राजावादीले आगो झोसेको त्रिभुवन विमानस्थल यसरी जोगियो
स्थापनाको साढे सात दशकमा पहिलो पटक बाह्य कारणले बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकले गरेको आगजनीबाट धन्न जोगिएको कर्मचारी तथा विज्ञहरू बताउँछन्।
राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले चैत १५ मा काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बन्यो। प्रदर्शनकारीले दर्जनौं निजी भवन र सार्वजनिक संस्थामा तोडफोड र आगजनी गरे।
स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपर्यो। प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका-४, गाम्चाका सबिन महर्जनको ज्यान गयो। त्यस्तै, प्रदर्शनकारीले तीनकुनेस्थित कम्प्लेक्समा आगो लगाएपछि चौथो तलाबाट भिडिओ खिचिरहेका पत्रकार सुरेश रजकको जलेर ज्यान गयो।
त्यसपछि तीनकुनेबाट यताउता लागेका प्रदर्शनकारीले दर्जनौं ठाउँमा तोडफोड र आगजनी गरे। निजी सम्पत्तिमा क्षति पुर्याए भने सरकारी तथा निजी सवारीसाधन जलाए। तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटी, बालकुमारी लगायत क्षेत्रमा तोडफोड र आगजनी गरे।
उपद्रो त्यत्तिमै रोकिएन, सिनामंगलतर्फ बढेका प्रदर्शनकारीले नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवनबीचको क्षेत्रमा आगो झोसे। शुरूआतमा उड्डयन प्राधिकरणको मुख्य कार्यालयको नयाँ भवन अगाडिको सडक बनाउन राखिएका ड्रममा आगो लगाए। त्यसपछि तिनै ड्रममा आगो झोसेर विमानस्थल क्षेत्रभित्र हुत्याए।

प्रदर्शनकारीले आवेगमा आएर आगजनी गरेका थिएनन्, प्रदर्शनको नेतृत्व गरिरहेका दुर्गा प्रसाईंले नै उक्साएका थिए। तीनकुनेस्थित मञ्चबाटै प्रसाईंले संसद् र विमानस्थल कब्जा गर्न भनेका थिए।
प्रसाईंले चैत १७ मा जारी गरेको भिडिओमा पनि संसद् र विमानस्थल कब्जा गर्न निर्देशन दिएको स्विकारेका छन्। उनले भनेका छन, “हाम्रो अभियानले म कमान्डर हुँदै गर्दाखेरि मैले फलानोलाई आगो लगा भनेको छु? सुन्नभएको छ? बरु एअरपोर्ट, संसद् भवन कब्जा गरौं, तर मान्छेको घरमा आगो नलगाऔं भनेको छु।”
प्रदर्शन हिंसात्मक बन्नुअघि नै प्रसाईंले दिएको निर्देशनमा उनका समर्थक उक्सिएका थिए। त्यसपछि उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमी क्षेत्रमा आगो लगाउन पुगे। “नियोजित रूपमै विमानस्थल क्षेत्रमा क्षति पुर्याउन आगो लगाएको देखिन्छ,” उड्डयन प्राधिकरणका एक उच्चपदस्थ कर्मचारी भन्छन्।
पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकले लगाएको आगो निभाउन विमानस्थल कार्यालयलाई हम्मेहम्मे भयो। आगो लगाउने बित्तिकै सुरक्षाकर्मीलाई खबर गरिएको थियो। तर प्रदर्शनकारीले अवरोध गरेपछि सुरक्षाकर्मी आउन पाएनन्।
त्यसपछि विमानस्थलकै दमकल प्रयोग गरिएको उनी बताउँछन्। “हामीसँग अत्याधुनिक तीन वटा दमकल थिए। तीनै दमकल प्रयोग गरेर आगो निभाउन आधा घण्टा लाग्यो,” आगो नियन्त्रणमा खटिएका विमानस्थलका अर्का कर्मचारी भन्छन्।
