देशमा २५ वर्षमा वायु प्रदूषण दुईतिहाइले बढ्यो, काठमाडौंमा ७५ प्रतिशतको वृद्धि
नेपालमा वायु प्रदूषण नयाँ विषय होइन। तर नियन्त्रणमा सरकारको निष्क्रियता रहँदा पछिल्लो अढाई दशकमा श्वास फेर्ने हावामा प्रदूषणको स्तर ६३ प्रतिशतले वृद्धि भएको छ।
“काठमाडौंको वायु प्रदूषण नयाँ विषय होइन, ३८ वर्ष अघि सन् १९८७ मा हिमाल म्यागेजिनको पहिलो अंकको कभर स्टोरी थियो ‘उकुसमुकुस उपत्यका’। ३३ वर्षअघि सेप्टेम्बर १९९२ मा डाउन टु अर्थ म्यागेजिनले ‘स्वर्गमा प्रदूषण’ शीर्षकमा कभर स्टोरी छापेको थियो,” गत साता वायु प्रदूषणको चर्को चर्चा भएपछि वातावरणविद् भूषण तुलाधरले सामाजिक सञ्जाल एक्समा यस्तो टिप्पणी लेखे। काठमाडौं र देशका मुख्य शहरी क्षेत्रको वायुमा अचाक्ली धूवाँ-धूलो मिसिएर हावा श्वासै फेर्न कठिन हुनेगरी बिग्रिएपछि प्रदूषणबारेको चर्चा बाक्लिएको छ। तुलाधरले झन्डै चार दशकअघिदेखि नै प्रदूषणबारे कुरा हुन थालेको तथा यसबारेका अध्ययन र समाधानका उपाय थाहा भए पनि कामै नभएको औंल्याएका छन्।
सन् १९८७ देखि प्रकाशन शुरू भएको हिमाल (त्यति वेला अंग्रेजीमा) म्यागेजिनको पहिलो अंकमा वायु सहितका अन्य प्रदूषणबारे चिन्ता जनाउँदै वातावरणप्रति खेलाँची गरिएकोबारे कभर स्टोरी प्रकाशित गरिएको थियो। त्यसैगरी, भारतबाट प्रकाशित हुने डाउन टु अर्थले पनि प्रदूषणले पर्यटनमा असर गरिरहेको सहित प्राकृतिक सुन्दरताका बावजूद काठमाडौं अचाक्ली फोहोर शहर बनिरहेको औंल्याएको थियो। नि:सन्देह काठमाडौंको प्रदूषण नयाँ होइन।
हिमाल म्यागेजिनको पहिलो अंकको कभर। तस्वीर : भूषण तुलाधर
हिमालको कभर स्टोरीमा त ऐतिहासिक कालदेखि नै काठमाडौं उपत्यकाका तीन मुख्य शहरमा ढल, फोहोरको थुप्रो, जताततै मलमूत्र तथा ब्याक्टेरियाले भरिएको पानी पारिस्थितिक प्रणालीको हिस्सा रहँदै आएको उल्लेख छ। पछिल्लो दशकमा हिमाल सिमेन्ट कारखाना र सवारीसाधन इत्यादिबाट निस्किएको धूवाँ-धूलाले वायु प्रदूषण पनि बढाएको रिपोर्टमा उल्लेख थियो।
वन डढेलो, कलकारखाना, इँटाभट्टा र पातपतिंगर लगायत फोहोर जलाएको धूवाँले हरेक हिउँदमा काठमाडौंको वायुलाई तुवाँलोमय बनाउने गरेको हो। फरक यत्ति हो, पछिल्ला दशकहरूमा सवारीसाधनको घनत्व बढेसँगै र कलकारखानाको संख्या थपिएसँगै प्रदूषणको मात्रा पनि बढेको छ।
