‘श्रीमान्-श्रीमतीको सम्बन्धविच्छेद हुँदा सजाय सन्तानले भोग्छन्’
‘साना साना गल्तीले पनि सम्बन्ध टुटे। तर रगतको साइनोमा ठूला ठूला गल्ती पनि माफी भए। एकै छिन गाली गरेर हात नै हाले पनि केहीबेरमै माया पलाउँदो रहेछ।’
झापाको पृथ्वीनगरमा जन्मिएर हङकङलाई कर्मथलो बनाउँदै साहित्यमा कलम चलाइरहेकी कवि, गीतकार तथा आख्यानकार हुन्, बालिका बान्तावा। कामको सिलसिलामा लामो समयदेखि देश बाहिर रहेकी बान्तावाका सिर्जनामा वैयक्तिक अनुभूति पाइन्छ। पारिवारिक बिछोड, सम्बन्धहरूको उल्झन र परदेशी हुनुका पीडा उनका साहित्य सिर्जनाका आधार हुन्। हालै उनको पहिलो उपन्यास प्रकाशित भएको छ, प्याउली।
यस उपन्यासमा एक महिलाले भोग्नुपरेको जीवनका उकाली-ओरालीहरू छन्। सम्बन्धहरूले दिएका हैरानी र ऐंठनहरू छन्। प्रेम र वियोगहरू छन्। प्रेममा पर्दा निडर भएर गरेका केही निर्णय र जिउने क्रममा उही निर्णयले दिएका सास्तीहरू छन्। प्रेम, विवाह र प्रेमको प्रतीक भनेर जन्मिएका सन्तानहरूले बाबुआमा अलग भएपछि पाउने आघातका फेहरिस्त छन्। अनि छन्, पुरुष अहंमाथि गरिएका निर्मम प्रहार। हिमालखबरकाे प्रस्तुति किताबको कुरामा लेखक बान्तावासँग अनिता भेटवालले गरेको कुराकानीको सम्पादित अंश :
पहिलो कृति बजारमा आएपछि कस्तो अनुभव भइरहेको छ? कस्तो प्रतिक्रिया पाइरहनुभएको छ?
पहिलो कृति, खुशी नहुने त कुरै छैन। यसमा प्रतिक्रियाको कुरा गर्दा, प्रतिक्रिया पनि पछाडि र अगाडि दिने हुँदो रहेछ। पछाडि कस्तो प्रतिक्रिया आइरहेको छ, त्यो थाहा छैन। तर अगाडि आइरहेका प्रतिक्रिया सकारात्मक छन्। सबैले अल्छी नलाग्ने, पढिरहूँ लाग्ने, नढेर नसिध्याई नउठूँ लाग्ने गरेको बताउनुभएको छ। पहिला प्रकाश कोविदका कृति पढे जस्तो लाग्यो भनेर पनि प्रतिक्रिया आइरहेका छन्।
यहाँले बयान गरे अनुसार यो पुस्तक यहाँकै वास्तविक जीवनकथा हो। फेरि उपन्यास पनि भनिएको छ, यो पुस्तक कति आख्यान र कति यथार्थ हो?
मेरो जीवनको यथार्थ ८० प्रतिशत छ। २० प्रतिशत मात्र पाठकको ध्यानाकर्षण गर्न आख्यानको रूप दिएकी छु।
निजी जीवनको कथा त आत्मकथामा आउँछ। तर तपाईंले किन उपन्यासको रूप दिनुभयो?
आत्मकथा सफल मानिसको हुने गरेको छ, जुन पढेर प्रेरणा लिन सकिन्छ। तर मलाई कसैले चिन्नुहुन्न। म भुइँमान्छे हुँ। मेरो कथा पढेर सफल वा प्रेरणा लिनेहरू कुराहरू नहोलान्। तर उपन्यासमा आफ्नो कथा खुलेर लेख्न पाइन्छ। स्वतन्त्र हिसाबले पढ्नेहरूलाई पनि रुचिकर बनाउन सकिन्छ भनेर हो।
यसरी त हरेक मान्छेको जीवन उपन्यास बन्न सक्छ। तपाईंकै कथा चाहिं पाठकले किन पढ्ने त?
