भोज खान घर आइपुग्छु भनेका थिए, भिडिओ खिच्दाखिच्दै बिते
काम भनेपछि मरिहत्ते गर्ने र जोखिममा काम गर्न रुचाउने पत्रकार सुरेश रजकको राजावादीको हिंसात्मक प्रदर्शनमा जोखिमपूर्ण रूपमा काम गर्दागर्दै आगजनीमा परेर ज्यान गयो।
चैत १५ गते शुक्रबार सुजनी मगिया काठमाडौंको चन्द्रागिरि नगरपालिका-४, गोदामस्थित घरमा पारिवारिक भोजको तयारीमा व्यस्त थिइन्। श्रीमान् सुरेश रजक अफिस जान लाग्दा उनले भोज भएकाले ‘चाँडै आउनू’ भनेकी थिइन्।
एभिन्यूज टेलिभिजनमा क्यामेरापर्सन रहेका सुरेश तीनकुने क्षेत्रमा राजावादीहरूको प्रदर्शनको भिडिओ खिच्न जाँदै थिए। तर ‘छिटै आइपुग्छु’ भनेर गएका उनी कहिल्यै नफर्कने गरी अस्ताए। आन्दोलनको दृश्य खिचिरहेको वेला उनी राजावादी समूहले आगो लगाएको भवनमा जलेर बिते। भवनको च्यानल गेटमा ताला लगााइएका कारण उनी आगजनीबाट उम्किन सकेनन्।
तर सुरेशको मृत्यु भएकोबारे सुजनीले त्यही दिन थाहा पाइनन्। मृत्युको घटना परिवारले उनीबाट लुकाएको थियो। “उहाँ दुर्घटनामा परेको र अस्पताल लगिएको कुरा शुक्रबार साँझ ६ बजेतिर जेठाजुले बताउनुभएको थियो। मैले अस्पताल जान्छु भन्दा पनि उपचार चलिरहेको भन्दै घरका सबैले रोक्नुभयो,” उनले भनिन्।
दुर्घटनामा परेको सुनेपछि उनले आत्तिएर श्रीमान्लाई फोन गरिन्। फोन अफ थियो।
शुक्रबार प्रदर्शनका क्रममा राजावादीहरूले तीनकुने–कोटेश्वर क्षेत्रमा विध्वंस मच्चाएको र आगजनीमा एक पत्रकारको मृत्यु भएको खबर दिउँसोदेखि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाइसक्दा पनि घटनाबारे सुजनी बेखबर थिइन्। किनकि पारिवारिक भोजका लागि पकाइतुल्याइ गर्न जुटेकी उनलाई फोन हेर्नेसम्म फुर्सद थिएन।
परिवारले अस्पताल जान समेत रोकेका कारण उनको मनमा चिसो पसिसकेको थियो। त्यस्तो नराम्रो केही नभएको होस् भनेर कामना गरिरहिन्। तर त्यो कामनाको अर्थ भएन। शुक्रबार घटनास्थलमै ज्यान गुमाएका श्रीमान्को मृत्यु भएको पुष्ट जानकारी उनले भोलिपल्ट शनिबार साँझ मात्र पाइन्।
त्यसयता सुजनीको शरीर शिथिल छ। आँखा ओभाएका छैनन्। “मेरो त सबै सकियो,” उनले भक्कानिंदै भनिन्।
सुरेश बितेपछि परिवारका सबै सदस्य काठमाडौं महानगरपालिका–१३, ताहाचलस्थित यागलमा रहेको पुरानो घरमा आएका छन्। चार दिनयता रजक परिवार शोकमा डुबेको छ।
भाइ जलेको घरको भिडिओ खिच्दै थिए दाइ
एक दिदी र तीन दाजुभाइमा सुरेश सबैभन्दा कान्छा थिए। माइला दाइ दिनेश पनि सञ्चारकर्मी हुन्। उनी लोकपथ डटकममा सिनियर क्यामेरापर्सनका रूपमा काम गर्छन्।
सामान्य परिवारका भएकाले रजक दाजुभाइले धेरै लेखपढ गर्न सकेनन्। जेनतेन कक्षा १२ सम्म पढेपछि उनीहरूको अध्ययन टुंगिएको थियो। २०६० सालमा बुबा बितेपछि भाइहरूको जिम्मा जेठा दाजु रमेशको काँधमा आइलाग्यो। तर नेपाली प्रहरीका जागीरे रहेका रमेशको कमाइबाट परिवार धान्न धौधौ थियो।
