दाउन्ने सडकखण्ड दैनिक चार घण्टा बन्द हुने
नारायणगढ-बुटवल सडक अन्तर्गत दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द गरिने भएको छ।
नारायणगढ-बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालले सडक निर्माणका लागि दैनिक चार घण्टा आवागमन बन्द गर्न लागिएको बताए। बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सडक बन्द गरिनेछ।
आजदेखि चैत ३१ गतेसम्म दैनिक चार घण्टा सडक बन्द गरिन लागेको खनालले बताए। यो समयमा अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन पाइनेछैन।
त्यस्तै, आउँदो वैशाख १ गतेदेखि राति पनि सडक बन्द गरिनेछ। उनका अनुसार राति ११ बजेदेखि बिहान ५ बजेसम्म दाउन्ने खण्ड बन्द हुनेछ। अहिले वैशाख १५ गतेसम्म राति बन्द गर्ने तय भएको खनालले जानकारी दिए।
राजमार्ग विस्तारका कारण दाउन्ने सडकखण्डमा यातायात सञ्चालनमा कठिनाइ हुँदै आएको छ। सडक बन्द हुँदा पूर्वतर्फबाट आउने गाडी दुम्कीबास, अरुणखोला, चोरमारा र पश्चिमतर्फ जाने गाडी बर्दघाटमा रोकिने खनालले बताए।
उल्लिखित समयमा वैकल्पिक बाटो प्रयोग गर्न आयोजनाले आग्रह गरेको छ। त्यसका लागि गैंडाकोटदेखि कालीगण्डकी करिडोर सडक प्रयोग गर्न सकिनेछ।
नारायणगढ-बुटवल सडकखण्डमा दाउन्ने क्षेत्रको १४ किलोमिटर पहाडमा पर्छ। राजमार्ग विस्तारका क्रममा सडक भत्काइएकाले राजमार्ग धुलाम्य बनेको छ। त्यसले गर्दा सवारीसाधन तथा यात्रु कष्टकर यात्रा गर्न बाध्य छन्।