किन आन्दोलित छ, भारतमा बौद्ध समुदाय?
गौतम बुद्धले ज्ञान प्राप्त गरेको थलो पूर्णतया बौद्ध समुदायलाई नै सुम्पनुपर्ने माग सवा शताब्दीभन्दा अघिदेखि सांगठनिक रूपमै राख्दै आएका बौद्धहरूले अहिले आन्दोलन थप तीव्र पारेका छन्।
वसन्त महर्जन
गौतम बुद्ध (इपू. ५६३-४८३) ले बोधि (ज्ञान) लाभ गरेको भारत, विहारको बोधगयास्थित ‘महाबोधि महाविहार’ परिसरमा गत फेब्रुअरी १२ बाट निरन्तर आन्दोलन छ। अल-इन्डिया बुद्धिस्ट फोरमको आह्वानमा भइरहेको आन्दोलनमा बौद्धहरूले महाबोधि महाविहारको पूरै प्रबन्धन बौद्ध समुदायलाई सुम्पिनुपर्ने, बोधगया मन्दिर अधिनियम, १९४९ (द बोधगया टेम्पल एक्ट) खारेज गर्नुपर्ने र बौद्ध धार्मिक मामिलामा राज्यको हस्तक्षेप बन्द गर्नुपर्ने माग राखिरहेका छन्। आगामी वैशाख पूर्णिमासम्म पनि माग पूरा नभए आन्दोलन थप चर्काउने फोरमको घोषणा छ।
गौतम बुद्धले यही ठाउँमा इपू. ५२८ वैशाख पूर्णिमाको राति बोधिलाभ गरेका थिए। गौतमकै अनुसार उनीभन्दा अघिका बुद्धले पनि सोही ठाउँमा बोधिलाभ गरेका थिए भने पछिका समेत त्यहीं पुग्नेछन्। यिनै कारणले विश्वभरिका बौद्धका लागि यो ठाउँ अत्यन्तै पवित्र श्रद्धास्थल रहिआएको छ।
महाबोधि महाविहारको व्यवस्थापन बोधगया मन्दिर अधिनियम अनुसार हुँदै आएको छ। यसका लागि राज्य सरकारले जिल्ला मजिस्ट्रेटको अध्यक्षतामा चार बौद्ध र चार हिन्दू सदस्य रहने कमिटी बनाउने गर्छ। अध्यक्ष जहिले पनि हिन्दूलाई नै बनाउने गरिएको छ। जिल्ला मजिस्ट्रेट गैरहिन्दू आए बाहिरकै कुनै हिन्दूमध्येबाट अध्यक्ष चयन गरिन्छ। यसो हुँदा कमिटीमा रहेका बौद्ध सधैं अल्पमतमा रहन्छन्।
कमिटीले बुद्ध र बौद्ध भावनाको कदर गर्न नसकेको भन्दै विगतदेखि विरोध गर्दै आएका बौद्धहरूले यसपालि सशक्त आन्दोलन थालेका हुन्। शान्तिपूर्ण विरोध प्रदर्शन जति फैलँदै छ, भारतीय राज्यसत्ता नैतिक रूपमा त्यति बदनाम भइरहेछ। प्रदर्शनमा ऐक्यबद्धता जनाउन अन्य देशबाट पनि बौद्धहरू पुगिरहेछन्। भारतभित्रै तथा अमेरिका आदि देशमा पनि विरोध हुन थालेको छ।
पुरानो नाता
भारतमा बौद्ध धर्मको अवनति एघारौं शताब्दीमा शुरू भएको थियो। तिब्बती भिक्षु धर्मस्वामी तीर्थयात्रा गर्न नेपाल हुँदै सन् १२३४ मा बोधगया पुग्दा साङ्पो पनि भनिने तुर्क मंगोलले आक्रमण गरी भर्खरै त्यो क्षेत्रलाई अधीन पारेका थिए। धर्मस्वामीले वर्णन गरे अनुसार त्यहाँका राजा बुद्धसेन आक्रमण थेग्न नसकेर जंगल पसेका थिए। महाबोधि महाविहार पनि कति वेला आक्रामकहरूको कोपभाजनमा पर्ने हो भन्ने सन्त्रास थियो।
