तीनकुने क्षेत्र तनावग्रस्त (तस्वीरहरू)
राजावादी र प्रहरीबीच झडप भएपछि काठमाडौंको तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ।
राप्रपा नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले तीनकुनेमा प्रदर्शन गरेको थियो। त्यसका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जनपरिचालनको जिम्मेवारी दिइएको थियो।
तीनकुनेमा विरोध सभा हुनै लाग्दा पुगेका प्रसाईंले सुरक्षाकर्मीको घेरा तोडेर गाडी हुइँक्याएका थिए। उनी तीनकुनेबाट नयाँ बानेश्वरतिर आउन खोजेपछि तनाव शुरू भएको थियो।
प्रहरीको सुरक्षा घेरा तोडेर गाडी हुइँक्याउँदै दुर्गा प्रसाईं।
राजावादीलाई प्रदर्शनका लागि तीनकुनेमा स्थान तोकिएको थियो। तर प्रसाईंले गाडी हुइँक्याएर नयाँ बानेश्वरतिर आउन खोजेपछि प्रदर्शनकारी पनि उत्तेजित भएका थिए।
त्यसक्रममा राजावादी प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। प्रदर्शनकारीले तीनकुनेस्थित कम्प्लेक्समा तोडफोड र आगजनी गरेका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ। झडपका कारण केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन्।