खासमा यो लेखनले यस्तै छाप छोडोस् भनेर लेखेको होइन। लेखक बन्न वा प्रचार गर्न लेखेको किताब पनि होइन। मेरी छोरी र त्यसपछिका सन्ततिले आमाको संघर्ष बुझून् भनेर लेखेकी हुँ।
एउटै दृश्य भए पनि मानिसहरूको दृष्टिकोण फरक फरक हुन्छ। कसैले दुई पटक सम्बन्ध टुटेको पढेपछि यो केटीले कति सजिलै सम्बन्ध टुटाएकी रहिछ भन्लान्। कतिले गाह्रो भएर जिउनुभन्दा अलग भएर बाँचेको राम्रो भन्लान्। त्यसैले मैले पाठकलाई यी दुवै कुरालाई जसरी ग्रहण गरे पनि हुन्छ भनेर छूट दिइसकेकी छु। धेरैले त मेरो जस्तै जीवन पनि बाँचिरहनुभएको होला। बाहिर भन्न र लेख्न नसक्नुभएको होला। यो पढेर कतिले आफ्नै जीवन पनि भेट्नुहोला।

पुस्तकमा दुई पटक वैवाहिक सम्बन्ध असफल भएको लेख्नुभएको छ। मान्छेहरू आफूले गरेको प्रेम लुकाउँछन। त्यसमा पनि धोका झन् लुकाउँछन्। तपाईंलाई यो सबै उदांगो पार्दा झन् पीडा पो भयो कि?
धोका पाए पनि म लामो समय चूप लागेरै बसेकी थिएँ। मेरा पाँच दाजुभाइ हुनुहुन्छ। दिदीबहिनी छैनन्। आमाबाबा पहिल्यै बित्नुभयो। पाँच दाजुभाइलाई पनि पहिलो सम्बन्ध टुट्दा थाहा दिइनँ। एकदमै पीडा भयो। अहिले दोस्रो पटक पनि त्यस्तै घटना भएपछि कतिन्जेल लुकाएर राख्ने भन्ने भयो। यसले त भित्रभित्रै कुण्ठा बढाउँदो रहेछ। बरु पोखिंदा सहज हुँदो रहेछ। भोग्दै गएँ, थाहा पाउँदै गएँ।
सत्य कुरा कति लुकाउने? फेरि कुरा लुकाउँदा धेरै तनाव पनि हुँदो रहेछ। एकदिन थाहा पाउने कुरा किन लुकाउने? कोसँग लुकाउने भन्ने लाग्यो। त्यसैले मेरो परिवारलाई मात्र होइन, पाठक सबैलाई आफ्नो भोगाइ थाहा दिन पुस्तक नै लेखें। यसले मलाई सहज भएको छ। हिजो मभित्र जे थियो, अहिले खाली छु। रित्तो छु। आनन्द भएको छ।
तपाईंले बाल्यकाल, विद्यालयको समय, प्रेम र विवाह हुँदै पटक पटक भएको सम्बन्धविच्छेदको कुरा गर्नुभएको छ। के रहेछ त सम्बन्ध भन्ने कुरा?
सम्बन्ध भनेको जबसम्म तपाईंलाई कोहीसँग सहज लाग्छ, त्यस वेलासम्म टिक्दो रहेछ। असहज भएपछि त्यसबाट अलग भएकै ठीक रहेछ। जबर्जस्तीको सम्बन्धलाई तोडेकै राम्रो रहेछ। किनभने सबैले आफ्नो जीवन स्वतन्त्र बाँच्न पाउनुपर्छ। विचार नमिली-नमिली जोसँग बसे पनि हानिकारक रहेछ। त्यसैले पनि म यस्ता सम्बन्धसँग अलग रहँदै आएँ।
पुस्तकको लेखन यात्रा चाहिं कस्तो रह्यो नि?
मैले पहिल्यै भोगेर पचाइसकेको कुरा भएकाले लेख्न गाह्रो भएन। फेरि अहिले एक्ली छु। मैले कसैलाई समय दिनु छैन। त्यसैले पनि लेख्न सकें। परिवार भन्नु एक छोरी छिन्। उनी पनि उच्च शिक्षाका लागि अमेरिका बस्छिन्। त्यसैले प्रशस्त समय भयो। काम अनि लेखपढ मात्र दैनिकी थियो। अर्को, यी सबै कुरा लेख्ने मेरो इच्छा नै थियो। मन भित्रबाटै लेख्ने इच्छाशक्तिले डोर्यायो। त्यसैले भोग्न जति लेख्न गाह्रो भएन।
बाल्यकालबाटै सिर्जनामा अब्बल हुनुहुँदो रहेछ। नृत्यमा पनि सधैं अगाडि। कविता लेख्नेदेखि वाचन पनि गर्ने क्षमता रहेछ, है?
