मुद्दा परेको भन्दै अत्याएर अनलाइन ठगी
मुद्दा परेको भन्दै भिडिओ कल गरेर पैसा असुल्ने अनलाइन ठगीको नयाँ तरीकाको शिकार बनिरहेका छन्, हङकङका नेपाली।
दुई दशकअघि हङकङ पुगेका खोटाङका समुद्र राई (परिवर्तित नाम) त्यहींको एउटा निर्माण कम्पनीमा काम गर्छन्। रातिको ड्यूटी सिध्याएर निवासमै आराम गरिरहेका वेला दिउँसो २ बजेतिर मोबाइलमा फोन आयो। हङकङस्थित नेपाली कन्सुलेटको कार्यालयबाट भन्दै आएको फोनमा भनियो, “म कन्सुलेट अफिसबाट बोलेको। तपाईंले आफ्नो पासपोर्ट (राहदानी) कसैलाई दिनुभएको थियो?”
“थिएन,” समुद्रले जवाफ दिए।
“तपाईंको पासपोर्ट मिसयुज भएछ। मुद्दा परेको छ,” फोन गर्नेले भन्यो, “तपाईंलाई वाट्सएपमा कल आउँछ। क्लियर गर्नुहोला।”
केही बेरमा समुद्रको वाट्सएपमा फोन आयो।
“तपाईंको पासपोर्ट नम्बर यो होइन?” हिन्दी भाषामा समुद्रलाई सोधियो।
“चेक गर्नुपर्छ,” समुद्रले भने।
पासपोर्ट पल्टाएर हेर्दा नम्बर मिल्यो।
“हो, मेरै नम्बर हो,” समुद्रले जवाफ दिए।
“तपाईं विरुद्ध भारतमा सम्पत्ति शुद्धीकरणको मुद्दा परेको छ,” वाट्सएपमा फोन गर्ने मानिसले भन्यो।
मुद्दा परेको भन्ने बित्तिकै समुद्र अत्तालिए। त्यतिन्जेल वाट्सएपमा बोल्ने मानिसले हिन्दी भाषामा कुरा गरिरहेको थियो।
आफूले हिन्दी राम्ररी नबुझ्ने बताएपछि भने थापा थरको व्यक्तिले नेपालीमै कुराकानी गरेको समुद्र सुनाउँछन्। “वाट्सएपमा मेरो भिडिओ अन गर्न लगाए पनि उनीहरूको म्यूट नै थियो,” समुद्र भन्छन्।
थापाले कुराकानी गर्दागर्दै भारतीय अर्थ मन्त्रालयको राजस्व शाखाबाट जारी गरिएको पक्राउ पुर्जी, महाराष्ट्र प्रहरी, सेन्ट्रल इन्भेस्टिगेशन ब्यूरो (सीबीआई)मा दिएको जाहेरी, सम्पत्ति रोक्का गर्ने भारतको सर्वोच्च अदालतको आदेश लगायत कागजात पठाए।
हिमालखबरलाई प्राप्त ती कागजात अनुसार समुद्रलाई भारतको ब्याङ्लोरमा रहेको क्यानरा ब्यांकमा नरेश गोल्यान भन्ने व्यक्तिले खोलेको खातामा अवैध रकम जम्मा गरेको भन्दै सीबीआईले अनुसन्धान गरिरहेको देखाइएको छ। त्यही क्रममा समुद्र विरुद्ध पक्राउ पुर्जी जारी भएको भनिएको थियो। गोल्यानले सम्पत्ति शुद्धीकरण गर्ने अन्तर्राष्ट्रिय गिरोह नै खडा गरेको सीबीआईको अनुसन्धानले पुष्टि गरेको समुद्रलाई पठाएको कागजातमा देखाइएको छ।
समुद्रलाई पठाएका नक्कली कागजपत्र।
त्यस्तै, समुद्रसँग सेप्टेम्बर २०२३ मा सीबीआईले गोल्यान गिरोहको १८७ थान ब्यांक कार्ड, अवैध कार्य सञ्चालनका लागि प्रयोग भएका उपकरण र खाता जफत गरेको पनि भनिएको थियो। साथै नक्कली परिचयपत्र, ठूलो मात्रामा पासबूक, क्रेडिट कार्ड, सिम कार्ड र मोबाइल फोन भेटिएको समुद्रलाई पठाइएको कागजातमा देखाइएको छ।
यी कागजात मेसेज गरेपछि थापाले समुद्रलाई केही रकम पठाउन भने। “तपाईं सही मान्छे हो कि होइन भनेर जाँच्न उक्त रकम पठाउनु,” समुद्रलाई उनीहरूले भनेका थिए, “सही मानिस हो भने पैसा फिर्ता आइहाल्छ।”
त्यही वेला समुद्रलाई ड्यूटीमा गएकी श्रीमतीको फोन आएको थियो। तर यो कुराकानीबारे कसैलाई नसुनाउन भन्दै श्रीमतीको फोन समेत नउठाउन दबाब दिएको समुद्र बताउँछन्।
त्यसपछि पैसा पठाउन भन्दै हङकङकै ब्यांकको खाता नम्बर दिइएको थियो। समुद्रले नजीकैको एटीएममा गएर ४० हजार हङकङ डलर (सात लाख रुपैयाँभन्दा बढी) थापाले दिएको खातामा ‘ट्रान्सफर’ गरिदिए। “पैसा ट्रान्सफर नहुन्जेल उनीहरूले लाइभ भिडिओ कल अन्त्य गर्न दिएनन्,” समुद्र भन्छन्।
यसरी ट्रान्सफर गरेको उनको पैसा न फिर्ता आयो न त भारतमा दर्ता गरिएको भनिएको मुद्दाबारे थप जानकारी नै। खासमा समुद्र अनलाइनबाट रकम ठगी गर्ने गिरोहको फन्दामा परेका थिए। उनलाई पठाइएका सबै कागजात पनि नक्कली थिए।
हङकङमा अहिले वाट्सएपमा ‘लाइभ भिडिओ कल’ गरेर मुद्दा परेको भन्दै अत्याएर अनलाइन ठगी गर्ने धन्दा मौलाइरहेको हङकङमै बस्दै आएका भोजपुर समाज, हङकङका उपाध्यक्ष इन्द्रराज श्रेष्ठ बताउँछन्। “यही शैलीबाट ठगिएको भन्दै मेरो जानकारीमा आएका पाँच जना भइसके,” श्रेष्ठ भन्छन्, “धेरै साथीहरू आफू ठगिएको सुनाउन चाहनु हुँदैन। त्यसैले यो संख्या धेरै रहेको जस्तो लाग्छ।”
यसरी ठगीमा परेकाहरूले प्रतिव्यक्ति ३० देखि ४० हजार हङकङ डलर गुमाएको श्रेष्ठ बताउँछन्। अनलाइन ठगीको यो शैलीबाट हङकङमा बस्ने नेपाली शिकार हुन थालेको एक महीना जति भएको छ।
भारतमा भने अनलाइनमा फोन गरेर ‘लाइभ’ ठग्ने प्रवृत्ति बढ्दै गएको धेरै भइसकेको छ। नेपालमा चाहिं यो शैलीको ठगीमा परेको भनेर अहिलेसम्म कसैले जाहेरी नदिएको नेपाल प्रहरीको साइबर ब्यूरोका प्रहरी नायब उपरीक्षक (डीएसपी) जनार्दन घिमिरे बताउँछन्। साइबर ब्यूरो अनलाइन मार्फत हुने अपराधबारे अनुसन्धान गर्ने प्रहरीको विशिष्टीकृत एकाइ हो।
यस बाहेक उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि अनलाइन ठगीबारे अनुसन्धान गर्छ। अहिलेसम्म अपराध अनुसन्धान कार्यालयमा पनि भिडिओमा लाइभ कल गरेर ठगी गरेको भनेर उजुरी नपरेको प्रहरी उपरीक्षक (एसपी) अंगुर जीसी बताउँछन्। “यस्तो गिरोहले नयाँ नयाँ तरीकाले डिजिटल तवरमा पैसा लुट्ने गर्छ,” जीसी भन्छन्, “कुनै एउटा विधिमा मात्र अडिंदैन। यसबारे सर्वसाधारण पनि सचेत हुन जरूरी छ।”
प्रविधिमा भइरहेको तीव्र विकाससँगै संसारभर अनलाइन ठगीको धन्दा पनि उस्तै गतिमा फैलिइरहेको छ। अन्तर्राष्ट्रिय म्यागेजिन द इकोनोमिस्टले गत ८ फेब्रुअरीको अंकमा अहिले ‘अनलाइन स्क्याम उद्योग’ बाट बर्सेनि ४०० बिलियन अमेरिकी डलर चोरी भइरहेको रिपोर्ट छापेको छ। नेपालबाट समेत गत साउनयताको ६ महीनामा मात्रै अबौं रुपैयाँ डिजिटल डकैती भएको हिमालखबरले उजागर गरेको थियो।
अनलाइन स्क्याम चलाउने आपराधिक गिरोह संसारभरका लागि टाउको दुखाइको विषय बनिरहेको छ। यसमा कतिपय देशहरूले त प्रतिस्पर्धी मुलुकलाई कमजोर पार्न राज्य संरक्षित गिरोह समेत सञ्चालन गर्दै आएको आरोप छ। खासगरी अमेरिकाले चीनलाई यस्तो आरोप लगाउँदै आएको छ।
यस्तै, बर्मा, कम्बोडिया, भियतनाम जस्ता मुलुकमा चिनियाँ संगठित गिरोहले अनलाइन ठगी धन्दा चलाउँदै आएका छन्, जहाँबाट संसारभरका मानिसलाई प्रेमजालमा पार्ने अनि क्रिप्टो जस्ता अभौतिक मुद्राको नक्कली कारोबार मार्फत ठग्ने गरिन्छ।
संयुक्त राष्ट्रसंघले सन् २०२३ मा सार्वजनिक गरेको एक रिपोर्ट अनुसार चिनियाँ गिरोहले यी मुलुकमा साढे दुई लाख मानिसलाई बन्धक बनाएर ‘साइबर स्क्याम’ मा परिचालन गरिरहेको छ। चीनले आफू ‘टार्गेट’ मा नपरुन्जेल यसमा आँखा चिम्लिंदै आएको छ। बर्मा, कम्बोडियाका साइबर ठगी अखडामा नेपालीलाई समेत झुक्याएर पुर्याइएको छ।
द इकोनोमिस्टका अनुसार साइबर ठगीमा परेर अमेरिकाको मिनिसोटा राज्यका एक जनाले नौ मिलियन अमेरिकी डलर गुमाएका छन्। साथै, अमेरिकाकै कान्सास राज्यको एउटा ब्यांक ‘साइबर स्क्याम’ मार्फत भएको क्रिप्टो कारोबारका कारण टाट पल्टिएको द इकोनोमिस्टले छापेको छ।
ब्यांकका प्रमुख कार्यकारीले ४७ मिलियन डलर क्रिप्टोमा लगानी गर्दा अपचलन गरेको भेटिएको थियो। उनले अनलाइनमा भेटिएकी बेला नामकी महिलालाई पछ्याउँदा उक्त रकम अपचलन गरेका थिए।