बिखालु हावाले खोसिरहेछ नेपालीको सवा तीन वर्ष आयु
वायु प्रदूषण यति घातक स्तरमा पुगिसकेको छ कि वर्षभरिमा नेपालीले गन्न सकिने थोरै दिन मात्र सफा हावामा श्वास फेर्न पाउँछन्, जसले गर्दा नेपालीको आयु सरदरमा सवा तीन वर्षले घटिरहेको छ।
केही दिनयता घर बाहिर निस्किंदा आँखा-नाक पोल्ने, श्वास फेर्न असजिलो महसूस गर्नुभएको होला। आकाश खैरो तुवाँलोले डम्म ढाकिएको छ, जसका कारण परसम्म देख्न सकिएको छैन। चैत १८ मा त तुवाँलोका कारण आँखाले परसम्म राम्ररी ठम्याउन नसकेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कतिपय हवाई उडान नै अवरुद्ध भए। हरेक वर्षको हिउँदमा जस्तै यस वर्ष पनि वायु प्रदूषण असाध्यै खराब स्तरमा ओर्लिएपछि जनस्वास्थ्यमा जोखिम आइपरेको छ।
पछिल्ला दिनमा काठमाडौं संसारकै खराब हावा भएको राजधानीमा दरिंदै आएको छ। काठमाडौंको हावा अत्यधिक अस्वस्थ मात्रै होइन, खतरापूर्ण स्थितिमा उक्लिइसकेको छ। चैत २१ गते बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक ३४८ भन्दा पनि माथिसम्म पुग्यो।
हावाको गुणस्तर सूचकांक ५० सम्म हुनुलाई राम्रो मानिन्छ, १०० सम्मलाई तैबिसेक मानिन्छ। यसभन्दा माथि सूचकांक पुग्नु नराम्रो त हुँदै हो, सूचकांक २०१ बाट माथि लाग्नु त असाध्यै अस्वस्थको कोटिमा पर्छ। ३०० नाघ्नु त संकटकै अवस्था हो।
काठमाडौंवासीले पछिल्ला दिनमा यही असाध्यै खराब हावामा श्वास फेर्नुपरेको छ। यो स्तरको प्रदूषणले बालबालिका, वृद्ध र रोगी मात्रै होइन, सबै खालका मानिसको स्वास्थ्यलाई गम्भीर असर पुर्याउने मानिन्छ। भैंसेपाटी, बोहोराटार लगायत केही स्थानमा त वायु गुणस्तर सूचकांक ४०० भन्दा पनि माथि लाग्यो, जसलाई खतरनाक वा संकटको अवस्था मानिन्छ।
धेरैजसो खराब हावा भएको सुनिने भारतको दिल्ली र बाङ्लादेशको ढाकालाई पनि काठमाडौंले पछाडि छोडिरहेको छ। वायु गुणस्तरको तथ्यांक राख्ने स्वीट्जरल्यान्डस्थित संस्था आईक्यू एअरले हावाको गुणस्तर नाप्ने संसारभरिका हजारौं स्टेशनले पठाएको तथ्यांकका आधारमा खराब हावा भएका शहरको श्रेणी प्रकाशित गर्छ। हावाको गुणस्तर फेरबदलसँगै यो सूची पनि अद्यावधिक हुन्छ।
काठमाडौंको हावामा पीएम २.५ भनिने आँखाले नदेखिने धूलोको कणको मात्रा सरदरमा १५० माइक्रोग्राम प्रतिघनमिटर हाराहारी छ, जुन विश्व स्वास्थ्य संगठनद्वारा निर्धारण गरिएको सुरक्षित सीमाभन्दा १० गुणा धेरै हो। संगठनका अनुसार २४ घण्टामा पीएम २.५ को मात्रा १५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा धेरै हुनु जोखिमयुक्त हो। आँखाले नदेखिने यस्ता सूक्ष्म धूलोका कणहरू श्वासप्रश्वास प्रक्रियाद्वारा फोक्सोभित्र पसेर रगतमा मिसिन सक्ने र यसले दीर्घकालीन रूपमा श्वासप्रश्वास समस्या, मुटुरोग, हृदयाघात, फोक्सोको क्यान्सर सहितका रोग निम्त्याएर आयु घटाउने संगठनले बताउने गरेको छ।
