जो नाटक मार्फत् रंगभेद विरुद्व लडिरहे
गोरा जातिका भए पनि जीवनभर काला जातिका पक्षमा उभिएका रंगभेद विरोधी नाटककार एथोल फ्युगर्ड समाजलाई सही ठाउँमा ल्याउन लेखक तथा कलाकारले निरन्तर खबरदारी गर्नुपर्ने बताउँथे।
उनी किशोर छँदाको घटना होे। आमाको आफ्नै व्यवसाय थियो, दिनभर त्यसमै व्यस्त रहन्थिन्। बाबु-छोराको विरलै भेट हुन्थ्यो।
दक्षिण अफ्रिकी रंगभेदी समाजको गोरा परिवार। त्यो घरमा साम र विली-काला दुई वयस्क पुरुष दासकै हैसियतमा थिए। घरायसी सबै काम उनीहरूकै जिम्मा हुन्थ्यो।
दुईमध्ये साम समझदार र तीक्ष्ण थिए। त्यसैले स्कूलको गृहकार्य गराउनेदेखि किशोर जिज्ञाशा मेटाउने, साहित्य र दर्शनका कुरा सुनाउनेसम्म सबै काम गर्थे, साम। एक प्रकारबाट साम उनका ‘सरोगेट फादर’ थिए।
स्कूले शिक्षा आर्जन गर्ने उनी थिए भने हरेक कुराको जानकारी राख्ने जिम्मा सामको थियो। तैपनि घरीघरी उनमा गोरो छालाको दम्भ चढ्थ्यो। यस्तैमा एक दिन उनले सामको अनुहारमा थुकिदिए।
तर, उनलाई त्यो घटनाबाट सधैं अपराधबोध भइरह्यो। कसैगरी भुल्न सकेनन्, आफैलाई माफ गर्न सकेनन्। अन्ततः त्यही अपराधबोधबाट नाटक जन्मियो, मास्टर ह्यारोल्ड एन्ड दि बोएज्। यो उनको ‘कन्फेशनल प्ले’ थियो।

केही वर्षपछि दक्षिण अफ्रिकाको प्रमुख शहर जोहानेसबर्गमा यो नाटक मञ्चन हुने भयो। उनले सामको खोजी गरे र नाटक देखाइने दिन जोहानेसबर्ग आउनलाई जहाजको टिकट पनि व्यवस्था गरी पठाए। तर, नाटक हेर्न आउने अघिल्लो रात सामको मृत्यु भयो।
उनलाई लाग्यो, सायद साममाथि भएको अपमान र त्यसबाट उत्पन्न ग्लानि घटाउने अवसर आफ्नो भागमै थिएन। जीवनभर त्यही थकथकी रहिरह्यो। उनी अर्थात् ह्यारोल्ड एथोल ल्यानिगन फ्युगर्ड। यसमध्ये दुई शब्द एथोल फ्युगर्ड नामले परिचित छन्।
दक्षिण अफ्रिकी नाटककार एथोल फ्युगर्ड कसरी मेरो पठन परिधिमा आए त?
एक दशक अघिको एउटा सन्दर्भ जोडिन्छ। पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौंको ‘इन्स्टिच्युट अफ एड्भान्स कम्युनिकेशन, इजुकेशन एन्ड रिसर्च (आईएसीईआर)’ अरुण गुप्तो सर प्रिन्सिपल थिए। यही कलेजबाट एमफिल गर्दै थिए।
एमफिलमा पढाइने विषयमध्ये एउटा थियो, मानव अधिकार। त्यो विषय अमेरिकी प्राध्यापक डेवोरा मिरोलाले पढाउँथिन्। उनकै परिकल्पनामा पाठ्यसामग्री तयार गरिएको थियो। त्यसमा अफ्रिकी र ल्याटिन अमेरिकी भूगोलमा भएका मानव अधिकार उल्लंघनका घटना विरुद्ध लेखिएका नाटक, कविता, निबन्ध समावेश थिए। त्यसैमध्ये एउटा नाटक थियो, फ्युगर्डको ‘मास्टर ह्यारोल्ड एन्ड दि बोइज्।’ यसरी फ्युगर्डको निजी जीवनको अंश बुझ्ने अवसर मिल्यो।
नाटक मास्टर ह्यारोल्ड एन्ड दि बोइजको एक दृश्य।
नाटकमा ह्यारोल्ड पात्र स्कूले केटाको भूमिकामा छ। ज्ञात रहोस्, नाटककार फ्युगर्डको नामको पहिलो शब्द पनि ह्यारोल्ड हो। नाटकको शुरूदेखि अन्त्यसम्म साम र विलीसँगको ह्यारोल्डको संवाद छ। ह्यारोल्डले सामको अनुहारमा थुकेको घटना मार्फत् नाटकको ‘क्लाइमेक्स’को पटाक्षेप हुन्छ। त्यो समाजमा कालाहरूले कति निन्दनीय जीवन बाँचेका थिए!
