मेरा बुबाभन्दा एक वर्ष जेठा भएकाले मैले भैरव रिसाललाई ‘दाइ’ होइन, ‘ठूल्बा’ पो भनेर सम्बोधन गर्नुपर्ने हुन्छ भन्ने दलिल पेश गरेको थिएँ।
फटिक थापा
अर्थपूर्ण जीवन बाँच्ने मानिस विरलै पाइन्छ। वरिष्ठ पत्रकार भैरव रिसाल (भैरव दाइ) मेरा लागि त्यस्तै विरलमध्येका एक हुनुहुन्थ्यो। उहाँबारे थोरै आफ्ना अनुभव राख्न चाहन्छु।
सन् २००७ मा उमेर क्रियाशीलता भन्ने विश्वस्तरीय अभियान आरम्भ भएको समयमा नेपालमा उक्त अभियानको संयोजन आफू आबद्ध संस्था नेपाल सहभागीमूलक कार्य समूह (नेपान)ले गरेको थियो। त्यही मेसोमा भैरव दाइसित नजीकबाट काम गर्ने मौका मिल्यो। उहाँलाई जोसुकैले ‘भैरव दाइ’ भनेर सम्बोधन गर्थे। मलाई भने आफ्नै बाबाको उमेर सरहको व्यक्तिलाई ‘दाइ’ भनी बोलाउँदा असजिलो लाग्थ्यो। वास्तवमा भैरव दाइ मेरा बुबाभन्दा एक वर्ष जेठा हुनुभएकाले उहाँलाई ‘दाइ’ होइन, ‘ठूल्बा’ पो भनेर सम्बोधन गर्नुपर्ने हुन्छ भन्ने दलिल पेश गर्थें। तर उहाँ मान्नुहुन्नथ्यो र आफूलाई ‘दाइ’ नै भनिदिनुपर्ने जिकिर गर्नुहुन्थ्यो।
यस पछाडिको मनोविज्ञान यो रहेछ कि अधबैंसका मानिसलाई यदि कुनै व्यक्तिले ‘बाबा’/‘आमा’ भनेर सम्बोधन गरिदियो भने उसलाई बुढेसकालले छोएको महसूस हुन्छ। तर त्यही व्यक्ति जीवनको उत्तरार्द्धमा छ र उसलाई ‘दाइ’/‘दिदी’ भनेर बोलाइन्छ भने उसले आफूमा जवानी भइरहेको अनुभव गर्दछ। यसबाट सिकिने कुरा के हो भने, कुनै नौलो मानिससँग पहिलो पटक भेट हुँदा प्वाक्कै बाबा-आमा भनेर सम्बोधन गर्नुभन्दा पहिले उनीहरूले के भन्दा सहज महसूस गर्दछन्, त्यसमा ख्याल गर्नुपर्ने हुन्छ।
कति बाँच्ने?
