प्रहरीकै गोप्य प्रतिवेदनको खुलासा: तीनकुने प्रदर्शनमा अर्धस्वचालित हतियारबाट ११० गोली प्रहार
पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकले हिंसात्मक प्रदर्शन, लुटपाट र आगजनी गरेको घटनामा प्रहरीले सुरक्षा रणनीति होइन, घातक हतियारको सहारा लिएको प्रहरीकै गोप्य प्रतिवेदनबाट खुलेको छ।
राजावादीले शान्तिपूर्ण भनेको प्रदर्शनमा दुई जनाको ज्यान गएको र प्रदर्शनकारीले निजी सम्पत्तिमा आगजनी तथा लुटपाट गरिएको घटनासँगै सुरक्षाकर्मीको भूमिकामाथि पनि प्रश्न उठेको छ। तीनकुने घटनामा प्रहरीको कमजोरी देखाउने एकपछि अर्को भिडिओ सार्वजनिक हुन थालेपछि प्रहरी प्रधान कार्यालयले एकाएक चैत २० गते प्रतिरक्षा गर्न पत्रकार सम्मलेन गर्यो।
प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यले ‘प्रहरीले न्यूनतम बल प्रयोग’ गरेको बारम्बर दोहोर्याउँदै एउटा विवरण पनि सार्वजनिक गरे। जसअनुसार भीड नियन्त्रण गर्न ५८ राउन्ड गोली र ७६४ वटा अश्रुग्यास प्रहार गरेको थियो। ५८ राउन्डमध्ये कति जंगी राउन्ड (साँच्चिकैको गोली), कति हवाई फायर र कति रबर बुलेट हो भन्ने उनले खुलाएनन्।
तर जिल्ला प्रहरी परिसर, काठमाडौंले चैत २० गते तयार पारेको एक गोप्य रिपोर्टमा भने डीआईजी आचार्यले भनेको भन्दा दोब्बर संख्यामा त ‘जंगी राउन्ड’ नै फायर भएको उल्लेख छ। उच्च स्रोतबाट हिमालखबरलाई प्राप्त ३९ पृष्ठको रिपोर्ट अनुसार प्रहरीले सो दिन प्रहार गरेको ‘जंगी राउन्ड’ को संख्या मात्रै ९२ छ। डरलाग्दो पक्ष त के छ भने यसमध्ये सबैभन्दा बढी गोली अर्धस्वचालित हतियार ‘सेल्फ लोडिङ’ राईफल (एसएलआर) बाट भएको छ।
तीनकुने घटनाबारे प्रहरीको गोप्य प्रतिवेदनमा उल्लेखित विवरण।
त्यस्तै एसलआरबाट ८१ राउन्ड गोली प्रहार भएको थियो, जुन कुल ‘जंगी राउन्ड’ गोली प्रहारको ८८ प्रतिशत हो। अर्को अर्धस्वचालित हतियार इन्सासबाट ६ राउन्ड, सर्ट गनबाट तीन राउन्ड, चिनियाँ पेस्तोलबाट दुई राउन्ड गोली प्रहार भएको रिपोर्टमा उल्लेख छ। यसरी ९४ प्रतिशत गोली अर्धस्वचालित हतियार इन्सास र एसएलआरबाट प्रहार भएको हिसाब निस्कन्छ। यस्तै सशस्त्र प्रहरीले छुट्टै १८ राउन्ड गोली चलाएको प्रतिवेदनमा उल्लेख छ।
एसएलआर, इन्सास घातक प्रकृतिका हतियार हुन्, जुन भीड नियन्त्रणमा अन्तिम अवस्थामा मात्रै प्रयोग गरिन्छ। तर प्रहरीले शुरूमै यी दुई खाले घातक हतियारबाटै सबैभन्दा बढी गोली चलाएको देखिन्छ। तीनकुने क्षेत्रमा प्रहरीको २० वटा ‘कमान्ड टोली’ खटिएका थिए। रबर बुलेट भने प्रहरीले २०१ राउन्ड प्रहार गरेको थियो।
तीनकुनेमा राजसंस्था ब्युँताउने भन्दै राजावादीको समूहले चैत १५ गते प्रदर्शन गरेको थियो, जसको नेतृत्व नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) हुँदै राजवादी बनेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेका थिए। निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरको संसद् भवन र सिंहदरबार कब्जा गर्ने भन्दै अगाडि बढेको भीडले हिंसात्मक रूप लिँदा दुई जनाको ज्यान गएको थियो।

एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको भिडिओ खिचिरहँदा आन्दोलनकारीले भवनमा आगो झोसिदिएपछि जलेर मृत्यु भएको थियो भने कीर्तिपुरका सविन महर्जनको गोली लागेर मृत्यु भएको थियो। आन्दोलनकारीले भवन, सवारी साधन तोडफोड गर्नुका साथै आगजनी र लुटपाट समेत मच्चाएका थिए, जसबाट ठूलो क्षति भएको छ।
घातक प्रहार
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार २१ जनालाई गोली लागेकोमा एक जना (सविन महर्जन) को मृत्यु भएको छ भने बाँकी घाइते छन्। काठमाडौं परिसरको गोप्य दस्ताबेज अनुसार घाइते २० जनामध्ये सात जनालाई ‘जंगी राउन्ड’ गोली लागेको छ। बाँकी १३ जनालाई रबरको गोली लागेको हो। जंगी राउन्ड गोली लाग्नेमा बैतडीका २४ वर्षीय आशिष बोहरा, अछामका १९ वर्षीय राजेन्द्र रावल, काभ्रेका २६ वर्षीय रामहरि श्रेष्ठ, खोटाङका ३१ वर्षीय जानसोन राई, खोटाङकै १८ वर्षीय कञ्चन राई, भोजपुरका २७ वर्षीय डिल्लीप्रसाद लुइँटेल, भोजपुरकै ३० वर्षीय शम्भु दर्जी छन्।
रबरको गोली र छर्रा लागेर घाईते हुनेमा शान्तिनगर बस्ने ५६ वर्षीय विकासकुमार गौतम, सोलुखुम्बुका २२ वर्षीय विकास निरौला, काठमाडौंका ४७ वर्षीय कुमारजंग राना र धादिङका ३० वर्षीय राजकुमार कार्की छन्। त्यस्तै स्याङ्जाका २५ वर्षीय सुमन गुरूङ, काठमाडौंका ४० वर्षीय राज हुमागाईं र भारतीय नागरिक १८ वर्षीय प्रिल्स कुमार पनि रबरको गोली र छर्रा लागेर घाइते भएका छन्।
उदयपुरकी २२ वर्षीया रेविका खत्री र उनका दाजु पर्ने २४ वर्षीय दिनेशकमार खत्री पनि रबरको गोली लागेर घाइते भएको प्रहरीको दस्तावेजमा उल्लेख छ। रेविकाको सिभिल अस्पतालमा आईसीयूमा उपचार भईरहेको छ। खत्री दाजुबहिनीलाई कोटेश्वरको भित्री सडकमा गोली हानिएको थियो। प्रहरी प्रवक्ता डीआईजी आचार्यले पत्रकार सम्मेलनमा उनीहरूलाई झुक्किएर गोली लागेको दाबी गरेका थिए। आफ्नो कोठामा पुग्नै लाग्दा उनीहरूलाई पछाडिबाट गोली हानिएको थियो।
रेविकाको अवस्था गम्भीर रहेको प्रहरीको दस्ताबेजमै उल्लेख छ। उनको दाहिने तिघ्रामा लागेको गोली वारपार भएको थियो। जसका कारण दुई वटा नसा चुँडिएको उपचार गरिरहेका डा. अर्जुनकृष्ण शर्मा र सम्पूर्णमान तुलाधारलाई उद्धृत गर्दै प्रहरीको दस्ताबेजमा उल्लेख छ। अपरेशन गरेर जोडिएको नसाबाट रक्त पर्वाह भने भईरहेको दस्तावेजमा छ। “बोल्न सक्ने, आफन्तसँग विस्तारै कुरा गर्न थालेको। घाउ ‘इन्फेक्सन’ हुन सक्ने,” दस्तावेजमा डाक्टरहरूको भनाइ उद्धृत गर्दै लेखिएको छ, “पूर्ण रूपमा खतरा मुक्त भन्न नसकिने। तर क्रमशः अवस्था ‘प्रोग्रेसिभ’ रहेको।”
