कप्तानकाे कथा
टीम नेपालकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको बायोपिक ‘अञ्जिला’ उनको मात्र नभई आमाको पनि संघर्षको कथा हो।
दिनरात रक्सी भट्टी धाउने, मातेर कुटपिट गर्ने, पैसा खोस्ने लगायत पतिका अनेक हर्कत सहेरै छोराछोरी हुर्काइरहेकी थिइन्, कौशिला। जब पति कान्छी श्रीमती लिएर हिंडे, त्यसपछि कौशिला पनि भएको तिलहरी घरबेटीलाई बुझाएर छोराछोरी बोकी अनिश्चित गन्तव्यतर्फ हिंडिन्।
इलामको एउटा गाउँमा रक्सी, तोङ्बा, सुकुटी बेचेर छोराछोरी हुर्काइन्। छोराछोरी चाहिं सानैदेखि मोजाको भकुन्डो बनाएर खेल्थे। बाटो हिंड्दा भेटिएका प्लास्टिकका बोतललाई पनि बल झैं हिर्काउँथे।
कौशिलाले तोङ्वा, सुकुटी बेचेरै जेनतेन घरव्यवहार चलाएकी थिइन्। त्यही क्रममा दोस्रो बिहे गर्न पुगिन्।
समय बित्दै गयो। छोरीमा भने फूटबलको नशा लागिसकेको थियो। उनी जसरी पनि फूटबल खेल्ने ध्याउन्नमा हुन्थिन्।
आमाले साथ दिए पनि कान्छा बाबुले फूटबल खेल्न दिंदैनथे। यस्तो झमेलामा छोरीको इच्छा पूरा नहुने बुझिसकेकी कौशिलाले उनलाई काठमाडौं पठाइन्, फूटबल खेल्नकै लागि।
यो कथा उनै काठमाडौं हिंडेकी छोरी अर्थात् नेपाली राष्ट्रिय फूटबल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको हो। सुब्बाको जीवनीमा आधारित फिल्म बनेको छ, अञ्जिला। अहिले देशभर प्रदर्शनमा रहेको फिल्म अञ्जिलामा आमा-छोरीको यही संघर्षको कथा छ, जसलाई दर्शकले मन पराइरहेका छन्।
पाँचथरको फाक्तेपमा जन्मिएकी अञ्जिला सानै छँदा आमाबुबाको अलग हुँदाको पीडामा परिन्। इलामको तीनघरेमा हुर्किएकी उनी फूटबलर बन्न काठमाडौं पुगिन्। आमाले गाउँमा गरेको संघर्ष जस्तै अञ्जिलाले पनि काठमाडौंमा संघर्ष गरिन्।
एक दिन उनले सशस्त्र प्रहरीका इन्स्पेक्टर प्रेमकुमार श्रेष्ठसँग भेट्ने मौका पाउँछिन्। श्रेष्ठकै सहयोगमा सशस्त्रको टोलीमा तालीम लिने र खेल्ने अवसर जुर्छ। फूटबलमा यति मिहिनेत गर्छिन् कि सशस्त्रको मात्र नभई देशकै महिला फूटबलको नेतृत्व गर्न सक्षम हुन्छिन्।
अञ्जिलाको यही संघर्ष र सफलताको कथा फिल्ममा प्रस्तुत गरेका छन्, निर्देशक मिलन चाम्सले। करीब एक दर्जन फिल्म निर्देशन गरिसकेका चाम्सको यो फरक र पछिसम्म सम्झनलायक फिल्म बनेको छ।
वास्तविक कथा भएकाले धेरै मिहिनेत गर्नुनपरे पनि २५ वर्षभन्दा लामो समयलाई तीन घण्टाभन्दा कममा दर्शकले बुझ्नेगरी पर्दामा देखाउनु चुनौतीपूर्ण काम हो। तैपनि अनुभवी निर्देशक चाम्स दर्शकको मन छुनेगरी अञ्जिलाको कथा पर्दामा उतार्न सफल भएका छन्। कलाकारको अभिनय पनि उत्तिकै जीवन्त छ।