रंगभेदी अफ्रिकी समाजको मनोविज्ञान सुक्ष्म ढङ्गले केलाइएको छ, यो नाटक मार्फत। फ्युगर्डले आफ्नै अतीतको पर्दाफास गर्दै दक्षिण अफ्रिकी समाजको कुरुप यथार्थसँग साक्षात्कार गराउँछन्। आम जनजीवन त अझ भयानक र अपमानजनक थियो।
दक्षिण अफ्रिकामा सन् १९४८ देखि १९९० सम्म रंगभेदी नीति थियो। काला र गोरा अलगअलग रहन्थे, सार्वजनिक यातायात, स्कूल, कलेज, आम जीवन सबैतिर। कालाहरू दयनीय जीवन बाँच्न बाध्य थिए। अल्पसंख्यक गोराबाट शोषित, पीडित थिए।
दक्षिण अफ्रिकामा गोरा, अफ्रिकाना, मिश्रित र काला गरी जातीय विभाजनको चार तहगत सोपान विद्यमान थियो। यही विभाजन र विभेद्को सेरोफेरोमा फ्युगर्डले धेरै नाटक लेखे। उनका नाटकले प्रतिकूलतामा जीवन बाँच्ने कला सिकाउँछन्। विवशताको शिकार भएर उठ्नै नसक्ने गरी थचारिएका पात्रले कसरी जीवनमा पुनरागमन गर्छन्? उनले नाटकमा असाध्यै कलात्मक पाराले प्रस्तुत गरेका छन्।
यस्तै अर्को उत्कृष्ट नाटक हो, बोसम्यान एन्ड लेना। यसमा बेसहरा र बेघर दुई पात्र बोसम्यान र लेना छन्। खाली सिसी, मिल्काइएका सामान बटुलेर बिक्री गरी गुजारा चलाउँछन्। सधैं लड्छन, जुध्छन्, हात हालाहालसम्म हुन्छ। तैपनि एकसाथ बस्छन्।
बोसम्यान एन्ड लेनाको एक दृश्य।
यी दुई पात्र मिश्रित रंगका छन्। पछि एउटा कालो मान्छे थपिन्छ। बोसम्यान उसलाई होच्याउँछ। भाषा पनि फरक भएकाले आपसी संवाद सहज हुँदैन। एकातिर उनीहरू जसरी अंग्रेजी बोल्न सक्दैन, अर्कोतिर उसको भाषा उनीहरू बुझ्दैनन्।
चिसो रात छ। बोसम्यानको विरोधका कारण कालो वर्णको मान्छेलाई लेना टहरोभित्र लान सक्दिन। बाहिरै आगो फुक्छे र आगोछेउ राख्छे। कम्मल ओढाउँछे, अनि उसँगै बसेर न्यानो पार्न खोज्छे। अनेक प्रयत्नका बाबजूद कालो मान्छे मर्छ।
उसको मृत्युपछि पनि बोसम्यान असंवेदनशील बनिरहन्छ। लेनालाई हियाउन र लाञ्छना लगाउन तल्लीन रहन्छ।
जिवित छँदै किन मान्छेहरू अर्को मान्छेप्रति समभाव राख्दैनन्? मरेपछि किन ठूलै खबर बनाइन्छ? नाटकले अन्त्यमा यही मानवीय अस्तित्वबारे प्रश्न गर्छ।
निरन्तर झगडा र हानाहान गर्ने बोसम्यान र लेनाको जोडी अन्त्यमा एक हुन्छ, एक-अर्काको हात समातेर अनिश्चित जीवनको यात्रामा हिड्छन्।
