राप्रपाको प्रदर्शनमा जे देखियो
उद्घोषकले पटक पटक नाम लिएका संयुक्त जनआन्दोलन समितिका संयोजक प्रा. जगमान गुरुङ भने कार्यक्रममा उपस्थित भएनन्।
चैत २६ गते मंगलबार बल्खु क्षेत्र वरिपरि सुरक्षाकर्मी तैनाथ थिए। राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत १२ मा राजसंस्था र हिन्दू राष्ट्रको माग राखेर खबरदारी सभा गर्ने निर्णय गरेको थियो। खबरदारी सभा नजीकै रहेको दक्षिणकाली पेट्रोल पम्प अगाडि प्रहरीको झुन्ड थियो, त्यस्तै झुन्ड विभिन्न ठाउँमा तैनाथ थिए, सभा वरिपरि सबैतिर। कार्यक्रम आयोजकका तर्फबाट सेतो टिशर्ट लगाएका स्वयंसेवक पनि उत्तिकै थिए।
वेलावेला राष्ट्रभक्तिका गीत बज्थे। उता मञ्चबाट उद्घोषकले स्वयंसेवकलाई चनाखो रहन र कतै अशान्ति हुन नदिन पटक पटक निर्देशन दिइरहेका थिए।
सभा नजीकै सानो किराना पसल बाहेक अन्य साना-ठूला पसल बन्द थिए। घरहरूमा ढोका लगाइएको थियो। सभामा उपस्थित भएकाहरू हाँस्दै ‘आज त सबै बन्द छ त, मान्छे डराएछन्’ भन्दै थिए। सञ्चारकर्मीका लागि अलग ठाउँ छुट्याइएको थियो। उद्घोषकले कुनै समस्या परे अथवा केही सहयोग चाहिए स्वयंसेवकसँग समन्वय गर्न पनि सूचित गराइरहे। वरिपरिका घरधनीलाई आफ्नो घरमा कसैलाई प्रवेश गर्न नदिनुहोला भन्दै वेलावेला तीनकुनेको घटना सम्झाइरहेका थिए।

कार्यक्रमस्थलमा कोही राजावादी थिए, कोही रमिते। कोही हिन्दूत्व झल्किने पहिरनमा देखिन्थे। केहीले राप्रपाको झन्डा तथा नेपालको झन्डा र केहीले श्री राम लेखेको झन्डा फहराइरहेका थिए। ‘के जनताले न्याय माग्ने पनि अधिकार छैन’, ‘रवीन्द्र मिश्र, धवलशमशेर राणा लगायतलाई रिहा गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर आएका थिए।
एक जनाले तीनकुनेको घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सबिन महर्जनको तस्वीरको प्लेकार्ड बोकेका थिए। एक्लै त्यो प्लेकार्ड बोकेर सहभागी भएका थिए। अरूले राजावादी नारा लगाउँदा उनी शान्त नै देखिन्थे।
बिस्तारै मान्छेहरू थपिंदै गए। करीब साढे १२ बजे कलंकीबाट आएको र्याली मिसियो। त्यसपछि सांसद ज्ञानेन्द्र शाही आइपुगे। उनलाई देखेर केही युवाले हुटिङ गर्न थाले। तर उद्घोषकले सभा शान्तिपूर्ण रहने उद्घोष गरे। तीनकुनेको प्रदर्शन हिंसात्मक बनेकाले होला, आयोजक र सुरक्षाकर्मी निकै सजग देखिन्थे।

केही बेरपछि राजेन्द्र लिङ्देन पनि मञ्चमा उक्लिए। अर्कातर्फबाट बाजागाजा सहितको र्याली आमसभामा मिसियो। बाजा बजाउने समूह मञ्चमा पुगेर एकछिन बाजा बजायो। त्यसपछि सभा औपचारिक रूपमा शुरू भयो। सभा शान्तिपूर्ण रहनुपर्छ भन्दै स्वयंसेवकलाई पटक पटक घचघच्याइरहेका थिए, उद्घोषक।
उद्घोषकले सभामा उपस्थित हुने नेताहरूको नाम पहिल्यै सुनाइसकेका थिए। सबै नेता मञ्चमा उक्लिसक्दा पनि जगमान गुरुङ भने देखा परेनन्। गुरुङ राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक तोकिएका छन्। उनै गुरुङले गत २४ गते विज्ञप्ति जारी गरेर राष्ट्रिय झन्डा बोकेर राप्रपाको राजावादी आन्दोलनमा समर्थन तथा सहभागिता जनाइदिन आग्रह गरेका थिए।
सभा चलिरहेको थियो, उपस्थितमध्ये एक जनाले फोनमा ‘उता लफडा भइरहेको छ’ भने। तर त्यहाँ केही भएको थिएन। माहोल शान्तिपूर्ण थियो। एकैछिनमा मञ्च पछाडि सहभागीको हुल देखियो। त्यहाँ पनि लफडा भयो भन्दै केही व्यक्तिले अन्यको ध्यान खिच्न खोजे। उति वेलै उद्घोषकले सहभागीलाई मञ्च अगाडि सहज रूपमा बसिदिन आग्रह गरे।

मञ्चबाट फोहोर नगर्न र फालिएको पानीको बोतल संकलन गर्न पनि पटक पटक आग्रह गरियो। स्वयंसेवकले सभामा सहभागीको मात्रै होइन, फोहोरको पनि व्यवस्थापन गरिरहेका थिए। “कुनै सभा हुनै हुँदैन, चिट काट्नलाई एउटा ठिक्क परेर बसेको छ, फोहोर चाहिं कतै पनि नराखौं।” यो वाक्य मञ्चबाट पटक पटक भनिएको थियो।
गत फागुन २५ गते त्रिभुवन विमानस्थलको प्रवेशद्वार, गौशाला र सिनामंगल क्षेत्रमा फोहोर गरेको भन्दै काठमाडौंका मेयर बालेन्द्र (बालेन) साहले राप्रपालाई एक लाख रुपैयाँ जरिवाना तिराएका थिए। मंगलबार आफूले गरेको फोहोर आफैं सफा गरेपछि उनै बालेनले राप्रपालाई धन्यवाद दिए। ‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन। सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ,’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राप्रपाले आजको कार्यक्रममा आफैं सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ।’
सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन।