कसले बेहोर्छ निजी सम्पत्तिको क्षतिपूर्ति?
प्राय: आन्दोलनका क्रममा प्रदर्शनकारीले सरकारी सम्पत्तिलाई निशाना बनाउँछन्, तर यस पटक राजावादीले निजी सम्पत्तिमा क्षति पुर्याएका छन्। अब कसले बेहोर्छ त्यसको क्षतिपूर्ति?
सात महीनाअघि मात्र धनुषाको मिथिला नगरपालिका-११ का टीकाबहादुर बरुवालले रोयल हेल्थ स्पा खोलेका थिए, काठमाडौंको तीनकुनेमा। सडकछेउकै भवनको तेस्रो तलामा ३० लाख रुपैयाँमा सञ्चालन गरेको स्पा राम्रै चल्दै थियो। उनी खुशी थिए। व्यवसाय बढाउने सपना पनि देखेका थिए।
एकाएक उनको सपना भताभुंग भएको छ। “कति मिहिनेत गरेर स्पालाई राम्रो बनाएको थिएँ,” बरुवाल निराश हुँदै भन्छन्, “मेरो त सर्वस्व सकियो, अब कसरी पहिलेको अवस्थामा फर्काउने! सोच्नै सकेको छैन।”
उनको स्पा तीनकुनेको त्यही ठूलो घरको आडमा थियो, जहाँ चैत १५ गते राजावादीले आगजनी गरेका थिए। आगजनीमा परेर पत्रकार सुरेश रजकको ज्यान गएको थियो। आगो निभाएकाले स्पामा त सर्न पाएन, तर ढुंगामुढा र तोडफोडले क्षति पुग्यो।
प्रदर्शनकारीले बर्साएका ढुंगाले स्पाको साउना, स्टीम, ठूल्ठूला ऐना, हिटर, फ्यान लगायत सामानमा क्षति पुगेको छ। करीब १२ लाख रुपैयाँ बराबरको मशिनरी सामानमा क्षति भएको उनी सुनाउँछन्।
त्यस्तै, सजावटका लागि राखिएका महँगा गमला र फर्निचर गरेर तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ। दुवै गरेर १५ लाख रुपैयाँ बराबरको क्षति भएको बरुवाल बताउँछन्।
स्पा सञ्चालन गर्दा केही पैसा उनीसँगै थियो। केही साथीबाट सरसापट र ऋण काढेका थिए। शुरूआतमा व्यवसायले गति लिएको थिएन। चल्न थालेको केही समय मात्र भएकाले ऋण तिर्न बाँकी नै थियो।
स्पाको बीमा गर्न पनि भ्याएका थिएनन्। राम्रोसँग चलेपछि बीमा गरौंला भन्ने सोचमा थिए। आन्दोलनका कारण स्पा क्षतिग्रस्त बनेपछि उनको भोक-निद्रा खलबलिएको छ। “यो देशमा केही गर्छु भन्दा पनि नसकिने रहेछ,” वैदेशिक रोजगारमा जाने योजना त्यागेर स्पा खोलेका बरुवाल निराशा पोख्छन्, “मलाई त कहाँ जाने, कोसँग गएर क्षतिपूर्ति माग्ने भन्ने पनि थाहा छैन। अब के गर्ने होला!”