यसैबीच बोधगयामा नेपाली राजा अशोक चल्लको महत्त्वपूर्ण भूमिका देखिन आउँछ। उनी जुम्लाको सिंजा उपत्यकालाई राजधानी कायम गरी विशाल साम्राज्य चलाएका प्रभावशाली राजा हुन्। बोधगया क्षेत्र तुर्कहरूको कब्जामा गएको र महाबोधि महाविहार पनि खतरामा परेको सुनेपछि चल्लले सैन्य कारबाही चलाई बोधगयालाई ‘विधर्मी’ बाट मुक्त गरी पूर्ववत् थिति थामिदिएको वर्णन तिब्बती वंशावलीमा पाइन्छ। चल्लको सेनाले बोधगयालाई मुक्त गराएपछि वन पसिसकेका राजालाई नेपाल अन्तर्गत रहनेगरी पुनः राजगद्दी दिलाइदिएको थियो। त्यसपछि बोधगयामा यिनै नेपाली राजाको प्रभुत्व रहेको पुष्टि गर्ने दुई शिलालेख महाविहार परिसरमै प्राप्त भएका छन्। शिलालेख अनुसार त्यति वेला बोधगयामा कुनै निर्माण कार्य गर्न नेपालका राजासँग अनुमति लिनुपर्थ्यो।
त्यसपछि भने बोधगयाको लामै समयसम्मको स्थिति खुल्दैन। तर बौद्ध तीर्थाटन गर्दै हिंडेका राजा रिपु मल्ल कपिलवस्तु, लुम्बिनी र काठमाडौं उपत्यका पुगे पनि बोधगया नजानु र त्यसतर्फका केही कुरा उल्लेख पनि नहुनुले यो ठाउँ पुनः ‘विधर्मी’ का हातमा गएको अनुमान हुन्छ। मुहम्मद बिन बख्तियार खिल्जीले नालन्दा महाविहार ध्वस्त पारिदिएपछि बौद्ध गतिविधिमा ह्रास आएको र बिस्तारै भारतीय भूमिबाट बौद्ध धर्म शून्यमा झरेकामा दुईमत छैन। कालान्तरमा भारतीय जनमानसमा बोधगयासँगको बौद्धसम्बन्धको ज्ञान शून्य जस्तै भए पनि बर्मा सहितका बाह्य क्षेत्रका बौद्धको मानसपटलमा त्यो हराइसकेको थिएन। बोधगया क्षेत्र वनमा बदलिइसक्दा पनि काठमाडौं उपत्यका, तिब्बत, बर्मा, थाइल्यान्डसम्मका मानिसले वेलावेला त्यहाँ तीर्थाटन गर्ने गरेको इतिहास छ।
महाबोधि महाविहार पूर्णतया बौद्ध समुदायलाई हस्तान्तरणको माग गर्दै धर्ना बसेका बौद्धहरू। तस्वीर स्रोत : द मूकनायक डटकम ।
सन् १५६० तिर बोधगया गएका पाटन, उकुबहालनिवासी अभयराज शाक्यले फर्किएपछि पाटनमा पनि बोधगयाको प्रतिकृति बनाएका थिए जुन अहिले हजार बुद्धको मन्दिरका रूपमा पर्यटकीय आकर्षण बनिरहेको छ। अठारौं शताब्दीमा महाबोधि महाविहार एक शैव महन्तले कब्जा गरेको देखिन्छ। शुरूमा त्यस क्षेत्रको बुद्ध र बौद्ध धर्मसँग जोडिएको तथ्य थाहा नभए पनि सन् १७१२ मा बर्माका राजाले प्रतिनिधि पठाई महाविहारको मर्मत तथा पूजा गराएपछि ती महन्तको ध्यान यतातिर गयो। आम्दानीको बलियो स्रोत हुने देखेर महाविहारमा हक जमाउन थाले।
