जनमत-नाउपाबीच नौबुँदे सहमति, वरीयतामा रञ्जिताको असन्तुष्टि
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकताका लागि सीके राउत र रेशम चौधरी सहितको बैठकले नौ बुँदे सहमति गरे पनि वरीयतालाई लिएर अध्यक्ष रञ्जिता श्रेष्ठले असन्तुष्टि जनाएकी छन्।
दुई महीनादेखि चलिरहेको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच एकताको छलफल अन्तिम चरणमा पुगेको छ। दुवै पार्टी एकीकरण गर्ने सम्बन्धमा नौबुँदे सहमति समेत बनेको छ।
जनमतका अध्यक्ष सीके राउत र नाउपा संरक्षक रेशम चौधरीले चैत ९ गते पार्टी एकता घोषणाको मिति तोकेका थिए। तर नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले असहमति जनाएपछि एकता प्रक्रिया अड्किएको थियो। त्यसपछि दुवै पार्टीले कार्यदल मार्फत छलफल अघि बढाएका थिए।
पछिल्लो पटक बाँके र बर्दियामा दुई दिन चलेको छलफलपछि दुवै पार्टीका शीर्षनेता एकताका लागि सहमत भएका छन्। चैत २३ र २४ मा बाँके र बर्दियामा दुवै पार्टीको कार्यदल सहित जनमतका अध्यक्ष राउत र नाउपा संरक्षक चौधरी सहित बसेको बैठकले एकताका लागि सहमति गरेको नाउपाका संरक्षक चौधरीले बताए।
जनमत र नाउपाबीच पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको उनको भनाइ छ। “दुवै कार्यदलको संयुक्त बैठकले हाम्रो पार्टी र जनमत पार्टीबीच एकताको प्रक्रियाका लागि नौबुँदे सहमित गरेको छ,” चौधरीले हिमालखबरसँग भने, “अब छिटै दुवै पार्टीको केन्द्रीय कमिटीको बैठक बसेपछि सम्भवत: वैशाखको पहिला सातामा नै पार्टी एकता गर्छौं।”
नौबुँदे सहमति अनुसार एकतापछि बन्ने पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ रहनेछ। त्यस्तै, पार्टीको झन्डा पनि ढकिया राख्ने र ढकियाको रंग कलेजी हुने कार्यदलले सहमति जनाएको छ।
एकतापछि बन्ने पार्टीको संरक्षकमा रेशम चौधरी, कार्यकारी अध्यक्षमा सीके राउत र सह-अध्यक्षमा रञ्जिता श्रेष्ठ रहने कार्यदलमा छलफल भएको नाउपाबाट गठित कार्यदलका सदस्य रामलाल डगौराले बताए। “पहिलो वरीयतामा रेशम, दोस्रोमा सीके र तेस्रोमा रञ्जितालाई राख्ने कार्यदलमा छलफल भएको छ,” डगौराले भने।
जनमत पार्टीबाट गठित कार्यदलका संयोजक अब्दुल खानले पनि एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताए। दुवै पार्टीका शीर्षनेता सहित कार्यदलको संयुक्त बैठकले जनमत र नाउपाको एकता प्रक्रिया अन्तिम चरणमा पुर्याएको खानको भनाइ छ। पार्टीको नाम, झन्डा, चुनाव चिह्नदेखि भूगोलको जिम्मेवारी समेत टुंगिएको उनले बताए।
नौबुँदे सहमितपछि बर्दियामा दुवै पार्टीका नेता।
बैठकमा सहभागी संयोजक खानका अनुसार तराई-मधेशलाई दुई भागमा बाँडेर दुई नेताले नेतृत्व गर्नेछन्। “झापादेखि चितवनसम्मको नेतृत्व सीके राउतले गर्नुहुन्छ,” खानले भने, “चितवनदेखि कञ्चनपुरसम्मको भूगोलको नेतृत्व रेशम चौधरीले गर्नुहुन्छ।”
यस्तै, दुवै पार्टीले विधान प्रतिस्थापन समिति गठन गर्ने सहमति गरेका छन्। नाउपाले दामोदर पण्डितको नेतृत्वमा तीन सदस्यीय विधान प्रतिस्थापन समिति गठन गरेको छ। समितिमा गीता चौधरी र सरोज बुढाथोकी सदस्य छन्।
जनमतले समिति बनाउने विषयमा छलफल गरिरहेको खानले बताए। दुवै दलले बनाएको विधान प्रतिस्थापन समितिले दुवै दलको विधानलाई संयोजन गरेर नयाँ विधान बनाउनेछ।
तर दुवै पार्टीका शीर्षनेता राउत र चौधरीबीच भएको नौबुँदे सहमतिमा नाउपा अध्यक्ष श्रेष्ठको असन्तुष्टि छ। सहअध्यक्षमा राख्ने विषयमा आफूलाई थाहा नभएको नाउपा अध्यक्ष श्रेष्ठले प्रतिक्रिया दिइन्। “नाउपा र जनमतबीच एकता हुन्छ, यसमा दुई मत छैन,” उनले भनिन्, “कसलाई कहाँ राख्ने भन्ने विषयमा दुई पार्टीबाट गठन भएको कार्यदलले छलफल गरिरहेको छ।”
दुई पार्टीबीच एकता हुँदा दुवै पार्टीका अध्यक्षको अधिकार र हैसियत बराबरी हुनुपर्ने उनको भनाइ छ। “कसैलाई काखापाखा लगाउने काम हुनु हुँदैन। सबैलाई सम्मान सहित समान अधिकार हुन्छ। वरीयताका विषयमा छलफल जारी छ,” श्रेष्ठले हिमालखबरसँग भनिन्, “अहिले पार्टी एकताको प्रक्रिया लगभग सहमतिको अन्तिम बिन्दुमा पुगेको छ। केही विषयमा छलफल गर्न बाँकी छ, वैशाखमा पार्टी एकता हुन्छ।”
गत २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नाउपाले तीन र नाउपाको समर्थनमा एक जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए। अहिले नाउपासँग चार सांसद छन्, तर नाउपाले ‘थ्रेशहोल्ड’ कटाउन सकेन।
जनमत भने ‘थ्रेशहोल्ड’ कटाएर राष्ट्रिय पार्टी बनेको हो। जनमतले २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षबाट एक सीट जितेको थियो। जनमत अध्यक्ष राउत सप्तरी-२ बाट निर्वाचित भएका थिए। जनमतले समानुपातिकमा ‘थ्रेशहोल्ड’ कटाएकाले पाँच सीट थपिएका थिए। जनमतका ६ सांसद छन्।
त्यस्तै, जनमतले मधेश सरकारको नेतृत्व गर्दै आएको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा नाउपा निर्णायक शक्ति बनेको छ। दुवै पार्टी एक हुँदा केन्द्रदेखि प्रदेशसम्म बलियो शक्तिका रूपमा उभिने भएपछि राउत र चौधरी एकीकरणमा जुटेका हुन्।