तीनकुने प्रदर्शनमा एक युवकको मृत्यु
काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीले गरेको प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको छ।
तीनकुनेको झडपमा काठमाडौंको कीर्तिपुर नगरपालिका-४ बस्ने २९ वर्षीय सबिन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा घटनाबारे जानकारी गराउँदै सहसचिव छवि रिजालले उपचारका क्रममा महर्जनको मृत्यु भएको बताए।
राप्रपा नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले तीनकुनेमा प्रदर्शन गरेको हो। त्यसका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जनपरिचालनको जिम्मेवारी दिइएको थियो।
तीनकुनेमा विरोध सभा हुनै लाग्दा पुगेका प्रसाईंले सुरक्षाकर्मीको घेरा तोडेर गाडी हुइँक्याएका थिए। उनी तीनकुनेबाट नयाँ बानेश्वरतिर आउन खोजेपछि तनाव शुरू भएको थियो।
राजावादीलाई प्रदर्शनका लागि तीनकुनेमा स्थान तोकिएको थियो। तर प्रसाईंले गाडी हुइँक्याउँदै प्रदर्शनकारीलाई ‘आऊ आऊ’ भनेर उक्साएका थिए। त्यसपछि प्रदर्शन हिंसात्मक बनेको हो।