आगजनी गरिएपछि विमानस्थल डेढ घण्टा बन्द गरियो। आन्तरिक रूपमा विमानस्थल बन्द गरिने भए पनि बाह्य कारणले अहिलेसम्म बन्द नभएको त्रिभुवन विमानस्थलका कर्मचारी बताउँछन्। “त्रिभुवन विमानस्थल सञ्चालनमा आएदेखि बाह्य कारणले विमानस्थल अवरुद्ध भएको यो पहिलो घटना हो,” उनी भन्छन्।
लामो समयदेखि प्राधिकरणमा कार्यरत अर्का कर्मचारीका अनुसार २०४६ सालको जनआन्दोलन र २०६२/६३ सालको दोस्रो जनआन्दोलनका क्रममा पनि विमानस्थल अवरुद्ध भएको थिएन। बाह्य कारणले विमानस्थल बन्द गर्ने अवस्था अहिलेसम्म आएको थिएन।

आगजनी हुने बित्तिकै विमानस्थलका कर्मचारी पनि आत्तिएका थिए। उनीहरूलाई आगो निभाउन हम्मेहम्मे परेको त्यही क्षेत्रमा रहेका अर्का कर्मचारी बताउँछन्। “त्यो दिन आगो नियन्त्रण गर्न नसकेको भए र आयल निगममा आगो प्रवेश गरेको भए काठमाडौं ध्वस्त हुन्थ्यो,” उनी भन्छन्।
आगजनीबाट प्राधिकरणका भवनमा पनि क्षति पुगेको छ। प्राधिकरणका प्रवक्ता हंसराज पाण्डे झ्यालका २० वटा शीशा फुटेको बताउँछन्। “आन्दोलनकारीले पहिला ढुंगा वर्षाएका थिए, पछि सडकबाटै आगो फ्याँकेर आगजनी गरे,” पाण्डे भन्छन्, “हामी अझै क्षतिको विवरण संकलन गरिरहेका छौं।”
विज्ञहरूका अनुसार विमानस्थल क्षेत्रमा जहाज उडान-अवतरण गर्दा तेलदेखि अति प्रज्वलनशील वस्तु पनि पोखिएका हुन्छन्। त्यस्तै, नजीकै आयल निगमको हवाई इन्धन डिपो छ। एक हवाई विज्ञ भन्छन्, “विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा नियोजित रूपमै आगो लगाइयो। आगजनीमा संलग्नलाई कारबाही गर्नुपर्छ।”
उड्डयन प्राधिकरण र विमानस्थलका कर्मचारी त प्रसाईंलाई शुरूआतमै प्रहरीले पक्राउ नगरेकामा चिन्ता जनाउँछन्। “विमानस्थल नै कब्जा गर्छु भनेर हिंडेका आन्दोलनकारीलाई सुरक्षाकर्मीले बिहानै नियन्त्रणमा लिन पर्थ्यो,” उनीहरू भन्छन्, “खासमा त तीनकुने क्षेत्रमा आन्दोलन नै गर्न दिनु हुन्नथ्यो।” उसो त विमानस्थल, हवाई अड्डा, अस्पताल आदि हडताल निषेधित क्षेत्र हुन्।
उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक तथा हवाई सुरक्षाका जानकार त्रिरत्न मानन्धर विमानस्थल क्षेत्रमा आन्दोलन वा अन्य कुनै बाह्य गतिविधि निषेध गरिनुपर्ने बताउँछन्। यस पटक भएको चूक अब दोहोर्याउन नहुने मानन्धरको भनाइ छ। “सरकारले विमानस्थल क्षेत्रलाई उच्च निषेधित क्षेत्र तोकेर त्यही अनुसारको सुरक्षा दिनुपर्छ,” उनी भन्छन्।
विमानस्थल क्षेत्रमा गरिएको आगजनी समयमै नियन्त्रण गर्न सकिएकाले ठूलो क्षतिबाट जोगिएको उनको भनाइ छ। “काठमाडौं त्यसै पनि साँघुरो छ। विमानस्थल क्षेत्रको नजीक आयल निगम पनि छ,” मानन्धर भन्छन्।
विमानस्थल वरपरको क्षेत्रमा आन्दोलन गर्न निषेध गर्नुपर्ने उनी बताउँछन्। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर त्यस क्षेत्रमा कुनै गतिविधि गर्न दिन नहुने उनको भनाइ छ। “तीनकुनेदेखि गौशालासम्मको क्षेत्र संवेदनशील छ। आयल निगम छ। आगलागी भयो भने काठमाडौं नै सकिन कत्ति पनि बेर लाग्नेछैन,” हवाई सुरक्षाका जानकार मानन्धर भन्छन्, “विमानस्थलको वैकल्पिक बाटो खुलाउनेदेखि त्यो क्षेत्रलाई आन्दोलन, प्रदर्शन, सभा-समारोहबाट जोगाउनै पर्छ।”
यो पनि पढ्नुहोस्