घरेलु क्रिकेटमा इशानको कीर्तिमान
घरेलु क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कपमा इशान पाण्डेले कीर्तिमान बनाएका छन्।
बिहीबार मधेश प्रदेश विरुद्धको खेलमा बागमती प्रदेशका पाण्डेले शतक प्रहार गरे। योसँगै प्रधानमन्त्री कपमा एक हजार रन जोडेका छन्। हजार रन बनाउने उनी पहिलो खेलाडी हुन्।
बागमती प्रदेशका प्रारम्भिक ब्याटर पाण्डेले १२७ बलमा ११४ रन बनाए। उनले १४ चौका प्रहार गरे।

पाण्डे प्रतियोगितामा सबैभन्दा बढी रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्। उनको ३६३ रन छ। गण्डकी प्रदेशका अर्जुन कुमाल ३७४ रन सहित पहिलो स्थानमा छन्।
प्रधानमन्त्री कपमा शतक प्रहार गर्ने उनी चौथा खेलाडी हुन्। यसअघि गण्डकीका अर्जुन कुमाल, त्रिभुवन आर्मी क्लबका तीर्थ दास र सुदूरपश्चिमका किरण ठगुन्नाले शतक प्रहार गरेका थिए।
गण्डकीका कुमालले मधेश प्रदेश विरुद्ध १०६ रन बनाएका थिए। त्यस्तै, आर्मी क्लबका दासले कोशी प्रदेश विरुद्ध ११२ रन बनाएका थिए भने सुदूरपश्चिमका ठगुन्नाले गण्डकी विरुद्ध १२१ रन बनाएका थिए।

आज शतक बनाएका पाण्डेले यस प्रतियोगितामा राम्रो प्रदर्शन गरेका छन्। उनले यसअघि दुई वटा अर्धशतक पनि प्रहार गरेका थिए। नेपाल प्रहरी क्लब विरुद्धको खेलमा ७० र गण्डकी विरुद्धको खेलमा ६९ रन बनाएका थिए।
यस प्रतियोगितामा पाण्डेले ब्याटिङ मात्रै होइन, बलिङमा पनि प्रभाव छोडेका छन्। उनले अहिलेसम्म नौ विकेट लिएका छन्।