एआई विज्ञ दोभान राईलाई प्रश्न- के एआईको सहयोगले विश्वभर तानाशाहहरू जन्मन थालेका हुन्?
“मान्छेलाई प्रविधिले यसरी मदहोस बनाइदिएको छ, ती आफ्नै कोटरीमा लट्ठ छन्, तिनले सही-बेठीक पनि छुट्याउन सकिरहेका छैनन। अहिले ट्रम्प र एलन मस्क जस्ताहरू ‘देउता’ भइरहेको देख्दा हाम्रो मूल्यमान्यता पूरै परिवर्तन नै हुने हो कि जस्तो पनि देखिन थालेको छ। यो डरलाग्दो अवस्था हो।”
प्रविधिमा आएको अभूतपूर्व परिवर्तनले केही सीमित मान्छेको हातमा शक्ति र सत्ता केन्द्रीकृत हुँदै गएको छ। त्यसमा एआई (कृत्रिम बौद्धिकता)को विकासक्रमले झन् बढी सहयोग गरेको छ। प्रविधिमाथि वर्चस्व राख्ने मान्छेहरूको मानवतासँग कुनै सरोकार देखिंदैन। ती सर्वसाधारणको डेटा संकलन गरी त्यसको प्रशोधन र व्यापारबाट आर्जित अकुत सम्पत्तिले अर्काे ग्रहमा वासस्थान सार्ने उद्यममा लागिरहेका छन्। पृथ्वीलोकमा पनि आफू लुक्न ‘कुनै विपत्तिले केही नहुने बंकर’ बनाइरहेका छन्। प्रविधिको उन्नयनले विश्वमा गरीबी हटाएर समानता फैलाउँछ भनिएकामा यसले झन् बढी वर्ग विभाजन बढाएको छ। तानाशाहहरूको जन्म गराइरहेको छ, जसको मानवतासँग कुनै लेनदेन छैन। एआई विज्ञ डा. दोभान राई भन्छिन्, “मान्छेलाई प्रविधिले यसरी मदहोस बनाइदिएको छ कि ती आफ्नै कोटरीमा लट्ठ परिरहेका छन्, तिनले सही-बेठीक पनि छुट्याउन सकिरहेका छैनन। अहिले ट्रम्प र एलन मस्क जस्ताहरू ‘देउता’ भइरहेको देख्दा हाम्रो मूल्यमान्यता पूरै परिवर्तन नै हुने हो कि जस्तो पनि देखिन थालेको छ। यो डरलाग्दो अवस्था हो।”
हिमालखबरका लागि जेबी पुन मगरले ‘वरदान ठानिएको एआई किन विश्वभर वर्गीय असमानता फैलाउन सहयोगी भइरहेको छ?’ भनी विज्ञ राईसँग प्रश्न गरेका थिए। यो वार्ता त्यही सेरोफेरोमा केन्द्रित छ।
मैले आजको एआई (कृत्रिम बौद्धिकता) कत्तिको तथ्य विश्लेषण गर्ने क्षमता राख्दो रहेछ भनी ‘जेमिनाई’ लाई अहिले चलिरहेको बहस ‘के नेपालमा पुनः राजतन्त्र फर्केला?’ भनी सोधेको थिएँ।
उसले दिएको उत्तर यस्तो छ, ‘मलाई भविष्यमा के हुन्छ भन्नेबारे ठ्याक्कै थाहा छैन। नेपालको अहिलेको राजनीतिक अवस्था र जनमतलाई हेर्दा पुनः राजतन्त्र आउने सभावना कम देखिन्छ। नेपालमा २०६२/६३ को जनआन्दोलनपछि राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो। त्यसयता धेरै परिवर्तन भएका छन् र नयाँ संविधान बनेको छ। यद्यपि नेपालमा राजतन्त्रको पक्षमा केही समूह अझै सक्रिय छन। र, उनीहरूले वेलावेला आफ्ना माग राख्दै आएका छन्। तर मुख्य राजनीतिक दलहरू र ठूलो संख्यामा नागरिकहरू गणतन्त्रकै पक्षमा देखिन्छन्। पुनः राजतन्त्र आउनका लागि धेरै कुरा फेरिनुपर्ने हुन्छ, जसमा राजनीतिक शक्ति सन्तुलन, जनमतको परिवर्तन र प्रमख दलहरूको सहमति जस्ता कुरा पर्छन्। अहिलेको अवस्थामा यी सबै कुरा राजतन्त्रको पुनरागमनका लागि अनुकूल देखिंदैनन्। भविष्यमा के हुन्छ भन्न गाह्रो भए पनि तत्कालका लागि नेपालमा पुनः राजतन्त्र आउने सम्भावना कमै छ भन्न सकिन्छ।’
पछिल्लो केही समययता नेपाली भाषामा प्रस्ट रूपले सूचना विश्लेषण गरेर हाम्रो अगाडि राखिदिने यी एआई एपहरूमाथि हामी कत्तिको विश्वस्त हुन सक्छौं?
तपाईंले प्रयोग गरेको गूगलले बनाएको ‘जेमिनाई’ अहिले जिम्मेवारी ढंगले काम गरिरहेको जस्तो देखिन्छ। अहिलेसम्मका डेटाहरू वास्तविक रूपमै आइरहेका छन्। तर म तपाईंलाई यसको अर्काे पाटो पनि बताइदिन चाहन्छु। एआई प्रविधि कहाँसम्म पुगेको छ भने यसका खेलाडीले सूचनालाई नै धमिल्याई आफूले चाहे बमोजिम जनमत तयार पारिदिन सक्छन्। एआई कम्पनीले त गर्न सक्ने नै भए, तेस्रो पक्षले पनि लाखौं ‘बट’ हरू सिर्जना गरेर, अवतार बनाई यस्तो बदमासी गर्न सक्छन्। त्यो अवस्थामा तपाईंलाई माथि दिएको जवाफमा एआई एपले ‘पहिला अर्कै अवस्था थियो, तर अहिले माहोल परिवर्तन भएकोले राजतन्त्र आउन सक्छ’ भन्न पनि सक्छ। तपाईंलाई थाहै छ, क्याम्ब्रिज एनालाइटिकलले कसरी सामाजिक सञ्जालका डेटालाई उपयोग गरी बेलायतलाई यूरोपियन युनियनबाट निकाल्ने जनमत तयार पारेको थियो। पूरै माहोललाई ‘ब्रेक्जिट’ बनाइदिएको थियो। मानौं, जेमिनाई वा ग्रोकलाई नेपालको शान्ति खलबल्याउन मन लाग्यो रे, उसले आफ्नो मशिनलाई त्यो बमोजिम निर्देशन पनि दिन सक्दछ।
यसलाई तपाईं यसरी पनि बुझ्न सक्नुहुन्छ– कुकुरलाई तालीम दिई टोक्ने बनाउन पनि सकिन्छ र नटोक्ने पनि बनाउन सकिन्छ। एआई पनि त्यस्तै हो। यसका मालिकले यसलाई कसरी उपयोग गर्न चाहन्छन्, त्यो बमोजिम यसले राम्रो-नराम्रो काम गरिरहेको हुन्छ।

चिन्तक मार्क्सले जे परिकल्पना गरेका थिए, पूँजीवाद र बजारतन्त्रले त्यसलाई खर्लप्पै उल्टाइदियो। अहिले आएर एआई ले बजारतन्त्रको हैकमलाई त्यसरी नै उलटपुलट पार्न खोजेको जस्तो देखिन्छ। प्रविधि कम्पनीहरूको नियन्त्रणमा पूँजी थुप्रँदै गएको छ भने श्रमजीवीहरू झन् झन् दरिद्र हुँदै गएका छन्। यस्तो प्रविधिनियन्त्रित विश्व अर्थव्यवस्थाले वर्गीय असमानता बेजोडले बढाउँदै लगेको बताइन्छ, भनेपछि त एआईले बित्यास पार्ने भयो है?
