‘याक्थुङ साप्मुन्धुम : लिम्बू र लिम्बुवान इतिहास’ को रचनागर्भ
यो अभिलेखले तत्कालीन नेपाल, लिम्बू जाति, लिम्बुवान र पल्लो किरातका खम्बू राई, याक्खा, लोहोरुङ, याम्फू तथा क्षेत्री-बाहुन र दलित शिल्पी समेतको इतिहासलाई बुझ्न सघाउनेछ।
प्रत्येक जाति वा समुदायलाई त्यसले अँगाल्दै ल्याएको भाषा, लिपि, संस्कार, संस्कृति र ऐतिहासिक परम्पराले पहिचानको आत्मबोध गराउँछ। यसबारे इटालीका विद्वान् मेजिनीले भनेका छन्, ‘कुनै पनि जाति वा समुदायलाई मास्न हत्या वा हिंसा गरिरहन पर्दैन। त्यो जाति वा समुदायले अँगाल्दै ल्याएको संस्कृति, भाषा, लिपि र ऐतिहासिक परम्परालाई मेटाइदियो भने एक-दुई दशकपछि त्यो जाति वा समुदाय स्वतः मृत्युतुल्य अवस्थामा पुग्छ। जसरी जमीनका लहरे बोटबिरुवाले सहारा नपाउँदा सहारा खोजिरहेका हुन्छन्, त्यस्तो अवस्थामा पुग्न जान्छन्।’
यिनै कुरालाई आत्मसात् गर्दै लिम्बू र यस्ता समुदायको पहिचान नहराओस् भन्ने हेतुले याक्थुङ साप्मुन्धुमः लिम्बू र लिम्बुवान इतिहास पुस्तक तयार गरिएको छ।
लिम्बू र लिम्बुवान
मुन्धुमको कथन अनुसार लिम्बूहरू महिला पुर्खा मुजिङ्ना खेयङ्नाका छोरा सुसुवा लिलिम याक्थुङ्हाङ्का सन्तान हुन्। हावाबाट गर्भवती भएकीले आफ्नो छोरालाई हावा-बतासको छोरा (सरित् केर्जङ्सा) सुसुवा लिलिम् भनेर नाम राखिदिइन्।
सुसुवा लिलिमको अर्थ सुस्तरी चल्ने बतास भन्ने हुन्छ। मुजिङ्ना खेयङ्नाले आफ्ना दौंतरी पुरुषको खोजीमा रूखमाथि चढेर ‘लुखुरी लुखुरी’ भन्दै मीठो हावा बोलाई त्यसको स्पर्शले तिर्सना मेटिन्। आज लुङ्बोःङ्बा खाम्बोःङ्बासा, सुसुवेङ् लालावेङ्, सुसुवालिलिम याक्थुङ्हाङ्को अर्थ ढुंगामाटोसँगै जन्मेका मूलवासी, हावा-बतासको छोरा र भीरपहरामा राज गर्ने भन्ने हुन जान्छ।
पहिले, पेलिफाङ्हाङ (नौ लिम्बू पुरोहित) र सावायेÞत्हाङ (आठ राजा) द्वारा लिम्बूहरूको सामाजिक, प्रशासनिक मूल्यमान्यता सञ्चालन हुन्थे। यहाँका भूमिपुत्र सुसुवालिलिम याक्थुङ्हाङ्हरूलाई सेन र शाह राजाहरूले लिलिम भन्दाभन्दै ‘लिम्बू’ भनेर सम्बोधन गर्न थाले।
पृथ्वीनारायण शाहले विसं १८३१ वैशाख ३० मा र साउन २२ गते याक्थुङ्हाङ्हरूलाई, ‘तिमी तुतुतुम्याङ्हाङ याकहाङ्का सन्तान लिम्बू कुल भाइलाई दिञ्युँ’ भनेर भैयाद बनाउँदै श्री जंग राय, श्री फुङ्राय, श्री जमुनराय, श्री सुनराय र कुमरायलाई लालमोहर गरिदिएका थिए। उक्त कागजमा ‘लिम्बू’ शब्द राजनीतिक तवरले सम्बोधित भएको छ।
मुन्धुमको एक अर्को कथन अनुसार उनै मुजिङ्ना खेयेङ्नाका नाति-नातिना सुहाम्फेबा र लाहादङ्ना नाम गरेका दुई चेली-माइती थिए। ती चेली-माइती भए पनि बाध्यतावश लोग्ने-स्वास्नी सरह एकै ठाउँ बस्नुपर्ने भयो। यो देखेर सर्वशक्तिमान् ईश्वर तातारा तागेरा निङ्वाफुमाङ्ले तिनीहरूलाई छुट्याउन भनी पोरोक्मी यम्फामीजस्ता माङ् (देवता)हरूलाई आदेश दिइन्।