फ्युगर्डका नाटकबाट काला जातिले दक्षिण अफ्रिकी समाजमा गोरामाझ आफ्नो जीवनको अर्थ खोज्न सिके, बिर्सिएको अस्तित्वबोधलाई ब्युँताए। यसको झल्कको नेल्सन मण्डेलाको आत्मवृत्तान्त ‘लङ वाक टु फ्रिडम’मा पनि पाइन्छ। भूमिगत कालमा एक समय मण्डेलालाई काला जातिका ब्यापारीको कपास उत्पादन उद्योगमा पुर्याइन्छन्। त्यहाँ राख्दा उनी निरापद रहने ठानिएको हुन्छ। तर, काला जातिकै उद्योगका मालिक मण्डेलासँग नराम्रो ब्यवहार गर्छन्। यो घटना मण्डेलाका लागि गतिलो सिकाइ भयो, सोचाइ बदलियो।
यसअघि काला जातिको मात्र साथ र सहयोगमा रंगभेद विरोधी आन्दोलन अगाडि बढाउने दृढता थियो, मण्डेला र अफ्रिकी नेशनल कंग्रेस पार्टीको। त्यो घटनापछि भने उनी उदार गोराहरूलाई पनि सँगै लिएर क्रान्तिमा होमिए। यही लचकताले गर्दा रंगभेद विरुद्वको लडाइँमा धेरै गोरा राजनीतिकर्मी जोडिए। रुथ फस्र्ट, ब्राम फिसर, जोइ सोल्भो, प्याट्रिक डंकन आदि गोरा जातिका उल्लेख्य नाम हुन्, जो मण्डेलासँग काँधमा काँध मिलाएर रंगभेद विरुद्वको संघर्षमा होमिए।
त्यस्तै, गोरा जातिका लेखकको पनि योगदान छ। दक्षिण अफ्रिकी लेखकहरू एलन प्याटोन, जेएम कोट्सी, नादिन गोर्दिमियर जस्तै अथोल फ्युगर्ड गोरा जातिका भएर पनि काला जातिको हक अधिकारका लागि निरन्तर क्रियाशील रहिरहे।
लेखक नै हुन्छु भन्ने कहिले महसूस भयो? यो प्रश्नको जवाफमा फ्युगर्ड भन्थे- मेरा बाबा गजबका कथावाचक थिए, अनि राम्रा पियानोवादक। घरायसी परिवेशबाटै संगीत तथा कथाप्रति मेरो लगाव झाङ्गियो।
नाटकमा केन्द्रित गराउने श्रेय भने उनकी पत्नी शिला मेरिङलाई जान्छ। शिला आफैं नाटककी विद्यार्थी थिइन्। विभिन्न विधामा छिरलिएका फ्युगर्ड शिलाको आगमनपछि नाटकमै एकोहोरिए। सन् २०१५ मा शिला र फ्युगडीबीच सम्बन्धविच्छेद भयो।
फयुगर्ड विश्वविद्यालय त भर्ना भए, तर अध्ययनमा रचि जागेन। साथीहरूसँग लामो यात्रामा हिडिरहन्थे। त्यही क्रममा अफ्रिकी समाजका अँध्यारा पक्षसँग साक्षात्कार हुने मौका पाए।
औपचारिक डिग्री नभएकाले राम्रो जागीर मिलेन। अदालतमा सामान्य कारिन्दाको पदमा काम गर्न थाले। अदालतको जागीरका क्रममा काला जातिका मान्छेले भोग्नु परेको अन्याय, यातना, विभेद् र रंगभेदको भयानक परिवेशलाई नजिकबाट हेर्न र परख गर्न पाए। यिनै अवलोकन र अन्तरक्रियाले नाटक लेखनका पृथक र मौलिक कच्चापदार्थ प्रदान गरिरहे।
त्यतिखेर गोरा जातिका लागि मात्र रंगमञ्चमा नाटक देखाइन्थ्यो। फ्युगर्डले यो परम्परालाई तोडे, मिश्रित जातिहरूकै उपस्थितिमा नाटक मञ्चन गर्न थाले। उनका नाटकमा काला, गोरा सबै जातिका कलाकार हुन्थे। प्रसिद्व कलाकार ज्याक मोके र जोन कानी (दुवै काला जातिका) सँग फ्युगर्डको राम्रो र लामो सहकार्य रह्यो।
