राप्रपा नेपालले जगमान गुरुङको सभालाई सघाउने, लिङ्देनको सभामा सहभागी नहुने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालले प्राज्ञ जगमान गुरुङ नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले गर्न लागेको सभालाई सहयोग गर्ने, तर अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाले गर्न लागेको सभामा सहभागी नहुने जनाएको छ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा चैत २५ गते बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले गुरुङ नेतृत्वको समितिले गर्न लागेको कार्यक्रम सफल बनाउन सक्रिय सहयोग गर्ने निर्णय गरेको हो। राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाद्वारा जारी विज्ञप्तिमा समितिको आयोजनामा चैत २७ गते हुने भनिएको ‘प्रतिबद्धता सभा’लाई सहयोग गर्ने निर्णय गरिने उल्लेख छ।
“जगमान गुरुङको संयोजकत्वमा गठित ‘संयुक्त जनआन्दोलन’ समितिले यही चैत २७ गते बुधबार आयोजना गर्ने ‘प्रतिबद्धता सभा’लाई सफल बनाउन राप्रपा नेपालले सक्रिय सहयोग गर्नेछ,” बर्तौलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “साथै, उक्त सभामा सहभागी हुन सबै राष्ट्रवादी साथीहरूलाई राप्रपा नेपाल आह्वान गर्दछ।”
गुरुङ संयोजकत्वको समितिलाई पूर्ण रूपले सहयोग र समर्थन गर्ने राप्रपा नेपालले जनाएको छ। राप्रपा नेपालले भनेको छ, “उक्त समितिले आयोजना गर्ने सबै कार्यक्रममा सहभागी हुन राप्रपा नेपाल पार्टीका कार्यकर्ता, सहयोगी र शुभचिन्तकहरूमा राप्रपा नेपाल आग्रह गर्दछ।”
त्यस्तै, लिङ्देन अध्यक्ष रहेको राप्रपाले चैत २६ गते ‘नवीन राजनीतिक समझदारीको बलियो आधार तयार पारौं’ भन्ने नाराका साथ बल्खुमा आमसभा गर्न लागेको छ। राप्रपा नेपालका महामन्त्री बर्तौलाले समान विचार भएकाहरूसँग एकता गर्ने निर्णय भए पनि राप्रपाको कार्यक्रममा सहभागी नहुने बताए। उनले हिमालखबरसँग भने, “अजेन्डा उस्तै भए पनि राप्रपाले गर्ने पार्टीको झन्डामा हाम्रो भौतिक सहभागिता हुँदैन। यदि राष्ट्रिय झन्डा बोकेको हकमा नैतिक समर्थन सहित सहभागी पनि हुनेछौं।”
राप्रपा नेपालले चैत १५ गतेको तीनकुने घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठनको माग समेत गरेको छ। पत्रकार सुरेश रजक र सबिन महर्जनको ज्यान जानेगरी भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका सांसद धवलशमशेर राणा, रवीन्द्र मिश्र लगायत सबैलाई तत्काल रिहा गर्न राप्रपा नेपालले सरकारसँग माग गरेको छ।
राजा, हिन्दू राष्ट्रको मान्यता र राजसंस्था सहितको प्रजातन्त्रको विचारलाई बदनाम गर्ने, निषेध गर्ने तथा उक्त विचारका पक्षधरलाई हतोत्साहित तुल्याउने षड्यन्त्र भइरहेको राप्रपा नेपालको दाबी छ।