मौन संवादमा ‘रोज’ ले कहेको यशोधराको कथा
सिद्धार्थ गौतम दरबार छोडेर निस्केपछि सुत्केरी यशोधरा कस्तो अन्तर्द्वन्द्वमा बाँचिन् होला? कलाकारद्वय दिया मास्के र सरिता साहले नाटक ‘रोज’ मार्फत यशोधराको त्यही मनोभाव कहेका छन्।
दरबारको सुखशयल त्यागेर सिद्धार्थ गौतम सत्यको खोजी गर्न लामो यात्रामा निस्के। दरबारसँगै श्रीमती र भर्खर जन्मिएको छोरालाई छोडे। सिद्धार्थ गौतमले दरबार त्यागेदेखि बुद्धत्व प्राप्त गरेसम्मको यात्राबारे कैयौंले कैयन् पटक लेखे, तर यशोधराको अवस्थाबारे कमै लेखिएका छन्।
सिद्धार्थ गौतमले दरबार छोडेपछि यशोधराको दैनिकी कस्तो थियो? कसरी आफूभित्रको अन्तर्द्वन्द्व झेलिन्? उनको मनोभाव कस्तो रह्यो? यशोधराको मनोविज्ञानमा आधारित भएर नर्वे र नेपालको टोलीले बनाएको नाटक हो, रोज।
यो नाटक भारत, नर्वे र नेपालमा गरी २० पटक प्रदर्शन गरिएको छ। जहाँ मञ्चन हुन्छ, त्यहीं नै चर्चा बटुलिरहेको छ। रंगकर्मी रामहरि ढकालद्वारा निर्देशित नाटकमा दिया मास्के र सरिता साहले अभिनय गरेका छन् भने केदार श्रेष्ठले मञ्च व्यवस्थापन गरेका छन्।
रोजको बीउ
नाटक रोजको बीउ भने नौ वर्षअघि रोपिएको थियो। नर्वेमै रहेका निर्देशक ढकाल पहिलो पटक बुबा बन्दै थिए। श्रीमतीको प्रश्रव पीडा देखेका ढकाललाई धेरै समय छटपटी भयो। “अस्पतालमा उनी बच्चा जन्माउने प्रक्रियामा थिइन्, म त्यसको साक्षी थिएँ,” उनी सम्झन्छन्।
नर्वेमा श्रीमतीले बच्चा जन्माउँदा श्रीमान्लाई पनि सँगै राख्ने गरिन्छ। अगाडि बसेर सबै हेर्नुपर्छ। “एकैछिनमा ठीक भए जस्तो, एकैछिनमा रिसाउने। बच्चा जन्मिएपछि जब मैले हातमा लिएँ, अत्यन्तै खुशी भएँ। त्यो खुशी बयान गर्नै सकिनँ,” ढकाल भन्छन्, “त्यति वेला लाग्यो, यस्तो अवस्थामा सिद्धार्थ गौतमले कसरी छोड्न सके होलान्?”