ठूलाे दाजु ब्रिटिश आर्मी हुनुहुन्थ्यो। पत्रपत्रिका र किताब ल्याउनुहुन्थ्यो। मेरी भाउजूका बुबा धरान घोपा क्याम्पमा काम गर्नुहुन्थ्यो। त्यहाँ साहित्यिक कार्यक्रम हुने रहेछ। कहिलेकाहीं दाइले त्यहींबाट पुस्तकहरू ल्याउनुहुन्थ्यो। म ती किताब पढ्थें। विशेषगरी प्रकाश कोविदका कुनै उपन्यास छोडिएन। त्यसैले पनि कविता लेख्न थालेकी थिएँ।
विद्यालय तहमा खूब प्रेमका प्रसंगहरू छन्। पुस्तकमा पहिलो प्रेमका पनि कुरा छन्। आजभन्दा तीन दशकअघि प्रेमको आदानप्रदान कसरी हुन्थ्यो? त्यो समय कस्तो थियो?
त्यो वेला अहिले जस्तो डेटिङसेटिङ हुँदैनथ्यो। प्रेम गर्ने जोडी कतै बाहिर निस्केर बस्ने अवस्था नै थिएन। भेट हुने भनेको समूहमा, विभिन्न सांस्कृतिक, खेलकूद लगायत कार्यक्रममा मात्र हो। प्रेम गर्ने एक मात्र माध्यम चिठी नै थियो। कसैको हातबाट चिठी पठाइन्थ्यो। त्यही सिलसिलामा मैले भागी विवाह गरें। त्यो आँट कसरी आयो, अहिले पनि थाहा छैन। पाँच दाजुभाइकी एक्ली बहिनी। जोसँग भागें, उहाँ त्यस वेला १० कक्षामा अनि म ९ कक्षामा पढ्थ्यौं।
हाम्रो प्रेमको कुरा थाहा पाएपछि दाजुहरूले घरबाट निस्कनै दिनुभएन। स्कूल जाँदा-आउँदा सँगै एक जना मान्छे खटाउनुभएको थियो। त्यस्तो अवस्थामा पनि प्रेम सफल पार्न भागी विवाह गरियो। खै के आँट थियो त्यो? खासमा मेरो प्रेमी पागल जस्तै हुनुभएकाले उहाँको परिवारले नै भगाइदियो। अनेक अनेक घटना भए जीवनमा।

छोरीको जन्मपछि विभिन्न व्यवसाय गर्दा नोक्सान भएकाले विदेश जानुभएको रहेछ। आजभन्दा तीन दशकअघिको समाजमा छोरी विदेश जाने कुरालाई कसरी लिइन्थ्यो?
खासमा छोरीका बुबाले धेरै पटक विदेश जाने कोशिश गर्दा पनि नभएपछि हुर्किरहेकी छोरीको लागि आफैं कमाउन जान्छु भनेर अघि बढेकी थिएँ। परेपछि सबै आँट आउने रहेछ। फेरि आफ्नो अघि समस्या थोपरिएपछि जसले जे भने पनि समाजले अनेक कुरा गरे पनि फरक नपर्ने रहेछ। कसैका कुरा नसुनी छोरीको भविष्यका लागि म हङकङ गएँ।
उता तपाईं विदेश जानु, यता तपाईंका पहिलो श्रीमान्ले अर्को साथी भेट्टाउनुभएछ। अनि यहाँको सम्बन्ध पनि बिग्रियो। १३ वर्षपछि सम्बन्धविच्छेद गरेर फेरि अर्को विवाह गर्नुभयो। त्यो सम्बन्ध टिकेन। यस्तै यस्तै भएर हो, यहाँले पुरुषलाई विश्वास गर्न सक्दिनँ भन्नुभएको?
