पत्रकारको हत्या र आक्रमण विरुद्ध सञ्चारकर्मी सडकमा
पूर्व राजा ज्ञानेन्द्र शाह समर्थकको हिंसात्मक आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको हत्या र सञ्चारगृहमा भएको आक्रमण विरुद्ध देशभरका पत्रकार सडकमा उत्रिएका छन्।
पत्रकारको हत्या र आक्रमणमा संलग्न व्यक्तिहरूलाई कारबाहीको माग गर्दै पत्रकार सडकमा आएका हुन्। नेपाल पत्रकार महासंघको अगुवाइमा पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाहीको माग गर्दै शनिबार बिहान काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।
‘पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर, अराजकता नियन्त्रण गर, सञ्चारमाध्यममाथिको आक्रमण बन्द गर, पत्रकार सुरक्षाको ग्यारेन्टी गर, दण्डहीनता अन्त्य गर’ लगायत नारा लेखिएका प्लेकार्ड सहित पत्रकारले शान्तिपूर्ण विरोध जनाएका हुन्।
हत्या गरिएका पत्रकार सुरेश रजक।
नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेको थियो। आन्दोलनको नेतृत्व गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले उक्साएपछि प्रदर्शन हिंसात्मक बनेको थियो।
प्रदर्शनकारीले तीनकुने क्षेत्रका निजी भवनमा तोडफोड र आगजनी गरेका थिए। तीनकुनेको एउटा कम्प्लेक्सबाट आन्दोलनको भिडिओ खिचिरहेका एभिन्यूज टेलिभिजनका पत्रकार रजकलाई प्रदर्शनकारीले भित्रै थुनेका थिए। प्रदर्शनकारीले कम्प्लेक्समा आगो लगाएपछि पत्रकार रजक जलेको अवस्थामा मृत भेटिएका थिए।
पोखरामा विरोधमा उत्रिएका पत्रकार।
त्यस्तै, प्रदर्शनकारीले पत्रकारलाई आक्रमण गरेका थिए। आक्रमणका क्रममा केही पत्रकार घाइते भएका छन्। प्रदर्शनकारीले अन्नपूर्ण पोस्ट, कान्तिपुर टेलिभिजन लगायत सञ्चारगृहमा पनि ढुंगामुढा गरेका थिए।
प्रदर्शनमा सहभागी पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले पत्रकारको जीउधनको सुरक्षाका लागि सम्पूर्ण पत्रकार एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए। उनले मृतक पत्रकार रजकलाई न्याय दिलाउन महासंघ निरन्तर लाग्ने प्रतिबद्धता जनाए।
धनगढीमा विरोधमा उत्रिएका पत्रकार।
विरोध प्रदर्शनमा पत्रकार महासंघका पूर्व अध्यक्षहरू तारानाथ दाहाल, धर्मेन्द्र झा, शिव गाउँले लगायत सहभागी थिए। प्रदर्शनमा सहभागी पत्रकारले हत्यामा संलग्न व्यक्तिलाई कारबाही गर्न र पत्रकार रजकको परिवारलाई क्षतिपूर्ति दिलाउन माग गरेका छन्।
बिर्तामोडमा प्रदर्शन गर्दै झापाका पत्रकार।
पत्रकार महासंघका जिल्ला तथा प्रदेश कमिटीहरूको अगुवाइमा देशभर प्रदर्शन गरिएको छ। शनिबार बिहान चितवन, पोखरा, धनगढी, विराटनगर, हेटौंडा, बेसीशहर, बिर्तामोड लगायत शहरमा पनि पत्रकारले प्रदर्शन गरेका छन्। उनीहरूले पत्रकार रजकको हत्यामा संलग्न व्यक्तिलाई कारबाही गर्न माग गरेका छन्।
विरोध प्रदर्शनमा लमजुङका पत्रकार।
त्यस्तै, सञ्चारमाध्यमसँग सम्बद्ध विभिन्न संघसंस्थाले पनि हत्या र आक्रमणको विरोध गरेका छन्। नेपाल प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन नेपाल लगायत संस्थाले हत्यामा संलग्न व्यक्तिलाई कारबाही र पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन्।
यो पनि पढ्नुहोस्