लोकन्थलीमा पुनःपहिरो, सडक भासियो, ६ घर उच्च जोखिममा
मध्यपुरथिमि नगरपालिकाको वडा नं १ लोकन्थलीमा आइतबार बिहान पुनः पहिरो गएको छ । पहिरोमा सडक भासिनुका साथै ६ घर उच्च जोखिममा परेका छन् ।
मध्यपुरथिमि– १, २ र ३ मा रहेको खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण गर्ने क्रममा गत ३ गते राति पहिरो गएपछि रोकथामकाे प्रयास भएपनि त्यस स्थानमा पुनःपहिरो गएको हो ।
पानीट्याङ्की निर्माणका लागि खाडल खन्दा ३ भदाै राति पहिरो जाँदा १६ फिट चौडाइ रहेको करीब ४० मिटर कालोपत्र सडक पूरै बगाउँदा यहाँका यातायात अवरुद्ध भएको थियो भने अहिले थप सडकमा क्षति पुग्ने जोखिममा रहेको छ ।
पहिरोले स्थानीय लक्ष्मणप्रसाद पौडेल, प्रेमबहादुर तामाङ, सन्तोष तामाङ, भरत पौडेल, कृष्णबहादुर थापा, मुकुन्द सापकोटा र कैलाश न्यौपानेको घर उच्च जोखिममा परेका हुन् । पहिरो दुई वटा घरको जगमा पुगेको छ भने ती घर पनि खाली गरिएकाे छ ।
खानेपानी समस्या समाधान गर्न सरकारको एक करोड ३२ लाखको लागतमा वडा नं १ को भिरालो सार्वजनिक जग्गामा पाँच लाख लिटर क्षमताको ट्याङ्की बनाउने क्रममा पहिरो गएको वडाध्यक्ष सुरज खड्काले बताए ।