विवादित अभिव्यक्तिको अर्को नाम जगमान
विवादास्पद, भ्रामक र उत्तेजक अभिव्यक्ति दिइरहने जगमान गुरुङले नेतृत्व गर्ने राजसंस्था पुनःस्थापना आन्दोलन अझ कस्तो होला?
ॐ किच वँ वँ गच तितिये स्वाहा,
गच वँ वँ गचि तितिये स्वाहा,
थिँ धरति सदुमते ज्वल रँ पये स्वाहा।
संस्कृतिविद् प्राज्ञ डा. जगमान गुरुङले महामारीकालमा कोरोनाभाइरस नाश गर्ने भन्दै सामाजिक सञ्जाल फेसबूक मार्फत यो मन्त्र सार्वजनिक गरेका थिए। प्रभावकारिता पुष्टि गर्ने कुनै आधार नरहेको गुरुङको मन्त्रले संकटका वेला आलोचनासँगै चर्चा पनि पायो।
उनले भने ‘विभिन्न राजाका पालाका तन्त्रमन्त्रले काम गरेको इतिहास छ, सत्य वचनले तन्त्रमन्त्र गरे लाग्ने, असत्य वचनले गरे देवी रिसाउने’ भन्दै अफवाह फैलाइरहे। नेपाल प्रज्ञा-प्रतिष्ठानको उपकुलपति समेत भइसकेका गुरुङ यस्ता थुप्रै भ्रामक र निराधार अभिव्यक्तिबाट पनि चर्चित बनेका छन्।

उनी सामाजिक सञ्जाल, अन्तर्वार्ता र कार्यक्रमहरूमा समाजका खास खास तप्कालाई होच्याउने किसिमका अभिव्यक्ति पनि दिइरहेका हुन्छन्। धर्म र जात सम्बन्धी विवादास्पद अभिव्यक्तिका कारण गुरुङ समुदायबाटै आलोचित बनेका थिए।
अहिले पनि ‘नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङ’ नामको फेसबूक आईडीमा सक्रिय उनले एक अन्तर्वार्तामा ‘क्रिश्चियनहरूलाई एक चुट्कीमै नेपालबाट मात्र नभई विश्वबाटै हटाउन सकिने’ बताएका थिए।
धेरैले यस अभिव्यक्तिको निन्दा गरे। कतिले ‘प्राज्ञिक व्यक्ति भएर यस्ता आपत्तिजनक अभिव्यक्तिबाट आफ्नै चेतनास्तर घटाएको’ प्रतिक्रिया दिए भने कतिले ‘धर्म जस्तो व्यक्तिगत स्वतन्त्रताको विषय उछालेर द्वन्द्व भड्काउने काम गरेको’ भन्दै चर्को आलोचना गरे। उनलाई भने यस्ता आलोचनाले रत्तिभर फरक पारेन, निरन्तर यस्ता अभिव्यक्ति दिइरहे।
२०८० भदौमा विश्व हिन्दू महासंघबाट ‘नेपाल ऋषि’ को उपाधि पाउँदा उनले आफ्नो ७७औं न्वारन भएको बताएका थिए। यद्यपि उनी न तपस्वी हुन् न त आफ्नो धर्म-संस्कृतिको कुरा गर्दा अरूको मानमर्दन नहोस् भन्ने ख्याल राख्छन्।
डा. जगमान गुरुङलाई ‘नेपाल ऋषि’को उपाधि प्रदान गर्दै विश्व हिन्दू महासंघका पदाधिकारी।
प्राज्ञ गुरुङ ‘आदिवासी जनजातिको त बुद्धि नै छैन, अर्काले जे लगाइदियो त्यो भन्ने हो, गुरुङ, मगर, राई, लिम्बूहरू धर्म परिवर्तन गराउने हुन्’ भन्दै भाषण गर्छन्। उनले ‘हामी बौद्ध भएकाले दशैं हाम्रो चाड होइन’ भन्ने गुरुङ समुदाय विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका थिए। त्यसमा असहमति जनाउँदै गुरुङ समुदायका केही व्यक्तिले उनलाई बहिष्कार अभियान चलाएका थिए।
