अँध्यारो सुरुङतिर गाउँ
जाँडरक्सीको जतिसुकै रन्कोमा भए पनि गाउँ ढलिहालेको छैन। हामी जस्ता परदेशीलाई आफ्नो घर बोलाउनु, मीठो खुवाउनु र हिंड्ने वेला आफ्नो खेतबारीको उत्पादन कोसेली हालिदिनु गाउँको विशेषता हो।
पूर्ण पी राई
“१० वर्षअघि छोरामान्छेले चलाएको मोटरसाइकलमा छोरीमान्छे कसरी बस्थे र अहिले कसरी बस्छन्, त्यही हो समाज परिवर्तन।”
नेपाल प्रेस इन्स्टिच्यूटको कक्षामा प्रशिक्षक तीर्थ कोइरालाले भनेका थिए। उनले त्यसो भनेको दुई दशक बित्यो। अहिले गाउँ-समाज कस्ता भए त? के के भए परिवर्तन? सकारात्मक परिवर्तन मात्र भए कि नकारात्मक पनि? यस लेखमा म आफू जन्मेहुर्केको गाउँ जाँदा देखेको सामाजिक चित्र कोर्ने प्रयास गर्दै छु। पाँचदिने गाउँ बसाइँमा गाउँको चारै छेउकुना त घुम्न पाइएन, आफ्नै टोल र आसपास देखेको तथा गाउँमा बसिरहेकाहरूसँगको कुराकानीको आधारमा यो लेख लेखिएको हो। जसले एउटा खाँटी किराती राई गाउँ कता गइरहेको छ भन्ने झलक दिन्छ।
गाउँ हो, भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं १, पाङ्खाङ। संघीयता आउनुअघि तिम्मा गाविसको वडा नं ३। त्यस वेला गाविसका नौमध्ये सबैभन्दा धेरै जनसंख्या भएको वडा। त्यस वडामा दुई गाउँ पर्थे, पाङ्खाङ र सावा। अहिले पाङ्खाङमा ७० र सावामा २५ जति गरी करीब १०० घरधुरी छन्। कुनै कुनै परिवार छुट्ने र मिसिने क्रम पनि चलिरहने हुनाले एक-दुई घरधुरी फरक परिरहन्छ। जनसंख्या ४०० जति। शत प्रतिशत राई।
उसो त गाउँमा बाहुन, क्षेत्री, कुमाल, गुरुङ, कामी, सार्की, भोटेहरू पनि थिए। सबै ४०-५० वर्षअघि नै अन्यत्र गइसके। अहिले उनीहरू बसेका ठाउँको नाम मात्रै बाँकी छ, जस्तै- बाहुनलडे, गुरुङधारा, कुमालेडिही, कामीखायल, बिस्टाबारी आदि। गाउँ एकल जातीय नै थियो, एउटा कालखण्डमा मिश्रित हुन खोजे पनि फेरि एकलमै फर्कियो।
जाँडरक्सीले खाएको आयु
किरात राई समाजमा जाँडरक्सी सांस्कृतिक मेरुदण्ड सरह हो। हरेक सांस्कृतिक कार्य र कर्मकाण्डमा जाँडरक्सीको अनिवार्य प्रयोग हुन्छ। त्यसैले यस गाउँमा जाँडरक्सी नबन्ने र नखाने घर छैन। विगतमा जाँड दैनिकीसँग जोडिएको थियो भने रक्सी औपचारिकता र विशेष अवसरसँग। कोसेली लैजान बाहेक रक्सी विरलै पारिन्थ्यो। ठूला कार्जे र चाडबाडमा मात्रै मात्नेहरू हुन्थे। आजभोलि गाउँ रक्सीमय भएको छ। गाउँका पसलहरू रक्सी केन्द्र हुन्, जहाँ स्थानीय र कम्पनीवाला विभिन्न ब्रान्डका कमसल रक्सी पाइन्छन्। रक्सी खान र मात्नमा उमेर, लिंग र पेशामा कुनै भेद छैन। सबैजसो बिहानैदेखि फिलिली। बिहानै घरमा अरू खाजासँग एक डबका जाँड खाएर काममा निस्किने परम्परालाई दोकानमा दुई-तीन गिलास रक्सी स्वाट्ट पारेर रन्थनिंदै अर्को दोकान जानेको जमातले विस्थापन गरेको छ।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदन २०२४ अनुसार, संसारमा सबैभन्दा धेरै रक्सी खपत हुने मुलुक यूरोपका माल्डोभा, लाट्भिया र लिथुआनिया पर्छन्। जहाँ प्रतिव्यक्ति वार्षिक औसत १२ लिटर इथोनेल अल्कोहल खपत हुन्छ। जाँडरक्सीमा हुने मत्याउने चिज हो, अल्कोहल। एक लिटर रक्सीमा ४०० मिलिलिटर अल्कोहल हुन सक्छ।
