अमेरिका लगिएका भूटानी शरणार्थी फेरि राज्यविहीन
अमेरिकाले ‘डिपोर्ट’ गरेका नेपालीभाषी भूटानी शरणार्थीलाई भूटानले फेरि नेपालतिरै लखेटेपछि उनीहरू पुनः राज्यविहीन हुन पुगेका छन्।
अमेरिकाको पेन्सिल्भेनिया राज्यस्थित ह्यारिसबर्गमा रहेको गुरुङ निवासमा चैत १४ गते बिहान ८ बजेतिर ढोका ढकढक गरेको चर्को आवाज आयो। ढोका नै फुट्ला जसरी ढकढक गरिंदै थियो।
गुरुङ परिवारले ढोका खोल्न जानुअघि सम्हालिएर सीसीटीभी हेर्यो। तीन जनाले खेम गुरुङ (नाम परिवर्तन)को फोटो समातेका थिए।
त्यसपछि गुरुङ परिवारले ढोका खोल्यो। घर वरिपरि पनि अमेरिकाको ‘इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट (आईसीई)’का मान्छेले घेरा लगाएका थिए। घरमा खेम नभेटिएपछि उनीहरू फर्किए।
भोलिपल्ट पनि त्यस्तै भयो। बिहानपख फेरि त्यसैगरी ढोका ढकढक गरेको चर्को आवाज आयो। यस पटक भने उनीहरूले परिवार नै समस्यामा पर्ने चेतावनी दिए। त्यसपछि गुरुङ परिवारले खेमको ठेगाना दिए। लगत्तै आईसीईको टोलीले खेमलाई समात्यो।
उनलाई एउटा हिरासतबाट अर्को हिरासतमा लगियो। अन्त्यमा दिल्ली हुँदै भूटान ‘डिपोर्ट’ गरियो।
दिल्ली पुगेपछि खेमले आफूलाई ‘डिपोर्ट’ गरिएको परिवारजनलाई खबर दिएका थिए। “जनयुद्धकालमा माओवादीले थुनेर लगेको झैं लगे,” खेमको परिवारका एक सदस्य भन्छन्, “हामीलाई आईसीईका मान्छेले के, किन, कता भन्ने केही पनि जानकारी दिएन। अपहरण गरे जसरी लगे। मान्छे मारेको भए पनि हामीले थाहा नपाउने रहेछौं।”
यसरी अमेरिकाबाट निष्कासन गरेर भूटान पठाइएका नेपालीभाषी शरणार्थीको संख्या १२ पुगेको अमेरिकास्थित शरणार्थी सम्बन्धी संस्था ‘एशियन रिफ्युजी युनाइटेड (एआरयू)’ले जनाएको छ। आपराधिक गतिविधिमा संलग्न देखिएको भन्दै अमेरिकाले उनीहरूलाई निष्कासन गरेको हो। पहिलो चरणमा निष्कासनमा परेका १२ जनामध्ये एक हुन्, खेम गुरुङ।
उनीहरूले अमेरिकाको ग्रीन कार्ड पाएका थिए। तर आपराधिक गतिविधिमा संलग्न देखिएपछि अमेरिकाको नागरिकता पाएका थिएनन्। उनीहरूको भूटानी नागरिकता भने उहिल्यै खोसिएको थियो।
२०४६ साल आसपासबाट नेपाली बोल्ने भूटानी (ल्होत्साम्पा)लाई भूटान सरकारले देशनिकाला गर्न शुरू गरेको थियो। भूटानको दक्षिण भेगमा बसोबास गर्ने ल्होत्साम्पा देशनिकाला हुन थालेपछि भारतको पश्चिम बंगाल क्षेत्रतिर छरिन बाध्य भए। कतिपय भारत हुँदै नेपाल आइपुगे। पूर्वी नेपालका झापा, मोरङ लगायत जिल्लामा शरणार्थी शिविर बनाएर बसेका थिए।
नेपालले उनीहरूलाई भूटान फर्काउने कोशिश गरेको थियो। तर भूटान सरकारले जहिल्यै आनाकानी गरिरह्यो। त्यसपछि उनीहरूलाई संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयको रेखदेखमा तेस्रो मुलुक पुनर्वास शुरू गरियो।
