चिनौं गुराँस
जैविक विविधता संरक्षण र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको गुराँस मानव अतिक्रमण तथा विकास परियोजनाका कारण मासिइरहँदा यसको संरक्षणका कार्यक्रम तत्काल आवश्यक देखिएको छ।
कमल मादेन
“नेपालमा कति प्रजातिका गुराँस पाइन्छन्?”
गुराँस फुल्ने याम शुरू भएपछि पत्रकारले सोध्ने गर्छन्।
यो प्रश्नको जवाफ दिंदै आएको डेढ दशकभन्दा बढी भयो। नेपालमा गुराँसबारे यथेष्ट जानकारी उपलब्ध छैन भन्ने दृष्टान्त हो यो। पुस्तक र अभिलेखहरूमा नेपालमा पाइने गुराँसका प्रजाति संख्याबारे फरक फरक तथ्यांक प्रकाशन भइरहेकाले पनि अन्योल भएको हो। यसबाट अरूको त कुरै छाडौं, विश्वविद्यालयका प्राध्यापक र वनस्पति अध्येता समेत रनभुल्ल हुने अवस्था छ।
पछिल्ला वर्षमा प्रकाशित वनस्पति सम्बन्धी दुई पुस्तकमा पनि गुराँस प्रजातिको सूचीमा त्रुटि छ। अ ह्यान्डबूक अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल, भोल्युम ३ (सन् २०२१) र प्लान्ट्स अफ नेपाल (सन् २०२२)मा यस्तो त्रुटि देखिन्छ। अ ह्यान्डबूक अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल, भोल्युम ३ मा चार प्रजातिको नाम गडबड छ। जबकि यी पुस्तकका लेखकहरू नेपालको वनस्पति अनुसन्धानका कहलिएका विज्ञ हुन्। अस्ट्रेलियाका वनस्पतिविद् लिन्ड्ली एलन क्रावेनको सन् २०११ मा प्रकाशित गुराँस सम्बन्धी एक लेख र भारतका एम. सन्जप्पा र ए.आर.के. शास्त्रीद्वारा सम्पादित फेसिकल्स अफ फ्लोरा अफ इन्डिया (सन् २०१४) पुस्तकको अन्धाधुन्ध अनुसरण गरिंदा गलत जानकारी प्रकाशन हुन पुगेको हो।
यस लेखमा गुराँसको उत्पत्ति, विस्तार, महत्त्व, त्रुटिपूर्ण नाम र संरक्षण चुनौतीबारे संक्षिप्त चर्चा गरिएको छ।
गुराँस उत्पत्ति
गुराँस पाँच करोड वर्षअघि उत्तर अमेरिकाको अलास्कामा उद्विकास भएको हो। अलास्काबाट गुराँस उत्तर-पूर्वी एशियास्थित साइबेरियामा करीब तीन-चार करोड वर्षअघि प्रवेश भयो। अहिले अलास्का र रूसको साइबेरियाको बीचमा बेरिङ सागर छ।
गुराँसको एक समूह एशियाको सुदूर उत्तर-पूर्वी भागबाट साइबेरिया हुँदै यूरोप प्रवेश गर्यो। यूरोपमा गुराँसका दुई-तीन करोड वर्ष पुराना जीवाश्म भेटिएका छन्। अर्को समूह दक्षिणतर्फ विस्तार भयो। दक्षिण-पूर्वी चीनको अहिलेको युनान, सिचुवान प्रान्तमा करीब तीन करोड वर्षअघि गुराँस पुग्यो। तिनताका दक्षिणएशियामा हिमालय क्षेत्र उद्विकास हुँदै थियो। अहिलेको हिमालय क्षेत्रमा गुराँसका लागि उपयुक्त वातावरण बनिसकेको थिएन।
नेपालमा मात्र पाइने गुराँस प्रजाति रोडोडेन्ड्रन ल्वोन्डेसी र रोडोडेन्ड्रन कोवानियनम।
दक्षिण-पूर्वी चीनमा गुराँसले ज्यादै अनुकूल वातावरण पायो। त्यहाँ गुराँस प्रजातिको अत्यधिक विविधीकरण भयो। युनानमा ५५९ र सिचुवानमा २७८ प्रजाति गुराँस सूचीकृत रहेको बायोडाइभर्सिटी साइन्स जर्नल २०२१ संस्करणको भोल्युम २९, अंक ९ मा प्रकाशित जानकारीमा उल्लेख छ (पृ. ११७५–११८०)। त्यहींबाट गुराँसका प्रजाति दक्षिणतर्फ फैलिंदै अस्ट्रेलियासम्म पुगे।