पोरोक्मी यम्फामी माङ्हरूले पनि उनीहरूलाई छुट्याइदिनु भनी पञ्चदेवतालाई निर्देश गरे। यता लाहादङ्नाले भने ताप्लेजुङ्को कार्इलुङ्धुङ भन्ने ठाउँमा सालैपिच्छे छोराछोरी सन्तान जन्माई बसिन्। उनले एक छोरी सहित जम्मा १८ सन्तान जन्माइन्। आखिरी तिनै पञ्चदेवको आदेश अनुसार सुहाम्फेबा र लाहादङ्ना छुट्ने भए।
यसरी छुट्नुपर्दा जन्मेका सन्तान आमाबुबाले आधा आधा बाँड्ने भए। सन्तान बराबरी भागमा बाँड्न चाल्नीमा राखी चालेर बाँडफाँड गरे। यसो गर्दा चाल्नीमाथि परेका नौभाइ छोरा बुबा सुहाम्फेबाको भागमा परी उत्तर सोधुङ्गेन् लेर्प्मु तेम्बेतिर लगी बसे।
अरू चाल्नीबाट तल झरेका आठ भाइ सन्तान आमा लाहादङ्नाको भागमा परे। यिनै आमातर्फका आठभाइ सन्तान नै सामूहिक सावायेङ्त्हाङ भनेर कहलिन गए। आजका समस्त याक्थुङ् लिम्बू यिनै सावा येङ्त्हाङ्का दरसन्तान हुन् भन्ने कुरा मुन्धुममा उल्लेख भएको पाइन्छ।
बाँकी एक जना महिला चेली थिइन्। उनी बीचमा परिन्। उनलाई बुबा र आमा दुवैतिरका माइतीले आफूतिर पार्न तानातान गर्दा कसैका पनि हुन सकिनन्। आखिर, उनी ज्ञानगुनकी खानी सेर्प्मेधुङ्मा येर्प्मेधुङ्मा गुरुमा भइन्। आज पनि लिम्बूका पुरोहितले उनैलाई आफ्ना ज्ञानगुनकी धनी गुरुमाका रूपमा मानी पुज्छन्।
छैटौं शताब्दीतिर चिनियाँ जातिका काचिन र चिङ्फोहरू शानमकवानी - लिम्बूका पुर्खा) दश सरदारहरू बर्मा तथा आसाम हुँदै हालको पूर्वी नेपाल आइपुगेका थिए। अतः ती दश सरदारले आठ राजाको शरण लिई तिनीहरूको मन्त्री र सल्लाहकार समेत भई बसे। धेरै समय पार हुँदै गएपछि ती शानमकवानीको संख्या पनि तीव्र गतिले बढेर गयो।
आठ किराती राजाको निरंकुश शासन अति बढेर गएकाले ती दश सरदार र शानमकवानी जनताले आठ राजाको विरुद्धमा युद्ध छेडे। युद्धमा आठ किराती राजाको हार भयो। दश सरदारले आफ्नो हातमा शासनसत्ता कायम गरे। त्यतिखेर उनीहरूले आफ्नो सत्ताको कब्जा धनुकाँडको सहायताले प्रहार गरी गरेका थिए। यसरी, लि (धनुकाँड) र आबुआङ् (प्रहार गरेर) विजय गरेको भूमि वा प्रदेशको नाम नै कालान्तरमा लिम्बुवान रहन गयो।
त्यसपछि लिम्बुवान प्रदेशमा बस्नेहरू नै याक्थुङ् लिम्बू भए। यसपछि, लिम्बुवानलाई १० प्रान्तमा विभाजन गरियो। त्यसमध्ये फेदाप भूमिमा सेङ्सेङ्गुम फेदापहाङ राजा भए।
यसरी किरात राजा भाइ फुट्टाहाङ्ले आर्जेको विशाल महाफेदाप विखण्डित भएर खुम्चिन पुग्यो। त्यसको साँध सिमाना तमोर पश्चिम येवा (नुभो) खोलापूर्व, छथर याक्सिजुङ्उत्तर, सोबुवा चाँगेदक्षिण कायम गरिएको थियो। यस ग्रन्थमा संगृहीत विभिन्न अभिलेखले पनि यही तथ्यलाई थप पुष्टि गर्छन्।
संग्रह र स्रोत
यी अभिलेख हाम्रा तुम्बाहाङ्फे पुर्खाहरूले संकलन गरी सुरक्षित राख्नुभएको हो। तुम्बाहाङ्फे वंशावलीको संकलन र लेखन गर्ने क्रममा २०५३ सालतिर नै मैले यी अभिलेख छुट्याएर सुरक्षित राखेको थिएँ।
