्। तर करीब दुई घण्टासम्म उनीहरूले पालैपालो बलात्कार गरिरहे। उनीहरूको पकड अलिक खुकुलो भएको मौका छोपेर एक पटक भागिन् पनि। पछाडिपट्टि निस्कने ढोका खोलेर बाहिर निस्किइन्। घर पछाडि सानो पोखरी छ। त्यहाँबाट प्रहरी चौकी पुग्न १०–१२ मिनट लाग्छ।
उनी भागेर प्रहरीमा जान खोजिन्, तर उनीहरूले पोखरीको डिलमै उनको कपाल समातेर लछारिहाले। यसरी लछार्दै गर्दा कसैले सन्तोषलाई भन्दै थियो, “ओइ, भाउजूलाई मन लागुन्जेल राखिरहनुपर्छ।” अर्काले थप्यो, “हो..हो.. भर्खर ११ बजेछ। अहिल्यै छाड्नै हुँदैन। अब एकैपल्ट तीन बजेतिर छाड्ने हो।”
अर्को आवाज आयो, “नशा उत्रिइसक्यो। अब दोकानबाट गोटी ल्याउनुपर्छ। त्यही खाएर रातभरि... ।”
बाघले बाख्रालाई घिस्याए जसरी तिनले दुर्गालाई फेरि भित्र पुर्याए। अनि फेरि घण्टौंसम्म उसैगरी झम्टिइरहे।
यसबीच दुर्गाले उनीहरूलाई “मेरो छोरालाई तिमीहरूले यसो गर्यौ भन्दिन्छु अनि म मर्छु” भनेर पनि तर्साउन खोजिन्। तर नम्बर डायल गर्न नपाउँदै उनीहरूले मोबाइल खोसिहाले।
रातको १ जति बजिसकेको थियो। दुर्गाले उम्कन बारम्बार कोशिश गरिरहिन्, तर एक छिनलाई पनि छुटकारा पाइनन्। तीन जनाले हातखुट्टा अँठ्याउने र एक जनाले उनलाई लुछिरहने क्रम घण्टौं रोकिएन। एक मन त उनलाई तत्काल मरिहालूँ जस्तो लाग्यो। र, कसोकसो गरेर सिलिङमा घुमिरहेको पंखामा फाल हाल्न खोजिन्। तर हात पर्नासाथ त्यसले उनलाई बिभिन्ड्याएर खाटमै पछारिदियो। यो रनाहामा उनलाई बेस्सरी तिर्खा लाग्यो, पानी मागिन्। यति वेला उनको टाउको श्यामको पाखुरामा च्यापिइरहेको थियो। अर्धचेत जस्तो स्थितिमा थिइन्। हरेरामले कचौरामा पानी ल्याएर खुवाए।
पानी खाएपछि दुर्गाको होश पूरै हरायो। उनलाई त्यो खाएपछि च्वास्स छाती पोलेको सम्म याद छ।
एकैपल्ट बिहान मात्र उनको होश खुल्यो। ती चार जना त्यहाँबाट हिंडिसकेका थिए। तत्काल बहिनीलाई फोन गरेर घटना सुनाइन्। छोरालाई पनि खबर भनिदिन भनिन्। अनि आफू सकीनसकी गर्दै प्रहरी चौकी पुगिन्।
हामीलाई यो व्यथा सुनाइसक्दा दुर्गाका आँखाबाट बर्बरी आँसु झर्न थाल्यो। खुइय्य गर्दै फेरि खाटमा पल्टिइन्। उनले भनिन्, “अहिले त मेरो तागत सकिएको छ, धेरैबेर उठ्न, बस्न सक्दिनँ।”
छोरीको हालत देखेर आमाका आँखा पनि रसाए। मतिर हेर्दै भनिन्, “हेर्नुस् मेडम, पापीहरूले मेरो छोरीको यस्तो हालत बनाइदिए। म कसरी हेरेर बसूँ?”