करीब डेढ–दुई करोड वर्षअघि हिमालय क्षेत्र द्रुतगतिमा अग्लिन थाल्यो। त्यसक्रममा गुराँस युनान, सिचुवानबाट हिमालय क्षेत्रतर्फ विस्तार भयो। त्यसपछि भारत, भूटान, सिक्किम हुँदै नेपाल, उत्तर-पश्चिम भारत, पाकिस्तान र अफगानिस्तानसम्म पुग्यो। गुराँसको ५० लाख वर्षअघिको रजकण (पोलेन ग्रेन) शिवालिक क्षेत्रमा फेला परेको छ।
संसारभर गुराँसका एक हजार ५० भन्दा बढी प्रजाति छन्। भारतमा ८० र भूटानमा ४९ प्रजाति छन् भने नेपालमा ३२ प्रजाति पाइन्छन्। नेपालमा भएका गुराँसमध्ये पूर्वी भेगमा ३० प्रजाति पाइन्छन् भने मध्य र पश्चिम भेगमा दुई प्रजाति रैथाने छन्।
नेपालमा गुराँसका ३२ प्रजाति रहे पनि गहन अनुसन्धान भएमा संख्या अझ बढ्न सक्छ। पूर्वी नेपालमा पाइने गुराँसका ३० प्रजातिमध्ये रोडोडेन्ड्रन लानाटमको फूल सहितको नमूना सन् १९९२ मा पाँचथरको फेदुङ डाँडा (३,७८० मिटर) बाट संकलन गरिएको थियो (रोडोडेन्ड्रन्स अफ नेपाल, सन् २००५, पृ. २६)। पूर्वी नेपालमा पाइने गुराँसका सबैजसो प्रजाति तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लास्थित तीनजुरे–मिल्के–जलजले क्षेत्रमा पाइन्छन्। तर त्यस क्षेत्रमा रोडोडेन्ड्रन लानाटम भेटिएको वा नमूना संकलन भई संग्रहालयमा राखिएको जानकारी उल्लिखित लेख हालसम्म प्रकाशन भएको छैन। पूर्वी नेपालमा विशेषतः पाँचथर, ताप्लेजुङ र संखुवासभामा थप स्थलगत अध्ययन हुन सक्यो भने गुराँसका प्रजाति थपिन सक्छन्।
गुराँसको महत्त्व
गुराँसको बोटमा पात बाह्रै महीना रहन्छ। यसको पात चौडा र बाक्लो हुन्छ। बाक्लो पात भएकाले पानीको मात्रा बढी हुन्छ। पानी बढी भएकै कारण गुराँस मात्रै भएको जंगलमा हत्तपत्त डढेलो लाग्दैन। गुराँस प्रजातिमध्ये रोडोडेन्ड्रन हड्सोनी भएको जंगलमा त कहिल्यै डढेलो लाग्दैन। किनभने यसको पात ज्यादै बाक्लो हुने भएकाले पानीको मात्रा अत्यधिक हुन्छ।
रोडोडेन्ड्रन ग्रान्डे, रोडोडेन्ड्रन हड्सोनी, रोडोडेन्ड्रन फाल्कोनेरीका पात धेरै चौडा र लामा हुन्छन्। चौडा पातको सतहमा हुने प्वाल (स्टोमाटा)बाट बिरुवाले सास फेर्छ। वनस्पतिले सूर्यको प्रकाशको उपस्थितिमा पानी र कार्बनडाइअक्साइड संयोजन गरेर भोजन बनाउँछ। यसैले गुराँसले भोजन बनाउने समयमा कार्बनडाइअक्साइड सोस्छ र अक्सिजन निकाल्छ। अन्य वेला भने अक्सिजन लिएर कार्बनडाइअक्साइड फाल्छ।
पात चौडा हुने भएकाले गुराँसले अन्य वनस्पतिको तुलनामा खाना बनाउने वेला कार्बनडाइअक्साइड बढी ग्रहण गर्छ। वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा बढ्दा तापक्रम बढ्छ। अतः गुराँसको वनले कार्बनडाइअक्साइड बढी खपत गर्छ र वातावरणमा गर्मी हुन दिंदैन।

गुराँसको बोटको जरा निकै गहिराइमा जाने भएकाले माटो अडिलो बनाउँछ। गुराँसको वनमा माटो बगेर कमै जान्छ। यसले जमीन ओसिलो पनि बनाउँछ। पानीको चक्रलाई सन्तुलनमा राख्छ।