सधैं अस्वस्थ हावा
हावामा पीएम २.५ को जोखिमलाई बुझाउन चुरोट सेवनसँग तुलना गरेर देखाइन्छ। हावामा दिनहुँ सरदरमा पीएम २.५ को मात्रा २२ माइक्रोग्राम प्रतिघनमिटर भएमा एक खिल्ली चुरोट तान्दा जति असर हुन्छ, त्यति असर हुने मानिन्छ। सन् २०२४ मा नेपालको हावामा आँखाले नदेखिने धूलोको कण पीएम २.५ सरदरमा ४२.८ माइक्रोग्राम प्रतिघनमिटर देखिएको थियो। अर्थात् हरेक दिन झन्डै दुई खिल्ली चुरोट ताने बराबर। पछिल्ला दिनको हावामा प्रदूषणको मात्रा त दैनिक सरदरमा सात खिल्लीभन्दा धेरै चुरोट ताने सरह छ।
यो वर्ष मात्र हावा अस्वस्थ भएको होइन। हरेक वर्ष हिउँद शुरू भएपछि वर्षा नलागुन्जेल नेपालीले अस्वस्थ हावामा श्वास फेर्नुपर्छ। आईक्यू एअरले गत महीना प्रकाशन गरेको सन् २०२४ को विश्व वायु गुणस्तर प्रतिवेदन अनुसार नेपाल संसारकै सबैभन्दा खराब हावा भएको देशको सूचीमा सातौं स्थानमा पर्यो। देशको राजधानी काठमाडौं त संसारका हावा खराब भएका १२१ राजधानी शहरमध्ये आठौं स्थानमा छ।
पछिल्लो सातादेखि वायु प्रदूषणको कुरा चर्को सुनिन थाले पनि वर्षभरिमा त्यस्ता दिन कमै छन्, जहाँ काठमाडौंवासीले स्वस्थ हावामा श्वास फेर्न पाएका हुन्। उदाहरणका लागि, सन् २०२४ मा खुमलटारस्थिर वायुको गुणस्तर मापदण्ड यन्त्रले ३५६ दिनको वायुको गुणस्तरको तथ्यांक संकलन गरेको छ, जसले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार त्यस क्षेत्रमा वर्षभरिमा एक दिन मात्र स्वस्थ हावा रहेको देखाउँछ।
विश्व स्वास्थ्य संगठनले स्वस्थ हावामा २४ घण्टामा सरदर १५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा बढी पीएम २.५ हुन नहुने मापदण्ड तय गरेको छ। एअर क्वालिटी इन्डेक्स प्रोजेक्टले राखेको तथ्यांकका अनुसार सन् २०२४ को २३ जुलाईमा खुमलटार क्षेत्रको हावामा पीएम २.५ को मात्रा सात मात्रै भए पनि बाँकी सबै दिन हावामा पीएम २.५ को मात्रा सो मापदण्डभन्दा धेरै अर्थात् अस्वस्थ रह्यो। अर्थात्, वर्षभरिमा एक दिन मात्र श्वास फेर्न लायक हावा थियो।

नेपाल सरकारले पनि स्वस्थ हावाको मापदण्ड तय गरेको छ, जस अनुसार २४ घण्टामा हावामा सरदर पीएम २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटरसम्मको हावालाई स्वस्थ मानिएको छ। यो मापदण्डका आधारमा हेर्दा सन् २०२४ मा खुमलटारमा ४१ दिन मात्र स्वस्थ हावा देखिन्छ, बाँकी दिनको हावा अस्वस्थ।
महाराजगन्जस्थित अमेरिकी दूतावासको वायु गुणस्तरको तथ्यांकले पनि यही स्थिति देखाउँछ। सन् २०२४ मा ३३९ दिनको हावाको गुणस्तरको रेकर्ड छ। जसमध्ये एक दिन (२६ जुलाई) मात्र महाराजगन्ज क्षेत्रमा पीएम २.५ को मात्रा १५ माइक्रोग्राम प्रतिघनमिटर छ। बाँकी सबै दिन अस्वस्थ हावा रहेको पाइएको थियो। नेपाल सरकारको मापदण्ड अनुसार महाराजगन्जमा वर्षभरिमा ३६ दिन स्वस्थ हावा रहे पनि बाँकी समय अस्वस्थ हावा थियो।