सुरेश रोजगारीका लागि मलेशिया गए। त्यहाँ दुई वर्ष बसेका उनी आमा बितेपछि नेपाल फर्केका थिए। त्यसपछि खाली बसिरहेको अवस्थामा मिडियामा काम गरिरहेका माइला दाइ दिनेशले २०७४ सालतिर उनलाई भिडिओमा काम गर्न सुझाव दिएका थिए।
सुरेशले शुरूमा माउन्टेन टेलिभिजनमा काम गरे। त्यसपछि केही समय हिमालय टेलिभिजनमा काम गरेका उनी सात वर्षयता एभिन्यूज टेलिभिजनका क्यामेरापर्सन थिए।
शुक्रबार बिहान दिनेश र सुरेश आआफ्नो अफिस जान घरबाट एकसाथ निस्किएका थिए। दिनेशका अनुसार भोज खान चाँडै घर फर्कने सल्लाह उनीहरूबीच भएको थियो। तीनकुनेमा राजावादीको प्रदर्शन भएकाले भिडिओ खिच्न जाँदा दाजुभाइको भेट उतै हुने भन्दै उनीहरू छुट्टिएका थिए।
आन्दोलन शुरू हुनै लाग्दा दिनेश तीनकुने पुगेका थिए। दाजुभाइ त्यहीं भए पनि दुवैको भेट भएको थिएन।
दिनेशका अनुसार दिउँसो ४ बजेको आसपासमा दनदनी बलिरहेको भवनको भिडिओ खिचिरहेका उनलाई सहकर्मीले त्यस भवनभित्र कोही पत्रकार भएको सुनाए।
उनले हतारिंदै भाइ सुरेशलाई फोन गरे। फोन अफ थियो। एभिन्यूज टेलिभिजनमै काम गर्ने भान्जा राजेशलाई फोन गरेर सुरेशका बारेमा सोधे। उनले सुरेश सम्पर्कविहीन भएको सुनाए।
दिनेशको दिमाग शून्य भयो। भीडमा थचक्क बसे।
“मैले त केही सोच्नै सकिनँ। वाक्य फुटेन। चिच्याउन, रुन पनि सकिनँ,” दिनेश भन्छन्।
चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनकारीले व्यावसायिक भवनमा गरेको आगजनी। यही आगोमा जलेर एभिन्यूज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजकको मृत्यु भयो। तस्वीर : सुमन नेपाली/हिमालखबर
केहीबेरमा उठेर भाइको खोजी गर्न थाले। एभिन्यूजमा काम गर्ने अरू साथीलाई फोन गरे। तर सुरेश कहाँ छन् भन्ने कसैलाई थाहा थिएन।
तीनकुने क्षेत्रमा एभिन्यूज टीभीको टोली नै रिपोर्टिङमा खटिएको थियो। सबैले सुरेश नभएको हल्लाखल्ला गर्न थाले।
दिनेशले घाइते भएर भाइलाई कतै अस्पताल पुर्याइयो कि भनेर विभिन्न अस्पतालमा फोन गरी बुझ्न थाले। “अस्पतालमा फोन गरेर कोही पत्रकार घाइते भएर आएको छ कि भनेर सोध्दा कसैले पनि छैन भने। त्यसपछि आगो लगाइएको भवनमा भएको भनिएको पत्रकार मेरो भाइ नै हो कि भन्ने लाग्यो,” उनी भन्छन्।
केहीबेरमा आगोमा जलेर सुरेश रजकको मृत्यु भएको खबर सामाजिक सञ्जाल हुँदै सञ्चारमाध्यममा फैलिन थाल्यो। त्यसपछि उनी आफ्नै सामु भाइको ज्यान गएको घटनाप्रति विह्वल भए।
“मैले जुन घरको भिडिओ खिचिराखेको थिएँ, त्यही घरमा मेरो भाइ जलिरहेको रहेछ,” उनी भक्कानिन्छन्, “जीवनको यस्तो पीडादायी अवस्था कसरी भुल्न सकिएला!”