हामीले के फेला पारेका छौं भने, पछिल्लो अढाई दशकमा मुलुकमा वायु प्रदूषण झन्डै दुईतिहाइले थपिएको छ। सन् १९९८ मा देशको हावामा पीएम २.५ भनिने आँखाले देख्न नसकिने धूलो कण वार्षिक सरदरमा २६.२७ माइक्रोग्राम प्रतिघनमिटर हुने गर्थ्यो, जुन अहिले ४२.८ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ। यसले बितेका अढाई दशकमा हावाको प्रदूषण ६३ प्रतिशतले बढेको देखाउँछ।
देशभरि प्रदूषण
अमेरिकाको युनिभर्सिटी अफ सिकागाले एअर क्वालिटी लाइफ इन्डेक्स प्रतिवेदन मार्फत वायु प्रदूषणले संसारभरिका मानिसको कति वर्ष आयु घटाइरहेको छ भन्ने तथ्यांक दिन्छ। यसका लागि भूउपग्रहले खिचेका उच्च रिजोलुशनका तस्वीरको प्रयोग गर्छ र जमीनको सतह नजीकको पीएम २.५ भनिने सूक्ष्म कणहरूको मात्रा नाप्छ। एअर क्वालिटी लाइफ इन्डेक्सका अनुसार सन् १९९८ मा नेपालको हावामा वार्षिक सरदरमा पीएम २.५ को मात्रा २६.२७ माइक्रोग्राम प्रतिघनमिटर थियो। यो सन् २००० को दशकमा ह्वात्तै उक्लियो। सन् २००९ मा त नेपालमा पीएम २.५ को मात्रा सरदरमा ४९.१९ सम्म पुग्यो। तर सन् २०२२ मा यो ३९.१८ मा सीमित भएको यसको तथ्यांक छ। यो २४ वर्षअघिका तुलनामा आधा जतिको वृद्धि हो।
एअर क्वालिटी लाइफ इन्डेक्सको सन् २०२३ र २०२४ को वायु गुणस्तर सम्बन्धी तथ्यांक उपलब्ध भइसकेको छैन। विश्वभरिका वायु गुणस्तर मापन केन्द्रको तथ्यांकका आधारमा स्वीट्जरल्यान्डस्थित संस्था आईक्यू एअरले प्रकाशित गरेको प्रतिवेदन अनुसार सन् २०२४ मा नेपालको हावामा पीएम २.५ को मात्रा ४२.८ माइक्रोग्राम प्रतिघनमिटर छ। यो २६ वर्षअघिको तुलनामा ६३ प्रतिशतको वृद्धि हो।
विश्व स्वास्थ्य संगठनले वार्षिक रूपमा स्वस्थ हावामा पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा बढी हुन नहुने मापदण्ड तोकेको छ। स्वस्थ हावाका लागि तोकिएको सुरक्षित सीमाभन्दा नेपालको हावामा आठ गुणाभन्दा धेरै धूलोको कण छ। जसकारण नेपाल संसारकै खराब हावा भएका मुलुकको सूचीको सातौं स्थानमा छ।
हावामा प्रदूषणको मात्रा थपिंदै जाँदा यसको प्रभावले सरदर आयु पनि घटाइरहेको तथ्यांकले देखाएको छ। एअर क्वालिटी लाइफ इन्डेक्सका अनुसार सन् १९९८ मा वायु प्रदूषणका कारण नेपालीको औसत आयु २.०८ वर्षले घट्ने गरेकामा यो अहिले ३.३५ वर्षले घटिरहेको छ।
एअर क्वालिटी लाइफ इन्डेक्सको तथ्यांकले नेपालभित्र बागमती र लुम्बिनी प्रदेशमा तीव्र गतिमा वायु प्रदूषण बढेको देखाउँछ। सन् १९९८ मा बागमती प्रदेशमा पीएम २.५ को मात्रा १८.९२ माइक्रोग्राम प्रतिघनमिटर रहेकामा सन् २०२२ मा आइपुग्दा यो ६५.७५ प्रतिशतले बढेको देखिएको छ। यस अवधिमा लुम्बिनीमा प्रदूषण ६२.६९ प्रतिशतले बढेको छ भने सबैभन्दा कम कोशीमा पीएम २.५ को मात्रा ३३.४ प्रतिशत मात्रै बढेको छ।