दूतावासको फोहोरा दरबार (कान्तिपथ)स्थित वायु गुणस्तर मापन यन्त्रले सन् २०२४ मा ३०७ दिनको तथ्यांक राखेकामा कुनै दिन पनि स्वस्थकर वायु थिएन। यस क्षेत्रमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार मात्रै होइन, नेपाल सरकारको मापदण्ड अनुसारको समेत स्वस्थ वायु थिएन। सबैभन्दा थोरै पीएम २.५ को मात्रा ४ अगस्टमा थियो, ४२ माइक्रोग्राम प्रतिघनमिटर।
भक्तपुरस्थित वीरेन्द्र स्कूलमा पनि सन् २०२४ भरिमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कुनै दिन स्वस्थ हावा रहेको देखिएन। सन् २०२४ को ३५० दिनको तथ्यांक उपलब्ध भएकामा १८ दिन मात्र नेपाल सरकारको मापदण्ड अनुसार वीरेन्द्र स्कूल क्षेत्रमा पीएम २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटरभन्दा तल थियो। बाँकी सबै दिन सो सीमाभन्दा माथि अर्थात् अस्वस्थ हावा थियो।
गत मध्य पुस अर्थात् सन् २०२५ शुरू भएयता त यी सबै स्थानमा कुनै दिन श्वास फेर्न लायक हावा छैन। विश्व स्वास्थ्य संगठनले तोकेको र नेपाल सरकारको मापदण्डभन्दा कैयौं गुणा अस्वस्थ छ, यी क्षेत्रको हावा। जस्तै- फोहोरा दरबार (कान्तिपथ) क्षेत्रकै उदाहरण हेरौं। सन् २०२५ शुरू भएयता हावामा सरदर पीएम २.५ को मात्रा दैनिक १७० माइक्रोग्राम प्रतिघनमिटर छ। यो विश्व स्वास्थ्य संगठनको मापदण्डको तुलनामा ११ गुणा धेरै हो भने नेपाल सरकारको मापदण्डको तुलनामा पनि चार गुणाभन्दा बढी।
दूषित पार्ने परिचित स्रोत
काठमाडौं र देशभरि श्वास फेर्ने हावालाई केले प्रदूषित बनाउँछ भन्ने पनि प्रस्ट नै छ। सवारीसाधन, इँटाभट्टा र कलकारखानाले निकाल्ने धूवाँ, खेतबारीमा काम नलाग्ने ठुटाठाटी तथा फोहोर जलाउँदा निस्कने धूवाँ तथा सीमापारिबाट प्रदूषण बोकेर आउने हावाले वर्षैभरि वायुलाई प्रदूषित पारिरहेका हुन्छन्। वर्षा लाग्नुअघिसम्म हावालाई बिखालु बनाउन अर्को मुख्य स्रोत पनि मिसिन्छ, वन डढेलोको धूवाँ। फागुन लागेपछि नेपालभरिका वनजंगलमा डढेलो सल्किन थाल्छन्, यो क्रम गर्मी चढेसँगै बढ्छ र मनसुन शुरू नहुँदासम्म कायम रहन्छ।
डढेलोबाट निस्किएको धूवाँकै कारण पछिल्ला दिनमा काठमाडौं सहित देशका अन्य भागमा हावाको गुणस्तर खस्किएको वातावरणविद् धर्मराज उप्रेती बताउँछन्। उप्रेतीका अनुसार डढेलोबाट निस्किएको धूवाँ कचौरा आकारको काठमाडौं उपत्यकामा थुनिएकाले हावाको गुणस्तर लगातार खस्किइरहेको छ। “प्रदूषण घट्न कि हावाको गति तीव्र भएर प्रदूषण बगाउनुपर्छ कि पानी पर्नुपर्छ, अहिले दुवै सम्भावना देखिएको छैन। त्यसैले थप केही दिन योभन्दा पनि बढी प्रदूषणको मार खेप्नुपर्ने हुनसक्छ,” उनी भन्छन्।