२०६३ देखि २०७३ सालसम्म एक लाखभन्दा बढी भूटानी शरणार्थीलाई तेस्रो मुलुक पुनर्वासको योजना अनुसार अमेरिका, अस्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्यान्ड्स, न्यूजिल्यान्ड, नर्वे र बेलायत पुर्याइएको थियो।
यही प्रक्रिया अन्तर्गत खेम गुरुङ र उनको परिवार पनि २०६६ सालतिर अमेरिका पुगेको थियो। “हाम्रो एक मात्र आश र वास अमेरिका हो भन्दै आएका थियौं,” एआरयूका सहकार्यकारी निर्देशक रविन गुरुङ भन्छन्, “तर आज पनि हामी राज्यविहीनताको दुश्चक्रमा बाँच्न बाध्य भएका छौं।”
अमेरिकाको कानून अनुसार पक्राउ पूर्जी जारी गरेर उनीहरूलाई निष्कासन गरेको नदेखिएको रविन बताउँछन्। “अमेरिकामै पनि हामीलाई ‘अन्य’, ‘एलियन’ को हैसियतमा हेरिरहेका हुन्छन्,” उनी भन्छन्, “अहिले त झन् अमेरिकाकै कानूनी अधिकारबाट वञ्चित गरेर शरणार्थीको सुरक्षा नै जोखिममा पर्नेगरी सीधै भूटान पुर्याइएको छ।”
डोनल्ड ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित भएर आएपछि आप्रवासीलाई हेर्ने दृष्टिकोण फेरिएको छ। भूटानी शरणार्थी जस्ता ‘अन्य’ लाई हेर्ने नजरिया अझ पश्चगामी हिसाबले बढिरहेको छ। अमेरिकी नागरिक भइसकेका भूटानी शरणार्थीलाई पनि यही मनोवृत्तिले हेरिने गरेको अधिकारकर्मी बताउँछन्।
शरणार्थी अधिकारकर्मी सिर्जना पोखरेल सिवाकोटी भूटानी शरणार्थीलाई ‘अन्य’ का रूपमा हेरिने गरेको बताउँछिन्। “जुन समाजमा पनि आप्रवासीलाई हेर्ने नजर र आफ्नो देशका नागरिकलाई हेर्ने नजर फरक हुन्छ नै। यो मानवीय प्रवृत्ति हो। भूटानी शरणार्थी त दोस्रो पनि नभई तेस्रो देश अमेरिकामा पुनर्वास भएका छन्। उनीहरूलाई ‘अन्य’ नागरिकका रूपमा हेरिन्छ,” पोखरेल भन्छिन्।
यसमा रिसइबी पनि साध्ने गरिएको देखिएको छ। आफूलाई मन नपर्ने आप्रवासी व्यक्तिबारे आईसीईका मान्छेलाई भन्दिएर रिसइबी साध्ने बहाना पनि भइरहेको बताउँदै उनी भन्छिन्, “भूटानी समुदाय यो रिसइबीबाट अछूतो रहने कुरा हुँदैन।”
एआरयूले पनि यसबारे ध्यानाकर्षण भएको जनाएको छ। एआरयूले प्रेस विज्ञप्ति जारी गरी नेपाली बोल्ने भूटानी अमेरिकन समुदायलाई सम्मानपूर्ण व्यवहार गर्न आह्वान गरेको छ।
त्यसमा अमेरिकाबाट निष्कासित १२ जना भूटानी शरणार्थी सहित हालसम्म अमेरिकामा करीब ३० जना पक्राउ परेको र निष्कासित हुने अवस्थामा रहेको जनाइएको छ।
अमेरिकाबाट निष्कासित १२ जना भूटानी शरणार्थीमध्ये नौ जनाको नाम सार्वजनिक भएको छ। आशिष सुवेदी, सन्तोष दर्जी, रोशन तामाङ र अशोक गुरुङ पूर्वी नाका काँकरभिट्टा हुँदै नेपाल आइपुगेका छन्। उनीहरू अध्यागमन कार्यालय, झापाको नियन्त्रणमा छन्। त्यस्तै, खेम गुरुङ पनि नेपाल प्रवेश गरेका छन्, पक्राउ पर्ने डरले लुकेर बसेका छन्।