यी कागज हाम्रो मूलघरमा एक डेलीमा राखिएको थियो। यसर्थ यी सबै दस्तावेज अभिलेखको स्रोत मेरा पुर्खा र उहाँहरूका सन्तति म लेखक तथा संकलक स्वयम् पनि हुँ।
यस्ता सार्वजनिक महत्त्व राख्ने ऐतिहासिक अभिलेख यतिकै राख्दा हराएर वा नाशिएर जानसक्ने भएकाले सबैलाई जानकारी होस् भनी यसरी एक अभिलेख संग्रहका रूपमा संकलन गरी प्रकाशन गरिएको हो।
अभिलेख संग्रहको उद्देश्य
मेरा तुम्बाहाङ्फे पुर्खाहरू तत्कालीन लिम्बुवान फेदाप मेयङ्लुङ्का नेतृत्व सुब्बाहरू हुनुहुन्थ्यो। उहाँहरूले आफ्ना जिम्माको जनताको हेरचाह गर्नुका साथै विभिन्न मुद्दामामिलामा समेत न्याय निरूपण गर्नुपर्थ्यो। आफ्ना जिम्माका जनता तथा समग्र लिम्बुवानी जनताका सामाजिक, सांस्कृतिक र राजनीतिक हक-अधिकारका लागि बहस पैरवी गर्नुपर्थ्यो। त्यसका लागि तत्कालीन अध्ययन सामग्री भन्नु यस्तै राज्यबाट प्रेषित विभिन्न कागजपत्र नै हुन्थे। तर यस्ता कागजपत्र सबै जनताको पहुँचमा हुँदैनथे।
तेह्रथुमको मेयङ्लुङ चैनपुरपछि प्रशासनिक केन्द्रका रूपमा स्थापित भयो। यहाँको सरकारी प्रशासनमा विभिन्न उद्देश्यका कागजपत्र आउँथे र हुन्थे। ती कागजपत्रबारे नेतृत्वमा रहेका सुब्बाहरूले जानकारी राखी जनतालाई समेत सुसूचित गर्नु/गराउनुपर्थ्यो। यसका लागि हाम्रा पुर्खाले ती कागजात लिएर वा सारेर राख्नुपरेको थियो।
त्यसरी यी कागजात लिएर वा सारेर नराखेको भए ती प्रशासनमै सीमित रहन्थे। पछि, धेरैजसो मुख्य र सक्कल कागजात केन्द्र सरकारले नै धनकुटा गौंडा हुँदै काठमाडौंमै फिर्ता लगेर अहिले विभिन्न मन्त्रालयको गोप्य शाखा, कौसीतोसाखाना र राष्ट्रिय अभिलेखालय आदिमा राखिएका छन्।
ती कागजपत्र हाल पनि सबै सर्वसाधारण जनताको पहुँचमा छैनन्। ती र त्यस्ता महत्त्वपूर्ण कागजात हामी अध्येता र जनताको पहुँचमै नपुगी नष्ट पनि हुन सक्छन्। तर ती नेपाल सरकार र सबै नेपाली जनताका अमूल्य निधि इतिहास हुन्।
त्यसैले यस्ता ऐतिहासिक अभिलेखबारे सबै अध्येता तथा जनतालाई जानकारी होस् भनी हाम्रा पुर्खाले संकलन गरी राखेका यस्ता महत्त्वपूर्ण दस्तावेज छनोट गरी यसरी प्रकाशन गरिएको हो। यसले सिंगो नेपाल र प्रत्येक नेपाली जनसमुदायको इतिहास लेखनमा केही न केही सहयोग गर्न सक्छ भन्ने हामी संकलक, प्रकाशकको उद्देश्य र अपेक्षा छ।
संरचना र प्रस्तुति
हाम्रा पुर्खाले संकलन गरेका यी ऐतिहासिक अभिलेख दस्तावेजमा पनि मुख्यतः सामाजिक, सांस्कृतिक तथा राजनीतिक सवालसँग सम्बद्ध कागजपत्रलाई छनोट गरी राखिएका छन्। अध्ययन र प्रस्तुति सहजताका लागि यसलाई मुख्य गरी दुई खण्ड र थप अनुसूची खण्डमा समेत विभक्त गरी राखिएका छन्।
यस संग्रहको पहिलो खण्डमा सक्कल तथा नक्कल सरकारी दस्तावेज राखिएका छन्। दोस्रो खण्डमा स्थानीय सुब्बाको सुब्बा-सुभाङ्गी र अमाल, कचहरी, तमसुक तथा तिरोभरोसँग सम्बद्ध कागजपत्र राखिएका छन्। यस संग्रहको अनुसूची खण्डमा दस्तावेजमा प्रयुक्त केही शब्दार्थ तथा सम्बद्ध तस्वीर राखिएका छन्।
यस संग्रहको दुवै खण्डका प्रत्येक परिच्छेदका दस्तावेजलाई मुख्यगरी चार भागमा बाँडेर आवश्यक विवरण राखी प्रस्तुत गरिएको छ। प्रत्येक दस्तावेजको पहिलो भाग वा पृष्ठमा सो अभिलेखको परिचय, दोस्रो पृष्ठमा मूल दस्तावेजको तस्वीर, तेस्रो पृष्ठमा सो दस्तावेजको दुरुस्त लिप्यन्तर र चौथो भाग वा पृष्ठमा सो दस्तावेजको सार र लेखक तथा संकलकको टिप्पणी समेत विषयसार र टिप्पणीका रूपमा राखिएका छन्।
यसको परिचय खण्डले सो दस्तावेजको अध्ययन गर्नपूर्व सो अध्ययन गर्न लागिएको दस्तावेज खासमा के, कस्तो र कसले, किन र कहिले प्रदान गरेको हो भन्ने कुराको सामान्य परिचय दिनेछ। दोस्रो भाग वा पृष्ठमा राखिएको मूल दस्तावेजले सोबारे सपाट जानकारी दिनेछ। तर यस्तो पुरानो दस्तावेजको सहज पठन गर्न नसक्ने अध्येताका लागि तेस्रो भाग वा पृष्ठमा दिइएको दुरुस्त लिप्यन्तर पढेर सो दस्तावेजको खास व्यहोरा बुझ्न सकिनेछ।
यस्ता पुराना कागजपत्रको बेहोरा र भाषा समेत पुरानै शैलीको हुने हुनाले मूल दस्तावेज र लिप्यन्तर पढ्दैमा पनि सबै कुरा बुझ्न जोकोहीका लागि कठिन हुन सक्छ। यो सहजताका लागि अन्तिम चौथो भाग वा पृष्ठको विषयसार र टिप्पणी खण्डको अध्ययन गरेर सो दस्तावेजको सारांश बुझ्न सकिनेछ। साथमा, कतिपय ऐतिहासिक दस्तावेजसँग सम्बद्ध शब्दको अर्थ बुझ्न सहज होस् भनी यस ग्रन्थको अन्त्यमा केही कठिन शब्दको अर्थ समेत राखिएको छ।
प्रत्येक दस्तावेजको प्रारम्भिक जानकारी यसको शीर्षक र विषयले पनि दिनेछ। यो ग्रन्थ यस्ता विभिन्न दस्तावेजको संकलन भएकाले सबै अभिलेख एकआपसमा अन्तरसंयोजित भएका वा नभएका पनि हुन सक्छन्। यसलाई अध्येता पा पाठक आफैंले रुचि र पूर्व ज्ञान अनुसार पनि अन्तरसंयोजित गरेर अध्ययन गरी बुझ्न सकिनेछ।
अन्त्यमा, म यी र यस्ता सार्वजनिक महत्त्वका ऐतिहासिक अभिलेख दस्तावेज संकलन गरेर सुरक्षित राखिदिनुहुने पुर्खाप्रति हार्दिक नमन गर्छु। उहाँहरूले यस्ता ऐतिहासिक दस्तावेजको अर्थ र महत्त्व बुझेर संकलन गरी नराख्नुभएको भए आज हामी यी अभिलेख पाउने नै थिएनौं।
यो अभिलेखले तत्कालीन नेपाल, लिम्बू जाति, लिम्बुवान र पल्लो किरातका खम्बू राई, याक्खा, लोहोरुङ, याम्फू तथा क्षेत्री-बाहुन र दलित शिल्पी समेतको इतिहासलाई बुझ्न सघाउनेछ। यसका मूल लिखत खास इतिहास हुन्। यसको परिचय, लिप्यन्तर र टिप्पणी मेरा निजी अध्ययन र विचारका सार हुन्।
(तुम्बाहाङ्फेको पुस्तक याक्थुङ साप्मुन्धुम : लिम्बू र लिम्बुवान इतिहास चैत १६ मा ललितपुरको तिखेदेवलस्थित सयल बाटिकामा विमोचन हुँदै छ।)