रिंकु सदा मृत्यु प्रकरणमा वडा सदस्य जेल चलान
सिरहाको नवराजपुर गाउँपालिका-१, भगवानपुरकी रिंकु सदाको मृत्यु प्रकरणमा वडा सदस्यलाई जेल चलान गरिएको छ।
जिल्ला अदालत, सिरहाको आदेशपछि वडा सदस्य नठुनी साहलाई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रकुमार पासवानले बताए। जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।
रिंकुले सामूहिक बलात्कार भएको परिवारलाई बताएपछि गाउँमा पञ्चात बसेको थियो। पञ्चायतले गाउँमै बलात्कारको घटना मिलाएको थियो। पञ्चायतमा वडा सदस्य साह पनि उपस्थित थिइन्।
त्यस्तै, जिल्ला अदालतले ६ जनासँग एक लाख ५० हजार रुपैयाँका दरले धरौटी माग गरेको छ। घटना मिलाउन संलग्न रहेको आरोप लागेका रामकृपाल मण्डल, विन्देश्वर साह, कारी भनिने करिया मुसहर, रामदेव सदा र दुई नाबालकसँग पुर्पक्षका लागि धरौटीमा माग गरेको हो।
त्यस्तै, अपहरण र बलात्कारका मुख्य आरोपित एक नाबालकलाई अदालतले प्रहरीको जिम्मा लगाएको छ। उनी सहित तीन जनाले सामुदायिक बलात्कार गरेको आरोप छ।
यसैगरी, रामविनोद मण्डल र कमलेश दासलाई साधारण तारेखमा रिहा गर्ने आदेश भएको छ। यस घटनामा संलग्न भएको आरोप लागेका दुई नाबालक र घटनापछि गाउँमा पञ्चायत बसालेर मिलापत्र गराउने आठ जना फरार छन्।
स्थानीय तीन युवकले गत माघ २७ गते बलात्कार गरेको रिंकुले बताएकी थिइन्। पञ्चायत बसेर बलात्कारको आरोप लागेका रूपेश मण्डलबाट एक लाख ५० हजार रुपैयाँ जरिवाना भराउने निर्णय गरिएको थियो।
त्यसको तीन दिनपछि माघ ३० गते रिंकु आफ्नै घरमा मृत भेटिएकी थिइन्। उनको हत्या गरिएको परिवारजनको दाबी छ।