जिल्लागत आधारमा हेर्दा यस अवधिमा सबैभन्दा धेरै प्रदूषण हुम्लामा बढेको छ। सन् १९९८ मा हुम्लामा पीएम २.५ को मात्रा ८.४६ माइक्रोग्राम प्रतिघनमिटर रहेकामा सन् २०२२ मा आइपुग्दा यो १६.२३ पुगेको छ। यो ९१.८ प्रतिशतको वृद्धि हो। त्यसैगरी, दाङ, नवलपुर, चितवन, काठमाडौं जस्ता जिल्लामा बढी मात्रा प्रदूषण बढेको छ।
काठमाडौंमा यस अवधिमा तीनचौथाइले वायु प्रदूषण बढेको छ। सन् १९९८ मा काठमाडौंमा पीएम २.५ को मात्रा १७.८७ माइक्रोग्राम प्रतिघनमिटर रहेकामा यो सन् २०२२ मा आइपुग्दा ३१.३३ पुगेको छ। काठमाडौंमा सवारीसाधनको संख्या अचाक्ली बढेसँगै हावामा धूलो-धूवाँको मात्रा पनि तीव्र गतिमा बढेको हो।
सरकारको बेवास्ता
पछिल्लो एक महीनायता काठमाडौं उपत्यका लगायत देशैभरि वायुको गुणस्तर निकै खस्किएको छ। यस अवधिमा काठमाडौंवासीले कुनै दिन राम्रो हावामा श्वास फेर्न पाएका छैनन्। गत साता त यो थप बिग्रिएर काठमाडौंका विभिन्न स्थानमा वायु गुणस्तर सूचकांक ३०० हाराहारीसम्म पुग्यो। हावाको गुणस्तर सूचकांक ५० सम्म हुनुलाई राम्रो मानिन्छ, १०० सम्मलाई ठीकठीकै मानिए पनि त्यसभन्दा माथि पुग्नु नराम्रो हो। यो सूचकांक २०१ बाट माथि लाग्नु त असाध्यै खराबको कोटिमा पर्छ। बितेको साता काठमाडौंमा सातमध्ये ६ दिन हावाको गुणस्तर असाध्यै खराबमा दरियो।
गत साता बृहत् नागरिक आन्दोलनले वातावरणीय र स्वास्थ्य आपत्कालकै स्थिति निम्तिए पनि सरकार असंवेदनशील भएको र प्रदूषण रोक्न उपयुक्त पहलकदमी नलिएकामा विरोध जनाउँदै विज्ञिप्त जारी गरेको छ। आन्दोलनले नेपालमा वार्षिक ४८ हजार नागरिकको मृत्यु वायु प्रदूषण सिर्जित रोगका कारण हुने गरेको उल्लेख गर्दै संगीन संकटबार पार पाउन सरकारलाई तत्कालै कदम चाल्न पनि सचेत गराएको छ।
वातावरणविद् तुलाधरले वातावरण मन्त्रालयले पछिल्ला दुई दशकदेखि नै (बीचको केही वर्ष बाहेक) काठमाडौंको वायु गुणस्तर मापन गरिरहेको उल्लेख गर्दै प्रदूषणको तथ्यांक, स्रोत र समाधानको उपायबारे सरोकारवालालाई थाहा भएको उल्लेख गरेका छन्। यस्तो ज्ञानको प्रयोग गरी प्रदूषण घटाउन तदारुकता चाहिएको उनको तर्क छ।