पुनर्निर्माण तथा पूजापछि प्रचारप्रसार भएर बौद्धहरू पुनः आउन थाले पनि महाविहार क्षेत्रको वातावरण नाजुक थियो। महन्तले बौद्ध पुरातात्त्विक अवशेषमा हानि पुग्नेगरी संरचना बनाए। गाउँलेले पनि त्यहाँका सामग्री लैजान थाले। महन्तले बुद्धका मूर्तिलाई हिन्दू देवता भनी पूजा गर्न/गराउन थालेका थिए। यस्तोमा श्रीलंकाका २६ वर्षीय बौद्ध अभियन्ता अनागारिक धम्मपाल २२ जनवरी १८९१ मा बोधगया आइपुगे र त्यहाँ बौद्ध संस्कार अनुरूप नै पूजा तथा संरक्षण हुनुपर्नेमा जोड दिए। बोधगयामा विभिन्न व्यक्तिलाई यसबारे भन्दा वास्ता नगरिएपछि उनी कोलम्बो पुगी १३ मेमा ‘द बोधगया महाबोधि सोसाइटी’ गठन गरे जसको उद्घाटन प्रसिद्ध भिक्षु हिक्का दुबे सुमंगला नायक महाथेरको अध्यक्षतामा भएको थियो।
धम्मपालले सोही वर्ष कलकत्तामा सोसाइटीको कार्यालय राखी काम गर्न थाले। यस संस्थाले १० जुलाईमा श्रीलंकाबाट भिक्षुहरूको एक शिष्टमण्डल बोधगयामा ल्यायो। ३१ अक्टोबरका दिन बोधगयामा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्यो। तर यो सम्मेलनबाट महाविहारको कब्जा गरेर बसेका हिन्दू महन्त क्रुद्ध बने। उनले बौद्ध अभियन्तालाई स्थानीय गुन्डा लगाएर हमला समेत गराए। हमलामा भिक्षु सुमंगल गम्भीर घाइते भए। अन्य भन्ते पनि घाइते थिए। तर भिक्षुहरूले यस घटना विरुद्ध कतै उजुरी गरेनन्।
हिन्दू महन्तलाई हटाएर महाविहार बौद्ध समुदायकै हातमा ल्याउने धम्मपालको अभियानमा बिस्तारै जापान, बर्मा, तिब्बत, थाइल्यान्ड लगायत देशका बौद्ध, सर एडविन आर्नोल्ड, प्रोफेशर सिल्भाँ लेभी आदि तत्कालीन लब्धप्रतिष्ठ विद्वान् एवं रवीन्द्रनाथ टैगोर, राहुल सांकृत्यायन आदि उदारवादी हिन्दूहरूले पनि साथ दिए। स्थानीय क्षेत्रमा बौद्धहरू नै नभएको त्यो स्थितिमा महन्तलाई चिढ्याउन इन्डियामा शासनरत तत्कालीन अंग्रेज सरकार पनि हिचकिचाइरहेको थियो। अंग्रेज शासन विरुद्ध संघर्षरत कंग्रेसमा पनि यो विषय पुग्यो। तर महात्मा गान्धीले स्वराज्य स्थापना गर्न सकिए महाबोधि महाविहारको समस्या चुड्कीका भरमा समाधान गर्न सकिने भनेपछि तत्काललाई थाती बस्यो। स्वराज्य स्थापनापछि पनि राज्यपक्षले वास्ता भने गरेन।
महाबोधि महाविहार मुक्ति आन्दोलनका संस्थापक धम्मपालको मृत्यु भएको १६ वर्षपछि बल्ल सन् १९४९ मा ऐन र प्रबन्धक कमिटी त बने, तर हिन्दूहरूकै वर्चस्व रहनेगरी। त्यति वेला एक महन्तको चंगुलबाट पूरा महाबोधि महाविहार फुत्काउनुलाई नै ठूलो उपलब्धि मान्नुपर्ने भयो।
झुक्याउने कानून