राजावादीको प्रदर्शनका क्रममा ढुंगा प्रहार गर्दा क्षति पुगेका तीनकुनेका भवन। तस्वीर: अनिता भेटवाल/हिमालखबर
त्यही घरको दोस्रो तलामा छ, विराट् बहुउद्देश्यीय सहकारी संस्था। प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा सहकारीका कम्प्युटर, ल्यापटप, टेबलका शीशा, फर्निचर र ढोकामा क्षति पुगेको छ। सञ्चालक समितिका एक सदस्यका अनुसार १५ लाख रुपैयाँभन्दा बढीको हानि भएको छ। सहकारी कार्यालय भताभुंग भएको छ।
सहकारीको बीमा त छ, तर आन्दोलनका क्रममा भएको क्षतिपूर्ति बीमा कम्पनीले बेहोर्छ कि बेहोर्दैन भन्ने यकीन छैन। “१६-१७ वर्ष लगाएर बनाएको अफिस अहिले जाँदा त रुन मन लाग्छ,” उनी भन्छन्, “बीमाले यस्तो क्षतिलाई हेर्छ कि हेर्दैन? कतिसम्म हेर्ने हो भन्ने थाहा छैन।”
तीनकुनेको आगजनी भएको घर लथालिंग नै छ। त्यसको पश्चिमपट्टि जोडिएको स्पा र सहकारी भएको घरको पनि शीशा फुटेर क्षतविक्षत भएको छ। प्रदर्शनकारीले हानेका ढुंगा र इटा घरभित्र असरल्ल छन्। अझै सफा गर्न सकिएको छैन।
घरधनी निशान गजुरेल विभिन्न कार्यालय बाहेक घरमा मात्र १३ लाख रुपैयाँको क्षति भएको बताउँछन्। घरको बीमा पनि गरिएको छैन। “हामीलाई त्यो आन्दोलनको कुनै मतलब छैन,” गजुरेल भन्छन्, “दुःख गरेर जिन्दगीभरको कमाइले बनाएको घर भताभुंग भएको छ। अब क्षतिपूर्ति कसले दिने हो?”
यही घरको भुइँतलामा छ, एरामेक्स कुरिअरको कार्यालय। प्रदर्शनकारीले बर्साएका ढुंगा र इटाले क्षति पुगेको छ। कार्यालयभित्रका विद्युतीय सामग्रीमा पनि क्षति पुगेको थियो। विद्युतीय सामग्री फेर्दा १० हजार रुपैयाँ खर्च भएको कुरिअरका कर्मचारी अमित कुटू बताउँछन्। “आन्दोलनकारीले गरेको क्षतिपूर्ति कसलाई माग्ने हो, थाहा छैन,” उनी भन्छन्।
यही घरसँगै जोडिएको पश्चिमतिरको घरमा पनि क्षति पुगेको छ। त्यसको तेस्रो तलामा साइनटेक आईटी कम्पनीको कार्यालय छ। कार्यालयभित्र अझै फुटेका शीशा, ढुंगा र इँटा छरपस्ट छन्। सोफा, कुर्सी लथालिंग छन्। फर्निचरका सामग्री, ल्यापटप, कम्प्युटरमा क्षति पुगेको छ।
कम्पनी सञ्चालक रवीन्द्र ओझा करीब तीन करोड रुपैयाँ बराबरको क्षति भएको बताउँछन्। “अरूले देख्दा सानो कम्प्युटर भन्ने लाग्ला, तर त्यसमा भएका करोडौंको सफ्टवेयर गयो,” ओझा निराशा पोख्छन्, “अब यो कसरी फर्काउने होला?”