म आफू चाहिं इन्जिनीयरिङको विद्यार्थी र मशिन लर्निङमा पीएचडी गरेकाले प्रविधिले चुनौती दिए पनि यसले मानवतालाई झन् बढी उन्नत गराउन र समाजलाई लोकतान्त्रिक बनाउन सहयोग गर्दछ भन्नेमा विश्वास गर्दछु। पहिला पहिला किताब पढ्दा राजा-महाराजाको इतिहास घोक्नुपर्थ्यो। शिक्षामा पनि उनीहरूकै पहुँच हुन्थ्यो। तर प्रविधिले हामीलाई धेरै लोकतान्त्रिक बनाइदियो। शिक्षामा सबैको पहुँच भयो। यो ठूलो फड्को हो। तपाईंले भने जस्तो एआईले वर्गीय असमानता बढाएको चाहिं सत्य हो। कोभिडपछि यस्तो असमानता एकदमै बढेर गएको छ। यसका पछाडि प्रविधि देखिए पनि मुख्य कुरा प्रविधिमा जसको स्वामित्व छ, त्यो कुराले यस्तो परिवर्तन भएको हो। त्यसैले हाम्रो समस्या प्रविधिमा भन्दा पनि आर्थिक मोडलमा हो, गभर्नेन्स मोडलमा हो। किनकि अहिले प्रविधिले धनीहरूलाई नै झन् बढी धनी बनाउन सहयोग गरिरहेको छ।
तर हामी वैकल्पिक परिकल्पना पनि गर्न सक्छौं। मैले ठ्याक्कै किताबको नाम बिर्सिएँ, उनी बेलायती प्राज्ञ हुन्। केही वर्षअगाडिको हो। उनले त्यतिवेलै के परिकल्पना गरेका थिए भने भविष्यमा एआईले धेरै काम गरिदिने हुनाले मान्छेलाई सजिलो बनाउनेछ। प्रडक्टिभ यति बढ्नेछ कि हामीलाई पाँच दिन पनि काम गर्न पर्नेछैन। त्यसपछि मान्छेले समय पाउनेछ। उसले त्यो समय सिर्जनात्मक काममा बिताउन पाउनेछ। शान्त वातावरणमा कविता लेख्न पाउनेछ। उसलाई फूलबारीमा घुम्ने फुर्सद हुनेछ। तर अहिलेको एआईको अभ्यास हेर्दा त्यसको उल्टो जस्तो हुन गएको छ।
एआईलाई प्रयोग गर्दै संसारमा आधिपत्य जमाउँदै गएका फेसबूक, टिकटक, एक्स, यूट्यूब जस्ता एप्सका मालिकहरू ‘रात दुई गुना, दिन चौगुना धनी’ हुँदै गएका छन्। विश्वमा भएभरको सम्पत्ति एकातर्फ छ भने त्योभन्दा बढी सम्पत्ति तीन प्रतिशतभन्दा कम मान्छेले कब्जा गरेर बसेका छन्। पहिला उद्योग कलकारखाना हुनेहरू धनी हुन्थे र तिनले नै विश्वमाथि राज गर्दथे, जस्तै- बेलायत। अहिले प्रविधिमा लगानी गरिरहेकाहरूले सत्ता र शक्ति आफ्नो हातमा लिंदै गएका छन्। युवाल हरारीले यस्तो अर्थ-राजनीतिले ‘डिजिटल उपनिवेश’ फैलाउने लेखेका छन्। तपाईं के भन्नुहुन्छ?
