काठमाडौंको हावा संसारकै अस्वस्थ
राजधानी काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित हावा भएको शहरमा दरिएको छ।
वायु गुणस्तरको तथ्यांक राख्ने स्वीट्जरल्यान्डस्थित संस्था आईक्यू एअरको शुक्रबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक २१६ पुगेको थियो। साढे ११ बजे भने यो २०६ मा ओर्लिएको छ। यो अत्यधिक अस्वस्थ हावाको कोटिमा पर्छ। यो स्तरको प्रदूषणले केवल जोखिमयुक्त समूह मात्र होइन, शहरका सबै बासिन्दाको स्वास्थ्यलाई गम्भीर असर पुर्याउने मानिन्छ।
काठमाडौंपछि दोस्रो खराब हावा भएको शहरमा इरानको बग्दाद र तेस्रो स्थानमा इजिप्टको कायरो छन्। प्रायः खराब हावा हुने शहरको शीर्षस्थानमा रहने भारतको दिल्ली नवौं स्थानमा झरेको छ। आईक्यू एअरले हावाको गुणस्तरमा फेरबदलसँगै यो सूची पनि अद्यावधिक गर्दै जान्छ।
शुक्रबार काठमाडौंको हावामा आँखाले नदेखिने धूलोको कणको मात्रा १४१ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ। जुन विश्व स्वास्थ्य संगठनद्वारा निर्धारण गरिएको सुरक्षित सीमाभन्दा नौ गुणा धेरै हो। संगठनले २४ घण्टामा पीएम २.५ को मात्रा १५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा धेरै हुनु जोखिमयुक्त रहेको मापदण्ड तय गरेको छ। आँखाले नदेखिने यस्ता सूक्ष्म धूलोका कणहरू श्वासप्रश्वास प्रक्रियाद्वारा फोक्सोभित्र पस्ने तथा रगतमा मिसिन सक्ने र यसले दीर्घकालीन रूपमा श्वासप्रश्वास समस्या, मुटुरोग, हृदयाघात, फोक्सोको क्यान्सर तथा आयु घटाउने अध्ययनहरूले देखाएका छन्।

काठमाडौंको हावा सवारीसाधनको धूवाँ, डढेलोबाट निस्किने धूवाँ, इँटाभट्टा, औद्योगिक प्रदूषण र छिमेकी देशबाट आउने प्रदूषणका कारणले थप खराब बन्न पुग्छ। यस वर्ष हिउँद सुक्खा भएको तथा प्रिमनसुन अवधि शुरू भइसक्दा समेत काठमाडौंमा पानी परेको छैन। यसले गर्दा हावामा रहेको धूलोका कण पखालिन पाएको छैन।
सुक्खा मौसमका कारण काठमाडौंको वायुमण्डलमा जम्मा भएको प्रदूषण हट्न सकेको छैन। हावाको गति कम हुनु तथा काठमाडौंको कचौरा आकारको भूगोलका कारण धूलोका कण वायुमण्डलमा अल्झिएर बसेका छन्। यसले गर्दा हावामा बाक्लो तुवाँलो देखिएको छ।
आईक्यू एअरका अनुसार आज काठमाडौंको हावा जुनसुकै उमेर समूहका नागरिकका लागि धेरै हानिकारक छ। वायु गुणस्तर सूचकांक २०१ देखि ३०० सम्म पुग्नुलाई धेरै हानिकारक वा अस्वस्थ मानिन्छ। ३०० भन्दा माथि लागेको अवस्थालाई त खतरनाक स्थिति मानिन्छ।
त्यसो त कुनै एक दिन मात्र होइन, काठमाडौं संसारमै सर्वाधिक अस्वस्थ हावा भएको राजधानीमध्ये एक हो। आईक्यू एअरका अनुसार सन् २०२४ मा हावा खराब भएका १२१ राजधानी शहरमध्ये काठमाडौं आठौं स्थानमा छ। आईक्यू एअरले गत महीना प्रकाशन गरेको सन् २०२४ को विश्व वायु गुणस्तर प्रतिवेदन अनुसार नेपाल संसारकै उच्च वायु प्रदूषण भएको मुलुकमध्ये सातौं स्थानमा छ। सन् २०२३ मा नेपाल खराब हावा भएको आठौं मुलुकमा परेको थियो।
