राजावादीको प्रदर्शन हिंसात्मक
राजावादीले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेको छ भने दुई जनाको ज्यान गएको छ।
नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले तीनकुनेमा प्रदर्शन गरेको हो। त्यसका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जनपरिचालनको जिम्मेवारी दिइएको थियो। प्रसाईंले उक्साएपछि प्रदर्शन हिंसात्मक बनेको हो। तीनकुनेस्थित कम्प्लेक्समा प्रदर्शनकारी आगो लगाउँदा भिडिओ खिचिरहेका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको छ। प्रदर्शनकारीले कम्प्लेक्समा आगो लगाएपछि चौथो तलामा रहेका रजक बाहिर निस्किन सकेका थिएनन्। त्यस्तै, प्रदर्शनका क्रममा घाइते भएका कीर्तिपुरका सबिन महर्जनको मृत्यु भएको छ। उनको उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। राजावादी प्रदर्शनकारीले तीनकुने लगायत आसपासको क्षेत्रमा आगजनी गरेका छन्। उनीहरूले निजी घर र सवारीसाधनमा समेत आगो लगाएका हुन्।