ग्लोबल आइएमई ब्यांक र आईएफसीबीच साझेदारी
ग्लोबल आइएमई ब्यांक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बीच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडलहरू अगाडि बढाउन एड्भाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।
सम्झौतामा ग्लोबल आइएमई ब्यांकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईएफसीको तर्फबाट एफआईजी, एशिया र प्यासिफिक रिजनल इन्ड्रस्टी डाइरेक्टर एलेन फोर्लेमुले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार विश्व ब्यांंक समूह अन्तर्गत रहेको आईएफसीले ग्लोबल आइएमई ब्यांकको डिजिटल रूपान्तरण तथा डेटा म्याचुरिटी मूल्यांकन गर्ने, सुधार गर्न आवश्यक क्षेत्र पहिचान गर्ने र ब्यांकको डिजिटल ब्यांकिङ क्षमता अभिवृद्धि गर्न रणनीतिक सुझाव प्रदान गर्नेछ।
यससँगै आईएफसीले एम्बेडेड फाइनान्स मोडेल प्रवर्द्धन गर्न फिनटेकको सम्भाव्यता अध्ययन गरी ग्लोबल आइएमई ब्यांकलाई सल्लाह प्रदान गर्ने जनाइएको छ। यस समझदारी पश्चात् ब्यांकमा उपलब्ध विभिन्न सेवा तथा सुविधालाई रूपान्तरण गरी नवीन र प्रविधिमैत्री बनाउन सहज हुने ब्यांकको विश्वास छ।