नेपाल भ्रमणमा रहेका इजरायली लेफ्टिनेन्टलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन (तस्वीरहरू)
नरसंहारमा संलग्नताको आरोप लागेका इजरायली लेफ्टिनेन्टलाई पक्राउ गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।
प्यालेस्टाइन सोलिडारिटी नेपालको अगुवाइमा अधिकारकर्मी, नागरिक अगुवा, पेशाकर्मी तथा युवा सडकमा उत्रिएका हुन्। उनीहरूले बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेका छन्।
गाजामा युद्ध अपराध गरेको भन्दै इजरायली लेफ्टिनेन्ट अमित नेचम्या विरुद्ध अर्जेन्टिनामा मुद्दा दायर भएको छ। बेल्जियमस्थित फलस्तीन समर्थक संस्था ‘हिन्द राजव फाउन्डेशन (एचआरएफ)’ ले गत २ जनवरीमा नेचम्या विरुद्ध मुद्दा दायर गरेको थियो।

अहिले उनी बिदा मनाउन नेपाल आएका छन्। नेपाल आएको वेला पक्राउ गरेर अर्जेन्टिनालाई बुझाउन एचआरएफले आग्रह गरेको छ। एचआरएफले नेपाललाई पत्र पठाएरै नेचम्यालाई पक्राउ गर्न अनुरोध जनाएको छ।
इजरायली लेफ्टिनेन्ट नेचम्याले फलस्तीनको जबालिया र रफाहमा मानव ढाल प्रयोग गरेको आरोप छ। त्यस्तै, उनको आदेशमा गाजापट्टीमा सम्पत्ति लूटपाट र नष्ट गरिएको एचआरएफले जनाएको छ।

यसैगरी, खान युनिसमा रहेका फलस्तीनीलाई जबर्जस्ती विस्थापित पार्न आदेश दिएको आरोप छ। उनले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको जनाइएको छ।
इजरायलले गाजामा गरिरहेको नरसंहारमा हालसम्म ५० हजारभन्दा बढीको ज्यान गएको संयुक्त राष्ट्रसंघले जनाएको छ। जसमध्ये ४८ हजार ४०५ फलस्तीनी र एक हजार ७०६ जना इजरायली रहेको तथ्यांक छ। इजरायली आक्रमणबाट जोगिन गाजाका लाखौं नागरिक विस्थापित छन्।