मलाई श्रीमान्-श्रीमती भनेको दुई शरीर एक मन भन्ने लाग्छ। कतिले श्रीमान्सँग लुकाएर पैसा राखेको छु भन्छन्। मलाई अचम्म लाग्छ। किनभने यो सम्बन्ध समर्पणको सम्बन्ध हो, म त समर्पण गरेरै बाँचें। हिजो अलग अलग समयमा दुई जना पुरुषसँग सम्बन्धमा रहँदा आफ्नो केही भनिनँ। तर उहाँहरूबाट धोका मात्र पाएँ।
फेरि महिला र पुरुषको प्राकृतिक बनोट नै फरक हुँदो रहेछ। जति पुरुष कठोर हुन सक्छन्, त्यति महिला नहुने रहेछन्। त्यही भएर पनि बारम्बार म एउटै सम्बन्धमा फसिरहें। धोका पाइरहें। आफ्ना तर्फबाट हुने जति सबै गर्दा पनि कति पुरुषलाई कमै लाग्दो रहेछ। उनीहरूले श्रीमतीले गरेको त्याग, समर्पण र प्रेमलाई केवल कर्तव्य ठान्दा रहेछन्। कमै पुरुषले यो कुरा बुझ्छन् होला। त्यसैले सम्बन्धको कुरामा, ३०औं वर्षदेखि यस्तै मात्र भोग्दै आएर होला, अहिले पुरुषको विश्वास नै लाग्दैन।
फेरि कतिको सम्बन्ध उदाहरणीय पनि हुन्छ। प्रेम विवाहमा परिणत भएर खुशीले बाँचिरहेका हुन्छन्। कति वैवाहिक जोडी त यो जुनी कम भयो भनेर अर्को जुनीमा पनि सँगै भइयोस् भन्ने कामना गर्छन्। कसैको भने पटक पटक प्रेम र विवाह नै टुट्ने – खासमा यस्तो किन हुन्छ?
यो त मैले पनि बुझ्न सकेकी छैन। पहिला, ‘तँ विना म बाँच्नै सक्दिनँ’ भन्ने मान्छे नै पछि ‘तँसँग म बाँच्नै सक्दिनँ’ भन्छ। एउटै मन कसरी बदलिन्छ, म छक्क पर्छु। हिजो उसलाई देखेपछि, भेटेपछि, संगत गरेपछि ऊ विना बाँच्न सक्दिनँ भन्ने, त्यही मनले अलग हुन्छु भन्ने। पहिले बोलेरै नअघाउने मन, बिस्तारै बोल्न मन नलाग्ने, हेर्न मन नलाग्ने, हिंड्न मन नलाग्ने हुन्छ। खासमा, सबैको प्रेम उदाहरणीय मात्र हुँदैन। यहाँ मेरो जस्तो जीवन धेरैको छ। मैले पो देखाएँ, तर नदेखाई भित्रभित्रै टुटेका धेरै छन्। प्रेम गर्दा जस्तो आत्मीयता विवाह भएपछि नहुँदो रहेछ।
तर पटक पटक चोट खाएको मान्छेले फेरि उस्तै नयाँ सम्बन्ध किन बनाउँछ त?
मान्छे धेरै आशावादी पनि छ। नयाँ सम्बन्धले पुरानो सम्बन्धको घाउ भुलाइदिन्छ कि भन्ने पनि आश हुँदो रहेछ। तर मैले बारम्बार धोका मात्र पाएँ।

तपाईंले प्रेमसम्बन्ध, धोका, निजी जीवन सबै सबै पुस्तकमा खोल्नुभएको छ। निजी जीवन यसरी पर्दाफास गर्दाका फाइदा र बेफाइदा के के भोगिरहनुभएको छ?
अहिले म रित्तो छु। रित्तिएर जिउन सहज हुँदो रहेछ। आफ्नै कथा लेख्दै छु भन्दा धेरैले अनेक थरी भने। मेरा छोरी र दाजुहरूलाई पनि निजी जीवन खोलेको मन पर्दैन। तर यो सबै कुरा त यत्तिका वर्षदेखि लुकाउँदा भित्रभित्रै गाह्रो भएको थियो। पहिलो सम्बन्ध बिग्रेको त मैले १४ वर्षपछि मात्र थाहा दिएँ। त्यसले मलाई धेरै गाह्रो भयो। अहिले सबै कुरा थाहा दिएँ, लेखेपछि हल्का भएकी छ।
यी सबै कुरा आफैंभित्र राख्दा बिरामी पनि भइँदो रहेछ। मन र दिमागमा यी घटनाहरू भएपछि हाँस्नै नसक्ने भएकी थिएँ। अहिले त्यस्तो छैन। जब यो पुस्तक लेख्न थालें, त्यसपछि म रित्तिएँ। रित्तिएर जिउन सजिलो भएको छ। अब लुकाउनुपर्ने केही छैन। म उदांगिएँ। कतिले आफ्नै कथा बेची भन्छन्। तर म हिजोसम्म अरूका लागि बाँचेकी थिएँ, आज मात्र आफ्ना लागि बाँचिरहेकी छु।
अब केही विदेशी जीवनका कुरा गरौं। वैदेशिक रोजगारका लागि अहिले पनि हङकङमा हुनुहुन्छ। खासमा दुई दशकभन्दा बढीको विदेश बसाइले के सिकायो?
