नेपाल शिक्षक महासंघले आन्दोलनमा सहभागी शिक्षकहरूलाई जथाभावी फोहोर नफाल्न निर्देशन दिएको छ।
महासंघले चैत २० देखि सडकमा कागज तथा अन्य फोहोर नफाल्न शिक्षकहरूलाई निर्देशन दिएको छ। महासंघले एक महीनादेखि गर्दै आएको धर्ना, रिले अनशन लगायत आन्दोलन भोलिदेखि सडककेन्द्रित हुने भएको छ।
‘आन्दोलन परिसरमा बोटबिरुवा, दुबो, ट्राफिक डिभाइडर तथा अन्य भौतिक तथा जैविक वस्तुको सुरक्षा गर्नुपर्नेछ। आफूले खाएको पानीको बोतल, खाजा खाँदाको सामग्री लगायत फोहोरजन्यवस्तु आफैंसँग राखी फोहोर फाल्ने स्थानमा लगेर फाल्नुपर्नेछ,’ विज्ञप्तिमा भनिएको छ।
नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापा पछिल्लो समय आन्दोलन तथा सभासम्मेलनका क्रममा गरिएको फोहोरको विषयमा काठमाडौं महानगरले सम्बन्धित आयोजकलाई जरिवाना तिराउने गरेकाले यस्तो निर्देशन दिएको बताउँछन्। “महानगरपालिकाले जरिवाना तिराउँछ, सचेत हुनका लागि शिक्षकहरूलाई जथाभावी फोहोर नफाल्न निर्देशन दिएका हौं,” उनले भने।
स्थायी, राहत, साविक उच्च मावि, अस्थायी, करार, बालविकास, सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार, निजी तथा संस्थागत विद्यालयका शिक्षक लगायत सबैखाले शिक्षक र विद्यालय कर्मचारी लगायतका समस्यालाई विद्यालय शिक्षा विधेयकमा समेटिनुपर्ने महासंघको माग छ।
अर्को, यो हिउँदे अधिवेशनमा संसद्बाट जसरी पनि विद्यालय शिक्षा विधेयक पास हुनुपर्ने प्रमुख माग थियो। संसद्को हिउँदे अधिवेशन आज अन्त्य भएको छ। महासंघका महासचिव थापा सरकारले हिउँदे अधिवेशन वैशाख १० गतेसम्म जाने बताए पनि पहिला नै अन्त्य भएकाले सडकमा आउनुपरेको बताए।
त्यस्तै, आन्दोलनमा सहभागी हुँदा शिक्षक-कर्मचारीका लागि तोकिएको पोशाक र विद्यालयको परिचयपत्र अनिवार्य गरिएको छ। हरेक जिल्लाले आफ्नो प्रदेश अन्तर्गत तोकिएको ठाउँमा बस्नुपर्ने उल्लेख गरेको छ। बागमती र कोशी प्रदेशका शिक्षकलाई माइतीघर मण्डलतिरबाट, लुम्बिनी र गण्डकी प्रदेशका शिक्षकलाई एभरेस्ट होटलतिरबाट र मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका शिक्षकलाई बीच भागबाट निस्किन महासंघले निर्देशन दिएको छ।
फागुन २४ गते दोस्रो चरणको आन्दोलनको घोषणा गरिएको थियो। यसअघि पहिलो चरणको आन्दोलन माघ १८ देखि शुरू भएको थियो।