‘हिउँको गीतमा जादुयी यथार्थवादको झिल्को छ’
‘म आफूभन्दा सम्पन्न मान्छेसँग दाँज्दिनँ। मभन्दा दुःख पाएका, कम अवसर भएका व्यक्तिलाई हेर्छु। कति खुशी देखिन्छन्! उनीहरूबाट प्रभावित हुन्छु।’
पहिलो पुस्तक पाठशाला उपन्यासबाट निकै चर्चा र प्रशंसा बटुलेका साहित्यकार तीर्थ गुरुङ दोस्रो पुस्तक आपा क्हार्प कथासंग्रह बोकेर आए। अहिले तेस्रो पुस्तक उपन्यासका रूपमा हिउँको गीत सुनाउन आइपुगेका छन्।
पहिलो उपन्यासको सफलतापछि कथा, अनुवाद हुँदै पुनः आफ्नै गाउँ-समुदायका कथावस्तुमा आधारित उपन्यास लेखेका हुन्। नयाँ कृति हिउँको गीतसँगै समसामयिक साहित्यिक विषयमा केन्द्रित रहेर हिमालखबरको प्रस्तुति किताबका कुरामा लेखक गुरुङसँग दुर्गा राना मगरले गरेको कुराकानी :
पहिलो पुस्तक पाठशालाबाट राम्रै चर्चा र प्रशंसा पाउनुभयो। त्यसपछि आपा क्हार्प हुँदै अहिले हिउँको गीतसम्म आउँदा एक लेखकका रूपमा र अर्को व्यक्तिगत रूपमा जीवनको यात्रा चाहिं कस्तो हुँदै छ?
लेखनमा म अलि ढिला गरी आएँ। त्यसैले साहित्यमा आफूलाई कान्छै भन्ठान्छु। पाठशाला प्रकाशनमा आएको सात वर्ष मात्र भयो। त्यसैले राज्यले अनुत्पादक क्षेत्र ठान्ने साहित्य जगत्मा म आएको भर्खर मात्र हो।
ठीकै छ, यात्रा चाहिं रमाइलो छ भन्नुपर्छ। आफूले रोजेको यात्रा अरूले कज्याएको यात्राभन्दा प्रीतिकर त भइहाल्छ नै। फेरि लेखन एकान्तको कर्म भएको हुँदा मलाई यसले राम्रै गरिरहेको छ।
व्यक्तिगत रूपमा पनि त्यस्तो परिवर्तन आएको छैन। पहिले ‘र्यान्डम्ली’ किताब पढ्थें। अहिले भने छनोट गरेर पढ्छु। पढ्ने किताब धेरै छन्, तर जीवन छोटो छ, क्षणभंगुर। त्यसैले अलि ‘सेलेक्टिभ’ भएको छु।
अर्को, अरूप्रति अलिकति समानुभूति बढेको छ। जस्तो- केही समयअघि मेरो नयाँ उपन्यास हिउँको गीतको आधारभूमि क्होला सोथर पुगें। त्यहाँ पुगेपछि कथामा भएका खलपात्रहरूप्रति किन किन माया लागेर आयो। मैले भन्न खोजेको के हो भने, कसैको ठाउँमा उभिन सक्नुभयो भने तपाईं ‘जजमेन्टल’ हुन सक्नुहुन्न।
यस पटक गुरुङ संस्कृति, क्होला सोथरका यावत् विषयको सेरोफेरोमा उपन्यास लेख्नुभएकोे छ। खासमा उपन्यासको विषयवस्तुका रूपमा यसैलाई छान्न के कुराले घचघच्यायो?
अहिले संसारमा हामीले खोजेका नायकहरूको अभाव छ। यो मान्छेले केही गर्ला कि भनेर सोच्यो, त्यो मान्छे अर्कै भएर निस्किन्छ। अहिलेको स्थितिमा विश्वास, अनुसरण गर्ने नेतृत्व नै देखिएन। त्यसैको प्रभाव उपन्यासमा पाइन्छ जस्तो लाग्छ। उपन्यासमा नायकत्वको गुण भएका पात्र बीचबाटै हराएर गएको छ।
यता, क्होला सोथरको गुरुङ राज्य कसरी विघटन भयो भन्ने कतै पनि छैन। पहिले गुरुङको एकीकृत राज्य थियो, जुन विघटन भयो। गुरुङका परम्परागत पुरोहितहरूले पढ्ने प्येमा तमू राज्य कसरी विघटित भयो भन्नेबारे स्पष्ट भनिएको छैन। त्यसलाई नै आधार मान्दै आफूले भन्न खोजेको विषय यसमा ल्याएको हुँ।
.jpg)
आफैं हुर्केको परिवेशबारे लेख्दा कस्तो महसूस भयो? त्यसलाई न्याय दिन सकें जस्तो लाग्छ?
क्होला सोथरका पुराना कथा सुन्दा राजाको मन्त्रीले दुःख पाएको छ। गुरुङहरूमा कोही मान्छे मर्ने बित्तिकै आश्यो क्वें भन्ने लिनुपर्छ। त्यो भनेको मावलीघरमा गएर एउटा कपडा लिएर आउनुपर्छ। कुनै मान्छेको मृत्युमा मावलीबाट त्यो लुगा आएन भने मृत्युसंस्कार शुरू नै हुँदैन।
क्होला सोथरका कथा सुन्दा गाउँमा कर उठाउने क्रममा मन्त्री आफ्ना मामामाइजुकहाँ पुग्छन्। तर मामामाइजूले कर दिंदैनन्, किनभने उनीहरू निकै गरीब हुन्छन्। जबर्जस्ती कर उठाएर ल्याएपछि मामामाइजूले श्राप दिंदा मन्त्रीको मृत्यु हुन्छ।
त्यसपछि एक जना शक्तिशाली, तर उत्ताउलो पच्युले गरेको पैकार्यले ऊ पितृहरूसित लीन हुन पाउँदैन, किनभने उसले आश्यो क्वें पाएको हुँदैन। मैले त्यहाँको कथा यस्तै सुनेको हुँ। केही अन्य यस्तै कथाहरू उपन्यासमा छन्। तर आख्यानीकरण गर्न पात्रहरू निर्माण गरेर उपन्यास लेखें।
हिउँको गीतलाई इतिहासमा आधारित नै मानिदियो भने त्यसमा मैले न्याय गरेको छैन। आख्यानमा न्याय भयो कि भएन, त्यसको मूल्यांकन भविष्यले गर्ला।
कति समय लाग्यो हिउँको गीत लेख्न?
क्होला सोथर नपुग्दै शुरूमा ‘ड्राफ्ट’ तयार गरेको थिएँ। त्यसपछि कोभिड-१९ महामारी आयो। फेरि कथालेखनमा व्यस्त भएँ। त्यसपछि टीम गुरुङ दाइको आयो गोर्खाली अनुवाद गरें। यसबीचमा सात वर्ष बितिसकेछ। यो लेखन र पुनर्लेखन गर्दा चाहिं झन्डै चार वर्ष लागेको हो।
हिउँको गीत लेख्ने प्रक्रिया कति सहज वा गाह्रो भयो?
लेखनमा प्राविधिक अवरोध बाहेक त्यस्तो गाह्रो भएन। उपन्यासभित्रका आवश्यक मिथ जस्ता लाग्ने कथा लेख्न मेरा सोल्टी डा. पोलबहादुर गुरुङको सहयोग थियो।
.jpg)
इतिहासको कथा, पुराना कथा लेख्नुपर्छ भन्ने सोच चाहिं कसरी आयो?
मलाई एलगरीमा खेल्न मन लाग्छ। कथा पुरानो भए पनि कुरा नयाँ दिने कोशिश गर्छु। त्यसमा सफल भएँ या भइनँ, त्यो अर्कै विषय हो। मैले ७००-८०० वर्ष पुरानो कथा लेखे पनि यो अहिलेको समयको कथा हो। कुनै देश र कालको आख्यान अर्कै देश-कालमा पनि सान्दर्भिक हुन सक्छ भने त्यसलाई लेखकको सफलता मान्नुपर्छ। लेखकको परीक्षा भनेको पनि त्यही हो जस्तो लाग्छ।
लाहुरे बाहुल्य रहेको बस्तीको हुर्काइबढाइ, गीत-संगीतको रमाइलो, विज्ञानको विद्यार्थी। यो सबै छोडेर लेखनमा कसरी लाग्नुभयो?
