चोरिएका सम्पदा फिर्तासँगै पुनःस्थापनाको चिन्ता
चोरी भएर विदेश पुगेका ऐतिहासिक मूर्ति तथा सम्पदा फिर्ता हुन थालेसँगै पुनःस्थापनाको चिन्ता बढेको छ।
नेपालबाट चोरी भएर अमेरिका पुगेका २१ वटा पुरातात्त्विक महत्त्वका ऐतिहासिक सम्पदा फिर्ता भएका छन्। पुरातत्त्व विभागले एउटा मूर्ति पाटन संग्रहालयमा र बाँकी २० वटा सम्पदा राष्ट्रिय संग्रहालय, छाउनीमा पठाउने भएको छ।
विभागले आइतबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको छ। फिर्ता भएका सम्पदामा १५औंदेखि १८औं शताब्दीका तीन वटा पौभा चित्र छन्। उनीहरूमध्ये दुई वटा काठमाडौंस्थित इटुम्बहालबाट २०३७ सालमा हराएका थिए भने एउटा नवौं शताब्दीमा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति बुङमतीको मच्छिन्द्रबहाल परिसरको चैत्यबाट हराएको थियो।
त्यस्तै, आर्ट इन्स्टिच्यूट, सिकागोबाट फिर्ता भएको पाटनको गुइत छोको गुइत चैत्यको प्रस्तरको मुछलिन्द बुद्धको मूर्ति र अन्य १६ थान कलात्मक वस्तु पनि अमेरिकाका विभिन्न ठाउँमा फेला परेका थिए।

यसअघि पनि बेलायत, अस्ट्रेलिया, अमेरिका, चीन, भारत, जर्मनी र इटालीबाट गरेर १७७ वटा पुरातात्त्विक महत्त्वका मूर्ति तथा कलात्मक वस्तु फिर्ता भएका थिए। अहिले थप २१ वटा सम्पदा आएसँगै विदेशबाट फिर्ता भएका सम्पदाको संख्या १९८ पुगेको छ।
पुरातत्त्व विभागकी प्रमुख सौभाग्य प्रधानांगका अनुसार विभागमा अझै ४०९ वटा सम्पदा हराएको उजुरी आएको छ। केही सम्पदा फिर्ताका लागि पहल भइरहेको उनले बताइन्। अहिलेसम्म फिर्ता भएकामध्ये ३९ वटा सम्पदाको पुनःस्थापना भइसकेको उनले जानकारी दिइन्।
विभागका अनुसार सन् १९५० पूर्व नेपालबाट के-कति सांस्कृतिक सम्पदा बाहिरिए भन्ने अभिलेख पाइँदैन। सन् १९५० पछि यी सम्पदाको चोरी निकासी पनि तीव्र हुँदै गएको पाइएको छ। सम्पदा चोरी भएको भनेर उजुरी आउने क्रम पनि बढ्दै गयो। फलस्वरूप सन् १९८६ देखि नेपालबाट हराएका पुरातात्त्विक तथा कलात्मक वस्तु फर्काउने प्रक्रिया शुरू भएको इतिहास छ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनले चोरी भएर खरीदबिक्री भएका कलात्मक वस्तु उत्पत्तिको मुलुकमा फिर्ता गर्नुपर्ने व्यवस्था गरेकाले नेपालभन्दा बाहिर गैरकानूनी रूपमा निकासी भएका सांस्कृतिक सम्पदा फिर्ता हुने क्रम बढेको प्रधानांग बताउँछिन्। “फिर्ता भएर पनि सम्पदाहरू फेरि संग्रहालयमा राख्नुपर्दा दुःख लाग्छ। फिर्ता भएपछि समुदायले सुरक्षा जिम्मेवारी लिएर यथास्थानमा राख्न जरूरी छ। त्यसका लागि समुदाय अघि आउनै पर्छ,” प्रधानांग भन्छिन्।

अनेक प्रक्रिया पूरा गरेर फिर्ता हुने मूर्तिको पुनःस्थापना नभई संग्रहालयमा राखिनु उचित नभएको ललितपुर उपमहानगरका मेयर चिरिबाबु महर्जनको भनाइ छ। “यी सम्पदा आफ्नै ठाउँमा ढोगेर हिंड्न पाइयोस् भनेर वर्षौंको प्रक्रिया पूरा गरेर ल्याइएका हुन्। त्यसैले समुदायको अपनत्व बढाएर फिर्ता भएका मूर्ति पूजा गर्ने स्थानमा नै पुर्याऔं,” महर्जनले भने।
हुन पनि विभिन्न संघसंस्थासँगको सहकार्य र वर्षौंको प्रयासपछि २१ वटा सम्पदा फिर्ता भएका छन्। विभागका अनुसार यी सम्पदा फिर्ता ल्याउने प्रक्रियामा नेपाल सम्पदा पुनःस्थापना अभियान, लस्ट आर्ट अफ नेपाल, केशचन्द्र महाविहार संरक्षण समाज, इटुम्बहाल, अमेरिकाको न्यू योर्कस्थित नेपाली वाणिज्य दूतावास, नेवा गुठी लगायतको प्रयास र मिहिनेत छ। सम्पदा आफ्नै थातथलोमा पुनःस्थापना भएपछि मात्र मिहिनतको सच्चा कदर हुने विभागको भनाइ छ।