अधिक जाँडरक्सी सेवनबाट शारीरिक खराबी त हुने नै भयो। पाङ्खाङवासीमा त पारिवारिक र सामाजिक कलहको कारक पनि देखिएको छ। सर्वेक्षण गर्ने हो भने ९० प्रतिशत परिवारमा किचलो भेटिएला। झैझगडा र कुटाकुट परिवारका नियमित घटना हुन्। लोग्नेस्वास्नीको झगडामा दाँत झरेको, टाउको फुटेको, हिलोमा मुन्टो भासिएको, निधार कोतरिएको, नलीखुट्टा खुल्किएको, अर्काको ओछ्यानमा पिसाब गरेकोदेखि आफ्नै तुलफूल, पशुपंक्षी छप्काएको जस्ता ‘जोक’ झैं लाग्ने घटना गाउँभरि सुन्न पाइन्छ, देखिन्छ पनि। कहिले परिवारका सबै मिलेर बाउ कुट्ने, कहिले आमा कुट्ने, कहिले बाउ-आमा मिलेर छोराछोरी कुट्ने त कहिले परिवार आधा आधामा विभाजित भएर हानाहान गर्ने परिवार पनि थुप्रै छन्। ज्वाइँलाई कुट्ने, ज्वाइँले ससुरालीलाई झम्टिने भइरहन्छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालीको औसत आयु ७१.३ वर्ष छ। २०६८ मा औसत आयु ७०.४८ थियो। यसको अर्थ नेपालीको आयु राष्ट्रिय स्तरमा बढिरहेको छ। तर पाङ्खाङ गाउँमा घटिरहेको छ। जाँडरक्सी नखाने र खानेको आयुमा प्रस्ट भिन्नता देखिन्छ। ८० वर्ष कटेकाहरू भेटियो भने उनीहरू कि जाँडरक्सी छुँदै नछुने कि त नियन्त्रित सेवन गर्ने गरेको पाइन्छ। जाँडरक्सीमा बल गर्नेहरूको आयु बढीमा ६० देखिन्छ। पछिल्ला वर्षहरूमा हरेक वर्ष ५० वर्ष हाराहारीका कोही न कोही गाउँले रक्सीका कारण मरिरहेका छन्। अस्पताल पुगेकाहरूको कलेजो बिग्रेको देखिएको छ। सास जान लाग्दा पनि रक्सीको भाँडा नछोड्नेहरू छन्। गाउँमा रहेका ४० वर्ष आसपासका तीन दर्जन जति पुरुष, महिला केही घण्टा रक्सी खान नपाए थर्थरी काँप्ने गर्दा रहेछन्। ३० वर्ष हाराहारीका निकै जना काम्ने समस्यामा पुग्ने तर्खरमा रहेछन्। ४०० मा यो संख्या चानचुने होइन।
उसो त जाँडरक्सी छोड्नेहरू पनि गाउँमा नभएका होइनन्। एक चोटि गाउँ जाँदा जाँडरक्सी छोडें भन्नेहरू भेट्छु, अर्को पटक जाँदा त्यही व्यक्ति फिलिली। १० चोटिसम्म जाँडरक्सी छोड्नेहरू पनि छन्। छोडेकाहरू केही महीना तातो पानीमा चित्त बुझाउँछन्, त्यसपछि एकथोकबाट शुरू गर्छन्। केही समय कोही जाँड मात्रै, रक्सी मात्रै, कुनै कम्पनीको मात्रै, निश्चित बियर मात्रै, केही महीना पछि सबै सट्काउन थाल्छन्। थला पर्ने भएपछि फेरि छोड्ने र अलि ठीक भए जस्तो भएपछि फेरि शुरू।
सामाजिक विचलन
किरात राई समाज दूध र रगत जोगाउने समाज हो। अर्थात् हाडनाता र मामा-फुपू चेलाचेलीभित्र बिहेबारी चल्दैन। बाउपट्टि सात पुस्ता र आमापट्टि तीन पुस्ता जोगाएर मात्रै बिहाबारी चल्न सक्छ। तर समाजमा स्थापित प्रचलित बिहेको मुख्य किसिम रोजी बिहे हो। बाबुपट्टिका सात पुस्तापछिका वंशभित्र पनि केटा र केटीले मन पराए भन्ने बित्तिकै बिहे हुँदैन। समाजले छुट्याउने नै प्रयत्न गर्छ। केही गर्दा पनि छुट्टिएनन् भने वंश भेला भएर पाछा (वंश) छुट्याएर अर्थात् एक पक्षले अर्कै पाछा ग्रहण गरेर ‘अब हामी कुटुम्ब भयौं है’ भनेर भोजभतेर सहित औपचारिक रूपमा घोषणा गरेपछि मात्रै बिहेबारी चल्छ।