बुहारी (सुरेशकी श्रीमती)ले सोधे के भन्ने, उनीसँग जवाफ छैन। अहिलेसम्म बुहारीलाई मुख देखाउन सकेका छैनन्।
घटनाबारे सुनाउने क्रममा भक्कानिएका दिनेश रजक।
‘हारगुहार गर्दा पनि प्रहरी–प्रशासनले सुनेन’
सुरेशको ज्यान गएको चार दिन भइसक्दा सोमबारसम्म त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको शवको पोस्टमार्टम गरिएको छैन। घटनाबारे सत्यतथ्य छानबिन नहुँदासम्म शव नबुझ्ने परिवारको अडान छ। हिंसात्मक घटनाको छानबिनका लागि आयोग गठन हुनुपर्ने, दोषीलाई कारबाही र काममा खटिएको पत्रकारलाई मारिएकाले शहीद घोषणा गरिनुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग छ।
घटनाको दिन सुरेशले तीनकुनेस्थित भवनको चौथो तलाको एक कोठामा फोटो र भिडिओ खिचिरहेको फूटेज सामाजिक सञ्जालमा आइरहेका छन्। त्यही भवनमा आगजनी गरिंदा उनको मृत्यु हुन पुग्यो।
दिनेशका अनुसार राजावादी प्रदर्शनकारीले सहकारीको कार्यालयमा गरिरहेको तोडफोडको भिडिओ खिच्न सुरेश त्यस भवनमा पसेका थिए। उनले भिडिओ खिचिरहेको समयमा प्रदर्शनकारीले तल्लो तलामा आगजनी गरेका थिए, जुन सम्भवतः उनलाई थाहा भएन।
तीनकुनेमा रहेका पत्रकारहरूले आगो लागेको भवनमा सञ्चारकर्मी रहेको भन्दै हारगुहार गर्दा पनि प्रहरी प्रशासनले नसुनेको दिनेशको आरोप छ। “सबैले भित्र मान्छे छ भनिरहेका थिए। बचाउन आग्रह गर्दा पनि प्रहरी आएन,” उनी भन्छन्। प्रहरी घटनास्थलमा समयमै आइदिएको भए भाइलाई बचाउन सकिन्थ्यो भन्ने उनलाई लाग्छ।
जोखिम मोल्ने पत्रकार
सुरेश र सुजनीले लामो समयको प्रेमसम्बन्धपछि सात वर्षअघि विवाह गरेका थिए। सुरेश पत्रकारिता पेशामा लागेको सुजनीलाई फिटिक्कै मन परेको थिएन। उनको नियमित रूपमा तलब आउँदैनथ्यो। त्यसैले यो काम छाड्न सुजनीले भन्दै आए पनि उनले मानिरहेका थिएनन्। आफ्नो पनि जागीर भएकाले जेनतेन घरखर्च टरेको सुजनीले बताइन्।
अफिसको काम भनेपछि सुरेश मरिहत्ते गर्थे। साप्ताहिक बिदाको दिन अफिस जान्थे। समयमा घर कहिल्यै आउँदैनथे। सधैं काम भनिरहने उनको बानीदेखि सुजनी दिक्क थिइन्। उनी यो पेशा नै यस्तै हो भनेर टारिदिन्थे।
सुजनीका अनुसार केही वर्षअघि नयाँ बानेश्वरमा भएको एमसीसी विरुद्धको आन्दोलनको भिडिओ खिच्ने क्रममा उनी घाइते भएका थिए। मुखमा चोट लागेका उनलाई टाँका लगाउनुपरेको थियो। “त्यस वेला पनि काम छाड्नुस् भनेकी थिएँ, तर सुन्नुभएन,” उनी भन्छिन्।
दिनेशको भनाइमा सुरेश जस्तोसुकै जोखिममा पनि काम गर्ने आँटिला थिए। अरूभन्दा फरक तरीकाले फोटो र भिडिओ खिच्ने प्रयास गर्थे। शुक्रबारको प्रदर्शनको वेला पनि सम्भावित जोखिमप्रति बेपरवाह भएर उनी एकचित्तले फोटो र भिडिओ खिचिरहेको सामाजिक सञ्जालमा आएका भिडिओमा देखिन्छ। जोखिम मोलेर काम गर्ने भएकै कारण उनले २०७९ सालको हेम–सुनील जोखिमपूर्ण पत्रकारिता पुरस्कार पाएका थिए।
२०७९ सालमा हेम–सुनील जोखिमपूर्ण पत्रकारिता पुरस्कार ग्रहण गर्दै सुरेश रजक।
शुक्रबारको प्रदर्शनका क्रममा राजावादीले गरेको आगजनीमा रजकको मृत्यु भएको र सञ्चारमाध्यममा आक्रमण गरिएको भन्दै नेपाल पत्रकार महासंघले विरोध गरेको छ। घटनाबारे छानबिन गरी हत्यामा संलग्नलाई कारबाही गरिनुपर्ने महासंघको माग छ।
यसैबीच, सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सुरेशका परिवारजनसँग भेटेर घटनाबारे छानबिन गरी दोषीलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
यो पनि पढ्नुहोस्