आसाममा नेपालीभाषीको घरमा लुकेका थिए दुर्गा प्रसाईं
भारतमा पक्राउ गरेर काठमाडौं ल्याइएका दुर्गा प्रसाईं आसामस्थित नेपालीभाषीको घरमा लुकेर बसेका थिए।
राजतन्त्र फर्काउने अभियानका कमान्डर प्रसाईंलाई प्रहरीले शुक्रबार काठमाडौं ल्याएको छ। प्रसाईं सहित उनका निजी अंगरक्षक दीपक खड्का पनि प्रहरी नियन्त्रणमा छन्।
काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको प्रदर्शन हिंसात्मक बनेपछि उनी भागेका थिए। उनले काठमाडौंमै रहेको भन्दै भिडिओ सार्वजनिक गरेका थिए। भिडिओमा देखिएको मन्दिरका आधारमा प्रहरी टोली खोजबिन गर्न भारत पुगेको थियो।
उनलाई भारतको आसाम राज्यस्थित धनसिरीपुर ठाडालाइन क्षेत्रबाट बिहीबार पक्राउ गरिएको हो। प्रहरीले भने आज मात्र झापाको भद्रपुर क्षेत्रबाट पक्राउ गरिएको जनाएको छ। यसअघि पनि भारतमा पक्राउ गरेका व्यक्तिलाई भारतीय सुरक्षा निकायले नेपाललाई नबुझाउँदासम्म नेपाल प्रहरीले पक्राउ परेको स्विकार्ने गरेको थिएन।
भारतीय प्रहरीको समन्वयमा प्रसाईंलाई चैत २८ गते नियन्त्रणमा लिइएको थियो। यो खबर सार्वजनिक भएसँगै नेपाल प्रहरीले भने मध्यराति प्रेस विज्ञप्ति जारी गरी प्रसाईं पक्राउ नपरेको दाबी गरेको थियो। आज बिहान झापा ल्याएपछि भने प्रहरी प्रवक्ता नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यले प्रसाईं पक्राउ परेको बताएका हुन्।
प्रसाईंलाई आसामस्थित अभिचन्द्र पाठकको घरबाट पक्राउ गरिएको हो। आसाम पुगेको नेपाल प्रहरीको विशेष ब्यूरोको टोलीका अनुसार उनी पाठकको घरमा लुकेर बसेका थिए। पाठक नेपालीभाषी हुन्।
भारतको आन्तरिक सुरक्षा र प्रतिजासूसी संस्था इन्टेलिजेन्स ब्यूरो (आईबी)को सहयोगमा प्रसाईं लुकेको ठाउँ पहिचान गरिएको थियो। त्यसपछि आसामको स्थानीय प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। उनलाई ल्याउन नेपालबाट प्रहरीको विशेष ब्यूरोको टोली आसाम पुगेको थियो।
भारत र नेपालमा आपराधिक कार्यमा संलग्न भएको आरोप लागेका व्यक्तिलाई दुवै देशका प्रहरीले अनौपचारिक रूपमा बुझबुझारथ गर्दै आएका छन्। प्रसाईं यस्तो अनौपचारिक अभ्यासको पछिल्ला पात्र बनेका छन्। भारतीय प्रहरीले आतंकवादी क्रियाकलापमा संलग्न भएको आरोप लागेका आफ्ना थुप्रै नागरिकलाई नेपाल प्रहरीको समन्वयमा भारत लगेको पाइन्छ भने नेपालमा अपराध गरेर भारत पुगेकालाई पनि नेपाल प्रहरीले ल्याउने गरेको छ।
प्रसाईंलाई पूर्व राजा ज्ञानेन्द्र शाहले राजसंस्था फर्काउने अभियानको कमान्डर तोकेका थिए। चैत १५ गते प्रसाईंको कमान्डमै भएको आन्दोलन हिंसात्मक बन्दा प्रहरीको गोली लागेर सबिन महर्जन र प्रदर्शनकारीले भवनमा लगाएको आगोमा जलेर पत्रकार सुरेश रजकको ज्यान गएको थियो।
प्रहरीको गोली लागेर २० जना घाइते भएका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले एसएलआर, इन्सास जस्ता अर्धस्वचालित हतियारबाट आन्दोलन नियन्त्रण गर्न ११० राउन्ड गोली प्रहार गरेको थियो। यद्यपि प्रहरीले ५८ राउन्ड मात्र गोली हानिएको दाबी गरेको थियो।
तीनकुने घटनाको तीन दिनपछि चैत १८ मा प्रसाईंले आफू काठमाडौंमै रहेको भन्दै फेसबूक मार्फत भिडिओ सार्वजनिक गरेका थिए। त्यो भिडियो सन्देशको पृष्ठभूमिमा मन्दिर समेत देखिन्छ। त्यो मन्दिर आसामस्थित प्रसाईं लुकेर बसेको पाठक घरको रहेको प्रहरी स्रोतको भनाइ छ।
प्रसाईंको सचिवालयले चलाउने फेसबूक आईडीमा भने उनले भारतमा प्रहरीसामु आत्मसमर्पण गरेको दाबी गरिएको छ। ‘हिजो मात्र हामीले सुरक्षाको ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुन्छौं भनेका थियौं र आज उपस्थित भयौं,’ प्रसाईंको सचिवालयले लेखेको छ।
काठमाडौं प्रहरीले प्रसाईं विरुद्ध आपराधिक उपद्रव, राष्ट्रद्रोह र संगठित अपराधको कसूरमा अनुसन्धान गरिरहेको छ। यसअघि सांसद धवलशमशेर राणा, रवीन्द्र मिश्र लगायत नेतालाई समेत यही कसूरमा पक्राउ गरेर हिरासतमा राखिएको छ।