गुराँसले जैविक विविधताको संरक्षणमा पनि भूमिका खेल्छ। यसको फूलबाट माहुरी, पुतली, चराचुरुंगी आदिले आहारा जुटाउँछन्। गुराँस फुल्दा वनै ढकमक्क हुने भएकाले पर्यटन प्रवर्द्धनमा पनि यसले सघाउँछ। गुराँसको घना वन, मनमोहक हिमशृंखला भएका कारण सिक्किमको गोचालाको पदयात्रा वनस्पति र हिमालप्रेमीका लागि सपना जस्तै आनन्ददायी रहेको जानकारहरू बताउँछन्। यस्ता गुराँसे वन पूर्वी नेपालमा मनग्गे छन्।
नाममा गडबडी
माथि चर्चा गरिएका दुवै पुस्तक अ ह्यान्डबूक अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल र प्लान्ट्स अफ नेपालमा गुराँसको एक प्रजातिका रूपमा रोडोडेन्ड्रन च्याम्बरलैनी भनेर सूचीकृत गरिएको छ। खासमा दुवै पुस्तकमा अर्कै वनस्पतिलाई गुराँस प्रजातिमा राखिएको छ। त्यहाँ राखिएको वनस्पतिको वैज्ञानिक नाम डिप्लार्चे मल्टिफ्लोरा हो।
डिप्लार्चे मल्टिफ्लोरालाई रोडोडेन्ड्रन च्याम्बरलैनीका रूपमा गलत नामकरण शुरूमा अस्ट्रेलियाका लिन्ड्ली एलन क्रावेनले सन् २०११ मा गरेका थिए। सन् २०१४ मा भारतका एम. सन्जप्पा र ए.आर.के. शास्त्रीले लेखेको पुस्तकमा अन्य त्रुटि पनि थपिए।
क्रावेन तथा सन्जप्पा र शास्त्रका कामलाई नेपालका वनस्पतिविद्हरूले सर्लक्क अनुमोदन गर्दै नेपालका गुराँस प्रजातिका नाम फेरबदल गरे। यसबारे पंक्तिकारले हिमालखबरमा लेखिसकेको छ (हेर्नुहोस्- गुराँस नचिन्ने विज्ञ र गुराँसमा गडबडी।
रोडोडेन्ड्रन एरुगिनोसम। तस्वीर : रोडोडेन्ड्रन्स अफ सिक्किम एन्ड दार्जीलिङ हिमालय
यसै अनुरूप अ ह्यान्डबूक अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल, भोल्युम ३ मा रोडोडेन्ड्रन वालिची भन्ने प्रजाति नै हुँदैन भन्ने मिथ्या विवरण प्रस्तुत गरिएको छ। यस्तै, त्यस पुस्तकमा रोडोडेन्ड्रन ट्राइकोक्लाडम भन्ने प्रजाति पनि समावेश छ। जबकि यो प्रजाति नेपालमा पाइँदैन। चीनमा मात्र छ। एक जापानी वनस्पतिविद्ले रोडोडेन्ड्रन मेकोन्गेनस (जुन संखुवासभाबाट संकलन गरिएको थियो)लाई भुलवश रोडोडेन्ड्रन ट्राइकोक्लाडम भनेर पहिचान गरिदिएका थिए। त्यो गलत पहिचान बेलायतका वनस्पति संग्रहालयले सच्याइसके पनि नेपालका विज्ञले थाहा नपाउनु दुःखद हो।
उक्त पुस्तकमा गुराँसको अर्को प्रजाति रोडोडेन्ड्रन एरुगिनोसम पनि समावेश छ। यसको नमूना रसुवाको गोसाइँकुण्डबाट १९६७ मा संकलन गरिएको जनाइएको छ। यो प्रजाति अहिलेसम्म पाँचथर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु कतै पनि फेला परेको छैन। यो प्रजाति सिक्किम र दार्जीलिङमा छ। नेपालमा हालसम्म एक पटक मात्र रोडोडेन्ड्रन एरुगिनोसम फेला पर्नु भनेको सन्देह गर्न सकिने कुरा हो। रसुवामा संकलित नमूनाको गलत पहिचान गरिएको हुन सक्छ।
संरक्षणका चुनौती