हरेक हिउँद जस्तै यस वर्ष पनि देशका वनजंगलमा डढेलो लागेको छ। यो क्रम बढ्दो छ। अमेरिकी अन्तरिक्ष संस्था नासाको अग्नि सूचना तथा व्यवस्थापन प्रणालीले पहिचान गरे अनुसार काठमाडौंको दक्षिण-पश्चिमतिरका क्षेत्रमा दर्जनौं स्थानमा डढेलो सल्किएको छ। नासाका भू-उपग्रहले ताप र धूवाँका आधारमा डढेलो लागेको स्थान पत्ता लगाएर ती स्थानलाई रातो थोप्लोमा देखाउँछन्। मध्य तराईको जंगल र काठमाडौंको दक्षिणमा रहेका पहाडमा सयौं राता थोप्ला देखिनुले डढेलोको घनत्व देखाउँछ।
नासाको मोडिज भू-उपग्रहको तथ्यांक अनुसार पछिल्लो साता नेपालका ४२७ स्थानमा डढेलो लागेको देखिएको छ। यो अघिल्लो साताका तुलनामा दोब्बरभन्दा धेरै हो। मार्च, अप्रिल र मे डढेलोका अत्यधिक घटना देखिने महीना हुन्। मोडिज भू-उपग्रहका अनुसार गत मार्चमा देशका ७७२ स्थानमा डढेलो सल्किएको छ। यो गत वर्षका तुलनामा धेरै हो। बितेको वर्षको मार्च महीनामा देशका ४६६ स्थानमा डढेलो लागेको देखिएको थियो।
यस वर्षको हिउँदमा औसतका तुलनामा निकै थोरै वर्षा भएको थियो। प्रिमनसुन अवधि शुरू भएको एक महीना नाघिसके पनि पानी परेको छैन। यसले गर्दा वनजंगलको चिस्यान घटेको छ, पातपतिंगर खङ्ग्रङ्ग भएका छन्, जसले गर्दा सहजै डढेलो विस्तार भइरहेको छ।
वायु गुणस्तर विज्ञ डा. भूपेन्द्र दास नेपालभित्र मात्र नभई भारतका विभिन्न स्थानमा लागेको डढेलोका साथै कृषि अवशेष जलाउँदा निस्किएको धूवाँ मिसिंदा प्रदूषण उच्च तहमा उक्लिएको बताउँछन्। दासका अनुसार अहिले किसानले माटोमा मल हुने अपेक्षामा कृषि बालीका ठुटाठाटी, पतिंगर, पराल आदि जलाउने क्रम बढ्छ। सीमा पारमा कृषि अवशेष जलाउँदा निस्किएको धूवाँ सोहोरिएर आउँदा वायु प्रदूषण बढ्ने उनको भनाइ छ।
त्यसैगरी, अहिले इँटाभट्टाको समेत धेरै उत्पादन गर्ने समय हो। सबै इँटाभट्टाले उत्पादन बढाएकाले बिखालु हावा थपिएको डा. दासको तर्क छ। काठमाडौं उपत्यकामा १०० हाराहारीमा इँटा उद्योग छन्।
महालेखा परीक्षकको कार्यालयको कार्यमूलक तथा विशेष लेखा परीक्षण प्रतिवेदन २०७७ अनुसार काठमाडौं उपत्यकामा ११२ इँटाभट्टा छन्, जसमध्ये अधिकांशले वातावरणमैत्री प्रविधि जडान गरेका छैनन्। न्यून गुणस्तरको कोइला, दाउरा आदि प्रयोग गर्ने यी इँटाभट्टाले हरेक हिउँदमा कालो मुस्लो धूवाँ हावामा छोड्दै आए पनि नियमन तथा स्थानान्तरणका लागि प्रभावकारी प्रयास भएको छैन।
काठमाडौंमा हावालाई दूषित पार्ने सबैभन्दा ठूलो स्रोत सवारीसाधनबाट निस्किने धूवाँ हो। काठमाडौं उपत्यकाको वायु प्रदूषणबारे एन्ना मुल, प्रकाश भावे, भूपेन्द्र दास सहितले सन् २०१७ मा गरेको अध्ययनले १२ हजार ३९ सवारीसाधनमध्ये ३५ प्रतिशतले देखिने गरी कालो धूवाँ फाल्ने गरेको पाइएको थियो। यो अहिले पनि उस्तै छ।