कसैले बिहे गर्दा वंश मामला मिचेमा सम्झाइबुझाइ वा बलपूर्वक जोडी छुट्याउने, छुट्टिनै मानेनन् भने सामाजिक बहिष्कार गर्ने प्रथा हो। तर अब यो प्रथाको प्रभाव कमजोर हुँदै गएको छ। ‘गाउँको मान्छे गाउँमै थाम्ने’ बढ्दो क्रमले रगत र दूधको सम्बन्धमा ग्रहण लाग्न थालेको छ। पछिल्लो समय रोजी बिहे गर्ने जोडीमध्ये अधिकांश कुनै न कुनै रूपमा हाडनातामा जोडिने गरेका छन्। यसबारे समाजले चासो दिन छोडेको छ।
असफल बिहेहरू त घरघरैजसो भइसकेछन्। ३० भन्दा कम उमेरमै तीन-चार जनासँग बिहे गरेर तीन-चार छोरीछोरी भएर छुट्टिएर एक्लै बसेकाहरू थुप्रै रहेछन्। बच्चाहरू कुनै आफूसँगै, कुनै आफन्तकहाँ बिचल्ली। कुनै कुनै घरमा माइती पनि तीन–चार बिहे गरेर घरमा एक्लै अनि चेली पनि दुई-तीन बिहे गरेर माइतमा एक्लै अनि चेलीमाइती झगडा गर्दै एउटै भान्सामा बस्ने पनि रहेछन्। आठ-नौ कक्षामा पढ्दापढ्दै बिहे गर्ने र एक-दुई सातामा छुट्टिइहाल्नु सामान्य जस्तै भइसकेको छ। क्याम्पस तहमा पुग्ने त गाउँमा छँदै छैन भन्दा पनि हुन्छ।
परनिर्भरता
गाउँमा गाडी पुग्नु पहिला गाउँबाट मधेश वा शहर जाँदा लाने प्रमुख कोसेलीहरूमा घ्यू, गुन्द्रुक, किनामा, भटमास, सुकुटी आदि पर्थे। आफैं बोक्नुपर्ने हुनाले हलुका महँगा चिजहरू बोक्नुपर्थ्यो। सडक बनेपछि गाडी चढेर गाउँमा आउने चिजहरू सयौं गुणा बढे। गाउँबाट जाने चिज केही भएन। अलिअलि सिमी, आलु र मकै बाहेक सबैथोक बाहिरबाट आउन थाल्यो। गाउँमा आम्दानी भनेको उतिसको रूख बिक्री र विकासे योजनाहरूमा काम गरे बापत हुने कमाइ तथा परिवारका सदस्यले विदेशबाट पठाएको रकम हो। उद्यमशीलता छैन। गाउँ जाँदा हामी चढेको जीपबाट गाउँमा गोलभेंडा, बन्दाकोपी, मासु, हिउँदे आलु जस्ता गाउँमै उत्पादन गर्न सकिने वस्तु हरेक बिसाउनीमा झरे।
सडक निर्माण गरिंदै।
गाउँमा थोरै संख्यामा पालिने सुँगुर व्यापारीले लैजान्छन्। गाउँलेहरू मासु भोजपुर बजारबाट मगाएर खान्छन्। पूजाका लागि चल्ला चाहिएमा भोजपुरबाटै मगाउनुपर्छ। गाउँदेखि भोजपुर बजार कच्ची बाटो, गाडीभाडा एक जनाको ६०० रुपैयाँ छ। गाउँ नै मात्ने रक्सी बनाउने कमसल चामल पनि गाडी चढेरै आउँछ।
२०५० को दशकमा अहिलेको षडानन्द नगरपालिकामा पर्ने कुदाककाउलेका आफन्तहरू आउँदा गाउँको अलैंची घारी देखेर छक्क परेका थिए। ‘यसो विचार गर्न’ भनेर अलैंचीका बिरुवा पनि उनीहरूले लगेका थिए। त्यस वेला कुनै खोल्साखोल्सी बाँकी थिएन। हरेक परिवारले एक-दुई मन अलैंची फलाउँथे। २०-२५ मन फलाउनेहरू निकै थिए। अलैंचीमा रोग लाग्यो, बोटहरू बूढा पनि भए, मरे। त्यसपछि त्यसलाई ब्युँताउन न किसान लागे न त राज्यको स्थानीय एकाइ। अहिले गाउँमा एक मन अलैंची फलाउने कोही छैन। उता कुदाककाउले दोभानेतिर एकै जनाको १००-१५० मन फल्ने बगैंचा छ। यता चाहिं अलैंची बगानका उतिस बेचेर गाउँलेहरूले राम्रै रकम हात पार्दै छन्। तर त्यो पैसा भविष्यका लागि हुनेगरी व्यवस्थापन गर्ने कोही छैन। अब अर्को पटक बेच्न कम्तीमा ३० वर्ष कुर्नुपर्छ।