अहिलेको आर्थिक मोडलमा यस्तो असमानता झन् बढेर जानेवाला छ। हाम्रा राजा-नेताहरूलाई नै हेर्नाेस् न, तिनलाई जति सम्पत्ति भए पनि पुगेको छैन। तिनलाई घरीघरी राजा हुनुपर्ने, प्रधानमन्त्री हुनुपर्ने। टन्न अघाएको मान्छेको जतिसम्म म अझै खान्छु भन्ने रोगी मानसिकता हट्दैन, त्यसले अरूलाई पालो नै दिंदैन। उसले सत्ता र शक्ति थुपार्दै बस्दछ। त्यो भएपछि असमान वितरण चलिरहन्छ। त्यसले वर्गीय असमानता बढाउने नै भयो। तर हामीले यस्तो भयो भन्दैमा आत्मसमर्पण चाहिं गर्नु हुँदैन। जस्तै- यदि इन्डियाका स्वतन्त्रता सेनानीहरूले आत्मसमर्पण गरेको भए त्यहाँबाट त्यति वेलाका उपनिवेशी शासक अंग्रेजलाई धपाउन सकिने थिएन। महात्मा गान्धी जस्ताहरूले आत्मसमर्पण नगरी एउटा परिकल्पना गरे, जुन लामो संघर्षपछि पूरा हुन गयो। हामीले पनि अहिलेको अर्थव्यवस्था भन्दा नयाँ परिकल्पना गर्नुपर्यो। हो, त्यो सोचे जस्तो सजिलो चाहिं छैन, हामीभित्रै पनि समस्या छ। जस्तै- मैले पुलचोक क्याम्पसमा इन्जिनीयरिङ पढें। प्रविधि पढ्नेहरूमा एकोहोरोपना बढी र ‘क्रिटिकल थिंकिङ ‘कम देखिन्छ। तैपनि हामीले त्यसतर्फ सोच्न छाड्नु हुँदैन। हामीसँग विकल्प पनि छैन।
तपाईंले भनेको सकारात्मक पक्ष भयो। तर यथार्थ के हो भने, प्रविधि नियन्त्रणमा हुनेहरूले डेटा संकलन, प्रशोधन र त्यसका आधारमा गरिरहेको उद्यमबाट अकुत सम्पत्ति कमाइरहेका छन्। तपाईं जस्तो एआईलाई मानव हितमा लगाउनुपर्छ भन्नेहरूले ती ‘द्रव्यपिशाच’ हरूसँग कसरी सामना गर्न सक्नुहोला? हरारीको किताब नेक्ससमा एउटा तथ्यांक सहित के भनिएको छ भने अमेरिकाको अमेजन र चीनको अलिबाबा जस्ता प्रविधि आधारित ‘रिटेल कम्पनी’ हरू अति शक्तिशाली हुँदै गएका छन्। तिनको एकछत्र राज चलेको छ। त्यसको प्रभाव के हुँदै गएको छ भने, पाकिस्तानमा कपडा उद्योगमा आश्रित ४० प्रतिशत श्रमिक बेरोजगार हुने वातावरण बन्दै गएको छ। त्यसैगरी बाङ्लादेशको ८५ प्रतिशत श्रमिकको बिजोग हुन सक्ने भनिएको छ। यसरी श्रमिकलाई बेरोजगार बनाउँदै लगिरहेको एआईले धनी र गरीबबीचको खाडल बढाउँदै लगिरहेको छ। त्यसले भोलि ठूलो उथलपुथल ल्याई अराजकता फैलाउने डर होला नि, होइन र?