विदेश भनेको एक्लोपन हो। कहिलेकाहीं त विचारविहीन भइन्छ। घर र काम मात्र हुन्छ। म कहाँ छु भन्ने पनि थाहा हुँदैन। विदेशी जीवनले अझै एक्लोपन मात्र बढाएको छ। त्यस्तो वेला परिवारको महत्त्व भने खट्किन्छ। तर अहिले परिवार साथ छैन।
त्यहाँ महिलाको सामाजिक सुरक्षा कस्तो छ?
हङकङ सुरक्षाका लागि पहिलो नम्बरमा आउँछ। हामी रातैभर मजाले हिंड्न, काम गर्न सक्छौं। कुनै डर हुँदैन। खासमा त्यहाँ महिला र पुरुष भन्ने पनि हुँदैन। सुरक्षा सबैका लागि उत्ति नै आवश्यक छ भनेर व्यवस्था मिलाइएको हुन्छ। त्यसैले त्यहाँ कुनै असुरक्षित महसूस हुँदैन।
हङकङमा नेपाली साहित्यको अवस्था के छ? विदेशमा कामको व्यस्तता भए पनि नेपालीहरू कसरी साहित्यका लागि समय मिलाउँछन्?
हङकङमा साहित्य शृंखला भन्ने संस्था छ। त्यहाँ महीनाको अन्तिम आइतबार भेला हुन्छौं। महीनाको एक पटक एउटा किताब विमोचन भइरहेको हुन्छ। पहिलाभन्दा झन् झन् राम्रो छ। खासमा विदेशमा साहित्यलाई कसरी समय दिने भन्ने कुरामा, मेरो हकमा म त एक्लै छु। समय नै समय हुन्छ। परिवारलाई समय दिनुपर्छ भन्ने छैन।
तर त्यहाँ परिवार भएकाहरूले पनि श्रीमान्-श्रीमती साथै समय बिताउन पाउँदैनन्। एउटा कामबाट फर्किंदा अर्को निस्कने वेला हुन्छ। प्राय: श्रीमान्-श्रीमतीको भेट लिफ्टमा भएको देख्छु। त्यसैले परिवार हुने पनि एक्ला, नहुने पनि एक्ला नै छन्। त्यही एक्लोपन साहित्यमा लगाउने गर्छौं। फेरि रुचि भएपछि समय त निस्किहाल्छ।
तपाईं घरेलु कामदारमा गएको मान्छे, अहिले कसरी व्यवसायी बन्नुभयो?
उमेर ढल्किंदै गएपछि सहने शक्ति पनि हराउँदै जाँदो रहेछ। अर्काको घरमा काम गरेपछि भनाइ खानै पर्दो रहेछ। त्यसरी कहिलेसम्म अरूको घरको काम गर्ने भन्ने पनि लाग्यो। त्यही भएर अरूसँग मिलेर केही लगानीमा रेस्टुरेन्ट खोलेकी छु। केही ऋण पनि छ। तर तिर्न सकिन्छ भन्ने आँट छ।

काममा तपाईंले पटक पटक आँसु लुकाएको भन्नुभएको छ। विदेशमा काम गर्नेहरूले आँसु लुकाउन जानेका हुन्छन् कि के हो?
हेर्नु, दुःख सबैसँग हुन्छ। त्यसमाथि विदेशमा झनै हुन्छ। सबै काम गर्न आएका, दुःख गरिरहेकाहरूलाई आफ्नो दुःख-आँसु कसरी देखाउने? उनीहरूलाई मेरो आँसु, दुःखसँग के सरोकार! त्यसैले मैले विदेशमा भएकाहरूसँग आँसु भरसक लुकाउन खोजें। काम बाहेक अरू केही भनिनँ। काम गर्ने ठाउँमा पनि साथी भन्दा सहकर्मी मात्र मानें। सबै आफ्नै तनावमा हुन्छन्, अनि आफ्नो पनि कति थप्नु भन्ने लाग्दो रहेछ।
नेपाली समाजमा सम्बन्धविच्छेदको कुरा ठूलो हुन्छ। यो मामिलामा हङकङको समाज कस्तो छ?