एक टेलिभिजन अन्तर्वार्तामा उनले ‘राई, लिम्बू, गुरुङ, मगरलाई जाँड खान र मादल ठोकेर नाच्न पाए हुने’ समुदाय भन्दै होच्याएका थिए। ‘बाहुन-क्षेत्रीलाई दशैं मान्न सिकाएको नै जनजातिले हो’ भन्दै प्रवचन दिएका थिए।
पटक पटक दिएको गैरहिन्दूलाई होच्याउने अभिव्यक्तिका लागि गुरुङले माफी माग्नुपर्छ भन्दै गुरुङ लगायत जनजाति समुदायले विरोध पनि गरे, तर उनले न माफी मागे न त बोलीमा ध्यान दिए।
प्राज्ञ गुरुङ कतिसम्म बकम्फुसे कुरा पनि बोल्छन् भने, उनले दशैंमा नेपालीले किन बढी मासु खान्छन् भन्ने एक प्रश्नको उत्तरमा ‘असारमा काम गरेको थकाइ मेटाउन र सर्दी फाल्न नेपालीले दशैंमा ऋण काढेरै भए पनि कोखा फुल्नेगरी, घाँटीसम्मै आउनेगरी मासु खान्छन्’ भनेका थिए।
बलात्कारलाई प्रशय
यति मात्रै होइन, प्राज्ञ गुरुङ स्त्रीद्वेषी अभिव्यक्ति दिन पनि माहिर छन्। उनले एक अन्तर्वार्तामा भनेका थिए, “टिनएजका युवतीहरू हाफ पाइन्ट लगाउने, त्यो पनि पट्याउँदै पट्याउँदै माथिसम्म ल्याउने। तिघ्रा होइन, साँप्रो सर्लक्कै देखाउने। माथि पनि बाँकटे टिशर्ट लगाउने अनि अर्धनग्न अवस्थामा हिंड्ने। मञ्च खडा गरेर सेक्सी गीत गाउने, केटाकेटीसँगै नाच्ने अनि अपहरण, बलात्कार र हत्या नभएर के हुन्छ? केटीहरूले निम्त्याएको छ यो कुरा।”
बलात्कार आपराधिक मानसिकताले निम्त्याउले जघन्य अपराध हो। तर ‘नेपाल ऋषि जगमान गुरुङ’ बलात्कार र बलात्कारी अनुकूल भनाइ राखेर विवादमा परेका थिए। यस्तो अपराधबारे सन् २०११ मा भारतमा भएको एक अध्ययनले साडी वा बुर्का लगाएका ४८ प्रतिशत र कुर्ता-सलवार लगाएका ४१ प्रतिशत महिला बलात्कारमा परेको देखाएकाे थियो। बलात्कारीको निशानामा परेका फ्रक लगाउनेहरू १० प्रतिशत मात्र थिए। उनीहरू सबै बालिका थिए।
खासमा, गुरुङले प्राज्ञिक होइन, उद्दण्ड र उटपट्याङ व्यक्तित्व झल्काइरहेका छन्। एउटा सामान्य व्यक्तिले पनि बोल्न नहुने र नबोल्ने कुरा उनी सहजै बोलिरहेका छन्, त्यो पनि सार्वजनिक कार्यक्रम र अन्तर्वार्ताहरूमा।
राजावादी आन्दोलनको नेतृत्व
धर्म, संस्कृति र परम्पराको नाममा ‘घृणाको वक्ता’ बनेका गुरुङ पछिल्लो समय हिन्दू राजतन्त्र फर्काउने अभियानमा सक्रिय छन्। उनैले पूर्व राजा ज्ञानेन्द्र शाह २०८२ असारसम्म पुनः गद्दीनसिन हुने भविष्यवाणी गरेका छन्। ज्ञानेन्द्रपछि उनका नाति हृदयेन्द्र राजसिंहासनमा बस्ने र हृदयेन्द्रकी आमा हिमानी राजमाता हुने उनको दाबी छ।
पूर्व राजा ज्ञानेन्द्र शाहसँगको भेटघाटका क्रममा जगमान गुरुङ।
गुरुङ आफ्नो भविष्यवाणीलाई सत्य बनाउन लागिपरेका छन्। नेपालमा राजतन्त्र फर्काउने कुरामा उनी दुर्गा प्रसाईं जस्तै अरू राजावादीभन्दा निकै उद्दण्ड देखिन्छन् ।