वातावरणविद् डा. उत्तमबाबु श्रेष्ठ वायु प्रदूषण रोक्न २०५० को दशकमा जति पनि सक्रिय चासो दिइन छोडेको बताउँछन्। काठमाडौंको प्रदूषणलाई ख्याल राखेरै प्रदूषण गराउने विक्रम टेम्पो हटाएर ब्याट्रीबाट चल्ने सफा टेम्पो भित्र्याउने, काठमाडौंमा वायु प्रदूषण गराउने चोभारस्थित हिमाल सिमेन्ट कारखाना बन्द गराउने, इँटाभट्टामा सुधारिएको प्रविधि राख्ने जस्ता वातावरणमैत्री सुधार प्रयास त्यति वेला गरिएका थिए। तर आश्चर्य चाहिं वायु प्रदूषणप्रति ख्याल राख्दै कुनै वेला चोभारस्थित आफ्नै स्वामित्वको सिमेन्ट कारखाना बन्द गरेको सरकारले काठमाडौं उपत्यकाको पश्चिमी कुनो वाणभन्ज्याङको मुनितिर निजी कम्पनीलाई सिमेन्ट कारखाना चलाउने अनुमति दिएको छ।
त्यसैगरी, काठमाडौंका झन्डै १०० इँटाभट्टा, लाखौं सवारीसाधनले फाल्ने धूवाँको पनि नियमित गुणस्तर अनुगमन गरिंदैन। वातावरणविद् श्रेष्ठ भन्छन्, “वायु प्रदूषणसँग सम्बन्धित कुरामा हामी सन् १९९० को दशकमा भन्दा पश्चगमनमा जाँदै छौं। यसप्रतिको संवेदनशीलता कम भएर गएको छ।”
काठमाडौंका इँटाभट्टाबाट निस्किएको धूवाँ।
वायु प्रदूषण न्यूनीकरणका अनेकौं योजना र नीति अघि सारिए पनि कार्यान्वयन निकै फितलो छ। सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा प्रदूषण नियन्त्रण शुल्क लिने गरे पनि यो रकम हावाको गुणस्तर सुधारमा खर्च भएको छैन। यस्तो शुल्क हरेक वर्ष कम्तीमा तीन अर्ब रुपैयाँ उठे पनि यसको छुट्टै कोष बनाउनुको सट्टा सरकारले अन्य कर सरह यसलाई पनि खर्च गरिरहेको छ।
त्यसैगरी, काठमाडौं उपत्यकाको वायुको गुणस्तर सुधार्न २०७६ सालमै ‘काठमाडौं उपत्यकाको वायुको गुणस्तर व्यवस्थापन कार्ययोजना’ बनाइए पनि यसको कार्यान्वयन फितलो छ। कार्ययोजनामा एक वर्षभित्र सवारीसाधनको प्रदूषण मापदण्ड ‘यूरो ४’ लागू गर्ने, फोहोर जलाउन रोक्ने लगायत प्रावधान थिए। तर पाँच वर्ष बितिसक्दा पनि लागू गरिएको छैन।
त्यसैगरी, अदालतले नै २० वर्षभन्दा पुराना सवारीसाधन चल्न रोक्न लगाउने निर्णय गरिसक्दा पनि कार्यान्वयन भएको छैन। धूवाँको मुख्य स्रोतमध्येको एक इँटाभट्टा सञ्चालन अनुमति सम्बन्धी मापदण्डमा बस्ती र जंगलको एक किलोमिटरभित्र चलाउन नपाइने तोके पनि उपत्यकामा १०० हाराहारी इँटाभट्टा बस्तीकै बीचमा सञ्चालनमा छन्। वातावरणविद् श्रेष्ठ भन्छन्, “प्रदूषण नियन्त्रणका लागि रकम, नीतिनियम तथा वातावरण विभाग जस्ता निकाय गठन गरिएका छन्, तर काम चाहिं भइरहेको छैन।”
यो पनि पढ्नुहोस् :