नेपालीहरू भएको समाज जहाँ पनि उस्तै छ। छोरीमान्छेले केही गरिन् भने पुरुषको नाम जोडिहाल्छन्। घरमा धेरै बस्दा दिमागमा अनेक कुरा खेल्छ भनेर म १८ घण्टा काम गर्छु। त्यसरी काम गरेर फर्किंदा खुट्टा कहाँ टेकिरहेकी छु भन्ने पनि होश हुँदैन। तर यो दुःख नदेखेर एक्लै कोठा लिएर बसेको थाहा पाउँदापाउँदै कोही ‘ब्वाइफ्रेन्ड’ ले किनिदिएको भन्छन्। त्यसैले नेपाली समाजको मानसिकता भएको जहाँ पुगे पनि साेच उही छ।
महिलाले एक्लै गर्न नसक्ने हो र? पुरुषको नाम नजोडी उनीहरूलाई सुखै नहुने! के हामी आफैं केही गर्न सक्दैनौं र? प्रमाण मात्र बुझाइरहनुपर्ने? हङकङकै मान्छेहरूको कुरा गर्दा उनीहरूमा यो सोच छैन। त्यहाँ त सबै बराबर हुन्। तर त्यहाँका मान्छेसँग पनि समय छैन। परिवार तथा सन्तानलाई समय छैन। काम जति गरे पनि छ। सबै जना पैसाको पछि लाग्छन्। हङकङमा पनि धेरै सम्बन्धविच्छेद हुन्छ। तर उनीहरूले सामान्य रूपमा लिन्छन्।
यहाँले आफ्नो सम्बन्ध बिग्रँदा छोरीलाई पटक पटक सहानुभूति देखाउनुभएको छ। बुबाआमा साथमा नहुँदा छोराछोरीलाई कस्तो आघात पुग्दो रहेछ?
हो, हामी त हाम्रै कारणले छुट्टियौं। श्रीमान् म जस्तो हुन सक्नुभएन, म पनि श्रीमान् जस्तो बन्न सकिनँ। यो सबै हाम्रो दोष थियो। तर सन्तानले सजाय पाइरहेकी छन्। अहिले सबैतिर त्यस्तै छ। मेरै हकमा दोस्रो श्रीमान्सँग नि धेरै बसिनँ। त्यसैले सन्तान पनि नभई टाढियौं। तर पहिलो श्रीमान्बाट छोरी छिन्। हामीले प्रेम गर्दा जन्मिएकी उनले हामी अलग भएपछि धेरै पीडा भोगिन्।
मैले दोस्रो विवाह गर्ने वेलामा उनले भोलि आफ्नो विवाह हुँदा बुबा आउनुहुन्छ कि आमा आउनुहुन्छ भनेर प्रश्न गरिन्। तर म छोरीलाई उनको कुनै पनि कार्यक्रममा बाबुआमासँगै आउन सक्छौं भन्छु। म सक्छु पनि। आखिर आफ्नो गल्ती नभएपछि मलाई पहिलो श्रीमान्लाई भेट्न, उनीहरूको पारिवारिक कार्यक्रममा जान, छोरीलाई लिएर जान कुनै डर वा संकोच छैन।
छोरीको खुशीका लागि सक्दो गर्न खोज्छु। तर पनि उनलाई मान्छेसँग चिनाउँदा दुःख लाग्छ। सबैका बाबुआमा सँगै देख्छिन्। उनलाई पनि इच्छा हुँदो हो। अरूको घरमा बाबुआमाको फोटो राखिएको हुन्छ। उसले कसको राखोस्? कसरी राखोस्? यो देख्दा उसले सजाय पाइरहेकी छ जस्तो लाग्छ। यो कुराले म धेरै रुन्छु। बुबाआमा अलग हुँदा सन्तानले धेरै सास्ती पाउने रहेछन्। (उनी रुन थाल्छिन्। भक्कानिन्छिन्।)
सन्तानको कुराले भावुक हुनुभयो। अब अन्त्यतिर, यहाँले पुस्तकमा आफूसँग धेरै कुरा छुट्टिंदै गएको, पढ्दापढ्दै विवाह गरेपछि पढाइ छुट्यो, स्कूल छुट्यो, जन्मघर छुट्यो, त्यसपछि संघर्ष गर्न निस्किंदा देश छुट्यो, बिस्तारै विवाह छुट्यो भन्नुभएको छ। आखिरमा नछुट्ने चाहिं के रहेछ?