अन्तर्मुखी स्वभावको म खेलकूदमा लाग्न सकिनँ। आमाबाबाले मलाई कहिल्यै काममा कज्याउने गर्नुहुन्नथ्यो। साथीहरू हलो जोत्न सक्ने हुँदा पनि म केही गर्न सक्दिनथें। किशोरकालमा पनि घाँसदाउरा, खेतबारीको कामको जिम्मेवारी लिइनँ।
त्यही भएर होला, मेरा धेरै साथी पनि भएनन्। नखेल्ने, कामहरू फुर्तिलो तरीकाले गर्न नसक्ने भएका कारण म अन्तर्मुखी भएँ। क्रमशः पुस्तक नै मेरा साथी भए।
कवितासँग जिस्किने कामसम्म त गरेको हुँ, तर त्यसले मलाई पत्याएन। भित्र भित्र उपन्यास लेख्न सक्छु भन्ने चाहिं थियो। लामो समय बोर्डिङ स्कूलमा पढाएको अनुभवले पाठशाला लेख्न सजिलो भयो। धेरैले पाठशालालाई बोर्डिङ स्कूलको चित्रण मात्र भन्ठान्छन्, तर यो नेपालको ‘पोलिटिकल एरेना’ तर्फ इंगित गरेर लेखेको थिएँ।
जेडी सालिङजरको उपन्यास द क्याचर इन द राय पढेपछि यस्तो किताब नेपालीमा पनि चाहिन्छ भन्ने लाग्थ्यो। नेपालमा कि त बालसाहित्य कि चाहिं निकै गम्भीर किताब मात्र लेखिएका छन्। तर किशोरावस्था वा ‘यङ एडल्ट’का लागि आवश्यक किताब धेरै कम देख्छु। त्यसैका लागि स्कूलको विषयवस्तु राखेर पाठशाला लेखें। खासमा मेरो यात्रा पाठशालाबाट शुरू भयो। पाठशाला लेख्न नसकेको भए शायद लेखनमा आउने नै थिइनँ।
तपाईं त धेरै पढ्नु पनि हुन्छ। पढाइले लेखनमा कतिको फरक पार्दो रहेछ?
आफ्नो रुचि अनुसार पढ्ने हो। अचेल सामाजिक यथार्थवाद अलि कम पढ्छु। मलाई चाहिं ‘म्याजिकल रियालिज्म’ सम्बन्धी पुस्तक पढ्न मन पर्छ। त्यही भएर ‘म्याजिकल रियालिज्म’ को झिल्को हिउँको गीतमा पनि आएको छ। म ‘सेलेक्टिभ’ किताब मात्र पढ्छु र काम गर्छु। लेख्ने क्रममा आख्यानको ‘हेभी’ किताब पढ्दिनँ। गैरआख्यान चाहिं पढ्छु।
हिमालको काखको रमणीय गाउँ सिक्लेसको बाल्यकाल, भारतको नागाल्यान्डको केही वर्षको पढाइ, फेरि सिक्लेस हुँदै पोखरा। विज्ञानको विद्यार्थी, कलेज ‘ड्रप आउट’। संरक्षण कविता आन्दोलन, शिक्षण, त्यसपछि वैदेशिक रोजगार। मिर्गौला प्रत्यारोपण। यो सबै हेर्दा जीवन के रहेछ जस्तो लाग्दो रहेछ?
जीवन चाहिं अन्ततः दु:खमय नै हो। जीवनको विसंगति नै यस्तो छ कि हामी खुशी खोजेर हिंड्छौं, तर हाम्रा स्मृतिमा दुःख नै बसिरहन्छ। म निराशावादी मान्छे चाहिं होइन। अंग्रेजीमा भनिन्छ नि- ‘ह्वेन लाइफ गिभ्स यू लेमन, मेक लेमनेड’। म त्यस्तै गर्ने प्रयास गर्छु।
.jpg)
जीवनका उतारचढावमा केले शान्त र आनन्द महसूस गराउँछ?