वातावरण विभागले गत मंसीर २० देखि माघ ७ गतेसम्म काठमाडौंमा गरेको छड्केजाँचमा ५१९ सवारीसाधनमध्ये १६६ फेल भएका थिए। अर्थात् ३२ प्रतिशत कालो धूवाँ फाल्ने गरेको देखाएको थियो।
काठमाडौं उपत्यकामा मनसुनपूर्वको वायु प्रदूषणबारे मोहम्मद रोबिउल इस्लाम, अरनिको पाँडे, महेश्वर रुपाखेती सहितका अनुसन्धाताले सन् २०२० मा प्रकाशन गरेको अध्ययनले वायु प्रदूषण हुनुमा मर्मत नगरी चलाइएका सवारीसाधनलाई मुख्य कारण मानेको थियो। यस अध्ययनले वायुमा पीएम २.५ प्रदूषण बढाउन फोहोर जलाउँदा निस्किने धूवाँ र सवारीसाधनको उत्सर्जनको १८/१८ प्रतिशत, बालीनालीका ठुटा/पराल जलाउँदा तथा डढेलोबाट निस्किने धूवाँको १७ प्रतिशत योगदान रहेको देखाएको थियो।
नेपालमा दर्ता भएका सवारीसाधनको संख्या ५० लाख नाघिसकेको छ। २०५६ सालदेखि काठमाडौं उपत्यकामा गाडी जाँच गरेर धूवाँ कम फाल्नेलाई उत्तीर्ण भएको जनाउने हरियो स्टिकर दिने व्यवस्था थालेको थियो। नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ अनुसार चारपांग्रे सवारीसाधनले हरेक वर्ष सवारीको धूवाँ जाँच गराउनुपर्छ। जाँचमा उत्तीर्ण नभए सवारी गुडाउन नपाउने, जरिवाना गरिने सहितका व्यवस्था छन्। तर उपत्यकामा गुड्ने सबै सवारीसाधनले नियमित धूवाँ जाँच गराउँदैनन् भन्ने हरियो स्टिकर लिने सवारीसाधनको संख्याले बताउँछ।
हिमालखबरले धूवाँ जाँच गर्ने चार वटा सरकारी कार्यालयबाट आर्थिक २०७९/८० मा धूवाँ जाँचको तथ्यांक संकलन गरेको थियो, जसमा काठमाडौंमा एक लाख १३ हजार ३३० सवारीसाधनले धूवाँ जाँच गराएर हरियो स्टिकर लिएको देखिएको थियो। काठमाडौं उपत्यकामा तीन लाखभन्दा बढी चारपांग्रे सवारीसाधन सञ्चालनमा रहेको अनुमान भए पनि नियमित धूवाँ जाँच गराएर हरियो स्टिकर लिने सवारीको संख्या तीन भागको एक भाग जति मात्र छ।
शहरी क्षेत्रमा वायुमण्डललाई सास फेर्नै कठिन बनाउने अर्को मुख्य कारण फोहोर जलाउँदा निस्किने धूवाँ पनि हो। राष्ट्रिय तथ्यांक कार्यालयले सन् २०२२ मा गरेको अध्ययनले देशका नगरपालिकामा बर्सेनि १० लाख टन फोहोर उत्पादन हुने र यसमध्ये २२ हजार ७५ टन जलाइने गरेको देखाएको थियो। वातावरण विभागको सन् २०२० को वेस्ट म्यानेजमेन्ट बेसलाइन सर्भेले ३२.१ प्रतिशत नगरपालिकाले संकलित फोहोर जलाउने गरेको देखाएको थियो।
गाउँ-देहातमा किसानले अनाज काटेपछिका ठुटा, पराल जलाउने प्रवृत्ति त झनै ठूलो छ। राष्ट्रिय कृषि गणना, २०७८ मा देशका ४२.४ प्रतिशत वडामा कृषि कार्यबाट निस्किएको फोहोर जलाउने गरेको उल्लेख छ।
