डढेलो गत वर्षभन्दा पनि धेरै, किन बढिरहेको छ?
गत तीन महीनामा देशभर एक हजार ८०० भन्दा बढी स्थानमा डढेलो सल्कियो। डढेलो लाग्ने क्रम पछिल्ला वर्षहरूमा बढिरहनुको कारण असफल वन व्यवस्थापनसँग जोडिएको विज्ञहरूको दाबी छ।
पछिल्ला दिनहरूमा काठमाडौंको हावा निरन्तर धेरै खराब छ। सवारीसाधनबाट निस्किएको धूवाँ, औद्योगिक क्षेत्र र निर्माणबाट निस्किने धूलो, फोहोर-पातपतिंगर जलाउँदा निस्किएको धूवाँको मुस्लो मिसिएर वायुमण्डल उकुसमुकुस हुन पुगेको छ। यस बाहेक गत साताका अधिकांश दिन काठमाडौं सहित देशभर हावा अत्यधिक अस्वस्थ हुनुको मुख्य कारण मानिएको छ, डढेलो। पानी नपरेको सुक्खा जमीन तात्दै गएसँगै पछिल्ला दिनमा देशका दर्जनौं स्थानका वनजंगललाई डढेलोले लपेटेको छ। चुरे र तराई क्षेत्रमा लागेको डढेलोको यस्तो धूवाँलाई वायुले सोहोरेर ल्याएसँगै काठमाडौं श्वासै फेर्न कठिन स्थितिमा पुगेको छ।
तुवाँलाको सिरक ओढे जस्तो स्थितिमा पुगेको वायुमण्डल धूवाँ-धूलो मुक्त हुन ठूलो वेगको हावाहुरी र पानी चाहिएको छ। मौसमविद्हरूले बुधबारदेखि देशैभर पानी पर्न सक्ने प्रक्षेपण गरेका छन्। यस वर्षको हिउँद याम (मध्य मंसीरदेखि–मध्य फागुन)मा मात्र होइन, प्रिमनसुन अवधि शुरू भइसक्दा समेत छिटपुट बाहेक पानी परेको छैन। खेतबारीका लागि मात्र होइन, वायुमण्डलको धूवाँ-धूलो पखाल्न र वनजंगलमा लागेको अनियन्त्रित डढेलो साम्य पार्न समेत ठूलो पानीको प्रतीक्षा छ।
वन तथा भूसंरक्षण विभागको डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार अप्रिल महीना शुरू भएयताको एक सातामा देशका ६२ जिल्लाका ८८५ स्थानमा डढेलो सल्किएको छ। गत मार्च महीनामा मात्रै देशका ६२१ स्थानमा डढेलो लागेको थियो। प्रणालीले अमेरिकी अन्तरिक्ष सम्बन्धी संस्था नासाको मोडिज स्याटेलाइटले पहिचान गरेका डढेलोका आधारमा यस्तो तथ्यांक राखेको हो।
यस वर्ष डढेलोको संख्या गत वर्षको तुलनामा निकै धेरै देखिएको छ। यो किन पनि चिन्ताजनक हो भने, सन् २०२४ पछिल्लो दशकमा अत्यधिक धेरै स्थानमा डढेलो लागेको वर्षमध्ये एक हो। तर यस वर्ष गत वर्षको तुलनामा समेत धेरै स्थानमा डढेलो सल्किइरहेको छ।
सन् २०२४ को जनवरीदेखि अप्रिल पहिलो सातासम्म देशभर एक हजार ४० स्थानमा डढेलो लागेको थियो। सन् २०२५ मा भने ७ अप्रिलसम्म एक हजार ८४२ स्थानमा डढेलो सल्किएको छ। यसले गत वर्षका तुलनामा यस वर्ष ७७ प्रतिशत बढी स्थानमा डढेलो लागेको देखाउँछ।
सामान्यतया विगतमा अत्यधिक डढेलो लागेको साल लगत्तैको वर्षमा थोरै डढेलो लाग्ने प्रवृत्ति देखिन्थ्यो। जस्तै- बितेका १३ वर्षमा सर्वाधिक डढेलो लागेको वर्ष थियो, सन् २०२१। उक्त वर्ष देशका ६ हजार ५३७ स्थानमा डढेलो सल्किएको थियो। लगत्तैको वर्ष सन् २०२२ मा एक हजार ५२८ स्थानमा डढेलो सीमित हुनपुग्यो। जंगलको इन्धन अर्थात् सुकेका दाउरा, पातपतिंगर डढेलोले जलाइसकेपछि लगत्तै अर्को वर्ष सोही ठाउँमा डढेलो लाग्दैन भन्ने मान्यता थियो। यसले गर्दा डढेलोको संख्यामा पनि कमी आएको प्रवृत्ति देखिन्थ्यो।
तर यस वर्ष त्यसो भएन। सन् २०२४ मा देशका पाँच हजार २१६ स्थानमा डढेलो लागेको थियो। यो सन् २०१२ यताको दोस्रो सर्वाधिक डढेलो लागेको वर्ष थियो। अहिलेसम्मको प्रवृत्ति हेर्दा सन् २०२५ ले त्यो रेकर्ड समेत तोड्ने सम्भावना देखिएको छ। यद्यपि आगामी साताहरूमा मनग्ये पानी परे डढेलो धेरै फैलिन पाउनेछैन।