रंगभेदको विरोध र काला जातिको मुक्ति तथा समानताको पक्षमा लेखेकै कारण उनी गोरा जातिका प्रशासकको निशानामा परे। कला मार्फत रंगभेदी सरकारको विरोध गरेकोमा धरपकड, जेल चलान र अन्य मानसिक यातना खेपिरहे। तैपनि जन्मभूमि छोडेर निर्वासित जीवन बाँच्न चाहेनन्।
काला जातिको बाक्लो बसोबास रहेको सोफियाटाउन आउजाउ गरिरहन्थे। त्यही परिवेशमा नाटकका विषयलाई केन्द्रित गरे। त्यसैले उनका प्रारम्भिक नाटकलाई ‘सोफियाटाउन नाटक’ भन्ने गरिन्थ्यो।
पहिलो नाटक ‘द ब्लड नट’मा दुई भाइबीचको संघर्षको कथा छ। एक जना निख्खर कालो हुन्छ भने अर्को कम कालो। श्रेष्ठताको यो लडाइँले तत्कालीन दक्षिण अफ्रिकी समाजको द्वन्द्वको चित्रण गरेको छ।
नाटक द ब्लुड नटको एक दृश्य।
फ्युगर्डका लागि त रंगमञ्च संगीतकै पर्याय थियो। उनी भन्थे- लय पक्डनु सबैभन्दा अहम् पक्ष हो। यदि राम्ररी लय समात्न सक्यो भने आफूले भन्न चाहेको कुरा सहजै अभिव्यक्त गर्न सकिन्छ।
नाटककार त थिए नै, कुशल निर्देशक पनि थिए। उनले अभिनय पनि गरेका छन्। ‘द ब्लड नट’ लगायत केही नाटकमा अभिनय समेत गरेका छन्।
सन् १९८० मा उपन्यास लेखेका थिए, सोेत्सी। यो उपन्यासमा सन् २००४ मा सिनेमा पनि बनेको थियो। ओस्कार पुरस्कार अन्तर्गत उत्कृष्ट विदेशी सिनेमा मनोनयनमा परेको थियो।
फ्युगर्ड नाकटबाटै चिनिन्छन्। उनलाई चीरस्मरणीय बनाइराख्ने अर्को नाटक हो, दि आइल्यान्ड। यस रोबिन आइल्यान्डमा ग्रिसेली वियोगान्त नाटक देखाउँदाका सन्दर्भ समेटिएका छन्। रोबिन आइल्यान्डको प्रसंग आउने बित्तिकै मण्डेलालाई धेरै वर्ष कैदीका रुपमा राखिएको सम्झना आउँछ। त्यसैले नाटकबारे मण्डेलाले भनेका थिए- लोकतन्त्रको लडाइँमा यो नाटकले असाध्यै धेरै प्रभाव पार्यो।
निकृष्ट अवस्थामा पनि मान्छे कसरी बाँच्न सके! यो नाटकलाई मण्डेला त्यसैको आँखीझ्याल मान्थे। रंगभेदी शासन व्यवस्था हटेकै तीन दशक नाघिसक्यो। मण्डेलापछिको नेतृत्वमाथि फ्युगर्डको तीव्र असन्तुष्टि रह्यो। उनका पछिल्ला नाटक तिनै शासक र सत्तालाई सचेत गर्ने ध्येयमा अडिग छन्।
यसरी रंगमञ्च मार्फत् रंगभेदलाई ढाल्न निरन्तर लागेका उनै फ्युगर्ड गत ८ मार्चमा बिते। उनी अफ्रिकी समाजलाई सही ठाउँमा ल्याउन लेखक तथा कलाकारले निरन्तर खबरदारी गर्न आह्वान गर्थे। यो आह्वानको अनुगुञ्जन हाम्रो समाजसम्म आइपुग्यो भने फ्युगर्डलाई सम्झनुको केही सार्थकता रहला। हार्दिक श्रद्वाञ्जली, एथोल फ्युगर्ड!