भौगोलिक स्थितिले पनि काठमाडौंको हावाको गुणस्तर बिगार्न सहयोग गर्छ। हिउँदमा नेपालमा पश्चिमी वायुको प्रभाव हुन्छ, जसले सीमापार भारतको प्रदूषण समेत बोकेर उपत्यकाको पश्चिमी क्षेत्रबाट हावा प्रवेश गर्छ। यसरी आएको हावा साँगा भन्ज्याङ हुँदै बाहिरिएर पूर्व लाग्छ। तर यति वेला हावाको गति कमजोर भएकाले उपत्यकामा हावाको प्रसार कम छ, जसले गर्दा प्रदूषण बाहिरिन पाएको छैन।
प्रदूषण भरिएको चिसो हावाको तह जमीनको सतह नजीक र तातो हावाको तह माथि हुने कारणले गर्दा घाम लागेर नतातुन्जेल अर्थात् चिसो हावा तातेर माथि नजाउन्जेल प्रदूषण अझ बढी हुनजान्छ। यसले प्रदूषण भरिएको भाँडोमा ढक्कन लगाए जस्तो स्थिति निम्त्याउँछ।
मरणको कारण
अमेरिकाको युनिभर्सिटी अफ सिकागोले हरेक वर्ष एअर क्वालिटी लाइफ इन्डेक्स प्रतिवेदन सार्वजनिक गर्दै वायु प्रदूषणले औसतमा मानिसको आयु कति घटाइरहेको छ भन्ने तथ्यांक सार्वजनिक गर्छ। सन् २०२२ को संसारभरिको वायु गुणस्तरको तथ्यांकमा आधारित यसको पछिल्लो प्रतिवेदनका अनुसार वायु प्रदूषणका कारण सरदरमा नेपालीको आयु ३.३५ वर्ष घटिरहेको छ।
अर्को तरीकाबाट भन्दा, विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार हावाको गुणस्तर कायम हुने हो भने नेपाली अहिलेभन्दा सरदरमा ३.३५ वर्ष बढी बाँच्छन्। संसारमै वायु प्रदूषणका कारण आयु धेरै घट्ने देशमा नेपाल तेस्रो हो। नेपालभन्दा भारत र बाङ्लादेशका मानिसको आयु वायु प्रदूषणले बढी खाइरहेको छ।
नेपालभित्रै पनि वायु प्रदूषण एकनास छैन, ठाउँपिच्छे फरक छ। त्यसैले यसको प्रभाव पनि फरक फरक छ। सबैभन्दा धेरै मधेश प्रदेशमा बस्ने व्यक्तिको आयु वायु प्रदूषणका कारण सरदरमा ५.०८ वर्ष घटिरहेको छ भने लुम्बिनीमा ३.६८ वर्ष घटिरहेको छ। बागमती प्रदेशमा बस्नेको आयु औसतमा २.५८ वर्षले घट्दा सबैभन्दा थोरै कर्णालीमा बस्नेको आयु १.७८ वर्ष मात्रै घटेको छ।
जिल्लागत रूपमा हेर्दा सबैभन्दा धेरै रौतहटका बासिन्दाको आयु सरदरमा वायु प्रदूषणका कारण ५.३३ वर्ष घटेको छ। त्यसैगरी, महोत्तरीमा बस्नेको ५.२६ वर्ष घटिरहेको छ। काठमाडौंमा बस्नेको आयु प्रदूषणले २.५८ वर्ष खोसिरहेको छ। देशका ७७ जिल्लामध्ये हुम्लामा सबैभन्दा थोरै वायु प्रदूषण छ, यहाँका नागरिकको आयु वायु प्रदूषणका कारण सरदरमा १.१ वर्ष मात्र घटेको छ।
धूवाँ-धूलोका नदेखिने कण भएको विषाक्त हावाको देखिने प्रभाव डरलाग्दो छ। वायु प्रदूषणले निम्त्याउने रोग नेपालीका लागि मृत्युको मुख्य कारणमध्ये एक बन्न थालिसकेको सन् २०१९ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रकाशन गरेको ‘बर्डन अफ डिजिज्’ रिपोर्टमा उल्लेख छ। प्रतिवेदन अनुसार कुल मरणको १६.३ प्रतिशत श्वासप्रश्वास सम्बन्धी रोगका कारण हुने गर्छ।
त्यसैगरी, कुल मरणमध्ये २४ प्रतिशत मुटुरोग र १२.३ प्रतिशत हृदयाघातबाट हुन्छ। मुटु सम्बन्धी तथा हृदयाघात जस्ता रोगबाट मर्नेमध्ये ४५ प्रतिशत वायु प्रदूषणबाट सिर्जित समस्याका कारण भएको प्रतिवेदनले औंल्याएको छ। विश्व स्वास्थ्य संगठनले हरेक वर्ष नेपालमा ३७ हजार जनाको ज्यान वायु प्रदूषण (घरभित्र र बाहिरको) का कारण हुने गरेको औंल्याएको छ।