यही हुटहुटीले सिद्धार्थ गौतम र यशोधराबारे लेखिएका सन्दर्भ सामग्रीको अध्ययनमा जुटे। महीनौं लेखपढमा बिताए। “सिद्धार्थले ज्ञान पाउन यात्रा गर्नुभएको छ, योग-ध्यान गर्नुभएको छ, तर यशोधराले दरबार छाडेर जानुभएन,” अध्ययनबाट निकालेको निचोड सुनाउँदै ढकाल भन्छन्, “यशोधराभित्र अन्तर्द्वन्द्व छ। एकपटक राजसभामा बोलाउँदा पनि म जाँदिनँ भन्नुभयो, विद्रोह गर्नुभयो। यशोधराले कतै नगई मनभित्रको अन्तर्द्वन्द्वको विकार निकाल्नुभयो होला।”

निर्देशक ढकालले यशोधराको मनोविज्ञानलाई शब्दमा उतारेका छैनन्। नाटक संवादविहीन छ। यशोधराको पीडा, मनका कुण्ठा, अन्तर्द्वन्द्व र मनोविज्ञानलाई अभिनयकै माध्यमबाट देखाइएको छ।
ढकालले यशोधराभित्रको द्वन्द्वलाई शब्दमा उतार्ने प्रयास पनि गरेका थिए। तर लेख्दै जाँदा त्यो पीडालाई व्यक्त गर्ने शब्द नै फेला पारेनन् र अन्त्यमा नाटक संवादविहीन बन्यो। “यशोधराको मनोभाव देखाउन शब्दलाई छाडेर शरीर खोजियो, अन्तर्द्वन्द्वका लागि दुई वटा शरीर चाहियो र त्यही अनुसार नाटक अघि बढ्यो,” निर्देशक ढकाल भन्छन्। नाटक रोजमा यही नयाँ अभ्यास गरेका छन्, निर्देशक र रंगकर्मीले।
यशोधरा बन्दाको अनुभव
नाटक रोजको शुरूआतमा खुशी महसूस गरिरहेको देखिने यशोधराको मनोभाव अन्त्यसम्म आउँदा थरीथरीका भावमा परिणत हुन्छ। यिनै थरीथरी मनोभावहरूको यात्रा नाटकसँगै गर्न सकिन्छ। यी मनोभाव दुई शरीर अर्थात् रंगकर्मी दिया मास्के र सरिता साहले आफ्ना हाउभाउ, अभिव्यक्ति र ध्वनिको माध्यमबाट प्रस्फुटन गरेका छन्।
दुवैले विभिन्न द्वन्द्वलाई कहिले मन त कहिले मस्तिष्क प्रयोग गरेर दर्शकसम्म पुर्याएका छन्। यशोधराको मनोभावलाई बुझ्न यशोधरा नै बन्नुपर्ने भएका कारण शुरूआतमा गाह्रो भएको रंगकर्मी मास्के सुनाउँछिन्। यशोधरा भएको भए कसरी सोच्थिन्, के भन्थिन् भन्दै आत्मसात् गरेको उनको भनाइ छ।

“शुरूआतमा त हामी सबैलाई ‘कनेक्शन’ बनाउनै गाह्रो भएको थियो। निर्देशक ढकाल नर्वे र हामी दुईले आआफ्नै घरमा बसेर शुरूआत गर्यौं,” नाटक अनुभव सुनाउँदै रंगकर्मी मास्के भन्छिन्, “संवाद नै नभएकाले हामीलाई उपलब्ध गराइएका सामग्री अध्ययन गर्यौं। भेट भएपछि बल्ल नाटकमा ‘कनेक्शन’ भयो।”
नाटक हेर्ने हरेकले आआफ्नै अनुभूतिसँग जोड्न सक्ने मास्के सुनाउँछिन्। यो नाटक यशोधरासँगै हरेक महिलाका कथासँग मिल्ने उनको भनाइ छ। “कोही अभिव्यक्त गर्न नपाउने ठाउँमा हुँदा उसको मनमा कति कुण्ठा हुन्छन् होला! त्यो अन्ततः शरीरबाट निस्कने हो,” मास्के भन्छिन्।
त्यसैलाई बुझ्दै र ती भावलाई आफ्नो हाउभाउ, अनुहारको भावभंगीबाट अभिव्यक्त गर्ने प्रयोग रोजमा गरिएको उनी सुनाउँछिन्।
अर्की रंगकर्मी साह पनि शुरूआतमा त संवाद नै नभएपछि के गर्ने होला भन्ने अन्योलमा थिइन्। तैपनि नाटकमा अभिनय गर्न उनी उत्साहित थिइन्। सबैसँग ‘कनेक्शन’ बन्दै गएपछि भने सहज हुँदै गएको साह सुनाउँछिन्। उनी भन्छिन्, “यशोधरा जस्तै अहिले समाजमा रहेका महिलाका कथा बुझ्ने कोसिस गरें र त्यसैलाई अनुभूत गर्दै नाटकमा यशोधराको मनोभावसँग जोडिन थालें।”
गत पुस १२ मा प्रिमियर गरिएको रोजको पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा पनि प्रदर्शन गरिएको छ। चैत १३ मा पोखरा थिएटरमा मञ्चन गरिएको नाटकले पोखरेली दशकको पनि प्रशंसा बटुलेको छ।