आफूसँग रहने र नछुट्टिने रगतको साइनो मात्र रहेछ। रगतको साइनो भएकाहरूले हिजो म तल हुँदा पनि उही माया, आज यहाँ छु, अहिले पनि उस्तै माया गर्नुहुन्छ। मेरा बाआमा त बित्नुभयो। तर मेरा दाजुहरू मसँगै हिजो पनि हुनुहुन्थ्यो, आज पनि हुनुहुन्छ। मेरी छोरी मलाई सधैं साथ दिने, मसँगै छिन्। यस यात्रामा बाहिरबाट भेटिने-जोडिनेहरू एक पटक छुटेपछि छुटे छुटे।
साना साना गल्तीले पनि यी सम्बन्ध टुटे। तर रगतको साइनोमा ठूला ठूला गल्ती पनि माफी भए। एकै छिन गाली गरेर हात नै हाले पनि केही छिनमै माया पलाउँदो रहेछ। भागी विवाह गर्नुअघि दाजुहरूले मलाई नकुट्नुभएको होइन। तर पनि उहाँहरू मलाई बहिनी होइन भन्न सक्नुहुन्न। यो रगतको सम्बन्ध भएकै कारण हामी चाहेर पनि अलग हुन नसकेका हौं। यो सम्बन्धको माया लाग्दैन भन्नै सकिंदैन।
अबको जीवन र साहित्य कर्म कसरी अघि बढाउनुहुन्छ त?
जीवनको कुरा गर्दा पहिले पनि एक्लै थिएँ। अहिले पनि एक्लै छु। अब पनि एक्लै हुन्छु होला। हङकङमा फेरि काम गर्न फर्किंदै छु। एक्लै भएकाले मसँग प्रशस्त समय छ। धेरैभन्दा धेरै समय साहित्य र अध्ययनलाई दिन्छु। पहिलो कृति निकाल्दा धेरै माया पाएकी छु। यसले पनि अझै हौसला दिएको छ।
(सम्पादन: जेबी पुन मगर, भाषा: प्रद्युम्न खनाल)
किताबका कुराका थप सामग्री :
- ‘हिउँको गीतमा जादुयी यथार्थवादको झिल्को छ’
- ‘चिनियाँ हान जातिको जीन लिम्बू जातिसँग मिल्छ’
- ‘सरकारी कामप्रति घृणा जागेपछि फोटोको पोस्टकार्ड बनाएर बेचें’
- ‘जिब्रोको स्वादमा रमाउँदा मुटुरोगी बढिरहेका छन्’
- ‘दक्षिणएशियाको तुलनामा पूर्वी एशियाका मुस्लिम महिला बढी स्वतन्त्र छन्’
- भोगटे साँधेको वर्णन गर्दा मुख रसाइदिन सक्ने आख्यान बन्नुपर्छ
- ‘मनलाग्दी तरीकाले गरिरहेको विकासले अन्ततः हामीलाई नै पिर्नेछ’
- ‘सबै आन्दोलन असफल भएपछि यो किताब लेख्न बाध्य भएँ’
- ‘इतिहास बंग्याउने शासकहरूको इतिवृत्तान्त लामो छ’
- ‘हिन्दूत्वको बहानामा भारतीय हस्तक्षेप स्वीकार्य हुँदैन’
- ‘बुबालाई आज या भोलि झुन्ड्याउँछन् भन्ने परिस्थितिमा हुर्किएँ’
- ‘आक्रामक चीन र भारतलाई नबुझेमा दुवैले ठड्याइरहेका आर्थिक टावरले च्यापिनेछौं’
- ‘कर्णालीबाट काठमाडौं पनि उत्तिकै दुर्गम छ’
- ‘नेपालमा कविताका समीक्षक नै छैनन्’
- ‘एकैसाथ धेरै किताब प्रकाशन गर्दैमा गुणस्तर नहुने भन्ने हुँदैन’
- ‘हाम्रो राजनीतिले सद्भाव नसिकाउँदा समाजमा असहिष्णुता झाँगिइरहेछ’