नेतृत्वको अभाव
किरात राई समाज तीन खालका नेतृत्वको अन्तरक्रियाबाट चल्थ्यो। धामीझाँक्री प्रथामा विश्वास गर्ने राईहरू कर्मकाण्ड र आस्थागत कार्यहरू नाक्छोङ वा धामीझाँक्रीबाट गराउँछन्। धामीझाँक्रीको सबैभन्दा मुख्य काम मृतकको आत्मालाई सही ठाउँमा पुर्याएर मृतक परिवार र समाजमा शान्ति कायम गर्नु हो। एकातिर नाक्छोङहरूको अभाव हुँदै छ, अर्कातिर भएका नाक्छोङहरूमा दैवी शक्ति कम, जाँडरक्सीको शक्ति धेरै छ। विधिसम्मत काम नगर्ने, रक्सीले मातेर थानमै ढल्ने, थान बस्दा लगाएका जामापगरी, घन्टी नखोली थान छाडेर हिंड्ने नाक्छोङहरूका कारण कुलपितृ र आत्माहरू बिटुलिएको गुनासो छ। २०७० चैत २४ गते नाक्छोङ भक्तकुमार राईको निधनपछि यो क्रम शुरू भएको उनीहरू मान्छन्।
अर्को ज्येष्ठ नेतृत्व हो। राई समाजमा पश्चिमका थारूहरूको बरघर जस्तो औपचारिक नेतृत्व निर्माण प्रथा त छैन, तर गाउँमा कोही न कोही उमेर, अनुभव, ज्ञान र व्यवहारको आधारमा सर्वमान्य व्यक्तित्व हुन्थ्यो जसले समाजका प्रथाहरूमा मार्गदर्शन र द्वन्द्वको समाधान गर्न नेतृत्व गर्थ्यो। सामाजिक महत्त्वका हरेक कुरामा त्यस्ता अग्रजको रायसल्लाह लिने परम्परा थियो र उनका कुरा सबैले मान्थे। तर अब त्यस्तो खालको नेतृत्व गाउँमा छँदै छैन। जसले जे-जति जानेबुझेको छ, त्यही आधारमा सामाजिक निर्णय हुने गरेका छन्।
पाङ्खाङ सावा गाउँबाट गाविस कालमा उपाध्यक्ष राजकेशर राई बाहेक न पञ्चायत न बहुदल न संघीयतामा कुनै पनि नेता जन्मिन सकेको छैन। हाल जिल्ला समन्वय समिति भोजपुरका सभापति कमल थुलुङले ३० वर्ष पहिल्यै जन्मथलो छाडेका हुन्। गाउँबाट कुनै पनि दलका वडा प्रमुख समेत उत्पादन हुन सकेको छैन। राजनीति भनेको नीतिहरूमध्ये पनि प्रमुख नीति भएकाले राजनीतिक नेतृत्वको अभावमा गाउँले तत्कालै आर्थिक, सामाजिक तथा सांस्कृतिक विचलनबाट निस्किने छाँटकाँट छैन। राईहरूको छाता संस्था किरात राई यायोक्खा राईहरूलाई लोक सेवाको तालीम दिइरहेको छ। तर खाँटी राई गाउँमा लोक सेवा भिड्न लायक मान्छेहरूको उत्पादन कति भइरहेका छन् भन्ने मतलब छैन, शहरका नातागोतालाई भेला पारेर तालीम दिनमै मस्त छ।
यद्यपि गाउँमा केही त बाँकी छ। गाउँमा आत्मीयता बाँकी छ। जाँडरक्सीको जतिसुकै रन्कोमा भए पनि गाउँ ढलिहालेको छैन। हामी जस्ता परदेशीलाई आफ्नो घर बोलाउनु, मीठो खुवाउनु र हिंड्ने वेला आफ्नो खेतबारीको उत्पादन कोसेली हालिदिनु गाउँको विशेषता हो। सामाजिक काममा जुटेर खट्न पनि पछि हटेको छैन। तर मूल कुरो, अहिलेको सामाजिक गतिबाट गाउँलाई कसरी कहिले कसले निकालेर विश्वव्यापी प्रतिस्पर्धामा उतार्ने हो, अनिश्चित छ।