पूर्वी पहाडको एउटा गाउँ, जहाँ अधिकांश छोरामान्छे बिहानैदेखि भट्टीमा भेटिन्छन्। यस्तो ठाउँमा श्रीमान्को कमाइ नभएको, आफूले चिया बगानमा काम गरेर कमाएको पैसा पनि श्रीमान्ले नै खोसिदिने कार्य कौशिलाका लागि निकै दु:खदायी थियो। कतिसम्म संघर्ष गरिन् भन्ने कौशिलाको भूमिकामा रहेकी अभिनेत्री सिर्जना सुब्बाको जीवन्त अभिनय मार्फत बुझ्न सकिन्छ।
लामो समयदेखि रंगमञ्चमा खारिएकी र विभिन्न फिल्म मार्फत दर्शकमाझ छाप छोड्न सफल अभिनेत्री सुब्बाको अभिनय प्रशंसायोग्य छ। खासमा फिल्म अञ्जिलाको कथा भएकाले उनी नै मुख्य पात्र हुन्, तैपनि अभिनयका हिसाबले सुब्बा फिल्मको ‘हिरो’ का रूपमा उभिएकी छन्।
अहिले ग्रीसको क्लबमा खेलिरहेकी छन्, अञ्जिला। उनले फिल्ममा पनि दमदार अभिनय गरेकी छन्। ‘ननआर्टिस्ट’ अञ्जिलालाई व्यावसायिक कलाकार जसरी नै अभिनय गराउन सक्नु पनि निर्देशकको सफलता हो।
फिल्ममा अञ्जिलाका बाबु बनेका माओत्से गुरुङ, कान्छा बाबु बनेका दयाहाङ राई, गाडी चालक बनेका विजय बरालले उत्कृष्ट अभिनय गरेका छन्। उनलाई फूटबलमा बाटो देखाउने सशस्त्र प्रहरीका तत्कालीन इन्स्पेक्टर प्रेमकुमार श्रेष्ठले फिल्ममा राम्रै अभिनय गरेका छन्। उनले एसपीबाट अवकाश पाइसकेका छन्।
त्यस्तै, बुद्धि तामाङ, सुनील थापा, मञ्जु श्रेष्ठ, सुरज तमू, वेदना राई, सुमिन गुरुङ, विरूप घले, सिद्धार्थ सिंह, बालदीप राई, उज्ज्वल बान्तवा राई, सारा राई, दिनेश काफ्ले, सुरवीर पण्डित लगायतको अभिनय प्रशंसनीय छ। बाल कलाकार इनोभ गुरुङ र नमिक्षा मगर दर्शकको मन जित्न सफल छन्।
गाउँको निम्नवर्गीय परिवारबाट फूटबल खेलमा स्थापित हुन कति कठिन छ भन्ने पनि अञ्जिलाले देखाउँछ। हिम्मत नहारी लागिरहँदा असम्भव भन्ने केही छैन भन्ने प्रेरणा पनि दिन्छ।
फिल्म अञ्जिलाको मात्र होइन, आमा कौशिलाको पनि संघर्षको कथा हो। छोरीको इच्छा पूरा गर्न आमाले भोगेका दुःखकष्टका दृश्यले दर्शकलाई घरीघरी भावुक बनाउँछन्। त्यसमाथि अञ्जिलाको संघर्षले रुवाउँछ। यति हुँदाहुँदै फिल्ममा दृश्य छोट्याउन सकिने कतिपय ठाउँ भने फेला पर्छन्।
फिल्मले प्रशंसासँगै कमाइ पनि गरिरहेको छ। निर्माता प्रेमकुमार श्रेष्ठले त फिल्मको कमाइबाट अञ्जिलाका लागि घर बनाइदिने सार्वजनिक घोषणा नै गरेका छन्।