झापाकी ४१ वर्षीया इन्द्रमाया लिम्बू, कीर्तिपुरका ३५ वर्षीय अमर थापा, भक्तपुरका ७२ वर्षीय बालकृष्ण न्यौपाने र पर्वतका ३६ वर्षीय राजन सापकोटालाई पनि रबरको गोली र छर्रा लागेर घाइते भएका छन्।
अचाक्ली अश्रुग्यास
पत्रकार सम्मेलनमा डीआईजी आचार्यले ७४६ सेल अश्रुग्यास प्रहार भएको बताएका थिए। तर काठमाडौं प्रहरीको गोप्य दस्ताबेजमा भने योभन्दा पनि बढी अश्रुग्यास प्रयोग गरिएको विवरण छ। प्रहरीले मात्रै ८६४ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। यसबाहेक सशस्त्र प्रहरीले १०४ राउन्ड अश्रुग्यास सेल हानेको थियो।

एउटै घटनामा एकै दिन यति धेरै अश्रुग्यास प्रहार भएको आफूलाई कहिल्यै थाहा नभएको अवकाश प्राप्त एक पूर्व डीआईजीले बताए। “काठमाडौंको ५० ठाउँमा आन्दोलन हुँदा पनि यति धेरै अश्रुग्यास हानिंदैन,” काठमाडौं परिसरको समेत नेतृत्व गरिसकेका ती पूर्व डीआईजी भन्छन्, “म त प्रहरी प्रवक्ताले सार्वजनिक गरेको विवरण देखेर छक्क परिरहेको छु।”
सामान्यतः भीड नियन्त्रणमा खटिने प्रहरीको एउटा टोलीसँग एक जनाले अश्रुग्यास हान्ने जिम्मेवारी पाएको हुन्छ। गह्रौं हुने भएकाले बढीमा २० थान ग्याससेल बोक्न सक्छ। औसतमा १० देखि १५ वटा मात्रै बोकिएको हुन्छ। २० वटा टोलीले २० वटाकै दरले अश्रुग्यास बोकेको मान्ने हो भने पनि ४०० थान मात्रै हुन्छ। “यसले बल प्रयोग गर्ने प्रहरीको योजनै थियो किन जस्तो देखिन्छ,” ती पूर्व डीआईजी भन्छन्।
घटनाकै दिन गृह मन्त्रालयले पत्रकार सम्मेलन गरेर तीनकुनेमा तीनदेखि चार हजारको संख्यामा प्रदर्शनकारी रहेको र प्रहरी भृकुटीमण्डप र तीनकुनेको प्रदर्शनमा पाँच हजार परिचालन भएको आंकडा सार्वजनिक गरेको थियो। प्रहरी प्रवक्ता आचार्यले पनि यही आँकडा दोहोर्याएका थिए।
समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा भृकुटीमण्डपमा गरेको प्रदर्शनीमा एक हजार प्रहरी खटिएको मान्ने हो भने पनि तीनकुनेमा लगभग एक आन्दोलनकारीलाई नियन्त्रण गर्न एक प्रहरी परिचालन भएको आँकडा निस्कन्छ। यसबाहेक सशस्त्र प्रहरी पनि प्रहरीको ‘ब्याकअप’का लागि खटिएको थियो।
तर सुरक्षा निकायले आन्दोलनकारीलाई नियन्त्रणमै लिन सकेन। प्रदर्शनस्थलमा खटिएका एक प्रहरीका अनुसार फिल्डमा खटिएका कमान्डरले आदेश माग्दा परिसर प्रमुखले मेट्रो (उपत्यका प्रहरी कार्यालय, रानीपोखरी) र हेडक्वार्टर (नक्साल)को आदेश अनुसार गर्न भन्ने गर्थे। जबकि आन्दोलन, भीड नियन्त्रणमा खटिएका कमान्डरलाई ठाउँको ठाउँ आदेश चाहिने हुन्छ। यस्तोमा कहिलेकाहीँ फिल्ड कमान्डरले आफैं निर्णय लिएर तालुक कमान्डरलाई रिपोर्ट पनि गर्न सक्छ। “न हामीलाई अवस्था हेरेर निर्णय लिनु भनियो न त अवस्था जाहेर गर्दा तत्कालन आदेश आयो,” ती प्रहरी भन्छन्।
