ब्युँतिएन संरक्षणकर्मीले बेहोश बनाएको हात्ती
अनुसन्धानका लागि रेडियो कलर जडान गर्न लट्याउने औषधि दिइएको हात्तीको पेट–फोक्सोमा गम्भीर रक्तस्राव भएको र सोही कारणले पाचन र श्वासप्रश्वास प्रणाली बिग्रिएर मरेको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ।
अध्ययनका लागि रेडियो कलर जडान गर्नुअघि आवश्यक स्वास्थ्य परीक्षण नगरी लट्याउने औषधि दिइँदा बर्दियामा हात्ती मरेको छ। घटनाको करीब तीन सातापछि आएको पोस्टमार्टम रिपोर्टमा ‘एनेस्थेसिया’ गराउने औषधि दिइएपछि हात्ती मरेको र फोक्सो र पेटमा समेत गम्भीर रक्तस्राव देखिएको उल्लेख छ।
‘फोक्सोमा रगत जम्दा अक्सिजनको सन्तुलन बिग्रियो, तब सास फेर्न गाह्रो भएर हात्ती मरेको देखिन्छ,’ रिपोर्टमा लेखिएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको उक्त हात्तीलाई गत फागुन ३ गते स्याटेलाइट रेडियो कलर जडान गर्ने क्रममा बेहोश बनाइएको थियो। तर नब्युँतिएपछि पोस्टमार्टमका लागि चितवन राष्ट्रिय निकुञ्ज पठाइएको थियो। ३० वर्ष उमेरको सो हात्ती ६ हजार किलो तौलको थियो। स्वस्थ हात्ती ८० वर्षसम्म बाँच्न सक्छ।
संरक्षण अधिकारी अभिनय पाठकले हात्तीको आनीबानी र वंशानुगत गुण अध्ययन गर्न रेडियो कलर जडानका लागि गरेको प्रस्तावमा नेपाल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अनुमति दिएको थियो। सोही क्रममा निकुञ्जले उक्त हात्ती छनोट गरेको थियोे। संरक्षण अधिकारी पाठक, डा. आयुष महर्जन, राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. विकल्प कार्की, पशुचिकित्सा प्रविधिज्ञ किरण रिजाल, रेन्जर सुनील राउत, सिनियर गेमस्काउट अर्जुनप्रकाश मल्ल, वन्यजन्तु प्राविधिक फिरुलाल थारू आदि मिलेर रेडियो कलर जडान गरेका थिए। लट्याइएको आधा घण्टासम्म पनि हात्ती नउठेपछि टोलीले ब्युँताउने ‘डिप्रेनोर्फिन’ दियो। तर त्यसपछि पनि उठेन। घटना लगत्तै भने ठाकुरबाबा नगरपालिका-४, खैलारमा हात्ती मृत भेटिएको भनी समाचार आएको थियो।
संरक्षण अधिकारी पाठक निकुञ्जले नै उक्त हात्ती अध्ययनका लागि छनोट गरेको बताउँछन्। “वार्डेन सरले स्वस्थ रहेको भनेपछि छनोट गरिएको हो,” उनी भन्छन्, “कुन हात्तीलाई डार्ट गर्न मिल्ने हो/होइन भन्ने हामीलाई थाहा हुँदैन, प्राविधिकले हेर्नुपर्ने हो। हामीले त रेडियो कलर जोडेर अध्ययन गर्ने मात्र हो।”
निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अशोक राम हात्ती स्वस्थ रहे/नरहेको बाहिरी क्रियाकलापकै आधारमा हेर्ने गरिएको र भित्री स्वास्थ्यस्थिति आफूहरूलाई पनि थाहा नहुने बताउँछन्। उनका अनुसार बेहोश बनाउने औषधिको सन्तुलन मिलाउन हात्तीको तौल र उमेर हेर्नुपर्छ। धेरै बूढो हात्तीले बेहोश बनाउने औषधि सहन सक्दैन। त्यसैले युवा हात्ती छनोट गरिएको हो। “स्वस्थ रहेको ठानेर एनेस्थेसिया गर्यौं, तर औषधि सहन नसकेर मर्यो,” राम भन्छन्, “हामीसँग हात्तीको भित्री स्वास्थ्य जाँच्ने प्रविधि नै छैन।” विश्वमा पाँच प्रतिशत हात्तीको मरण अध्ययनका लागि यसरी ‘डार्ट’ प्रयोगकै क्रममा हुने गरेको पनि उनले दाबी गरे।
पोस्टमार्टम रिपोर्ट।
पोस्टमार्टम रिपोर्टले भने उक्त हात्ती बाह्य रूपमा पनि अस्वस्थ रहेको औंल्याएको छ। छालामा, खासगरी दायाँ काँध, जाँघ र पुच्छर वरिपरि गाँठाहरू देखिएको त्यसमा उल्लेख छ।
