दशतले भवन आगलागी : सहकार्यले जोगाएको मानवीय क्षति
इटहरीको दशतले भवन ‘सेन्ट्रल प्लाजा’ मा लागेको ठूलो आगो स्थानीय बासिन्दा र प्रहरी प्रशासनको सहकार्यमा ६ घन्टापछि निभाइएको छ।
सुनसरीको इटहरी चोकमा रहेको सबैभन्दा ठूलो भवन ‘सेन्ट्रल प्लाजा’ मा चैत १३ को बिहान एक्कासि आगलागी भयो। २०७५ सालबाट सञ्चालनमा आएको स्थानीय व्यवसायी राजेश श्रेष्ठको दशतले प्लाजामा होटल, क्यूएफएक्स फिल्म हल, ब्यांंक, सुपर मार्केट, कपडा पसल, कफी शप लगायत व्यापार-व्यवसाय छन्।
सञ्चालक श्रेष्ठका अनुसार बिहान ९ बजेतिर प्लाजाकै कार्यालयमा कर्मचारी पुग्दा आगो बलिरहेको थियो। “हाम्रै अफिसमा विद्युत् लाइन शर्ट भएर आगो लागेको देखिएको छ। क्षतिको विवरण यकीन भइसकेको छैन,” श्रेष्ठ भन्छन्।
आगलागीको खबर पाउने बित्तिकै इटहरीमै रहेकी कोशी प्रदेश सभाकी सदस्य मिना श्रेष्ठ दौडिएर सेन्ट्रल प्लाजा पुगेकी थिइन्। उनी पुग्दा कर्मचारी र सुरक्षा गार्ड आगो निभाउन पानी हालिरहेका थिए।
त्यसले झन् आगो बलेको उनी सुनाउँछिन्। “पानी खन्याउँदा झन् ठूलो आगो बल्न थाल्यो। माथिल्लो तलामा रहेको होटलमा सल्किएपछि त ग्यास सिलिन्डर पनि पड्किन थाले,” श्रेष्ठ भन्छिन्, “मैले हतारहतार प्रहरी, प्रशासन र दमकललाई खबर गरें। मुख्यमन्त्रीदेखि सबैतिर समन्वय गरें।”
आगलागी भएको ठाउँमा इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेल, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारी लगायत स्थानीय नेता, प्रहरी, प्रशासक पुगेका थिए। भवनबाट आगोको मुस्लो निस्किरहेका वेला माथिल्लो तलामा केही मान्छे गुहार मागिरहेका थिए।
केहीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले उद्धार गरेका थिए। होटलमा २० जना जति ग्राहक थिए। आगो लाग्न थालेपछि उनीहरूलाई कर्मचारीले बाहिर निकालेका थिए।
त्यस्तै, बाँकी रहेका ११ जनालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको थियो। तीमध्ये तीन जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको सञ्चालक श्रेष्ठ बताउँछन्। उनीहरू होटलका ग्राहक थिए।
छतमा रहेका तीन जनालाई उद्धार गर्न कठिन भएको थियो। त्यसपछि गृह मन्त्रालयमा समन्वय गरेर हेलिकोप्टर मगाइएको थियो। नेपाली सेनाको हेलिकोप्टरले छतमा रहेका तीन जनालाई उद्धार गरेको होे। “स्थानीय बासिन्दा, जनप्रतिनिधिदेखि प्रहरी प्रशासनको सहयोगले मानवीय क्षति हुन पाएन,” श्रेष्ठ भन्छन्, “गृह मन्त्रालयले तुरुन्तै हेलिकोप्टर पठाइदियो। समयमै सबैको सहयोग नपाएको भए अझ ठूलो क्षति हुन सक्थ्यो।”
आगो नियन्त्रणमा लिन झापा, मोरङ र सुनसरीका विभिन्न स्थानीय सरकारका १२ वटा दमकल आएका थिए। प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीय बासिन्दा गरी करीब ४०० जना परिचालन भएका थिए।
.jpeg)
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमबहादुर दाहाल पनि आगलागीको कारण विद्युत् लाइन शर्ट नै देखिएको बताउँछन्। ६ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको उनी सुनाउँछन्। “आगलागीको खबर पाउने बित्तिकै प्रहरी परिचालन गरेर नियन्त्रण र उद्धारमा खटायौं। भौतिक क्षति भए पनि मानवीय क्षति हुन पाएन, त्यही महत्त्वपूर्ण हो,” एसएसपी दाहाल भन्छन्।
आगलागीबाट होटल र फिल्म हलमा क्षति भएको छ। दुवै तत्काल सञ्चालन हुने अवस्थामा छैनन्। क्षतिभन्दा पनि मान्छे जोगिएकामा सञ्चालक श्रेष्ठ सबैलाई धन्यवाद दिइरहेका छन्। “बिहान आगो लागेकाले धन्न फिल्म हलमा मान्छे रहेनछन्,” श्रेष्ठ भन्छन्।
हिउँद सकिएसँगै आगलागीका घटना बढ्दै गएका छन्। पछिल्ला दुई महीनायता मात्र देशका विभिन्न स्थानमा आगलागीबाट धनजनको क्षति भएको छ। कोशी प्रदेशमै पनि दुई दिनअघि खोटाङमा आगलागीबाट घर जलेका थिए।
कोशी प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार साउनयता चैत ६ गतेसम्म कोशी प्रदेशका विभिन्न जिल्लामा गरी ७७४ आगलागीका घटना भएका छन्। जसमा परी पाँच जनाको ज्यान गएको छ। यस अवधिमा आगलागीबाट ५३ करोड ९२ लाख ९५ हजार ९८० रुपैयाँ बराबरको क्षति भएको छ। चैतको पहिलो साता मात्रै कोशी प्रदेशमा आगलागीका ७४ घटना भएका छन् भने एक जनाको ज्यान गएको छ।
गत वर्ष कोशीमा आगलागीबाट २० जनाको ज्यान गएको थियो भने १३४ जना घाइते भएका थिए। त्यस्तै, सात हजार ३६५ चौपाया मरेका थिए। आगलागीबाट एक अर्ब ११ करोड एक लाख ६७ हजार ४२४ रुपैयाँ बराबरको क्षति भएको थियो।