- ‘मेरा कविताले मलाई पनि व्यंग्य गर्छन्’
- ‘काठमाडौंको सभ्यता जोगाउने श्रेय ज्यापू समुदायलाई दिनुपर्छ’
- ‘आप्रवासनले छुट्याएका दम्पतीको यौन-भोक र छटपटी जस्तो देखें, त्यस्तै लेखें’
- ‘संगीत विरोधी थिएनन् पृथ्वीनारायण शाह’
- ‘यौन, प्रेम र अपराध जनावरको संसारमा पनि छ’
- ‘डोरबहादुर विष्ट फर्केपछि पुस्तकको अनुवाद देखाउँला भनेको, फर्कनु नै भएन’
- ‘क्षमता छ भने कसैले पनि रोक्न सक्दैन’
- “म ‘पर्फेक्सनिस्ट’ होइन, छरिएको लेखक हुँ”
- ‘अभिभावक आफूलाई किताब किन्छन्, छोराछोरीलाई चटक्कै बिर्सन्छन्’
- “पाठकले ‘साला देशमें क्या है’ लेख्नुस् भन्न थालेका छन्”
- ‘बाँच्ने काइदा राउटेबाट सिक्नुपर्छ’
- ‘बीपीको जस्तोसुकै व्यस्त समयमा पनि किताब पढ्ने बानी रहेछ’
- ‘हजुरआमा पुस्ताले संघर्ष नगरेको भए नातिनी पुस्ताले यत्तिको स्वतन्त्रता पाउँदैनथ्यो’
- ‘प्रेम विनाको यौन अपराध हो’
- ‘बुद्ध जातिवाद विरोधी थिए, समान आर्थिक अधिकार हुनुपर्छ भन्ने मान्यता राख्थे’
- ‘सुवर्णशमशेरको पैसा नभएको भए प्रजातन्त्र ढिलो आउन सक्थ्यो’
- ‘गाउँदेखि शहरसम्म विकासको मानक नै उल्टो भयो’
- ‘उपचारको व्यवस्था नहुँदा थुप्रै वन्यजन्तु गुमाइरहेका छौं’
- ‘समुदायलाई वन हस्तान्तरण गर्दा पुरस्कार होइन, तिरस्कार पाएँ’
- ‘बीपीको साहित्य उच्च कोटिको छ, राजनीति असफल’
- ‘सबैभन्दा धेरै पढ्नुपर्ने शिक्षकले हो, तर पढ्दैनन्’
- ‘हाम्रा शासक थेत्तरो होइन, पाखण्डी छन्’
- ‘भैरव अर्यालको छुटेको जीवनी भग्न भैरवमा छ’
- ‘युवराज दीपेन्द्रले हाम्रो घरमा आउँदा धानका बोरा बोकेर भित्र राखेछन्’
- ‘भविष्यमा बाआमा अझै एक्ला हुनेछन्’
- ‘फरुवा बोकेर जनतासँगै पहाड फोड्ने नेताको खाँचाे छ’
- ‘नतीजा खोज्न राजनीतिमै घुस्नुपर्छ’
- ‘सामाजिक पागलपन झन् झन् चुलिंदै गएको छ’
- ‘प्रेम र यौन मानिसबाट अलग गर्न सकिंदैन’
- २५ वर्ष लगाएर लेखिएको पुस्तकमा के छ?
- ‘ढिलोचाँडो समाज पुस्तकमै फर्किन्छ’
- ‘किताब पढ्नु मेरो लागि ध्यान गर्नु जस्तै हो’
- ‘निकुञ्ज क्षेत्रमा भएको बाटो सूर्योदयदेखि सूर्यास्तसम्म मात्रै खोल्नुपर्छ’
- ‘लुकीछिपी विदेश गइरहेका मान्छेलाई जिउँदै समुद्रमा फालेको पनि देखें’
- ‘नेपाल र भारतमा विद्यापति जस्ता कवि अर्का जन्मिएका छैनन्’
- ‘द्वन्द्वका दागबारे लेख्न र बोल्न छाड्नु हुन्न’
- ‘उमेर जति बढ्दै गयो त्यति नै बीपीको लेखनले प्रभावित पार्दै गयो’
- ‘मुन्धुम मानव सभ्यताको इतिहास हो’