हात्तीविज्ञ सञ्जिता शर्मा पोख्रेल ‘एनेस्थेसिया’ अघि हात्तीलाई महीनौं निगरानी गरिनुपर्ने बताउँछिन्। “सबैभन्दा पहिला हात्ती भित्री रूपमा पनि स्वस्थ छ कि छैन भन्नेमा प्रस्ट हुुनुपर्छ,” उनी भन्छिन्, “ठीक छ भने मात्र थप काम अघि बढाउने हो।”
पोख्रेलका अनुसार छनोटअघि बाह्य रूपमा हात्तीको छाला, खुट्टा, कान र सुँडमा घाउचोट वा रोगको लक्षण नरे/नरहेको हेर्नुपर्छ। आन्तरिक रूपमा श्वासप्रश्वास र रक्तचाप जाँच्नुपर्छ। रगत र दिसापिसाबबाट परजीवी वा अन्य रोगको संक्रमण रहे/नरहेको हेर्नुपर्छ।
संरक्षणका रणनीति विकासमा सघाउने लगायत उद्देश्यले वन्यजन्तुका विविध पक्ष अध्ययन गर्न तिनमा रेडियो कलर जडान गर्ने गरिएको छ। यसक्रममा तिनका घाँटीमा लगाइने जीपीएस र रेडियो ट्रान्समिटर जडित उपकरणले तिनीहरू रहेको स्थानको गतिविधिको सूचना अनुसन्धातासम्म पुर्याउँछ।
जोखिममा भाले हात्ती
विज्ञहरूका अनुसार हात्ती, बाघ जस्ता ठूला जन्तुलाई बेहोश गराउन ‘एनेस्थेसिया’ गराउँदा जेलासिस र इटोरफिन जस्ता औषधि प्रयोग गरिन्छ। यी दुवै औषधि आवश्यकताभन्दा बढी शरीरभित्र पसे जन्तुको श्वासप्रश्वासमा अप्ठेरो हुने र मुटुको चाल रोकिएर मरेको नै हुन सक्छ। यसको असर रोक्न ‘डिप्रेनोर्फिन’ नामक प्रतिविष (एन्टिडोट) तम्तयार राखिनुपर्छ।
हात्ती मरेका घटनाहरूबारे धेरै अध्ययन नभए पनि वैज्ञानिक अनुसन्धानहरूले ठूला जन्तुमा एनेस्थेसियाको गलत प्रयोगले मरेकाे तथ्य देखाएको बर्दियाका संरक्षणकर्मी मोहन चौधरी बताउँछन्।
“कालगतिले मरेको हात्ती उत्तानो परेको हुन्छ, तर बर्दियामा मरेको हात्ती टुसुक्क बसिरहेको स्थितिमा छ। अर्थात्, औषधिको ओभरडोजका कारणले हात्ती उठ्न नसकेको प्रस्ट देखिन्छ,” उनी भन्छन्, “यो हात्तीलाई रेडियो कलर जडान गर्न तीन पल्टसम्म बेहोश बनाउने औषधि दिइएको स्थानीय स्तरमा गाइँगुइँ छ।”

गाउँ पसेको हात्ती मर्दा गाउँलेलाई पक्रिएर कैद र लाखौं जरिवाना तिराइने गरेकामा यस घटनामा पनि अध्ययनको प्रयोजन रहेको भनेर छूट दिन नहुने चौधरीको भनाइ छ। “यसमा संलग्नहरू अध्ययनका क्रममा मरेको भनेर पन्छिन खोजेको देखिन्छ। कानून त सबैलाई बराबर हुनुपर्ने हैन र?” उनी भन्छन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा गैरकानूनी तरीकाले हात्ती-बाघ आदि वन्यजन्तु मार्नेलाई पाँचदेखि १० लाखसम्म जरिवाना र पाँचदेखि १५ वर्षसम्म कैदको व्यवस्था छ।
अनुसन्धान अधिकारी पाठक भने उक्त हात्तीमा ‘एनेस्थेसिया’ गराउँदा कुनै त्रुटि र हेलचेक्य्राइँ नभएको दाबी गर्छन्। “औषधि सन्तुलित रूपमै दिइएको हो, ओभरडोज छैन,” उनी भन्छन्, “उहाँहरूले लट्याइसकेपछि बल्ल मैले रेडियो कलर जडान गरेको हुँ।”
नेपालमा पाइने हात्ती दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस)को अनुसूची १ मा र आईयूसीएनको रातो सूचीमा छ। विज्ञहरूका अनुसार नेपालमा प्राकृतिक वा अकाल जुनसुकै कारणले भए पनि मर्नेमा भाले हात्तीको संख्या बढी छ। यसले गर्दा प्रजननमा कमी आई हात्तीको समग्र संख्या झन् घट्ने जोखिम बढेको छ।
“अध्ययन गर्न स्वस्थ र जवान हात्ती छानिन्छ। प्रजननका लागि पोथी हात्ती आकर्षित हुने पनि यस्तै हात्तीसँग हो,” हात्तीविद् पोख्रेल भन्छिन्, “त्यसैले भाले हात्तीको संरक्षण जरूरी छ। अध्ययनका लागि बेहोश बनाउनुअघि उच्च निगरानी गरेर जोखिम रहित रहेको निश्चित भएपछि मात्र प्रक्रिया अघि बढाइनुपर्छ।”
याे पनि पढ्नुहाेस्: