छोराले हालखबर सोध्दा पनि झस्काउने तीनकुने घटना
तीनकुने घटनामा पत्रकार सुरेश रजकको ज्यान गएको खबर सुनेपछि १३ वर्षीय छोराले ‘तपाईं ठीक हुनुहुन्छ नि?’ भनेर सोध्दा झस्किएँ।
पूर्व राजा ज्ञानेन्द्र शाहको समर्थनमा चैत १५ गते काठमाडौंको तीनकुनेमा हिंसात्मक बनेको प्रदर्शनमा दुई होनाहार युवा अस्ताए। त्यसको ६ दिनपछि चैत २१ मा पत्रकार सम्मेलन मार्फत प्रहरीले घटनाबारे विस्तृत जानकारी सार्वजनिक गर्यो। जसमा २० जनालाई गोली लागेको थियो भने अन्य १०२ जना घाइते भएका थिए। घाइते उपचाररत छन्।
ज्यान गुमाउने दुई जनामध्ये एक कीर्तिपुरका सबिन महर्जन र अर्का, पत्रकार सुरेश रजक थिए। सबिनबाटै शुरू गरौं। उनी सवारी चालक थिए। आन्दोलनमा कसरी आए? यसबारे खुलेको छैन। तर त्यतिका मान्छे किन व्यवस्था परिवर्तनको पक्षमा उभिए? त्यो त खुलेकै छ, थोरबहुत सबैलाई थाहै छ।
पहिलो, जनताले गणतान्त्रिक शासन व्यवस्थाको अनुभूति गर्न सकेका छैनन्। धेरैलाई लागेको छ, नेताका लागि मात्रै गणतन्त्र आएको छ। यसको फाइदा पनि जनताभन्दा बढी नेता र उनीहरूका वरपरका मान्छेले लिएका छन्।
अर्को, केहीले गणतान्त्रिक शासन व्यवस्थाको मर्म बुझेका छैनन्। केहीले बुझ्ने चेष्टा गरेका छैनन्। केही बुझेर पनि बुझ पचाइरहेका छन्। कसैलाई राजा सहितको प्रजातन्त्रको नाममा राजनीति गर्नु छ। उनीहरू जनतालाई भ्रममा राखेर राजनीतिको रोटी सेक्न कसिएका छन्।
दोस्रो, दुर्गा प्रसाईं, सर्वेन्द्र खनाल जस्ता व्यक्ति छन्। जो अराजकतामा रमाउन खोज्छन्। उनीहरूले कतिपयलाई उचालेका छन्, उचालिएका छन्। भ्रम छर्छन्, नेता तथा मिडियालाई गाली गर्छन्। व्यवस्था परिवर्तनपछि ब्यांकको ऋण मिनाहा हुन्छ सम्म भनिदिन्छन्। स्वाभाविक हो, ऋण लिएका मानिस तिर्न नपर्ने विश्वासमा ताली बझाउँछन्। त्यस्ता व्यक्ति पनि सरकार र दलको नेतृत्त्व गर्नेहरूकै उत्पादन हुन्।

तेस्रो, व्यवस्था त फेरियो, तर जनताको अवस्था फेरिएन। व्यवस्थासँगै नेतृत्वकर्ताको सोचाइ फेरिएन। नयाँ बोतलमा पुरानो रक्सी भने जस्तै भएको छ। केही अपवाद बाहेक पैसा र पहुँच हुनेकै लागि तीन तहका सरकार दाहिना भएका छन्।
फेरि नेताहरू पनि ‘मैले यस्तो गरें, उस्तो गरें’ भनिरहेका छन्। तर गर्न नसकेका कामको समीक्षा गरिरहेका छैनन्। यस्तो गर्न सकें, यस्तो गर्न सकिनँ र अब गर्छु भनेर जनतालाई विश्वास दिलाउन सकिराखेका छैनन्।
चौथो, तीनकुने घटनामा सुरक्षा निकाय पनि चुकेका छन्। प्रहरीले सुरक्षाको वैकिल्पक योजना बनाएको देखिंदैन। प्रदर्शन भड्कियो भने कसरी नियन्त्रण गर्ने भन्ने योजना बनाएको पाइएन। गृहमन्त्री रमेश लेखक, नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले चैत २२ मा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समेत ‘आयोजकले शान्तिपूर्ण हुन्छ’ भनेकामा पत्याएको स्विकारेका छन्।
अर्को, प्रदर्शनकारीलाई भड्काउन प्रहरीले नै भूमिका खेलेको आरोप छ। शान्तिपूर्ण प्रदर्शनमा आइरहेका राजावादीलाई चक्रपथ प्रवेश गर्न रोकेको उनीहरूले आरोप लगाएका छन्। त्यसैले उनीहरू प्रहरीमाथि खनिएको तर्क छ। उनीहरूलाई किन रोक्नुपरेको हो? जबकि त्यही दिन प्रदर्शनीमार्गमा समाजवादी मोर्चाको आमसभामा आएका कसैलाई पनि रोकिएन।
चैत १५ मा प्रहरीको घेरा तोडेर गाडी हुइँक्याउँदै दुर्गा प्रसाईं।
त्यस्तै, दुर्गा प्रसाईंले सुरक्षाकर्मीलाई पेलेर गाडी हुइँक्याउँदा किन केही गरिएन? उनलाई नियन्त्रण गर्न किन आदेश आएन? तर निहत्था नागरिकलाई गोली चलाउने आदेश हुन्छ। २० जनालाई गोली लाग्छ। अर्धस्वचालित हतियारको प्रयोग गरिन्छ, त्यो पनि ११० राउन्ड गोली चलाइन्छ। यो त दमन भएन र?