त्यसो त उनले आफूलाई प्रसाईंकै समर्थक भन्दै आएका छन्। प्रसाईंको अगुवाइमा भएका थुप्रै कार्यक्रममा उपस्थित पनि हुने गरेका थिए। चैत १५ मा काठमाडौंको तीनकुने क्षेत्रमा वितन्डा मच्चाएपछि प्रसाईं भागेका छन्।
चैत १५ गतेको राजावादीको प्रदर्शनको तयारी हुँदै गर्दा डा. गुरुङले प्रसाईंको बखान गाउँदै पोखराको एक कार्यक्रममा बोलेका थिए, “दुर्गा प्रसाईं भनेको खरो फलाम हो। अब त्यो खरो फलामको धारिलो खुँडा बनाएर दुर्गा प्रसाईंको हातमा थमाउनुपर्छ। यदि दुर्गा प्रसाईंको रंगढंग पुगेन र हातबाट खुँडा खस्यो भने त्यो खुँडालाई म भुइँमा बजारिन दिन्नँ, त्यो खुँडालाईं म थाम्छु।’
त्यसैगरी, उनले ‘नवराज सुवेदीको संयोजकत्वमा गठित राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन तुहियो भने त्यसलाई मैले सम्हाल्नेछु’ पनि भनेका थिए। नभन्दै, त्यो नेतृत्व अब उनैले सम्हाल्ने जिम्मेवारी पाएका छन्।
राजसंस्था पुनःस्थापनाको माग गर्दै चैत १५ मा गरिएको आन्दोलनमा एक पत्रकार सहित दुई जनाको ज्यान गयो, दर्जनौं घाइते भए। जडीबुटीस्थित औषधि उत्पादन गर्ने जडीबुटी उत्पादक तथा प्रशोधन कम्पनी लिमिटेड सहित थुप्रै भवनमा आगजनी र लूटपाट गरियो।
त्यस घटनामा संलग्न रहेको आरोपमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायत राजावादी नेताहरू पक्राउ परे भने जनआन्दोलन समिति संयोजक नवराज सुवेदी अघोषित नजरबन्दमा छन्। सुवेदी नजरबन्दमा परेपछि जगमान गुरुङलाई नेतृत्व दिइएको छ।
चैत १७ गते सुवेदीले विज्ञप्ति जारी गर्दै अबको आन्दोलनको नेतृत्व ‘नेपाल ऋषि जगमान गुरुङ’ लाई तोकिएको जनाएका छन्। जबकि त्यसको केही साताअघि गुरुङले ‘पञ्चहरूले राजसंस्था स्थापना गर्न नसक्ने’ धारणा सार्वजनिक गरेका थिए।
उनको भनाइ छ, “पूर्व पञ्चहरूले नेपालमा राजसंस्था स्थापना गर्न सक्दैन, धर्मको स्थापना गर्न सक्दैन। सक्ने भएदेखि राजतन्त्र किन फाले त! कसको पालामा गयो! धर्म कसको पालामा नाशियो! ती पञ्चहरूको पालामा होइन?”
आन्दोलनको कमान्डर तोकिएपछि अनलाइनखबरसँगको अन्तर्वार्तामा प्रसाईंबारेको प्रश्नमा डा. गुरुङले भनेका छन्, “सज्जनै सज्जन, पण्डितै पण्डित बोलाएर मात्र आन्दोलन हुँदैन। भूतप्रेत, पिशाच सबै चाहिन्छ। १५ चैतको आन्दोलनमै हेर्नुस्, त्यहाँ डाक्टर, इन्जिनीयर, प्राज्ञ मात्र थिए त? त्यहाँ त खातेहरू पनि थिए। भाटभटेनीमा पसेर बियरै खोलेर खाए, स्याउ खाए। आइसक्रिमको फ्रिजै उठाए। यी सबै राजावादी हुन् त? यी त खाओवादी खाते हुन्। असली राजावादीले यस्तो काम गर्दैन।”
प्राज्ञ गुरुङले ‘असली राजावादीले यस्तो गर्दैन’ भने पनि उनी आफैं प्रसाईंभन्दा कम अराजक सुनिंदैनन्, देखिंदैनन्।