वन तथा भूसंरक्षण विभागकी सूचना अधिकारी सबनम पाठकले यस वर्ष पनि हिउँद सुक्खा बितेको तथा प्रिमनसुन अवधिमा पनि पानी नपर्दा वनजंगलमा काठपात तथा पातपतिंगर सुकेर डढेलो बढ्न मद्दत पुगेको बताइन्। उनले भनिन्, “गाउँबाट बसाइँसराइ बढेसँगै खेतीपाती र पशुपालन गर्नेको संख्या घटेर पातपतिंगर सोहोर्ने, स्याउला–झिक्राझाक्री बटुल्ने निकै थोरै भएका छन्। यसले गर्दा वनजंगलमा डढेलो फैलिन सघाउने इन्धन बढेको बढ्यै छ। कतैबाट आगो झोसिने बित्तिकै यो निभाउनै नसक्ने गरी अनियन्त्रित हुनुको कारण त्यही हो।”
गाउँबाट शहरतिर बसाइँसराइको दर बढिरहँदा ग्रामीण क्षेत्रको जनसंख्या निरन्तर घट्दो छ। खेतीपाती र पशुपालन गर्ने क्रम घटेसँगै पशु आहार तथा मलका लागि चाहिने स्याउला, पातपतिंगर वनबाट निकालिने क्रम घटेको छ। गाउँमा पनि खाना पकाउन दाउराको सट्टा एलपी ग्यासको प्रयोग बढ्दो छ, जसले गर्दा काम नलाग्ने रूखबिरुवाका हाँगा छिमलेर दाउरा बनाउने तथा ढलापढा रूख निकाल्ने काम भएको छैन। खेतबारी बाँझो राख्ने क्रम बढेसँगै बोटबिरुवा हुर्किंदै गएर बस्ती र वन आपसमा जोडिन पुगेका छन्। यसले डढेलोको जोखिम थप बढाएको पाठक बताउँछिन्।
त्रिभुवन विश्वविद्यालयको वन विज्ञान संकायका प्राध्यापक डा. राजेश राई वन व्यवस्थापन प्रभावकारी रूपमा गर्न नसकिएकाले डढेलोको प्रकोप बढिरहेको बताउँछन्। उनी भन्छन्, “वनबाट पातपतिंगर, मुढा झिकिएको छैन। त्यो थुप्रँदै गएको छ। जसले गर्दा डढेलो लागेपछि निभाउनै नसकिनेगरी ठूलो प्रभाव हुनेगरी लाग्ने गरेको छ।” जलवायु परिवर्तनका कारण तापमान बढ्दै जाँदा डढेलो फैलिन सहयोगी अवस्था बनिरहेको छ। लामो समय सुक्खा हुँदा र चिस्यान घट्दा त्यो जोखिम ह्वात्तै बढेको राई बताउँछन्।
धेरैजसो डढेलो मान्छेले नै जानीनजानी सल्काउँछन्। वन तथा भूसंरक्षण विभागकी सूचना अधिकारी पाठक ९९ प्रतिशत डढेलो मानवीय क्रियाकलापबाट शुरू हुने बताउँछिन्। उनी भन्छिन्, “कतिपय स्थानमा मान्छेले नै घाँस पलाउँछ भनेर जानीजानी आगो लगाउने गरेका छन्। कतिपय भने मान्छेको हेलचेक्र्याइँबाट पनि शुरू भएको छ।” जंगलमा आगो प्रयोग गर्ने तर राम्ररी ननिभाउने मान्छेका ससाना त्रुटिले पनि धेरै डढेलो सल्किएको उनको तर्क छ।
वातावरण र पर्यावरणमा जति नै असर गरे पनि डढेलो लाग्नै नदिन वा नियन्त्रण गर्न सजिलो भने छैन। प्राध्यापक राई वन व्यवस्थापनलाई नै समाधानको मुख्य उपाय ठान्छन्। वनजंगलमा थुप्रिएका काठपात समय समयमा निकाल्दा डढेलोको भयावह असरलाई घटाउन सकिने उनको तर्क छ। यसका लागि मध्य पहाडमा कुनै वेला निकै सफल मानिएको सामुदायिक वन व्यवस्थापनको तौरतरीका बदल्नु पनि हुनसक्ने उनले बताए। खासगरी, सामुदायिक वनले बनाएको कार्ययोजना अनुसार निजी क्षेत्रलाई सहभागी गराएर काठपात निकाल्न सकिए डढेलो फैलिन सहयोगी इन्धनको भण्डार घट्छ। यसो हुने बित्तिकै डढेलोले विकराल रूप लिन पाउँदैन। उनी डढेलोको जोखिम भएका ठाउँ ठाउँमा पानी भण्डार हुने पोखरी बनाउन आवश्यक रहेको, जसले जमीनलाई चिसो बनाएर डढेलो बढ्न रोक्ने पनि बताउँछन्।
डढेलो नियन्त्रणका लागि सरकारले नीति पनि अघि सारेको छ। वन डढेलो व्यवस्थापन रणनीति, २०६७ मा डढेलो नियन्त्रण गर्न नीतिगत, कानूनी तथा संरचनागत सुधारका साथै कैयौं आवश्यक तयारीका बुँदा समेटिएका छन्। तर कार्यान्वयन पक्ष कमजोर छ। यसले वन व्यवस्थापन, वासस्थान सुधार तथा घाँसे मैदान व्यवस्थापनका लागि नियन्त्रित र व्यवस्थित डढेलो आवश्यक रहेको उल्लेख गरेको छ। डढेलो फैलिन रोक्ने फायर लाइन बनाउने जस्ता उपायमा पनि धेरै काम भइरहेको छैन। वन तथा भूसंरक्षण विभागकी सूचना अधिकारी पाठक डढेलो नियन्त्रणको उपयुक्त रणनीति बनाएर कार्यान्वयन गर्न विभागसँग रकम नै नभएको बताउँछिन्। उनी भन्छिन्, “यस वर्ष त विभागसँग कर्मचारीको तलब खुवाउन पुग्ने रकम समेत छैन, कसरी डढेलो नियन्त्रणका लागि थप काम गर्न सकिन्छ?”