बोधगया मन्दिर अधिनियम, १९४९ बौद्धहरूले चाहे अनुसारको छैन। नैतिक रूपमा बौद्धहरूलाई बेवास्ता गर्न नसकिने र महन्तको पक्षमा रहेका हिन्दूहरूलाई पनि नचिढ्याउने मनोदशामा च्यापिएर तत्कालीन सरकारले यो अधिनियम ल्याएको थियो। महाविहार बौद्धहरूलाई सुम्पिन जापान, बर्मा, श्रीलंका, थाइल्यान्डदेखि यूरोपसम्मका बौद्धिक जमातको दबाब थियो। तर सरकारलाई अन्तर्राष्ट्रिय जगत्को कुरा मान्दा भोटको राजनीतिमा कुनै लाभ हुने थिएन, किनभने भारतमा बौद्ध जनसंख्या निकै थोरै थियो।
अर्कातिर हिन्दू महन्त लामो समयदेखिको आम्दानीको स्रोत फुत्कन नदिन हिन्दू समाज तथा राजनीतिमा भरमग्दूर प्रभाव पारिरहेकै थिए। यस्तोमा महन्तको समेत चित्त बुझ्नेगरी अधिनियम बनाइएको र प्रबन्धन कमिटीमा अधिकार हस्तान्तरण गरिएको देखिन्छ। २८ मे १९५३ मा एक लाख बौद्धको उपस्थितिमा नौ सदस्यीय प्रबन्धक कमिटीलाई महन्तले महाविहार हस्तान्तरण गरेका थिए।
झट्ट हेर्दा प्रबन्धन कमिटीको गठनबाट बौद्धहरूको माग सम्बोधन भए जस्तो देखिए पनि यथार्थमा उनीहरूलाई कुनै अधिकार दिइएको थिएन। अधिकार जति हिन्दूमा निहित गराइएको अधिनियममा टेकेर बोधगयामा हिन्दू आधिपत्य बढाउँदै लैजाने प्रपञ्च मिलाइएको थियो। अध्यक्ष हिन्दू नै हुनुपर्ने प्रावधानले बौद्धहरू कमिटीमा अल्पमतमा रहे। बौद्ध कोटाको नियुक्ति हिन्दूकै तजबिजमा हुने भएकाले बौद्ध समुदायकै व्यक्ति ल्याए पनि आफू अनुकूल हुनेलाई छनोट गर्थे। बोधगया क्षेत्रमा यसै पनि स्थानीय बौद्धहरू नभएकाले बाहिरबाट ल्याइनुपर्थ्यो। तिनीहरू बैठकमा सजिलै उपस्थित हुन नसक्दा हिन्दू पक्षधरलाई आफ्नो पक्षमा निर्णय गराउन झन् सजिलो थियो। यही स्थिति अन्त्य गर्न महाबोधि महाविहार मुक्ति आन्दोलन निरन्तर रहेको बुझ्न सकिन्छ।
यसक्रममा ठूला-साना थुप्रै विरोध प्रदर्शन भइसकेका छन्। तत्कालीन मुख्यमन्त्री लालूप्रसाद यादवले बारम्बार बौद्धहरूलाई आश्वासन दिंदै र झुक्याउँदै आए। उनले ऐनको अनौचित्य स्विकार्दै बौद्धहरूकै माग अनुसारको मस्यौदा समेत बनाएका थिए, तर त्यो देखावटी मात्र सावित भयो। उनीपछि उनकै पत्नी रावडीदेवी मुख्यमन्त्री बन्दा त बौद्धहरूबीच मतभेद गराएर बौद्ध कोटामा अबौद्धलाई नियुक्त गरियो।
हिन्दू वर्चस्व
बोधगयामा गौतम बुद्धले बोधिलाभ गरेको तथ्य कसैले नकार्न सकेको छैन। बुद्धले ध्यान गरेको बोधिवृक्ष र मौर्य सम्राट् अशोकद्वारा निर्मित महाबोधि महाविहारको ऐतिहासिकताका आधारमा युनेस्कोले यस ठाउँलाई विश्वसम्पदा सूचीमा समावेश गरिसकेको छ। यही पहिचानकै कारण विश्वभरका बौद्ध बोधगया पुग्छन्। तर ‘नाउँ तेरो गाउँ मेरो’ भने जस्तो यहाँ हिन्दू वर्चस्व कायमै छ जुन