तीनकुने घटनाको न्यायिक छानबिन गर्न अधिकारवादी संस्थाको माग
तीनकुने प्रदर्शनमा घातक हतियार प्रयोग गरेको विषयमा न्यायिक छानबिन गर्न मानव अधिकारवादी संस्थाले माग गरेका छन्।
एम्नेस्टी इन्टरन्याशनल नेपाल, न्याय तथा अधिकार संस्था (जुरी) नेपाल, जवाफदेहिता निगरानी समूह र एड्भोकेसी फोरमले संयुक्त विज्ञप्ति जारी गरी न्यायिक छानबिनको माग गरेका हुन्। राजावादी समूहले काठमाडौंको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक र विध्वंसात्मक बनेपछि नियन्त्रण गर्न प्रहरीले गरेको बल प्रयोग आवश्यक र समानुपातिक भएको दाबी गरे पनि सार्वजनिक भएका तथ्यले गृह प्रशासनलाई शंकाको सुविधा दिन नसकिने भन्दै न्यायिक छानबिन अत्यावश्यक देखिएको उनीहरूको भनाइ छ।
तीनकुने घटनाबारे प्रहरीले चैत २० मा पत्रकार सम्मेलन गरेर ५८ राउन्ड गोली चलाइएको र २१ जनालाई गोली लागेको बताएको थियो। त्यसमध्ये एक जना सबिन महर्जनको मृत्यु भएको थियो भने एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको आन्दोलनकारीले गरेको आगजनीमा परेर मृत्यु भएको थियो।
हिमालखबरको खोजमा प्रहरीले सार्वजनिक गरेभन्दा दोब्बर गोली चलाएको खुलासा भएको थियो। प्रहरीले अर्धस्वचालित हतियार एसएलआरबाट ८१ राउन्ड, इन्सासबाट ६ राउन्ड, शर्ट गनबाट तीन राउन्ड र चिनियाँ पेस्तोलबाट दुई राउन्ड जंगी गोली (साँच्चिकै गोली) चलाएको प्रहरीकै गोप्य प्रतिवेदनमा उल्लेख छ।
यस बाहेक सशस्त्र प्रहरी बलले ७.६२ एमएमका १८ बाल राउन्ड (साँच्चिकै गोली) चलाएको थियो। प्रतिवेदन अनुसार घाइते २० जनामध्ये सात जनालाई जंगी गोली लागेको थियो भने बाँकीलाई रबरको छर्रा र गोली लागेको थियो।
प्रहरीले पत्रकार सम्मेलनमा भीड नियन्त्रणका लागि ७४६ सेल अश्रुग्यास प्रहार गरेको बताए पनि गोप्त प्रतिवेदनमा भने ८६४ सेल हानिएको भेटिएको थियो। यस बाहेक १०४ सेल अश्रुग्यास सशस्त्र प्रहरी बलले हानेको थियो।
त्यस्तै प्रहरीले गोली हानेको आवाज निकालेर तर्साउन १६५ वटा ‘ब्ल्यांक राउन्ड’ हानेको थियो भने २०१ राउन्ड रबरको गोली हानेको थियो। “घटनाका सम्बन्धमा उजागर हुँदै गएका तथ्यहरू हेर्दा प्रहरीबाट गरिएको बल प्रयोग ‘आवश्यक’ र ‘समानुपातिक’ थियो भनेर विश्वास गर्न र गृह प्रशासनलाई शंकाको सुविधा दिन सकिने अवस्था देखिंदैन,” विज्ञप्तिमा भनिएको छ, “प्रदर्शनकारीहरूबाट भए, गरिएका हिंसात्मक कार्यहरूको निष्पक्ष तथा स्वतन्त्र न्यायिक छानबिन अत्यावश्यक देखिएको छ।”
राजसंस्था पुनःस्थापनाको माग सहित दुर्गा प्रसाईंको नेतृत्वमा राजावादी समूहले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो। प्रसाईंले सुरक्षा घेरा तोडेर गाडी चलाएका थिए। सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्यालले त चैत २२ गते संसद्को सुशासन तथा राज्य व्यवस्था समितिमा प्रदर्शनकारी एक्कासि आतंककारी जस्तो भएर फैलिएको जिकिर गरेका थिए।
व्यक्तिगत सम्पत्तिमा आगजनी, लुटपाट गरिएको थियो। जवाफदेही सुनिश्चित गर्न र हिंसात्मक घटना दोहोरिन नदिन न्यायिक आयोगले छानबिन गर्नुपर्ने मानव अधिकारवादी संस्थाहरूको माग छ।
यो पनि पढ्नुहोस्