पहिलेकै अवस्थामा फर्काउन उपाय सोच्न सकेका छैनन्। कम्पनीको बीमा त गरेका थिए, तर भर्खरै सकिएको छ। एक-दुई दिनमै नवीकरण गर्ने तयारीमा थिए। “मेरो त सबै श्रीसम्पत्ति सकियो। अब के गर्ने भन्ने मेसो पाएको छैन,” उनी भन्छन्, “कसरी हुन्छ, सरकारले क्षतिपूर्ति दिने व्यवस्था गरेर मलमपट्टी लगाइदिए हुन्थ्यो।”
राजावादीको प्रदर्शनका क्रममा रोयल ब्यांक्वेटमा पनि क्षति पुगेको छ। मशिनरी र फर्निचरका सरसामान नष्ट भएका छन्। करीब एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको ब्यांक्वेटका सञ्चालक गणेश ढकाल बताउँछन्। “यस्तो परिस्थिति आउला भन्ने लागेको थिएन। बीमा पनि गरेको थिएन,” ढकाल भन्छन्, “कर्मचारीलाई तलब दिने वेला यस्तो क्षति भयो। कसरी चलाउने भन्ने सोच्नै सकेको छैन।”
त्यस्तै, प्रदर्शनकारीले कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा लूटपाट मच्चाएका थिए। मोबाइल, कस्मेटिक सामान, खाद्यान्न, मदिरा लगायत गरेर ८० लाख ३३ हजार रुपैयाँको क्षति पुगेको भाटभटेनीका स्टोर म्यानेजर मुना राई बताउँछिन्। भाटभटेनीले भने बीमा गरेको छ। क्षतिपूर्तिका लागि बीमा दाबी गर्ने राई बताउँछिन्।
राजावादीले चैत १५ मा गरेको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गयो भने निजी र सरकारी सम्पत्ति नष्ट भयो। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार प्रदर्शनकारीले १९ वटा भवन र ६८ वटा सवारीसाधनमा क्षति पुर्याएका छन्। जसमध्ये १४ वटा सरकारी गाडी थिए भने बाँकी निजी। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिल बोहोरा क्षतिको विवरण संकलन भइरहेको बताउँछन्।
प्रदर्शनकारीले क्षति पुर्याएका अधिकांश घर तथा सवारीसाधन व्यक्तिगत हुन्। कतिपयले घरभाडामा लिएर कम्पनी तथा व्यवसाय सञ्चालन गरेका थिए। तोडफोड र आगजनीमा उनीहरूका सरसामान क्षति भएका छन्। कतिपयले ऋण काढेर व्यवसाय गरेका थिए। धेरैजसोले बीमा गरेका छैनन्।
यस्तोमा उनीहरूले कसरी क्षतिपूर्ति पाउँछन्? काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर यो स्थानीय सरकारको क्षेत्राधिकारभित्र नपर्ने भएकाले क्षतिपूर्ति भराउन अप्ठ्यारो रहेको बताउँछन्।
सार्वजनिक सम्पत्तिमा भएको क्षतिका लागि त महानगरले पूर्व राजा ज्ञानेन्द्र शाहलाई जरिवाना नै तोकेको छ। प्रदर्शनका क्रममा तीनकुने, कोटेश्वर, जडीबुटी, बालकुमारी, सिनामंगल लगायत क्षेत्रमा भएको महानगरको सम्पत्ति क्षतिका लागि शाहबाट सात लाख ९३ हजार रुपैयाँ जरिवाना भराउन पत्र काटेको छ।
निजी सम्पत्तिमा भएको क्षतिको पनि विवरण संकलन भइरहेको मानन्धर बताउँछन्। सम्बन्धित वडा कार्यालयले तथ्यांक संकलन गरिरहेको र यकीन तथ्यांक आएपछि गृह मन्त्रालयमा पठाइने उनी बताउँछन्।
बीमा नभएको, स्थानीय सरकारको क्षेत्राधिकारभित्र नपर्ने भएपछि कसरी क्षतिपूर्ति लिने भन्नेमा पीडित अलमलमा छन्। यस विषयमा चैत १८ गतेसम्म संघीय सरकारले कुनै निर्णय गरेको छैन। क्षतिको तथ्यांक संकलन भइरहेको र यकीन जानकारी आएपछि के गर्ने भन्ने तय गरिने गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारी बताउँछन्।
निजी सम्पत्तिमा भएको क्षतिबारे आवश्यक निर्णय हुने उनको भनाइ छ। गृह मन्त्रालयका प्रवक्ता तिवारी भन्छन्, “अधिकांश व्यक्तिगत सम्पत्तिमा क्षति भएको छ। अब कसको बीमा छ, कसको छैन, बीमाले कति ‘कभर’ गर्छ? त्यो हेरेर क्षतिपूर्तिको विषयमा निर्णय हुनेछ।”
यो पनि पढ्नुहोस्