तीनकुने घटनाले प्रहरीको सुरक्षा रणनीतिमा थुप्रै चुक भएको छरपस्ट भएको छ। भीड नियन्त्रणका लागि खटिएको प्रहरीले प्लान 'ए', प्लान 'बी' जस्ता वैकल्पिक सुरक्षा रणनीति बनाउनै सकेको देखिएन। “फिल्डमा प्रहरीको डिप्लाइमेन्ट देखिने सुरक्षा योजना हो,” एक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भन्छन्, “यसबाहेक रणनीतिक सुरक्षा योजना पनि चाहिन्छ। तोडफोड, ढुंगामुढा, आगजानी गर्यो भने कुन टोली परिचालन हुने, त्यो टोली कहाँ बस्ने, ती टोलीले सकेन भने कुन टोलीले सघाउने आदि रणनीतिक योजना हुनुपर्छ।”

तर तीनकुनेको आन्दोलन दबाउन प्रहरीको सुरक्षा रणनीति नै नबनेको देखियो, जसलाई प्रहरी प्रवक्ता डीआईजी आचार्यले नै स्विकारे। पत्रकार सम्मेलनमा उनले भनेका थिए, “आयोजकले राजनीतिक प्रकृतिको शान्तिपूर्ण कार्यक्रम भनेका थिए। तर समूह समूह बनाएर आपराधिक गतिविधि गरे।”
यस्ता आन्दोलनमा प्रशासनको अनुमति लिन कार्यक्रम शान्तिपूर्ण, संयमित हुने भन्नु अनौठो होइन। यस्तो नभने अनुमति पाइँदैन। तर हिंसात्मक बन्न खोज्यो भने कसरी नियन्त्रण गर्ने मूलभूत दायित्व प्रहरीकै हो। “यही दायित्व निर्वाह गर्ने सुरक्षा रणनीति समेत प्रहरीले बनाउने नसकेको देखियो,” काठमाडौं उपत्यका कार्यालयका एक प्रहरी अधिकृत भन्छन्, “यसको जवाफ नेपाल प्रहरीले लामो कालखण्डसम्म दिईराख्नुपर्ने लज्जाजनक अवस्था आएको छ।”
हुन पनि घाइतेलाई अस्पताल पुर्याउने एम्बुलेन्स, आगलागी नियन्त्रण गर्ने दमकल, पानीको फोहरा हानेर भीड तितरबितर पार्ने ‘वाटर क्यानन’ कुन ठाउँमा राख्दा चाँडो उपयोगमा ल्याउन सकिन्छ भन्ने आधारभूत कुरा समेत प्रहरीले बेवास्ता गरेको देखिन्छ। भवनहरूमा आगो लागेको लामो समयसम्म दमकल नै आउन सकेन। “झण्डै तीन घण्टा आन्दोलनकारीले प्रहरीलाई राइँदाईँ गरेको छ,” एक प्रहरी अधिकृत भन्छन्, “देशको राजधानी, महानगरमा यति फितलो प्रहरी कहिल्यै देखिएको थिएन।”
पत्रकार रजक राजावादी आगलागी गरेको भवनबाट निस्कनु नसक्नुको एउटा कारण खबर पाउँदासमेत प्रहरीले उद्धारमा तदरूक्ता नदेखाउनु रहेको परिवारको आरोप छ। यसबाहेक प्रहरीको विपरीत दिशातिर गईरहेको आन्दोलनकारीको सानो समूहलाई सामान्य अवस्थामा समेत प्रहरीले गोली हानेको भिडिओ सार्वजनिक भएको छ, जसले प्रहरीले गैरन्यायिक हत्या तर्फ इंकित गर्छ। भीडभाड, ढुंगामुढा नभएको अवस्थामै प्रहरीले गोली हानेको भिडिओमा देखिन्छ। यसको जवाफ प्रहरीले समेत दिन सकेको छैन।
साथै कार्यक्रम गर्ने भनिएको मञ्चमा प्रहरीले पहिल्यै अश्रुग्यास हानेर प्रदर्शनकारीलाई उत्तेजित तुल्याएको राजावादीले आरोप लगाउँदै आएको छ। यद्यपि प्रहरीले भने ढुंगामुढा हुन थालेपछि भीडलाई हानेको अश्रुग्यास मञ्चमा समेत पुगेको हुनसक्ने जवाफ दिएको छ। घातक हतियारको घनीभूत प्रयोगले भने प्रहरीले प्रदर्शन दबाउन बल प्रयोग गरेको संकेत गर्छ। न्यायिक छानबिनको आवाज उठे पनि यसबारे प्रधानमन्त्री र गृहमन्त्रीको धारणा सार्वजनिक भएको छैन।
यो पनि पढ्नुहोस्