अब प्रश्न उठ्छ, यति ठूलो जनस्वास्थ्यको महामारी निम्त्याउने वायु प्रदूषण रोक्न सरकारले के गरिरहेको छ? काठमाडौं उपत्यकाको वायुको गुणस्तरबारे प्रश्न उठेपछि मन्त्रिपरिषद्ले २०७६ सालमै ‘काठमाडौं उपत्यकाको वायुको गुणस्तर व्यवस्थापन कार्ययोजना’ बनाएको थियो। कार्ययोजनामा सवारीसाधनको उत्सर्जन घटाउन एक वर्षभित्र सवारीसाधनको प्रदूषण मापदण्ड ‘यूरो-४’ लागू गर्ने, फोहोर जलाउन रोक्ने, डिजेलबाट चल्ने सवारीमा फिल्टर प्रयोग गर्नुपर्ने व्यवस्था लागू गर्ने सहितका बुँदा समेटिएका थिए। तर पाँच वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आएका छैनन्।
सवारीसाधनबाट हुने प्रदूषण उत्सर्जन नियन्त्रण गर्न भारतले सन् २०२० देखि नै ‘यूरो-६’ मापदण्ड बराबरको ‘बीएस-६’ मापदण्ड अपनाइसकेको छ। नेपालमा भने अहिलेसम्म सवारीसाधनमा ‘यूरो-३’ मापदण्ड नै कायम छ। व्यवसायीको दबाब र राजनीतिक स्वार्थले मापदण्ड परिवर्तन गरी वातावरणमैत्री पेट्रोलियम सवारीसाधन ल्याउने विषय ओझेल परेको छ। अर्कातिर, कालो धूवाँ फाल्दै अनियन्त्रित रूपमा दौडने बस तथा ट्रकमा लगाम लागेको छैन। २० वर्ष पुराना सवारीसाधन हटाउने निर्णय कार्यान्वयन भएको छैन।
काठमाडौं उपत्यकाको वायु प्रदूषण घटाउन वन तथा वातावरण मन्त्रालयले २०७४ माघ ८ मा इँटा उद्योगबाट निस्किने धूवाँ र चिम्नीको उचाइ सम्बन्धी मापदण्ड अघि सारेको थियो। तर कति इँटा उद्योगले मापदण्ड अनुसार चिम्नीबाट निस्किने धूलोको कणको मात्रा (सस्पेक्टेड पार्टिकुलेट म्याटर) पालन गर्छन् भनी अनुगमन गरिएको छैन। इँटाभट्टा सञ्चालन अनुमति सम्बन्धी मापदण्डमा बस्ती र जंगलको एक किलोमिटरभित्र चलाउन नपाइने, वरपर धूलोरहित सडक र हरियाली बनाउनुपर्ने व्यवस्था भए पनि लागू भएका छैन। उपत्यकाका अधिकांश भट्टा बस्तीकै बीचमा छन्।
पेट्रोलियम पदार्थको उपयोगमा सरकारले कर थपेर निरुत्साहित गर्न पनि खोजेको छ। पेट्रोल र डिजेलमा प्रतिलिटर ५० पैसा प्रदूषण नियन्त्रण शुल्क लिने गरिएको छ। यस बापत हरेक वर्ष कम्तीमा तीन अर्ब रुपैयाँभन्दा बढी जम्मा हुन्छ। तर यो रकम छुट्टै कोषमा जम्मा गरेर प्रदूषण न्यूनीकरणमा खर्चिने गरिएको छैन।
वातावरणविद् डा. उत्तमबाबु श्रेष्ठ वायु प्रदूषण रोक्न फिटिक्कै संवेदनशीलता नदेखिएको बताउँछन्। डा. श्रेष्ठ भन्छन्, “सरकारसँग प्रदूषण नियन्त्रणका लागि बजेट छ, नीतिनियम छन्, यसका लागि काम गर्ने निकायहरू छन्, तर प्रदूषण नियन्त्रणका विषयमा खेलाँची गरियो। बरु सन् १९९० को दशकमा प्रदूषण रोक्न हामी बढी संवेदनशील थियौं।”
