प्रदर्शन हिंसात्मक बनाउने रणनीतिमै थिए राजावादी
प्रदर्शनकारीलाई ‘मान्छे भएको घरमा आगो लगाई सटर बन्द गर्न‘ उक्साउने दुर्गा प्रसाईंले जसरी प्रहरीमाथि गाडी चढाउन खोज्दै तिनलाई उत्तेजित बनाइरहेका थिए, त्यसले दुई जनाको ज्यान गएको छ। हिमालखबरको स्थलगत अध्ययनले प्रसाईंले नियोजित रूपमै हिंसा भड्काउन खोजेको देखिन्छ।
तीनकुने-नयाँ बानेश्वर सडकखण्डमा लामबद्ध ‘ढाल’ बनेर उभिएका प्रहरीको पछिल्लो लहरमा स्टिलको ‘ब्यारिकेड’ले छेकिएको थियो। यो सुरक्षा घेरा तोड्न खोज्दा प्रहरी-प्रदर्शनकारीबीच धकेलाधकेल र भनाभन चलिरहे पनि प्रदर्शनकारी अगाडि बढ्न सकिरहेका थिएनन्। प्रदर्शनकारी नाराबाजी र नाचगान गर्दै बसिरहेका थिए। एक्कासि तीनकुनेतर्फबाट सेतो रङको ‘हाइलक्स पिकअप’ हुइँकिँदै आयो। पिकअपको ड्राइभिङ सीटमा ज्ञानेन्द्र शाहले राजतन्त्र फर्काउने आन्दोलनको मोर्चाका ‘कमान्डर’ बनाएका दुर्गा प्रसाईं थिए।
मान्छेको भीडमा उनी झ्यालबाट चिच्याउँदै ‘आओ आओ केटा हो यता आओ’ भन्दै भ्यानलाई बेलगाम भगाइरहेका थिए। उनको मुखबाट भएभरका अपशब्द निस्किरहेका थिए। कालो चश्मा र सुन्तले रङको ‘टीसर्ट’ लगाएका प्रसाईंले हाँकेको भ्यानमा केही यूट्युबर थिए, जसले उनको यस्तो चर्तिकलाको प्रत्यक्ष प्रसारण गरिरहेका थिए। पछिल्लो भागमा नेपालको झण्डा बोकेका केही युवा उभिएका थिए, जसले नाराबाजी गरिरहेका थिए।
तीव्र गतिमा आएको ‘पिकअप’ प्रहरीको सुरक्षा घेरालाई तोडेर अगाडि बढाउन खोज्दा प्रहरीले उनको गाडी रोक्यो। प्रसाईं गाडीबाट ओर्लिए। प्रहरीले रोकेपछि केहीबेर धकेलाधकेल भयो। प्रसाईंले प्रहरीलाई गालीगलौज गर्दै उग्र बनाउन खोजे। अपशब्द प्रयोग गरे। पछाडिबाट एक्कासी सुरक्षाकर्मीमाथि ढुंगामुढा वर्षियो। प्रहरीले अश्रुग्याँस प्रहार गर्यो। आन्दोलनस्थल रणमैदानमा परिणत हुन थालेपछि प्रसाईं पिकअपमा चढेर त्यहाँबाट सुटुक्क भागे। सिनामंगल, तीनकुने, शान्तिनगर, कोटेश्वर, जडीबुटी क्षेत्र रणभूमि बन्यो।

आन्दोलनकारीलाई उग्र बनाएर प्रसाईं सुरक्षित आश्रयतिर निस्किएपछि उनले जम्मा गरेको अराजक भीडले निजी घर, पसल र गाडी जलाउन थाल्यो। कोटेश्वरको भाटभटेनी सुपरमार्केटभित्र छिरेर लुटपाट मच्चायो।प्रदर्शनस्थलमा चलेको झडपमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको ज्यान गयो भने प्रदर्शनकारीले आगजनी गरेको भवनमा जलेर एक सञ्चारकर्मीको मृत्यु भयो। यस्तै, प्रहरीको गोली लागेर घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ज्यान गयो।
आगो लगाएर हत्या
एभिन्यूज टेलिभिजनका क्यामेराम्यान सुरेश रजक तीनकुनेको एउटा भवनमाथिबाट राजावादी समूहको प्रदर्शनको दृश्य खिचिरहेका थिए। त्यहाँबाट राजावादीहरूले भाषण गर्ने भनिएको मञ्च नजीक भएकाले उनले दृश्य खिच्न त्यो घर रोजेका थिए। त्यस भवनमा अन्य पत्रकारहरू समेत भिडिओ खिच्न पुगेका थिए। त्यही वेला मञ्चबाट माइकमा बोलिरहेकी महिलाले उक्त भवनबाट ‘टियर ग्याँस’ हानिरहेको बताएपछि प्रदर्शनकारीले भवनलाई लक्षित गरी ढुंगामुढा हाने। अघिल्लो पट्टि शीशाले ढाकिएको घर छियाछिया भयो।
भवनमा ढुंगामुढा बढेपछि एक हूल मानिस ज्यान जोगाउन त्यहाँबाट निस्किए। प्रदर्शनकारी झन् हौसिए। तिनले पुल्ठो बालेर भवनमा आगो हुत्याइदिए। भवनमा दनदनी आगो बल्न थाल्यो। प्रदर्शनकारीलाई त्यतिले पनि पुगेन। तिनले आगो लगाएर सटर बन्द गरिदिए। आगो निभाउन आएको दमकललाई पनि ढुंगामुढा गरेर धपाइदिए। यो दिउँसो २ देखि ३ बजेभित्र भइसकेको थियो। साँझतिर पानी बोकेको प्रहरीको ट्रकले आगो नियन्त्रणमा लिएपछि भित्र पसेर हेर्दा भवनभित्र रजकको शव जलेको अवस्थामा भेटियो। प्रदर्शनकारीले सटर बन्द गरिदिएपछि रजक बाहिर निस्कन नपाउँदा जलेर उनको ज्यान गयो।
गृह मन्त्रालयका सहसचिव छवि रिजालले साँझ पत्रकार सम्मेलनमा ‘प्रसाईंले सुरक्षाकर्मीलाई मार्ने नियतले गाडी चलाएर अगाडि बढेपछि स्थिति भड्किएको’ बताए। राजावादीको प्रदर्शन भएको स्थलमा व्यापारिक, सार्वजनिक र व्यक्तिगत भवन, पसल र सवारीसाधनमा तोडफोड गर्नुका साथै आगो लगाएका थिए। प्रदर्शनकारीले व्यक्तिगत सम्पत्तिमा नै ठूलो क्षति पुर्याइदिएका छन्।
तीनकुने क्षेत्रका अधिकतर भवन सग्ला छैनन्। अन्नपूर्ण पोष्ट् दैनिकको कार्यालय भएको भवन र नागरिक उड्डयन प्राधिकरणको भवन तोडफोड भएको छ भने भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट मच्चाइएको छ। काठमाडौं-भक्तपुर सिमानामा रहेको जडीबुटी प्रशोधन तथा उत्पादन केन्द्रमा आगो लगाइदिएपछि त्यहाँका कर्मचारीले भागेर ज्यान जोगाएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा रहेको नेपाल आयल निगमको इन्धन डिपो छेउमा समेत प्रदर्शनकारीले आगो दन्काइदिएका थिए, जसका कारण हवाई उडान घण्टौं प्रभावित भएको थियो।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालका अनुसार, हालसम्म २३ जना प्रदर्शनकारी र १५ जनाभन्दा बढी प्रहरी घाइते भएका छन्। चार प्रहरीको अवस्था गम्भीर छ। १७ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ। “भौतिक क्षति पनि ठूलो भएको छ,” खनालले भने। यी सबै अराजकताका कारक ठानिएको दुर्गा प्रसाईंलाई पक्राउ गर्न आदेश दिइएको छ।

चैत १४ गते बिहीबार राजावादीहरूले पत्रकार सम्मेलन गरी शुक्रबार (चैत १५) ‘व्यवस्था परिवर्तनका लागि विद्रोह सभा’ गर्ने भन्दै जानकारीसभा गरेका थिए। शुक्रबार नै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी लगायतका विपक्षी दलले पनि गणतन्त्रको पक्षमा प्रदर्शन गरेका थिए। गणतन्त्र विरोधी र राजतन्त्र पक्षधरले एकैदिन शक्ति प्रदर्शन गर्ने भएपछि प्रशासनले संभावित मुठभेड टार्न समाजवादी मोर्चालाई भृकुटीमण्डपमा र राजावादी मोर्चालाई तीनकुने क्षेत्रमा प्रदर्शनको अनुमति दिएको थियो। गणतन्त्र पक्षधरको प्रदर्शनी शान्त थियो भने राजवादीले नियोजित रूपमा प्रदर्शनलाई हिंसात्मक बनाए, जसका कारण दुई जनाको ज्यान गयो।
गृहप्रशासनको चुक
२०८० मंसीरमा प्रसाईंकै अगुवाइमा राजावादी समूहले तीनकुने क्षेत्रलाई प्रदर्शन स्थलको रूपमा रोजेको थियो। तर हवाई सुरक्षाको मापदण्ड तय गर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को नियम अनुसार सुरक्षाका कारण उक्त क्षेत्रमा प्रदर्शनी गर्न नमिल्ने भन्दै जिल्ला प्रशासन कार्यालय र प्रहरी दुवैले स्वीकृति दिएको थिएन। “मुख्यतया हामीले विमानस्थल नजिकै रहेको र हवाई इन्धनको भण्डारण पनि नजिकै रहेकोले स्थिति भड्किएमा ठूलो क्षति हुने हुनाले आइकाओको मापदण्ड अनुसार नमिल्ने भनेर रोकेका थियौं,” जिल्ला प्रशासन कार्यालयका एक उच्च अधिकृत भन्छन्।
ठ्याक्कै १६ महीनापछि प्रसाईंकै अगुवाइमा हुने भनिएको प्रदर्शनीलाई अनुमति दिइयो। पहिले संवेदनशील ठानेर प्रदर्शन गर्न रोकिएको थलोमा यसपालि चाहिं किन प्रदर्शन गर्न दिएको भनी हिमालखबरले सोधेको प्रश्नको जबाफ जिल्ला प्रशासन कर्यालय र काठमाडौं प्रहरी दुवैले दिन मानेनन्। तर तीनकुने घटनापछि गृह मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा सहसचिव रिजालले गृह प्रशासनले आकलन गरेभन्दा प्रदर्शन नियन्त्रण बाहिर गएको स्विकारे। “आजको घटनाबाट करेक्सन गरेर अगाडि बढ्छौं,” रिजालले भने।
शुक्रबारको घटनामा चुस्त सुरक्षा रणनीति बनाउन प्रहरी-प्रशासन चुकेको देखिन्छ। रिजालले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार तीनकुनेको राजावादीहरूको प्रदर्शनमा तीन हजारदेखि चार हजार मानिस सहभागी थिए, जुन प्रसाईंकै नेतृत्वमा १६ महीनाअघि बल्खुमा भएको प्रदर्शन जत्रै हो। फरक के थियो भने, समाजवादी मोर्चाको प्रदर्शन समेत भएकाले केही प्रहरी उक्त प्रदर्शनतिर खटिएका थिए। गृहप्रशासनको विश्लेषणमा प्रसाईंलाई पुराना पञ्चायतकालीन नेताहरूको साथ रहे पनि राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रै पनि प्रसाईंलाई अगुवा बनाइएकोमा असन्तुष्टि थियो, जुन सरकारका लागि स्थिति नियन्त्रणमा लिन सकारात्मक पक्ष थियो।
तर प्रदर्शन स्थलमा अवस्था भिन्न थियो। प्रदर्शन नियन्त्रणमा खटिएका एक प्रहरी अधिकृतका अनुसार प्रदर्शनका लागि तीनकुनेमा भेला भएकाहरू शुरूदेखि नै अन्य वेलाको भन्दा तुलनात्मक रूपमा ‘भिड्ने’ मनस्थितिमा देखिन्थे। “यस्तो प्रदर्शनमा फिल्डको स्थिति हेरेर ‘फिल्ड कमान्डर’ले तत्काल निर्णय लिनुपर्ने हुन्छ, सोही अनुसार माथिका कमान्डरले निर्देशित गर्नुपर्छ,” अवकाशप्राप्त एक एआईजी भन्छन्, “तर गाडीले किच्न खोजेर प्रहरीको घेरा तोड्दा पनि प्रहरीले प्रसाईंलाई नपक्रनु ठूलो त्रुटि भएको देखिन्छ।”
.jpeg)
काठमाडौं प्रहरी प्रमुख विश्व अधिकारी तल्लो दर्जामा छँदा काठमाडौंको कुनै पनि युनिटको कमान्ड नगरेका अधिकृत भएकाले हुन सक्छ, उनले ‘एकैचोटि ठूलो भीड नियन्त्रण गर्न’ सकेनन्। उनको अनुभवको समेत कमीका कारण शुक्रबारको घटना भएको जस्तो देखिन्छ,” एक पूर्व प्रहरी अधिकृत भन्छन्।
“प्रहरीले प्रदर्शनकारीलाई तीनकुनेमा रोक्न मात्र फोकस गर्यो,” एक पूर्व गृहसचिव भन्छन्, “त्यहाँ नै भीड हिंसात्मक बन्यो भने कसरी नियन्त्रणमा लिने भन्ने योजना देखिएन। वा हिंसा नभड्किनेमा प्रहरी प्रशासन बढी विश्वस्त बन्यो।”
अराजक प्रसाईं
तीनकुनेको भवनमा जलेर मृत्यु भएका पत्रकार रजकलाई आगजनीपछि प्रदर्शनकारीले ‘सटर’ लगाइदिएका थिए। तिनले उद्धारका लागि आएको एम्बुलेन्स र आगो निभाउने दमकल जान समेत दिएका थिएनन्। जलिरहेको भवनबाट निस्कने सटर लगाइनुले प्रदर्शनकारीको नियत ठीक थिएन भनी बुझ्न सकिन्छ। प्रसाईंले जसरी भ्यानमा बसेर भीडलाई उत्तेजित बनाउँदै हिंडेका थिए, जसरी प्रहरीलाई उत्तेजित बनाइरहेका थिए, त्यसले पनि प्रसाईं प्रदर्शनलाई हिंसात्मक बनाउने योजनामा थिए भन्ने पुष्टि हुन्छ।
प्रसाईंले स्वविवेकमा प्रदर्शनलाई हिंसक बनाउन खोजेका थिए किराजावादीहरूको बिहीबारको बैठकले त्यो तय गरेको थियो, त्यो प्रष्ट छैन। तर प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन हेर्दा राजावादीहरू देशको संघीय राजधानीमा अराजकता फैलाउने नियोजित योजनामै आएको देखिन्छ। प्रसाईं विरूद्ध पक्राउ पुर्जी जारी भएको छ। कुन कसुरमा पक्राउ पुर्जी जारी भएको नखुले पनि उनलाई ज्यान सम्बन्धी कसूर आकर्षित हुन सक्ने देखिन्छ। ज्यान मार्ने नियतले र ज्यान जान्छ भन्ने थाहा हुँदाहुँदै ज्यान लिने कार्य गरेको कसूरमा प्रसाईंलाई सजाय हुन सक्छ। यी दुवै कसूरमा जन्मकैदको सजाय हुने मुलुकी अपराध संहिताको ज्यान सम्बन्धी कसूरको महलमा छ। यस बाहेक सार्वजनिक शान्ति विरूद्धको कसूरमा समेत प्रसाईंलाई मुद्दा चलाउन सकिने देखिन्छ।
प्रसाईं उत्तेजक अभिव्यक्ति दिने अराजक प्रवृत्तिका व्यक्ति हुन्। उनले साम्प्रदायिक दंगा भड्कने अभिव्यक्ति दिने गरेका छन्। उनले विगतमा मारवाडी समुदायलाई होच्याएर अभिव्यक्ति दिएका थिए। यूट्युबमा घरिघरि यस्तै विवादास्पद अभिव्यक्ति दिएका कारण उनलाई पटक पटक ‘साइबर क्राइम’सम्बन्धी कसूरमा मुद्दा लाग्ने गरेको छ। उनी विरूद्ध काठमाडौं जिल्ला अदालतमा दुई वटा मुद्दा विचाराधीन नै छन्।
२०८० चैतमा प्रसाईंलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसूर समेत लागेको थियो। सर्वोच्च अदालतभित्र अर्धस्वचालित हतियार बोकेका ‘बडीगार्ड‘ सहित छिर्न खोजेपछि उनी पक्राउ परेका थिए। पछि उनी धरौटीमा छुटेका थिए।
मेडिकल व्यवसायी समेत रहेका प्रसाईं नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएर नेकपा बनेको बखत यी दुई दलका शीर्ष नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवैका प्रिय थिए। प्रसाईं निवासमै ओली र दाहालले मार्सी चामलको भात खाइरहेको तस्वीर सार्वजनिक भएपछि 'मार्सी' शब्द नेपाली राजनीतिको विम्ब नै बनेको थियो। सर्वोच्च अदालतको फैसलापछि नेकपा विघटन भएर एमाले र माओवादी पूर्ववत् दुई दल भएपछि प्रसाईं एमालेतिर लागेका थिए। अहिले प्रसाईं एमाले छाडेर राजावादी कित्तामा पुगेका छन्।
पररम्परागत राजावादी भनी चिनिएका कमल थापा र राजेन्द्र लिङ्देनहरूलाई पन्छाएर उनी अहिलेको ‘राजावादी प्रदर्शन’ को नेतृत्व हत्याउन सफल भए पनि स्थितिलाई भड्काउँदा दुई जनाको ज्यान गएको छ भने व्यक्तिगत सम्पतिमा ठूलो क्षति पुगेको छ, जसको लेखाजोखा हुनै बाँकी छ।
यो पनि पढ्नुहोस्- अराजकतातिर डोर्याउने नियोजित प्रयास