सर्वसाधारण बौद्धहरू देख्न सक्दैनन्। बढी आम्दानी बौद्धबाटै हुने भएकाले यहाँ बौद्धहरूलाई अवरोध नगरिनु ठूलो कुरा होइन। तर महाबोधि मन्दिरभित्र शिवलिंग, रामको मूर्ति राख्ने जस्ता गतिविधि बढ्दै छन्। गत मंसीर र माघमा गरी म महाबोधि महाविहारमा दुईपल्ट पुगें। यस क्रममा त्यहाँका पुजारीहरूले शिवलिंग देखाएर त्यसमा पनि दक्षिणा चढाउन अह्राइरहेको देखें।

महाविहारको अगाडिपट्टि दायाँतिर बुद्धका मूर्तिहरूलाई कपडाले छोपेर पञ्चपाण्डव भन्दै मन्दिरको रूप दिइएको छ। यसरी नै महाविहार परिसरभित्र रहेको मुचलिन्द सरोवरमा हिन्दूहरूलाई पिण्डदान गराउने व्यवस्था मिलाइएको छ। महाविहार परिसरमा पाइएका मूर्ति प्रायः गौतम बुद्ध तथा बोधिसत्त्व एवं ताराहरूका हुन्। त्यहाँका अन्य पुरातात्त्विक अवशेष पनि बौद्ध वास्तुकलासँग सम्बद्ध छन्। तर कानूनमा उल्लिखित हिन्दू र बौद्ध सम्पदा नष्ट गर्न नपाइने बुँदामा टेकेर त्यहाँ बुद्धमूर्तिलाई पनि हिन्दू मातहत राखिएको छ। कतिपय मूर्ति अँध्यारो कोठामा मिल्काइएका छन् त कतिपय निजी प्रयोजनमा दुरुपयोग गरिएका छन्।
आन्दोलनको दिशा
अहिले आन्दोलनको आकार पहिलेभन्दा बृहत्तर भइसकेको छ। पछिल्लो समय भारतमा बौद्ध जनसंख्या पनि बढ्दो छ। दलित आन्दोलनका नेता भीमराव अम्बेडकर स्वयं बौद्ध धर्ममा दीक्षित हुनु, अनुयायीलाई पनि बौद्ध धर्ममा दीक्षित गराउन अभियान थाल्नु तथा आजका कतिपय दलित पनि कुनै वेला बौद्ध रहेका तथ्य प्रकाशमा आउनुले भारतमा बौद्ध धर्म अपनाउनेको संख्या वर्षैपिच्छे थपिइरहेछ। धम्मपालले थालेको आन्दोलनलाई पछि अम्बेडकर र भदन्त आर्य नागार्जुन सुरेई ससाईले नेतृत्व दिए। जापानी भिक्षु ससाईले पछि भारतीय नागरिकता पाएका हुन्। भारतमा बौद्ध भिक्षु तथा बौद्ध धर्मदर्शनको अध्ययन-अध्यापन पनि बढ्दो छ। समाज विकासको यो क्रमसँगै आन्दोलनले पनि नयाँ गति लिइरहेको छ।
विभिन्न धर्मको आआफ्नै मुख्य धार्मिकस्थल हुने र त्यसको स्वामित्व सोही धर्मावलम्बीकै भए जस्तै महाबोधि महाविहारको स्वामित्व पनि पूर्ण रूपमा बौद्ध धर्मावलम्बीकै हुनुपर्ने माग शुरूदेखिको हो। भिक्षुहरूले आमरण अनशनबाट शुरू गरेको आन्दोलनलाई शुरूमा सम्बद्ध निकायले खासै भाउ दिएको थिएन। किनभने यस्तो आन्दोलन बोधगयामा नयाँ कुरा होइन। तर विरोध प्रदर्शन देशकै अन्य भागमा पनि फैलिई विश्वजगत्कै ध्यानाकर्षण हुँदा राज्य आत्तियो। मध्यरातमा अनशनरत भिक्षुलाई प्रहरी खटाएर अन्यत्र लगियो। प्रबन्ध कमिटीले महाविहार परिसरमा अनेक अवरोध गरे पनि आन्दोलन रोकिएको छैन।