रवि लामिछाने जेल चलान
सहकारी ठगी एवं संगठित अपराधको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने जेल चलान भएका छन्।
उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई चैत २२ मा जिल्ला अदालत, रुपन्देहीको निर्णय उल्टाएर थुनामा पठाउने आदेश दिएको थियो। आदेश आए लगत्तै प्रहरीले लामिछानेलाई काठमाडौंस्थित निवासबाटै राति पक्राउ गरेको थियो।
रातारात पक्राउ गरिएको विषय आलोच्य समेत बनेको थियो। लामिछाने पक्राउ परेपछि लगातार दुई दिन सार्वजनिक बिदा परेकाले उनलाई प्रहरी हिरासतमै राखिएको थियो।
आज सबै प्रक्रिया पूरा गरेर जिल्ला कारागार, रुपन्देही पठाइएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले बताए। जिल्ला अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो।
त्यस विरुद्ध परेको पुनरावेदनमा उच्च अदालतले उल्टाइदिएको हो। उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
रुपन्देहीको सुप्रिम सहकारीबाट लामिछाने सहित ४२ जनाले ५५ करोड रुपैयाँ अपचलन गरेको भन्दै मुद्दा दायर भएको थियो। गत माघ १३ गते जिल्ला अदालतले लामिछानेलाई धरौटीमा छोड्न भनेको थियो। लामिछानेले आफूलाई थुनामा पठाउने आदेश विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउनेछन्।
लामिछाने विरुद्ध कास्की, काठमाडौं, चितवन र पर्सामा पनि सहकारीको रकम संगठित तवरमा ठगी गरेको आरोपमा मुद्दा दायर भएको छ। पर्सा बाहेक सबै ठाउँमा उनलाई धरौटीमा छोड्न आदेश दिइएको थियो। तर रुपन्देहीको सहकारी ठगीको मुद्दामा धरौटीमा छाड्ने विषयलाई उच्च अदालतले उल्टाइदिएको छ।
अर्का अभियुक्त पूर्व डीआईजी छविलाल जोशीको मुद्दामा भने इजलासले जिल्लाकै आदेश सदर गरिदिएको छ। उनलाई जिल्ला अदालतले नै थुनामा पठाउने आदेश दिएको थियो।
लामिछाने केही दिनअघि मात्र रास्वपा सभापतिको जिम्मेवारीमा फर्किएका थिए। उनकै सभापतित्वमा रास्वपा केन्द्रीय समितिको बैठक बसेको थियो। त्यसअघि अदालतमा मुद्दा दर्ता भएपछि कार्यवाहक सभापति तोकेर रास्वपाका दैनिक कामकाजबाट अलग बसेका थिए।