गुराँसको पातमा पानी तुलनात्मक रूपमा बढी हुने भएकाले गुराँसको वनमा आगो कमै फैलिने चर्चा माथि गरियो। तर गुराँसको रूख आगोबाट बचे पनि मानिसबाट जोगाउन गाह्रो देखिन्छ। गुराँसका केही प्रजातिका काठमा विभिन्न किसिमका रेजिन प्रशस्त हुनाले नसुकेको अवस्थामा पनि बल्छ र दाउरा चिर्न पनि सजिलो हुन्छ। त्यसैले गोठाला र स्थानीय बासिन्दाले दाउराका लागि काट्छन्। यसले गर्दा गोठ र बस्ती नजीकका गुराँसका रूख जोगाउन चुनौती छ। संखुवासभाको गुफापोखरी वरपरका गुराँसका वन तीन/चार दशकयता नाशिए।
तीनजुरे क्षेत्रमा आन्तरिक पर्यटक।
अवैज्ञानिक रूपमा सडक निर्माण र अन्य विकास आयोजनाका कारण पनि गुराँसका वन फडानी हुने गरेको छ। यस्ता अधिकांश विकास आयोजनामा वातावरणीय अध्ययन नाम मात्रको गरिन्छ। यसै कारण राष्ट्रिय फूल लालीगुराँस भए पनि यसको बोट ढलाउने काममा नाइँनास्ती गर्दैनन्, आयोजनाहरूले। यसको ज्वलन्त उदाहरण ताप्लेजुङको मुक्कुमलुङ/पाथीभरामा बनाउन लागिएको केबलकार परियोजना हो।
केबलकार निर्माण कम्पनीले मुक्कुमलुङ/पाथीभरा क्षेत्रमा कम्तीमा ६.२२ हेक्टर क्षेत्रमा वन फडानी गरिसकेको छ। त्यसमा गुराँसका रूख अत्यधिक संख्यामा थिए। त्यहाँ लालीगुराँस लगायत गुराँसका आधा दर्जनभन्दा बढी प्रजाति छन्। ती कुन कुन प्रजाति हुन् भन्ने अभिलेख तयार नगरी गुराँस ढालिए।
ताप्लेजुङमै जलविद्युत् आयोजना निर्माणका लागि गुराँसका रूख अत्यधिक फडानी भएका छन्। वातावरणीय अध्ययन गर्नेहरूले कर्मकाण्डी ढंगले नाम मात्रको अध्ययन प्रतिवेदन बनाउँछन्। प्रभाव र दबाबमा तिनै प्रतिवेदन मन्त्रालयबाट स्वीकृत हुन्छन्। सम्बन्धित डिभिजन वन कार्यालयहरूले त्यस्ता प्रतिवेदन बेवास्ता गरिदिनाले जैविक विविधताको महत्त्वपूर्ण कडीका रूपमा रहेको गुराँसका रूख निस्फिक्री ढालिन्छन्। हामीले अपनाएको बाटोबाट विकास निर्माण त हुने भयो, तर पर्यावरणमा असन्तुलन बढ्ने भयो। विकासमा मात्र केन्द्रित भएर प्रकृतिमाथि बलमिच्याइँको यस्तै सिलसिला चलिरहे मानव जीवनमै संकट निम्तिन सक्छ। त्यो दिन विकास केका लागि र कसका लागि भन्ने दिन पनि आउन सक्छ।
छिमेकी देशहरू भारत, भूटान र चीनले गुराँसलाई पर्यापर्यटनका लागि उपयोग गरिरहेका छन्। प्रशस्त संख्यामा गुराँस पदमार्ग बनाएका छन्। त्यसबाट जैविक विविधता संरक्षण हुने, स्थानीय स्तरमा पर्यटन प्रवर्द्धन हुने र स्थानीय बासिन्दाको आर्थिक उपार्जनमा सघाउ पुग्छ। गुराँसको वन फैलियो भने वायुमण्डलको कार्बनडाइअक्साइड खपत बढ्छ। जमीन ओसिलो हुन्छ। पर्यावरण स्वच्छ रहन्छ। तेह्रथुमको तीनजुरे, संखुवासभाको मिल्के, गोरुजुरे, गिद्धे, खामबले, ताप्लेजुङको तोप्केगोला क्षेत्र गुराँस पर्यटनका लागि उपयुक्त स्थान हुन्। यस्तै, भारतको सिमाना जोडिएका पूर्वी भेग पनि यसका लागि उपयुक्त छन्। ती ठाउँमा पर्यापर्यटनका पूर्वाधार के कसरी निर्माण गर्न सकिन्छ, त्यसतर्फ स्थानीय र प्रदेश सरकारको ध्यान जानुपर्छ।
यो पनि पढ्नुहोस्- कहाँबाट कसरी आइपुग्यो नेपालमा गुराँस?