नेपालमा पुल सञ्जाल सुधारका लागि विश्व ब्यांकद्वारा २१ अर्ब ऋण स्वीकृत
बहुपक्षीय ऋणदाता संस्था विश्व ब्यांकले नेपाललाई थप १५ करोड अमेरिकी डलर (करीब २१ अर्ब रुपैयाँ) ऋण दिने सहमति जनाएको छ।
ब्यांकको कार्यकारी निर्देशकहरूको बैठकले नेपालको ‘तेस्रो पुल सुधार तथा मर्मतसम्भार कार्यक्रम’ का लागि यो ऋण स्वीकृत गरेको हो। नेपालका रणनीतिक सडक सञ्जालमा रहेका पुलको सुधार गर्दै देशभरको जटिल भूभागमा सुरक्षित यातायात सुनिश्चित गर्ने यो कार्यक्रमको लक्ष्य छ।
पुल संरचना बजार सहित स्वास्थ्य, शिक्षा, आर्थिक अवसर लगायत अत्यावश्यक सेवासँग जोड्ने प्रमुख माध्यम हो। तर बाढी, पहिरो, भूकम्प जस्ता जलवायु सिर्जित विपद्का कारण यी पूर्वाधारमा गम्भीर असर पर्ने गरेको छ।
सडक विभागद्वारा सञ्चालन गरिने यस कार्यक्रम अन्तर्गत जलवायु सहनशील संरचना विकासमा प्राथमिकता दिइने ब्यांकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सुदृढ संरचनागत डिजाइन, नवीन प्रविधिको प्रयोग तथा प्रत्यक्ष निगरानी प्रणाली जस्ता उपायहरू अवलम्बन गरी मौसमी घटनाबाट पुलहरूको सुरक्षाका लागि कदम चालिने जनाइएको छ।
विश्व ब्यांकका माल्दिभ्स, नेपाल र श्रीलंकाका डिभिजन देशीय निर्देशक डेविड सिसलेनले भने, “नेपालको पुल सञ्जालको स्थायित्व सुरक्षित यातायात तथा दिगो विकासका लागि अत्यन्त महत्त्वपूर्ण छ।” यस कार्यक्रमले नेपालका कमजोर तथा सीमान्तीकृत समुदायलाई बजार र सेवासम्मको पहुँच बढाउँदै जलवायु सहनशील पूर्वाधार निर्माणलाई प्रवर्द्धन गर्ने उनले बताए।
यस परियोजनाले सडक विभागका कर्मचारीका लागि क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन, नवीन समाधानलाई प्रोत्साहन र संस्थागत प्रणालीलाई सुदृढ गर्दै पूर्वाधार व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेको छ।