यस्तै, अमेरिकाबाट निष्कासन गरिएकामा बहादुरसिंह राई, विदुर खड्का, बुढासिंह गुरुङ, मैइतासिंह गुरुङ र रूपनारायण खरेल रहेका छन्। उनीहरू कहाँ कस्तो अवस्थामा छन् भन्ने खुलेको छैन।
अहिले उनीहरू फेरि देशविहीन बनेका छन्। “अमेरिकाबाट निष्कासित भूटानी शरणार्थीहरू आपराधिक गतिविधिमा संलग्न भए पनि उनीहरूले जेल सजाय पूरा गरेको देखिन्छ। उनीहरूले एउटै अभियोगमा दोहोर्याएर सजाय भोग्नुपर्ने अवस्था बनेको छ,” शरणार्थी अधिकारकर्मी पोखरेल भन्छिन्, “एउटा अपराधीको पनि देश त हुन्छ नि, तर उनीहरू देशविहीन भएका छन्।”
अमेरिकालाई आफ्नो सार्वभौमिकतामा नकारात्मक असर पर्ने आशंकामा आप्रवासीलाई ‘डिपोर्ट’ गर्न पाउने अधिकार रहेको अधिकारकर्मी बताउँछन्। तर भूटानी शरणार्थीको विषय फरक भएको उनीहरूको भनाइ छ। अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका शरणार्थीलाई लिन भूटानले मानेको थिएन। जब अमेरिकाले ‘रातो सूची’को देशमा राख्दै भूटानी नागरिकलाई अमेरिका यात्रामा रोक लगायो, त्योपछि भूटानको मत फेरियो।
भूटानले आफ्नो नागरिक भनेर स्वीकार गरेपछि नेपाल पठाउने छलपूर्ण कार्य गरेको अधिकारकर्मी बताउँछन्। “आफ्ना नागरिक भनेर भूटानी शरणार्थीलाई विमानस्थलमा स्वीकार गरेको छ। त्यसपछि विमानस्थलबाट भारतीय नाका भएर नेपाल पठाइएको छ,” इन्हुरेड इन्टरन्याशनलका अध्यक्ष गोपाल शिवाकोटी भन्छन्, “यो त पहिला जस्तै देशनिकाला नै भयो। आज पनि उनीहरूलाई एक देशबाट अर्को देश र त्यहाँबाट अर्को देश धपाइएको छ।”
झापामा पक्राउ परेका भूटानी शरणार्थीका अनुसार उनीहरूलाई भूटानबाट नै गाडीभाडा सहित ३० हजार भारतीय रुपैयाँ दिएर नेपालतिर जानू भनिएको थियो। खेम गुरुङलाई पनि ३० हजार भारतीय रुपैयाँ दिएर नेपाल जानू भनेको उनका परिवारजनले हिमालखबरलाई बताए। देशनिकाला भएका भूटानी शरणार्थीलाई यो घटनाले फेरि पनि आफूले भोगेको अन्यायपूर्ण इतिहास दोहोरिएको महसूस गराएको उनीहरू बताउँछन्।
अझ अमेरिकामा बसोबास गरिरहेका भूटानी शरणार्थी पनि आफ्नो अवस्थालाई लिएर त्रसित छन्। “अमेरिकाले बरू आफ्नो कानून अनुसार सजाय दिए हुन्थ्यो। हामी भोग्न तयार छौं। भूटान पठाएर त त्यहाँ बस्ने ठाउँ नै छैन। आखिर भूटानले खेदायो। भारतले पनि त्यस्तै गर्यो। नेपालमा पक्राउ गरिएको छ,” खेम गुरुङका परिवारजन भन्छन्, “नेपालमा न नागरिकता छ, न घर छ, न त परिवार। गरिखान दिए पुग्थ्यो।”
(अमेरिकाबाट निष्कासन गरिएका नौ जना भूटानी शरणार्थीको नाम सार्वजनिक गरिएको भए पनि सुरक्षाका कारण हिमालखबरसँग कुराकानी गरेका व्यक्तिको नाम परिवर्तन गरिएको हो।)