न्याय अधूरै
घटनाबारे सुनाउँदासुनाउँदै दुर्गा प्रहरी कार्यालयमै बेहोश भइन्। प्रहरीले लहानस्थित प्रादेशिक अस्पताल पुर्यायो। त्यहाँ उपचारसँगै शारीरिक परीक्षण गरियो। दुर्गाको जाहेरीका आधारमा हरेराम तत्काल पक्राउ परे। सन्तोष, श्यामकुमार र रामउदेश भने फरार भए।
हरेरामका दुई पत्नी छन्। ती दुई जना, साला, छिमेकी कैला मियाँ र अन्य ४ जना दुर्गालाई पैसा दिएर घटना मिलाउन अस्पतालमै पुगेका थिए। उनीहरूले १५ लाख लिएर मिलापत्र गर्न दुर्गाकी आमालाई दबाब दिए। हरेरामका पत्नीहरूले दुर्गाको खुट्टै समातेर जाहेरी फिर्ता लिन याचना गरे। तर दुर्गाले मानिनन्।
“१०-१५ लाख दिन्छु भन्दै छन्, मिल्ने कि उनीहरूलाई जिल्ला पठाइदिऊँ भनेर सोधेका थिए प्रहरीले पनि,” उनी भन्छिन्, “मैले रुपैयाँ चाहिंदैन, उनीहरूलाई जेल हाल्दिनुस् भनें।”
प्रहरीले सिरहा जिल्ला अदालतमा मुद्दा अघि बढायो। तर अदालतले गत कात्तिकमा अभियुक्तहरूलाई जनही एक लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दियो। फरार रहेका श्यामकुमार र रामउदेश पनि त्यसपछि धरौटी बुझाएर निस्फिक्री बने। सन्तोष चाहिं अझै फरार छन्।
मुद्दा चलिरहँदा पनि उनीहरूले दुर्गालाई दुःख दिन छाडेका छैनन्। कहिले परालमा आगो लगाइदिन्छन्। कहिले घर अगाडिबाट जथाभावी बोल्दै हिंड्छन्।
“दुःख दिइरहेपछि फेरि प्रहरीलाई भनें। प्रहरीले फेरि यसो गर्यौ भने तिमीहरूलाई जेलमा हाल्दिन्छु भनेर चेतावनी दियो,” उनी भन्छिन्, “तर अझै सताइरहेकै छन्।”
हरेराम, श्यामकुमार र रामउदेश हरेक बिहान उनकै घर अगाडिबाट चिया खान जान्छन्। तिनको मुहारमा कुनै पश्चात्ताप छैन। बरु तिनका आँखाले आफूलाई खिस्स्याइरहे झैं लाग्छ दुर्गालाई। “मेरो च्यातिएको ब्लाउज, पेटिकोट प्रहरीले प्रमाणका रूपमा लग्यो, मेडिकल रिपोर्टले पनि अपराध भएको देखाएकै थियो,” उनी भन्छिन्, “तर अदालतले मेरो बलात्कारको मूल्य चार लाख ५० हजार तोकिदियो र अपराधीलाई छाडिदियो।”
दुर्गालाई घरीघरी आफ्नो हत्या गरिदिने हुन् कि भन्ने डर पनि लाग्छ। सिरहाकै भगवानपुरमा रिंकु यादवको घटनामा पनि यस्तै भएको उनी सुनाउँछिन्। अभियुक्तका परिवारले मुद्दा फिर्ता लिन दबाब दिइरहेकै छन्। “धरौटी बुझाउन र वकीललाई गरेर सात लाखभन्दा बढी खर्च भइसकेकाले अब बाँकी सात लाख लिएर मिलापत्र गर्नू भन्छन्,” आमा भन्छिन्।
दुर्गा चाहिं जसरी पनि उनीहरूलाई जेल पठाउने अडानमा छिन्।
सामाजिक बहिष्करण
घटनायता दुर्गा परिवार र समाजबाट बहिष्करणमा परेकी छन्। पहिले हरेक दिन फोन गर्ने पति अहिले बोल्न छाडेका छन्। खर्च पनि पठाउँदैनन्। बरु इज्जत गएको भन्दै घरबाट निस्कन दबाब दिइरहेछन्। “चार जनाले सुताएको तँलाई अब म कसरी राखूँ भन्छन्,” दुर्गा दुखेसो पोख्छिन्, “मैले उनीहरूलाई बोलाएको हो र? यसमा मेरो के दोष?”
आफैंले जन्माएको छोराले पनि उनलाई चटक्क छाडिदिए। घटनापछि उनी विदेश नगई गाउँ त फर्किए, तर समाजमा मुख देखाउन लाज भएको भन्दै घरमा बसेनन्। बाबुले पनि छोराबुहारीलाई आमासँग नबस्न अह्राए। अहिले छाेरा पत्नीसँग ससुरालीमा बस्छन्। दुर्गा छोराबुहारी फर्काउन त्यहाँ पनि गइन्। तर बुहारी ‘यति बूढी मान्छेलाई त बलात्कार गरे भने मलाई पनि त्यस्तो नहोला र?’ भन्दै फर्कन मानिनन्।
उजुरी नदिई घटना गाउँमै मिलाउन सल्लाह दिएका छिमेकीहरू त यसै पनि तर्किने भइहाले। विना कसूर सबैले हेला गरेपछि दुर्गाले दुई पटक आत्महत्याको प्रयास गरिन्। एक पटक तरकारीमा हाल्ने विषादी खाइन्। बहिनीले तत्काल थाहा पाएर अस्पताल पुर्याइन्। अर्को पटक आमाले रोकिन्।
अहिले दुर्गालाई सहानुभूति दिने आमा, बहिनी र छोरी मात्र छन्। छोरीको विवाह भइसक्यो। आमालाई कहिलेकाहीं आफैंसँग बोलाउँछिन्। उनले ससुरालीमा रहेको दाइलाई पनि फोन गरिन्। तर उनले बहिनीको नम्बर नै ‘ब्लकलिस्ट’ मा राखेछन्। दुर्गालाई भेट्न वेलाबखत आमा पुग्छिन्। पुग्नासाथ घरको चुकुल लगाइदिन्छन्। छोरीलाई ढोका राम्ररी लगाएर बस्न भन्छिन्। अभियुक्तहरू पसेर छोरीलाई थप हानि पुर्याइदिने हुन् कि भन्ने डर छ उनलाई। बहिनी दुर्गालाई भेट्न उति आउन पाउँदिनन्। तर फोनमा ढाडस दिइरहन्छिन्, “अपराधीले जसरी पनि सजाय पाउँछन्, न्याय मरेको छैन।”
याे पनि पढ्नुहाेस्
बलात्कारको विषवृक्ष
बलात्कार मुद्दामा पीडक जोगाउँछ कसले
समाज नै संवेदनाहीन: नेपालमा दैनिक कम्तीमा तीन बलात्कार