को को गए जगमान गुरुङको अगुवाइमा आयोजित सभामा?
राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आयोजना गरेको प्रतिबद्धता सभामा राजावादी केही नेता सहभागी भएका छन् भने केही अनुपस्थित रहे।
प्रा. जगमान गुरुङ कार्यवाहक संयोजक रहेको समितिले चैत २७ मा धुम्बाराहीस्थित एउटा पार्टी प्यालेसमा ‘प्रतिबद्धता सभा’ आयोजना गरेको हो। सभामा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका नेता प्रकाशचन्द्र लोहनी, केशरबहादुर विष्ट, गंगा थारू सत्गौवा, विक्रम पाण्डे लगायत उपस्थित थिए।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने कार्यक्रममा उपस्थित भएनन्। राप्रपाका अन्य नेता पनि प्रतिबद्धता सभामा सहभागी भएनन्।
कार्यवाहक संयोजक गुरुङले हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाका लागि प्रतिबद्धता सभा आयोजना गरिएको बताए। आफूहरूले वैशाख २२ देखि भद्र अवज्ञा आन्दोलन गर्ने गुरुङले दाबी गरे। समितिले सशस्त्र आन्दोलन भने नगर्ने उनको भनाइ थियो।
समितिका संयोजक नवराज सुवेदी घरमै अघोषित नजरबन्दमा परेपछि गुरुङलाई नेतृत्व प्रदान गरिएको थियो।