आईक्यू एअरले सन् २०२४ मा अफ्रिकी देश चाडलाई संसारकै सबैभन्दा प्रदूषित र बाङ्लादेशलाई दोस्रो उच्च प्रदूषित मुलुक भनी उल्लेख गरेको थियो। यस सूचीको तेस्रो स्थानमा पाकिस्तान, चौथोमा कंगो रिपब्लिक, पाँचौंमा भारत तथा छैटौंमा ताजकिस्तान परेका छन्।
सन् २०२४ मा नेपालको हावामा आँखाले नदेखिने धूलोको कण पीएम २.५ सरदरमा ४२.८ माइक्रोग्राम प्रतिघनमिटर देखिएको थियो। विश्व स्वास्थ्य संगठनको मापदण्डका आधारमा यो आठ गुणाभन्दा धेरै हो। विश्व स्वास्थ्य संगठनले हावामा पीएम २.५ को मात्रा वार्षिक औसतमा पाँच माइक्रोग्राम घनमिटरभन्दा बढी हुन नहुने मापदण्ड तय गरेको छ।
नेपालमा वायु प्रदूषणका कारण वार्षिक ४२ हजार व्यक्तिको ज्यान जाने गरेको तथ्य सन् २०१९ को एउटा अध्ययनले देखाएको थियो। एअर क्वालिटी लाइफ इन्डेक्सको सन् २०२२ को तथ्यांक अनुसार वायु प्रदूषणका कारण नेपालीको आयु सरदरमा ३.४ वर्षले घटिरहेको छ।
वायु प्रदूषणका कारण आँखा पोल्ने, घाँटी चिलाउने, सास फेर्न गाह्रो हुने, टाउको दुख्ने, चक्कर लाग्ने जस्ता तत्कालीन असर देखिन सक्ने चिकित्सकले बताउने गरेका छन्। त्यसैगरी, लामो समय प्रदूषणमा सास फेर्दा मुटुरोग, फोक्सोमा संक्रमण, दम, ब्रोंकाइटिस र फोक्सोको क्यान्सर समेत हुन सक्ने जोखिम हुन्छ। वायु प्रदूषणका कारण बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी सबैभन्दा जोखिममा पर्छन्।
विगत २४ घण्टामा देशका विभिन्न स्थानमा लागेको डढेलो। हरेक रातो थोप्लाले डढेलो लागेको स्थान जनाउँछ।
करीब ४० लाख जनसंख्या भएको काठमाडौंमा हालसम्म वायु प्रदूषण नियन्त्रणका लागि ठोस नीति कार्यान्वयनमा आएको छैन। वातावरण संरक्षण र वायु प्रदूषण नियन्त्रणका लागि सरकारले पटक पटक प्रतिबद्धता जनाए पनि वायु प्रदूषणमा सुधार आएको छैन। वायु प्रदूषण नियन्त्रणका लागि सरकारले विभिन्न कार्ययोजना र नीति बनाएको छ।
वातावरण विभागले जून २०१७ मा ‘काठमाडौं उपत्यकाको वायुको गुणस्तर व्यवस्थापन’ कार्ययोजना बनाएर सवारीसाधनले गर्ने वायु प्रदूषण घटाउने नीति अघि सारेको थियो। कार्ययोजनामा सवारीसाधनले उत्सर्जन गर्ने प्रदूषण घटाउन तत्काल यूरो ५ मापदण्ड लागू गर्ने उल्लेख थियो। तर ६ वर्ष पुग्न लाग्दा यूरो ५ त परै जाओस्, यूरो ४ मापदण्ड समेत लागू भएको छैन। जबकि भारतले यूरो ६ बराबरको मापदण्ड लागू गरिसकेको छ। वायु प्रदूषण घटाउन वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मन्त्रिपरिषद्बाट पारित भए पनि कार्यान्वयन भएको छैन।
चिकित्सकले वायु प्रदूषण उच्च हुने वेला नागरिकलाई आफ्नो सुरक्षाका लागि आफैं सावधानी अपनाउन तथा मास्क लगाउन, बाहिरी हावामा कम समय बिताउन सुझाव दिने गरेका छन्।