अलिबाबाको थाहा भएन, तर अमेजनले एआई नआउँदा पनि मान्छेलाई मशिनलाई झैं काम गराउँथ्यो। असाध्यै श्रमशोषण गरिन्थ्यो। एआई आएपछि अहिले त्यहाँ ‘अटोमेटेड’ रूपमा काम हुन थालेको छ। तपाईंले भने जस्तो समय नआउला भन्न सकिंदैन। अहिले नै हेर्नुभयो भने, मानिस सामाजिक सञ्जालको नशाले लट्ठ परेर हल्लिंदै गरेको देखिन्छ। हामी सबै आआफ्नै दुनियाँमा हराइरहेका छौं। कसैलाई कसैको मतलब छैन। सबै मान्छेलाई एआईको उपयोग गरी कुलतमा फसाउँदै लगिएको छ। मान्छेलाई पीर पर्दा रक्सी पिउँछ, तर त्यसले झन् खराब गर्छ। त्यसरी नै अहिले मान्छेलाई पीर पर्यो भने सामाजिक सञ्जालको शरणमा जान्छ। त्यसले झन् मान्छेलाई डिप्रेशनमा लगिरहेको हुन्छ। जसरी पानी तिर्खा लाग्दा रक्सी पियो भने ‘डिहाइड्रेशन’ हुन्छ, त्यसैगरी पीर-व्यथा पोख्न सामाजिक सञ्जालको सहयोग लिन थालियो भने त्यही अवस्था आउँछ। हामी त्यतै गइरहेका छौं।
पहिला मान्छे मान्छेको सम्बन्ध थियो। तपाईंलाई समस्या पर्दा म आउँथें, मलाई केही चाहिएमा तपाईंसँग सरसापटी लिन्थें। कुनै विषयमा हामी आपसमा सल्लाह गर्दथ्यौं। अहिले हामी एकअर्कामा निर्भर हुने अवस्था परिवर्तन हुन गयो। सामान सर्वसुलभ भइदियो। सूचना हातहातमा आयो। व्यक्ति आत्मनिर्भर हुँदै गयो। तर यसले मान्छेलाई एक्लो पनि बनाउँदै लग्यो। पहिलाको सामूहिकता मर्दै गयो। मान्छे असाध्यै व्यक्तिवादी बन्दै गयो। त्यो व्यक्ति सामाजिक सञ्जालमा छिर्दा उसलाई केहीले नपुगेको अतृप्त जस्तो, पाएर पनि नपाएको जस्तो देखियो। त्यसैले अतृप्त मान्छेले सामाजिक सञ्जालरूपी रक्सी पिइरहेको छ, तर ऊ ‘डिहाइड्रेशन’ ले झन् बढी व्याकुल भइरहेको छ।
हरारी र अन्य प्राज्ञहरूले के भनिरहेका छन् भने, एआईको आगमनले विश्वमा एउटा ‘धर्म साम्राज्य’ नै खडा गर्न खोजिरहेको छ। त्यसले हाम्रा परम्परागत मूल्यमान्यता भत्काउँदै लगिरहेको छ। अहिले प्रविधि मार्फत हामीले शरीर र दिमाग परिवर्तन गरिरहेका छौं। तर यसले बिस्तारै हामीलाई मानवता विमुख पनि बनाउँदै लगिरहेको छ। धर्ममा कतिपय नराम्रा कुरा रहे पनि कम्तीमा त्यसले मानवता, दया, करुणा र मूल्यमान्यता सिकाउँछ, त्यो एआईले तोड्दै लगिरहेको छ। ट्रम्प जस्ताले जित्नुमा त्यही मान्यताले काम गरेको देखिन्छ। किनकि मान्छेलाई प्रविधिले यसरी मदहोस बनाइदिएको छ, ती आफ्नै कोटरीमा लट्ठ छन्, तिनले सही-बेठीक पनि छुट्याउन सकिरहेका छैनन। अहिले ट्रम्प र एलन मस्क जस्ताहरू ‘देउता’ भइरहेको देख्दा हाम्रो मूल्यमान्यता पूरै परिवर्तन नै हुने हो कि जस्तो पनि देखिन थालेको छ। यो डरलाग्दो अवस्था हो।
यसबारे गरिएको विस्तृत कुराकानी भिडिओ संवादमा सुन्नुहोस्: