राजावादीले आगो लगाएको घरमा जलेर एक जनाको मृत्यु
राजावादीले आगो लगाएको काठमाडौंको तीनकुनेस्थित कम्प्लेक्समा जलेको अवस्थामा एक जनाको शव भेटिएको छ।
तीनकुने क्षेत्रमा प्रदर्शनमा उत्रिएका राजावादीले कम्प्लेक्समा आगो लगाएका थिए। कम्प्लेक्सभित्र एक जना थुनिएको खबर पाएपछि सुरक्षाकर्मी उद्धारमा खटिएका थिए।
सुरक्षाकर्मीले खोजबिन गर्दा आगलागीमा जलेको अवस्थामा एक जनाको शव भेटिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी शेखर खनालले बताए। “जलेको अवस्थामा एक जनाको शव भेटिएको छ, सनाखत हुन बाँकी नै छ,” एसएसपी खनालले हिमालखबरसँग भने।
प्रदर्शनका क्रममा एक युवकको पनि मृत्यु भएको थियो। प्रदर्शनमा घाइते भएका काठमाडौंको कीर्तिपुर नगरपालिका-४ बस्ने २९ वर्षीय सबिन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन्।
राप्रपा नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले तीनकुनेमा प्रदर्शन गरेको थियो। त्यसका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जनपरिचालनको जिम्मेवारी दिइएको थियो।
तीनकुनेमा विरोध सभा हुनै लाग्दा पुगेका प्रसाईंले सुरक्षाकर्मीको घेरा तोडेर गाडी हुइँक्याएका थिए। उनी तीनकुनेबाट नयाँ बानेश्वरतिर आउन खोजेपछि तनाव शुरू भएको थियो।
राजावादीलाई प्रदर्शनका लागि तीनकुनेमा स्थान तोकिएको थियो। तर प्रसाईंले गाडी हुइँक्याउँदै प्रदर्शनकारीलाई सुरक्षा घेरा तोड्न ‘आऊ आऊ’ भनेर उक्साएका थिए। त्यसपछि प्रदर्शन हिंसात्मक बनेको हो।