म आफूभन्दा सम्पन्न मान्छेसँग दाँज्दिनँ। आफूभन्दा दुःख पाएका, कम अवसर भएका व्यक्तिलाई हेर्छु। कति खुशी देखिन्छन्! उनीहरूबाट प्रभावित हुन्छु। उनीहरू मभन्दा ‘लेस प्रिभिलिज्ड’ छन्, तैपनि खुशी छन्। के कारण होला भनेर गहिरो गरी त खोज्दिनँ, तर तिनलाई हेरेर म पनि जीवनसँग गुनासो गरेर बसिरहन्नँ।
जीवन निर्मम छ, तैपनि योसँग जुझ्नुपर्छ। यो त जीवनको एउटा भाग हो। यो यथार्थबाट भागेर शरण लिने ठाउँ धर्मकर्म हुन सक्छ। प्रत्येक मान्छेका लागि त्यो फरक हुन्छ। मेरा लागि गीत-संगीत हो, पुस्तक हुन्। चराचुरुंगी, कुकुर-बिरालो हेर्दा पनि आनन्द हुन्छ।
अब पुतलीलाई हेरौं न, कति आयु हुन्छ र पुतलीको। लार्भाका रूपमा हुँदा कसले ध्यान गर्छन् र! तर पुतलीका रूपमा आउँदा कति सुन्दर हुन्छ। छोटो जीवनमा पुतली जस्तै खुशी भएर बस्न पाए हुन्थ्यो भन्ने लाग्छ। म पनि त्यसरी ‘र्यान्डम’ नाच्न सकूँ, सबैलाई खुशी पार्न नसकिए पनि केहीलाई त आनन्द होला।
अन्त्यमा, फेरि हिउँको गीतमै फर्कौं। यो नयाँ किताबबाट कस्तो अपेक्षा गर्नुभएको छ?
निश्चय नै एउटा लेखकले आफ्नो कृति धेरैले पढून्, चर्चा परिचर्चा होस् भन्ने चाहना राख्छ। म अपवाद होइन। तर मलाई चाहिं पाठकले यो किताब हप्तादिनमै पढेर सकून् भन्ने छैन। समय दिएर, आनन्द लिएर पढून् भन्ने अपेक्षा चाहिं गरेको छु।
नेपाली साहित्यमा तमू संस्कार-संस्कृतिको यो प्रवेश एउटा आरम्भ मात्र हो कि जस्तो लाग्छ। अबको अनुज पुस्ताले पूरा तमू सभ्यताबारे लेख्नुपर्छ। पूर्वका साथीहरूले लेखिरहनुभएको छ। साँच्चै भन्ने हो भने नेपाल जस्तो बहुभाषी, बहुजाति रहेका मुलुकमा साहित्यको उन्नयन त्यो तहमा भएको छैन। नेपाली साहित्य इन्द्रधनुषी हुन बाँकी नै छ।
किताबका कुराका थप सामग्री
- ‘चिनियाँ हान जातिको जीन लिम्बू जातिसँग मिल्छ’
- ‘सरकारी कामप्रति घृणा जागेपछि फोटोको पोस्टकार्ड बनाएर बेचें’
- ‘जिब्रोको स्वादमा रमाउँदा मुटुरोगी बढिरहेका छन्’
- ‘दक्षिणएशियाको तुलनामा पूर्वी एशियाका मुस्लिम महिला बढी स्वतन्त्र छन्’
- भोगटे साँधेको वर्णन गर्दा मुख रसाइदिन सक्ने आख्यान बन्नुपर्छ
- ‘मनलाग्दी तरीकाले गरिरहेको विकासले अन्ततः हामीलाई नै पिर्नेछ’
- ‘सबै आन्दोलन असफल भएपछि यो किताब लेख्न बाध्य भएँ’
- ‘इतिहास बंग्याउने शासकहरूको इतिवृत्तान्त लामो छ’
- ‘हिन्दूत्वको बहानामा भारतीय हस्तक्षेप स्वीकार्य हुँदैन’
- ‘बुबालाई आज या भोलि झुन्ड्याउँछन् भन्ने परिस्थितिमा हुर्किएँ’
- ‘आक्रामक चीन र भारतलाई नबुझेमा दुवैले ठड्याइरहेका आर्थिक टावरले च्यापिनेछौं’
- ‘कर्णालीबाट काठमाडौं पनि उत्तिकै दुर्गम छ’
- ‘नेपालमा कविताका समीक्षक नै छैनन्’
- ‘एकैसाथ धेरै किताब प्रकाशन गर्दैमा गुणस्तर नहुने भन्ने हुँदैन’
- ‘हाम्रो राजनीतिले सद्भाव नसिकाउँदा समाजमा असहिष्णुता झाँगिइरहेछ’
- ‘मेरा कविताले मलाई पनि व्यंग्य गर्छन्’
- ‘काठमाडौंको सभ्यता जोगाउने श्रेय ज्यापू समुदायलाई दिनुपर्छ’
- ‘आप्रवासनले छुट्याएका दम्पतीको यौन-भोक र छटपटी जस्तो देखें, त्यस्तै लेखें’
- ‘संगीत विरोधी थिएनन् पृथ्वीनारायण शाह’
- ‘यौन, प्रेम र अपराध जनावरको संसारमा पनि छ’
- ‘डोरबहादुर विष्ट फर्केपछि पुस्तकको अनुवाद देखाउँला भनेको, फर्कनु नै भएन’
- ‘क्षमता छ भने कसैले पनि रोक्न सक्दैन’
- “म ‘पर्फेक्सनिस्ट’ होइन, छरिएको लेखक हुँ”
- ‘अभिभावक आफूलाई किताब किन्छन्, छोराछोरीलाई चटक्कै बिर्सन्छन्’
- “पाठकले ‘साला देशमें क्या है’ लेख्नुस् भन्न थालेका छन्”
- ‘बाँच्ने काइदा राउटेबाट सिक्नुपर्छ’
- ‘बीपीको जस्तोसुकै व्यस्त समयमा पनि किताब पढ्ने बानी रहेछ’
- ‘हजुरआमा पुस्ताले संघर्ष नगरेको भए नातिनी पुस्ताले यत्तिको स्वतन्त्रता पाउँदैनथ्यो’
- ‘प्रेम विनाको यौन अपराध हो’
- ‘बुद्ध जातिवाद विरोधी थिए, समान आर्थिक अधिकार हुनुपर्छ भन्ने मान्यता राख्थे’
- ‘सुवर्णशमशेरको पैसा नभएको भए प्रजातन्त्र ढिलो आउन सक्थ्यो’
- ‘गाउँदेखि शहरसम्म विकासको मानक नै उल्टो भयो’
- ‘उपचारको व्यवस्था नहुँदा थुप्रै वन्यजन्तु गुमाइरहेका छौं’
- ‘समुदायलाई वन हस्तान्तरण गर्दा पुरस्कार होइन, तिरस्कार पाएँ’
- ‘बीपीको साहित्य उच्च कोटिको छ, राजनीति असफल’
- ‘सबैभन्दा धेरै पढ्नुपर्ने शिक्षकले हो, तर पढ्दैनन्’
- ‘हाम्रा शासक थेत्तरो होइन, पाखण्डी छन्’
- ‘भैरव अर्यालको छुटेको जीवनी भग्न भैरवमा छ’
- ‘युवराज दीपेन्द्रले हाम्रो घरमा आउँदा धानका बोरा बोकेर भित्र राखेछन्’
- ‘भविष्यमा बाआमा अझै एक्ला हुनेछन्’
- ‘फरुवा बोकेर जनतासँगै पहाड फोड्ने नेताको खाँचाे छ’
- ‘नतीजा खोज्न राजनीतिमै घुस्नुपर्छ’
- ‘सामाजिक पागलपन झन् झन् चुलिंदै गएको छ’
- ‘प्रेम र यौन मानिसबाट अलग गर्न सकिंदैन’
- २५ वर्ष लगाएर लेखिएको पुस्तकमा के छ?
- ‘ढिलोचाँडो समाज पुस्तकमै फर्किन्छ’
- ‘किताब पढ्नु मेरो लागि ध्यान गर्नु जस्तै हो’
- ‘निकुञ्ज क्षेत्रमा भएको बाटो सूर्योदयदेखि सूर्यास्तसम्म मात्रै खोल्नुपर्छ’
- ‘लुकीछिपी विदेश गइरहेका मान्छेलाई जिउँदै समुद्रमा फालेको पनि देखें’
- ‘नेपाल र भारतमा विद्यापति जस्ता कवि अर्का जन्मिएका छैनन्’
- ‘द्वन्द्वका दागबारे लेख्न र बोल्न छाड्नु हुन्न’
- ‘उमेर जति बढ्दै गयो त्यति नै बीपीको लेखनले प्रभावित पार्दै गयो’
- ‘मुन्धुम मानव सभ्यताको इतिहास हो’