अर्कातिर, नागरिक पनि सचेत हुन जरूरी छ। कुनै पनि प्रदर्शनमा सहभागी हुँदा आफ्नो विवेकको प्रयोग गर्नुपर्यो। राजावादी, गणतन्त्रवादी, प्रजातन्त्रवादी जेसुकै वादी भए पनि अराजकतावादी त बन्न पाइएन। विरोध प्रदर्शनका नाममा व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गर्ने छूट कसैलाई छैन। त्यस्तै, नागरिकलाई गोली हानेर मार्ने छूट सरकारलाई पनि छैन।
तीनकुने घटनामा ज्यान गुमाएका अर्का व्यक्ति सुरेश रजक न प्रदर्शनकारी थिएन न त सुरक्षाकर्मी। उनी त पत्रकार थिए। घरभित्रबाट भिडिओ खिचिरहेका वेला आगो लगाएर जलाइयो, ज्यान गयो।
हुनत पत्रकारिता पेशा नै जोखिमपूर्ण हो। यो जोखिमपूर्ण पनि खासमा सुरेश रजक जस्तै जोखिमपूर्ण पत्रकारिता गर्नेहरूका लागि हो। यसलाई माध्यम बनाएर दायाँबायाँ गर्नेहरूका लागि जोखिमपूर्ण हैन। उनीहरूका लागि झन् सजिलो छ।
हेटौंडामा स्नातक तहमा पढ्दै गर्दा पत्रकारितातिर लागियो। २०६६ सालदेखि त पूर्णकालीन पत्रकार नै भएँ। २०६२/६३ सालको जनआन्दोलनका वेला अश्रुग्यासले आँखा पोलेको अझै ताजा जस्तो लाग्छ। २०७४ सालको मधेश आन्दोलनको केन्द्र वीरगन्जमा बसेर रिपोर्टिङ गर्दाको सकस बिर्सेको छैन।
त्यस बाहेक कति फिल्डमा खटिएँ। घाम, पानी, खाना, निद्रा, हुरी, बतास, दिन, रात केही नभनी खटिंदाको सास्ती कसरी बयान गर्नु! त्यस्तै, फिल्डमा खटिएर जोखिमपूर्ण पत्रकारिता गर्न मन पराउने पत्रकारमध्ये थिए, सुरेश रजक। तीनकुने घटनामा पनि उनी त्यही जोखिमपूर्ण कार्य गर्दागर्दै अस्ताए।
उनको र मेरो पेशासँगै नाम पनि मिल्छ। तर उनीसँग चिनजान थिएन। तीनकुने घटनामा उनको मृत्यु भएको समाचार सबैतिर फैलियो। मेरो घरसम्म पनि पुग्यो। त्यो समाचार सुनेपछि १३ वर्षीय छोराले ‘तपाईं ठीक हुनुहुन्छ नि?’ भनेर सोध्दा म पनि झस्किएँ। यसरी कहिल्यै झस्किएको थिइनँ। मधेश आन्दोलन वा अन्य आन्दोलन, फिल्डमै खटिएको थिएँ।
हुनत अचेल वीरगन्जमा रहँदा जसरी दैनिक रिपोर्टिङ गर्दिनँ। स्नातकोत्तर तह पढ्न काठमाडौं आएपछि कि पढाइ छोड्नुपर्ने भयो कि जागीर। पहिला पढाइ छोडेर रेडियोको जागीर रोजेको मैले यस पटक जागीर छोडिदिएँ। अप्ठ्यारो पर्दा काम नलाग्ने जागीर किन खानु भन्ने लाग्यो।
फेरि कतिपय मिडियाको जागीर नाम मात्रको हुँदो रहेछ। वीरगन्जमा छँदा सोचेको थिएँ, काठमाडौंमा ठीक होला। मोफसलकै मिडियाले राम्रो तलब दिंदा रहेछन्। उता छँदा स्थानीयसँगै काठमाडौंका सञ्चार माध्यममा काम गर्न पाइन्थ्यो। काठमाडौंमा जागीरका लागि बोलाएकाहरूले मासिक २५ हजार रुपैयाँ तलबको प्रस्ताव राखेपछि काम गर्न मन लागेन।
पत्रकार सुरेश रजकको खबर सबैतिर पुग्यो। मेरा चिनजान र आफन्तसम्म पनि पुगेको रहेछ। कतिपयले थर ख्यालै नगरी मेरो हालखबर सोधेछन्। सासूआमाले त रुँदै फोन गर्नुभएछ। पेशा र नाम मिल्दा त यस्तो पीडा भयो भने जसको काम गर्दागर्दै शरीर जलेको छ, उसको परिवारमा के बितेको होला?
तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक।
जनप्रदर्शन, आन्दोलन, बाढी, पहिरो, आगलागी जस्ता विपद्का समाचार संकलन गर्नुपरिहाल्छ। यस्तो जोखिमपूर्ण काममा खटिंदा वा खटाउँदा जोखिम मूल्यांकन गर्नुपर्छ। हामीकहाँ त्यसको अभ्यास कत्तिको हुन्छ? खासै देखिंदैन। ढुंगा हान्ने ठाउँमा क्यामेरा र बुम बोकेर जाने पत्रकारले हेल्मेट लगाएको भेटिंदैन। पत्रकार भनेर बन्दूकबाट निस्केको गोली, अश्रुग्यास र ढुंगामुढाले छोड्दैन।
त्यस्तै, मैदानमा खटिने सुरक्षाकर्मीसँग टाउकामा हेल्मेट हुन्छ, छातीमा कवच हुन्छ, अझ हातमा पनि छेक्ने साधन हुन्छन्। पत्रकार भने रित्तै हुन्छ। काममा खटाउने सम्पादक वा मिडिया मालिकले सोच्नु पर्दैन? हुनत तलब समेत समयमा नदिनेहरूसँग के अपेक्षा राख्नु र!
अर्कातिर, पत्रकारको हकहितका लागि भनेर खोलिएका संघसंस्थाको त ध्यान जानुपर्ने हो। नेपाल पत्रकार महासंघ लगायत पेशागत संघसंगठनले यसमा ध्यान दिने कि नदिने? बोल्ने कि नबोल्ने? कि मृतक, घाइतेको तथ्यांक राखेर मात्रै बस्ने?
त्यस्तै, जोखिममा रिपोर्टिङ गर्दा अपनाउनुपर्ने मापदण्ड पालना भए/नभएको, गराए/नगराएको अनुगमन गर्ने संयन्त्र नै भएन। त्यसका लागि कसैले घचघच्याउने पनि होइन। अब सोच्ने वेला भएन र? कि अर्को आन्दोलनमा अर्को पत्रकारको मृत्यु पर्खेर बस्ने हो?
सुरेश रजक कार्यरत एभिन्यूज टीभीमा मैले पनि वीरगन्जबाट नौ महीना काम गरेको थिएँ। त्यति वेला तलब र तालीम दुवै मिलेको थियो। अहिले महीना अनसार तलब मिल्दैन भनेर साथीहरू सुनाउँछन्। झन् तालीमको के हाल होला? सुरक्षाको तालीम पाएका हुन्थे भने सुरेश रजक ढुंगामुढा र आगजनी भइरहेको घरभित्र पसेर ज्यान फाल्ने थिएनन्।
उनको नाममा अक्षयकोष, मृतकको स्मृतिमा पुरस्कार स्थापना गर्ने घोषणा गरिएको छ। यो ठीकै हो। तर अब जोखिमपूर्ण काममा पठाउँदा मर्न नपर्ने स्थिति बनाउनतिर लाग्नु पर्दैन? यो एभिन्यूजको मात्र होइन, सबै मिडिया हाउसका सम्पादक र सञ्चालकले सोच्नुपर्ने जरूरी भइसकेको छ।
यो पनि पढ्नुहोस्