काठमाडौंमा सवारीसाधनले गर्ने प्रदूषणमध्ये ६० प्रतिशतभन्दा धेरै प्रदूषण ठूला ट्रक, बस जस्ता दुई प्रतिशत सवारीसाधनबाट निस्किन्छ। यस्ता सवारीसाधनको नियमित जाँच गरी धूवाँ फाल्नेलाई रोक्नुपर्ने काम हुन सकेको छैन। डा. श्रेष्ठ भन्छन्, ‘‘प्रदूषण मापदण्ड बनेको छ, कारबाही गर्ने कानून पनि बनेको छ, तर धूवाँका मुस्लो छोड्ने गाडीहरू निर्बाध गुड्छन्, कसैलाई चासो नै नभए जस्तो देखिन्छ।”
उनी सवारीसाधनको नियमित मर्मतसम्भार गराउने बाध्यकारी प्रबन्ध गराए मात्रै पनि प्रदूषण नियन्त्रणमा ठूलो योगदान पुग्ने बताउँछन्।
वायु गुणस्तर विज्ञ डा. दास वायु प्रदूषण नियन्त्रणका लागि प्रभावकारी काम हुन नसकेको बताउँछन्। उनी वायु प्रदूषणका स्रोतका रूपमा रहेका कृषि अवशेष, फोहोर बाल्न नियन्त्रण गर्ने तथा डढेलो लगाउने काम निरुत्साहित गर्न योजनाबद्ध काम गर्नुपर्ने बताउँछन्। जोखिम भएका क्षेत्रमा निगरानी बढाउने, वायु प्रदूषण निम्तिने घर र क्षेत्रको नक्शांकन गरी प्रदूषण नियन्त्रणको उपाय अघि सार्ने, जनचेतना बढाएर प्रदूषणका स्रोतलाई घटाउनुपर्ने काम आवश्यक भएको दासको भनाइ छ। “वायु प्रदूषण नियन्त्रणका लागि सरकार मात्र होइन, निजी क्षेत्र, समुदाय, अनुसन्धानकर्मी र सबै सरोकारवालाबीच समन्वय चाहिन्छ, प्रदूषण आपत्कालीन अवस्थामा पुगेमा के गर्ने भन्ने विस्तृत योजना चाहिन्छ,” उनी भन्छन्।
वातावरणविद् डा. उप्रेती प्रदूषणको प्रभाव कम हुन दिन भवन निर्माण संहितामै नयाँ घर बनाउँदा वायु प्रदूषण नियन्त्रक फिल्टर राख्नुपर्ने विषयमा पनि सोच्नुपर्ने तर्क गर्छन्। उनी वायु प्रदूषणको तह कति पुगेकामा के गर्ने भन्ने प्रस्ट दृष्टिकोण र मापदण्ड तयार गर्नुपर्ने बताउँछन्। “वायु गुणस्तर सूचकांक २०० वा ३०० नाघे के गर्ने भनेर मापदण्ड बनाउनुपर्छ,” उप्रेती भन्छन्, “आपत्कालीन अवस्थामा बस र ट्रक चलाउ रोक्ने, स्कूल, कलेज बन्द गर्ने, अन्य के के उपाय गर्न सकिन्छ भनेर प्रस्ट खाका बनाउनुपर्छ।”
वातावरणविद् डा. श्रेष्ठ प्रदूषणको स्थिति खतरनाक तहमा उक्लिइसक्दा पनि सरकारले ‘प्रदूषण हुने काम नगर्नू’ भन्ने विज्ञप्ति निकालेर बस्नु दिक्कलाग्दो भएको बताउँछन्। उनी धेरै प्रदूषण गराउने ठूला सवारी आवागमन रोक्ने, जोर-बिजोर लागू गर्ने तथा साना बालबालिकालाई दूषित हावाको असर कम पार्न विद्यालयको चौरमा नखेलाउन निर्देशन दिने जस्ता काम तदारुकताका साथ गर्नुपर्ने बताउँछन्। डा. श्रेष्ठ भन्छन्, “यस्तो संकटको वेला पनि सरकारले पानी पर्ला वा हावा आएर धूलो-धूवाँ हटाउला भनेर हेरेर बस्न मिल्दैन।”
मौसमविद् विनोद पोखरेलका अनुसार आगामी साताको मंगलबारदेखि एक सातासम्म वर्षाको सम्भावना देखिएको छ। प्रि मनसुनी वर्षाले धूलो-धूवाँ नपखालुन्जेलसम्म अहिलेको घातक प्रदूषण बेहोरिरहनुपर्नेछ।