हरेक वर्ष १ अक्टोबरलाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गर्छ। सन् २०१० मा नेपान लगायत संघसंस्था ज्येष्ठ नागरिकका माग सहितका ज्ञापनपत्र लिएर संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङकहाँ गयौं। हाम्रो टोलीलाई उनै भैरव दाइले अगुवाइ गर्नुभएको थियो। निर्धारित समय अगावै संविधानसभा अध्यक्षको सभाकक्षमा पुगेका थियौं। केही समय आपसमा मानिसको बुढ्यौली अवस्थाबारे भलाकुसारी गर्दै थियौं। टोलीमा महिला तथा पुरुष ज्येष्ठ नागरिकहरू हुनुहुन्थ्यो।
टोली प्रमुख भैरव दाइ एक न एक पटक जोसुकै मानिस मर्नै पर्छ, ऊ अजरअमर नभएको बताउँदै हुनुहुन्थ्यो। र, उहाँले अगाडि थप्नुभयो, “...तर पनि पुरुषका लागि उसले आफ्नो जुँगादाह्री आफैं काट्न बनाउन सक्नेसम्म र महिलाको हकमा उनले आफ्नो कपाल आफैं कोर्न बाट्न सक्नेसम्म बाँच्न पाएमा त्यसलाई पर्याप्त आयु भनेर सन्तोष लिए हुन्छ।”
बुढ्यौलीमा घाम र हावा
सन् २०१२ को विश्व स्वास्थ्य दिवसका अवसरमा ज्येष्ठ नागरिकका स्वास्थ्यसित सम्बन्धित मागपत्र लिएर भैरव दाइको अगुवाइमा हाम्रो प्रतिनिधिमण्डल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गयो। नेपाल सरकारको स्वास्थ्य नीति ज्येष्ठ नागरिकमैत्री हुनुपर्नेबारे हाम्रो टोलीले मन्त्रालयमा छलफल गर्यो।
सरकारी अधिकारीहरूले हामीले राखेका केही बुँदामा सहमति जनाए भने केही माग पूरा गर्न सरकारी सीमित साधनस्रोत बाधा रहेको अवगत गराए। बाटामा फर्कंदै गर्दा टोली प्रमुख बुढेसकालका व्यक्तिलाई जाडो महीनामा न्यानो घाम ताप्न र गर्मीको समयमा सफा हावामा रहन पाउने बन्दोबस्त मिलाउन सके उनीहरू असाध्यै रमाउने कुरा सिकाउँदै हुनुहुन्थ्यो।
भैरव रिसालसँग लेखक थापा।
‘उहिलेको बाजेको पालामा’
भैरव दाइले रेडियो सगरमाथा मा चलाउने कार्यक्रम ‘उहिलेको बाजेको पालामा’ एक अति रोचक र ज्ञानवर्द्धक थियो। त्यो कार्यक्रमबाट पुरानो पुस्ताले नयाँ पुस्तासामु आफ्नो अनुभव साट्ने तथा समकालीन पुस्ताले आफ्नो पुस्ताका विभिन्न व्यक्तिहरूको ज्ञान र अनुभव आदानप्रदान गर्ने अवसर जुर्थ्यो। भैरव दाइले बुबा काठमाडौं आउँदा उक्त कार्यक्रममा सहभागी गराउन मलाई भन्नुभएको थियो। उहाँ काठमाडौं आएको मौका पारी मैले उक्त प्रस्ताव राखें। तर अस्वस्थताले गर्दा बुबा सहभागी हुन सक्नुभएन। केही वर्षपछि बुबा स्वर्गे हुनुभयो। एकै उमेर समूहका बुबासित भैरव रिसालज्यूको गफिने रहर जुरेन।
भैरव दाइ शारीरिक रूपमा तन्दुरुस्त भएको बखत भेट हुँदा उहाँको जीवनपद्धतिबारे सोधेको थिएँ। जाडोमा पनि दैनिक चिसो पानीले नुहाउने बताउनुहुन्थ्यो। प्रायः जेरी खान मन पर्छ भन्नुहुन्थ्यो। हमेशा आफूलाई नौला नौला क्रियाकलापमा तल्लीन रहनुहुन्थ्यो। एकपटक उहाँले मलाई गुल्मीमा एफएम रेडियो बजाउनका लागि प्रस्ताव राख्न भ्याउँदा नभ्याउँदै अन्य साथीहरूबाट त्यहाँ रेडियो सञ्चालन गरेको बताउनुभएको थियो। भनिन्छ, सक्रिय बुढ्यौलीले मानिसलाई सुखी, स्वस्थ र दीर्घायु बनाउँछ। मलाई लाग्छ, भैरव दाइ सुखी, स्वस्थ र दीर्घ जीवन जिउनुभयो।
चैत २४ गते निधन भएका भैरव दाइप्रति भावपूर्ण श्रद्धाञ्जली! परिवारजनमा हार्दिक समवेदना!
(लेखक प्रतिनिधि सभाका पूर्व सदस्य हुन्।)
याे पनि पढ्नुहोस्: