अराजकतातिर डोर्याउने नियोजित प्रयास
अराजकता सिर्जना गरेर त्यसैको बलमा मोलमोलाइ गर्ने राजावादीहरूको दाउ शुक्रबारको प्रदर्शनले प्रमाणित गरेको छ।
कस्तो बिब्ल्याँटो दृश्य! तिनका हातमा नेपालको झण्डा थियो र उनीहरू नै नेपाली सामान्यजनको घरमा आगो लगाइरहेका थिए।
गर्न त ती नेपाली राजनीति गलत बाटोमा गइरहेको दाबी गर्छन्, तर ‘कमान्डर’ नै यस्तो मानिसलाई बनाउँछन् जो दशकभर राजनीतिक नेतृत्वसँगको मिलेमतोमा दोहन अभ्यासमा लागिपरे, ब्यांकको ऋण–भारले थिचिँदै गएपछि विक्षिप्त भएर तथा ‘मिटरब्याज पीडित’को आन्दोलन गिजोल्ने प्रयत्न पनि असफल भएपछि ‘रातारात’ ‘राजावादी’ भएका छन्। जसको मुखमा लगाम छैन। जसको बोलीमा द्वेष र कुण्ठाभन्दा केही छैन। जो केवल निन्दक हुन्, जसले लिंग, क्षेत्र र जात, सम्प्रदायद्वेषी वाक्य उच्चारण गरिरहन्छन्।
शुक्रबार काठमाडौं तीनकुनेमा जे भयो, त्यो यही बिब्ल्याँटोको मञ्चन हो। जसले वर्तमान व्यवस्थाको विरोधमा उठेको ‘पश्चगमन’को आवरण उदांगो पारेको छ।
शुक्रबार काठमाडौंमा भएका दुई वटा प्रदर्शनलाई मूलतः तीन वटा कोणबाट विश्लेषण गर्न सकिन्छ। एक, सपनाहरूको रक्षा। दुई, अराजकताको मोह। तीन, अकर्मण्य सरकार।
भृकुटीमण्डपमा भाषण गर्ने पुराना अनुहारहरूको चर्चा अहिले नगरौं (तिनका असफलताबारे लामै लेख्न सकिन्छ)। तर, त्यो आन्दोलनमा सहभागीबारे चर्चा गरौं। जसको चर्चा अराजकताको भूमरीमा कतै हराएको छ। तर, त्यो आवश्यक छ।
बिहान बागमती प्रदेशका धेरै जिल्लाका मानिसहरू जुलुसका लागि काठमाडौं पुगिरहेका थिए। ती अधिकांश पाको उमेरका गाउँले थिए। तिनलाई शहरका मध्यमवर्गीय असन्तोकीहरूले सामाजिक सञ्जालमा गर्ने अनर्गल प्रचारसँग धेरै लिनुदिनु छैन, जानकारी पनि नहोला। हो, वर्तमान शासक दलहरू र सत्ता सञ्चालकप्रति तिनको प्रशस्त गुनासो छ। तर, ती यो व्यवस्थाका कट्टर समर्थक हुन्। किनभने, यो तिनैले ज्यानको बाजी थापेर ल्याएको व्यवस्था हो। यो व्यवस्थाले आम मानिसको जीवनमा अलौकिक परिवर्तन गरी नहालेको भए पनि धेरथोर सुधार तिनले महसूस गरेका छन्, आफ्नै दैनिक जीवनमा। एउटा सानो उदाहरण, काठमाडौंको छिमेकी जिल्लाका एक गाउँपालिकाका एक नागरिकले आफ्नो भैंसी हराएपछि खोजिदिन आग्रह गर्दै वडाध्यक्षलाई फोन गरे। वडाध्यक्षले आफ्ना सम्पर्क सूत्र प्रयोग गरेर भैंसी भेटाउन सघाए (सम्बन्धित व्यक्तिहरूसँग अनुमति नलिएकाले जिल्ला र मानिसको नाम उल्लेख नगरिएको)। आँँगनको सरकारसँगको यो तहको पहुँच आम जनताले यसअघि कहिल्यै पाएका थिएनन्।
हो, दलका नेताप्रति उनीहरू रुष्ट छन्। सत्ताप्रति तिनको असन्तोष बढी नै छ। तर, ती ढुक्क छन्, यो व्यवस्थामा मात्रै उनीहरूको आवाज सुनिन्छ। पहिलोपटक उनीहरूले आफ्नो जातका, आफ्नै घरछेउका मानिसहरू घर–गाउँको निर्णयप्रक्रियामा संलग्न भएको देखे–भोगेका छन्। ‘२०४७को संविधान’ र ‘संवैधानिक राजतन्त्र’का पक्षपोषकले ‘स्थानीय निकायकालीन’ दिनको चर्चा गर्लान्। तर, त्यो स्थानीय निकाय र आजको ‘स्थानीय सरकार’बीचको तात्विक फरक ती जनताले मात्रै महसूस गरेका छन् जसले भैंसी हराउँदा होस् वा बुहारी सुत्केरी हुन अस्पताल लैजान गाडी चाहिने वेला वडाध्यक्षलाई फोन गर्ने सहजता पाएका छन्। नभए गुल्मी धुर्कोटकी ती महिलालाई सोधे हुन्छ जसले स्थानीय सरकारले दिएको तालिमपछि उसकै आर्थिक सहयोगमा सिलाइकटाइको आफ्नै व्यवसाय चलाइरहेकी छन्।
सार हो, शिरमा ढाकाटोपी, अनुहारमा चाउरी, जिउमा उमेरको स्वभावजन्य थकानका बावजुद पनि सडकमा उत्रेका ती मानिसले दिने एउटै सन्देश हो, साँच्चै नै देशको राजनीतिक माहोल वर्तमान व्यवस्था र पश्चगमनबीच ध्रुवीकरणतिर गइहाले शहरिया असन्तोषी पश्चगामीहरूले अनुमान गरे जस्तो पश्चगमनको पल्ला भारी हुने अवस्था छैन। किन पनि भने, त्यस हूलमा थुप्रै किशोरकिशोरी पनि थिए जो शहरका केही अन्जान स्कुले केटाकेटी जस्तो ‘राजा आऊ’को आशक्तिमा रनभुल्ल परेका छैनन्। काठमाडौं शहरकै सचेत विद्यार्थी वंशवादले देशलाई अगाडि लैजान नसक्नेमा ढुक्क छन् (नेशनल कलेजकी एक छात्रा प्रज्ञा थापाको इन्स्टा स्टोरी)।
हो, भृकुटीमण्डपको मञ्चमा चाहिँ तिनै पुराना अनुहारका थोत्रा अभिव्यक्ति नै दोहोरिए जसले यो गणतन्त्रभित्रै परिवर्तनको आवश्यकता बोध गराउँछ।
अब लागौं काठमाडौं तीनकुनेतिर जहाँ चैत १५ गते अर्थात् शुक्रबार पूर्वराजाका समर्थक अर्थात् वंशवादका पक्षपातीहरूले प्रदर्शन गर्ने तोकिएको थियो। ‘सक्रिय राजतन्त्र’ त परै जाओस् ‘२०४७ को संविधान’ वा ‘संवैधानिक राजतन्त्र’ पनि औचित्यहीन, असान्दर्भिक र पश्चगामी प्रस्ताव हो। कारण सरल छ, वंशवादमा आधारित त्यो अभ्यासमा लोकतन्त्रको मूल आत्मा ‘स्वशासन’ नै छैन। लोकतन्त्र केवल दलीय शासन मात्र होइन यो जनताले आफैंले शासन गर्ने अभ्यास हो। हाम्रो लोकतन्त्र गिजोलिएको छ। बिरामी छ। अस्वस्थ छ। तर, यसको उपचार यही व्यवस्थामा मात्रै सम्भव हुन्छ। लोकतन्त्रको ढोका थुनेर लोकतन्त्रको समुन्नति कल्पना पनि असम्भव छ।
तथापि केही मानिस यो पश्चगामी यात्रामा अग्रसर छन्। ती केही मानिसभित्र मूलतः तीनथरी अनुहार देखिन्छन्। पहिलो, ठूलो राजनीतिक महत्त्वाकांक्षाले आएका तर सफल हुन नसकिरहेकाहरू, जो कुनै वेला गणतन्त्रवादी समेत हुन पुगेका थिए। तर, यो गणतन्त्रमा ‘तुरुन्तै’ आफ्नो महत्त्वाकांक्षा हासिल नहुने देखेपछि ‘मार्ग परिवर्तन’ गरेर पश्चगमनको सारथी भएका छन्, ‘ठूलै नेता’ बन्ने अभिलाषासहित। दोस्रो, नेपाली गणतन्त्रको एक दशकमा भएको कुअभ्यास ‘आसेपासेतन्त्र’को सहउत्पादन जसले गणतन्त्रको दोहन गर्नुसम्म गरेपछि आफ्नो व्यावसायिक स्वार्थ रक्षाका लागि ‘राजतन्त्र’को झण्डा बोकेका छन्। उनीहरूबाट त ‘राजावादी’ नै होशियार हुन जरुरी छ, तिनले कुनै पनि बेला झण्डा फेर्न सक्छन्। तेस्रो, ‘राजतन्त्र’मा राज्यसञ्चालनमा हालीमुहाली गरेर अहिले निवृत्त जिन्दगी बिताउन बाध्य परेकाहरू जो पुराना ‘सुखी’ दिनको ‘स्मृतिदंश’बाट आजित छन्। जसका सन्तानको भविष्य सुनिश्चित छ र जो विगतमा बाँचिरहेछन्। आयुको अन्तिम बगरमा भए पनि पुराना स्वप्निल दिनको अनुभूतिमा जिन्दगी बिताउन चाहन्छन्। यी तीनै थरी मानिसलाई अहिले यो व्यवस्था कुनै पनि हालतमा नटिकोस् भन्ने चाहन्छन्। कुनै न कुनै रुपमा ‘पूर्वराजा’ राजनीतिक रंगमञ्चमा आइदिए आफूहरू पनि छेउकुनामा कतै अटाउने थियौं भन्ने तिनका अभिलाषा छ। यी सबै स्वार्थहरूको सम्मिलित प्रस्तुति हो– शुक्रबारको प्रदर्शन। यो कुनै हालतमा पनि नागरिक आन्दोलन होइन।

शुक्रबार तीनकुनेमा ‘पूर्वराजा’को समर्थकको प्रदर्शनले संकेत गर्ने एउटै तथ्य हो– उनीहरू कुनै पनि हालतमा अराजकता चाहन्छन्। त्यही अराजकताको पराकाष्ठा ‘निहत्था’ मानिसको घरमा आगो झोसियो। विडम्बना त्यस आगोमा परी त्यहीबाट रिपोर्टिङ गरिरहेका एक पत्रकार मारिए। यो अराजकता नियोजित थियो भन्ने प्रमाण प्रशस्त छन्। पहिलो, ‘कमान्डर’ घोषित दुर्गा प्रसाईं आफैंले प्रहरीलाई नै किचुँला झैं गरी गाडी हुइँकाएर ‘निषेधित क्षेत्र’ उल्लंघन गरे साथमा अन्य प्रदर्शनकारीलाई ‘आओ आओ’ भन्दै उत्साहित पनि गरे। दोस्रो, कान्तिपुर टेलिभिजनको कार्यालय र अन्नपूर्ण पोस्ट्को कार्यालयमा योजनाबद्ध रूपमा एउटा निश्चित समूहले निरन्तर ढुंगामुढा गरिरह्यो। भाटभटेनीमा भएको लुटपाट होस् वा जडीबुटीमा भएको आगलागी वा एकीकृत समाजवादीको मुख्यालयमा भएको तोडफोड– यी सबै दृश्यले दिने एउटै सन्देश हो आयोजकका ‘कमान्डर’ र आयोजकहरू सबै अराजकता चाहन्छन् जसलाई निर्देशित र नियोजित अराजकता भन्न सकिन्छ। कारण स्पष्ट छ, उनीहरू आफू ‘व्यवस्थाविरोधी आन्दोलन’ उठाउन सक्छु भन्नेमा ढुक्क छैनन्। किनकि आन्दोलन जनसहभागिता बिना हुँदैन। जनसहभागिताका लागि उनीहरूसँग न अजेन्डा छ न जनविश्वास न सांगठनिक संरचना नै। त्यसैले उनीहरू शहरका असन्तुष्ट जमातलाई उद्धेलित बनाएर अराजकता सिर्जना गर्न चाहन्छन् ताकि त्यही अराजकता देखाएर वर्तमान सत्ता र व्यवस्थासँग मोलमोलाई गर्न सकियोस्। र, आफ्नो राजनीतिक व्यवस्थापन होस्। त्यसैले त हो आन्दोलनकारीका एक अगुवाले बारम्बार ‘नवीन समझदारी’ भन्ने गरेको। शुक्रबारको सडक आक्रोशमा उनले त्यो सत्य आफैंले फेरि दोहोर्याए।
शुक्रबारको प्रदर्शनबारे हेर्नुपर्ने अर्काे पाटो हो, सरकारको भूमिका। गृह मन्त्रालयले तथाकथित आन्दोलन अराजकतातिर जानेबारे खासै आकलन नगरेको देखिन्छ। काठमाडौंमा दुईथरी प्रदर्शन भएकाले झडप हुनेतर्फ भने सावधान भएको पक्कै हो। तर, एउटै प्रदर्शन यो हदको अराजकता र लुटपाट होला भन्नेमा सचेत नभएको देखिन्छ। यद्यपि आयोजकहरूले केही सातादेखि गर्दै आएको अराजक भाषण, व्यक्तिपरक निन्दा र उद्वेलित पार्ने प्रयत्नलाई सरकारको ‘इन्टेलिजेन्स’ले त विश्लेषण गरेको हुनुपर्छ। पत्रकारको हातखुट्टा भाँचिँदा, एउटा दलका प्रमुख सचेतकले चढ्ने सरकारी गाडी जलाइँदा, घरमा आगो लगाइँदा, सपिङ मलमा लुटपाट हुँदा सरकारको कमजोर उपस्थितिले अरु थुप्रै आशंका पनि जन्माइदिएका छन्।
यो पनि पढ्नुहोस्- प्रदर्शन हिंसात्मक बनाउने रणनीतिमै थिए राजावादी